वि.सं.२०२३ कार्तिक १९ गते ताप्लेजुङ जिल्लाको पूmलबारी रमितेमा माता कौशल्यादेवी निरौला र पिता हरिप्रसाद निरौलाका सुपुत्रका रूपमा जन्मिएका खेमराज निरौलाले नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरी हाल काभ्रे बहुमुखी क्याम्पसमा सहप्राध्यापकका रूपमा हाल कार्यरत छन् । २०४१ सालमा ‘हिमाली गुराँस’ पत्रिका वृन्दानमा ‘स्वदेशप्रेम’ शीर्षकको कविता प्रकाशित गरी नेपाली साहित्यको सेवामा प्रवेश गरेका कवि निरौलाका ‘प्रवाहका बिस थोपा’ २०४९ स्नातकोत्तरको सिर्जनात्मक लेखन (अप्रकाशित), ‘मदन’ शोककाव्य २०५२, ‘जीवनको खोजीमा’ आत्मानुभव २०७३ प्रकाशित भएका छन् भने ‘क्रान्तिदूत’ महाकाव्य प्रकाशोन्मुख अवस्थामा रहेको छ । कथासङ्ग्रह ‘समयान्तर’ र एउटा कवितासङ्ग्रह पनि प्रकाशनको अपेक्षाका साथ पाण्डुलिपिमा रहेका छन् । ‘भुजङ्ग’, ‘कारिका’जस्ता पत्रिकाको सम्पादन, गीतिएल्बम ‘त्रास’को सार्वजनिकीकरण गरिसकेका निरौलाले आधा दर्जन सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।
नेपाली समसामयिक समाजको यथार्थलाई नजिकबाट हेर्ने, सूक्ष्म मूल्याङ्कन गर्ने र गम्भीरतापूर्वक रूपान्तरणको आग्रह गर्ने निरौला भद्र र शालीन प्रस्तुतिका धनी स्रष्टा हुन् र सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नु उनको लेखनीको विशेषता रहेको छ । झण्डै झण्डै जीवनरूपी चङ्गा चुँडिन खोजेको अवस्थामा पनि दरो आत्मविश्वासले, साहस र हिम्मतले अनि जीवन सङ्गिनीको त्याग, बलिदान र समर्पणले पुनर्जन्म प्राप्त गरेका कवि निरौला अबको जीवन सम्पूर्णरूपमा नेपाली प्रगतिवादी साहित्यमा समर्पण गर्ने अठोटका साथ लागिरहेका अथकित र अविश्रान्त स्रष्टा पनि हुन् ।
अविरल जनसाहित्य यात्राको एकहत्तरौँ शृङ्खलामा यिनै निष्ठावान् स्रष्टाका एक दर्जन कविता गुञ्जिए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आयोजनामा यही भदौ ११ गते शनिबार अपराह्न १ बजे सम्पन्न भएको उक्त विशेष समारोहमा शास्त्रीय छन्दमा रचिएका एक दर्जन कवितामध्ये चारओटा कविता कवि आफैँले वाचने गरे भने दुइटा कविता कविकी छोरीले वाचन गरेकी थिइन् । बाँकी कविता भने अहिलेको समयका उत्कृष्ट वाचक कविहरू यशोदा अधिकारी, देबु लुइटेल, नारायण निरासीले वाचन गरेका थिए । उक्त विषेश समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने प्रमुख अतिथि प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले वाचित एक दर्जन कवितामाथि चिरफारयुक्त टिप्पणी गर्नुभएको थियो ।