साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४०८ औँ शृङ्खला भदौ ६ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।
वरिष्ठ कवि एवम् साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा अङ्ग्रेजी भाषासाहित्यका विद्वान एवम् नेपाली साहित्यमा समेत सक्रिय व्यक्तित्व प्रा.डा.कृष्णचन्द्र शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने साहित्यकार एवम् पूर्व मन्त्री शान्ता मानवी, धरानका साहित्यकार प्रा.डा.भीम खतिवडा, प्राज्ञहरू हरि तिमिल्सिना र नन्दु उप्रेती, झापाका वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र विधान आचार्य, अग्रज साहित्यकारहरू डम्बर पहाडी, सीताराम नेपाल, भारद्वाज मित्र, रामदेव पाण्डेय, नर्मदेश्वरी सत्याल, पोखराका नारायण परीश्रमी, विराटनगरका गायत्रीकुमार चापागाईँ र रौतहटका उपेन्द्र सहनी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई कवितावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको भए पनि प्रविधिले सबैलाई साथ नदिएकाले इलामदेखि नेपालगन्जसम्मका कविहरूको उपस्थिति रहेको थियो । जसअनुसार गोष्ठीमा जयन्ती स्पन्दन, गोमा कटुवाल, यादव भट्टराई, गायत्रीकुमार चापागाईँ, भारद्वाज मित्र, रामदेव पाण्डेय, सीताराम नेपाल, प्रमोद स्नेही, सरस्वती चिमोरिया, ललिता दोषी, नन्दु उप्रेती, नर्मदेश्वरी सत्याल, कात्यायन, परशुराम पराशर, नारायण परिश्रमी, रूपक अलङ्कार, डम्बर पहाडी, गोपाल मैनाली, गणेश मार्मिक, वासुदेव अधिकारी, देबु लुइटेल, श्याम सापकोटा, उपेन्द्र सहनी, विधान आचार्य, शान्ता मानवी, शान्ता दाहाल, शर्मिला बुडाथोकी, पुण्यप्रसाद खरेल, राम विनय र प्रा.डा.कृष्णचन्द्र शर्माले आआप्mना समसामयिक कविता, गीत, हाइकु, एलाक वाचन गर्नुभयो ।
वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि प्रा.डा.कृष्णचन्द्र शर्माले साहित्य सन्ध्याको आजको यो विशेष गोष्ठीमा तिसओटा कविता, गीत, हाइकु, एलाक सुन्ने अवसर प्राप्त भयो । आजकाल म दर्शनको अनुसन्धानतिर लागेको छु तापनि मेरा एउटा नेपालीमा र एउटा अङ्ग्रेजीमा कवितासङ्ग्रह प्रकाशित भएका छन् । वेदले जातपातको कुरा गरेको छैन तर संस्कृतिको आधार दर्शन हो भन्ने कुरालाई स्थापित गरेको छ त्यसैगरी लोकसाहित्यले संस्कृति निर्माणमा अहम् भूमिका निर्वाह गरेको पाइन्छ । यी दुइटैको महत्तालाई अङ्गीकार गर्दै रचना गरी आजको यो विशेष समारोहमा वाचन गरिएका कवितामा अहिलेको भ्रष्ट परिवेशले गन्तव्यमा नपुगिने आक्रोश व्यक्त गरिएको छ, तीज र पञ्चमी जस्ता पर्वका नाममा अन्ध परम्परा अवलम्बन गरिनु उपयुक्त नहुने हुँदा रूपान्तरण आवश्यक छ भन्ने आग्रह गरिएको छ, वियोग र पीडाका कविता वाचित भएका छन्, तजिलाई भड्किलो पार्ने होइन सहभावमा मनाउनुपर्छ भन्ने आग्रह गरिएको छ, समसामयिक विकृति र विसङ्गतिको उद्घाटन गर्दै सुन्दर विम्ब र प्रतीकका माध्यमबाट परिवर्तनको आग्रह गरिएको छ, कोरोनाकहरको दुश्प्रभावबाट संसारै आक्रान्त भएको र यसबाट धनाड्यहरू नै बढी चिन्तित रहेको यथार्थलाई उजागर गरिएको छ, लोकभाकाको प्रयोगका माध्यमबाट प्रेरणामूलक बालकविता गाइएको छ, केही कविताले सामान्य मान्छेभन्दा फरक रहेर केही गर्ने चाहना अभिव्यक्त गरेका छन्, नारीले समाजमा पुरुषको सम्मान गर्दागर्दै पनि पुरुषबाटै प्रताडित हुनुपरेको पीडा अभिव्यक्त भएको छ, प्राकृतिक प्रकोपले मुलुक थिलथिलो भएको वेला जनताका घाउमा मलम लगाउनुपर्नेमा त्यो जिम्मेवारी पनि पूरा नभएको र सिद्धान्त अनि आदर्शलाई किनारामा पारेर स्वार्थमा लम्पट भएको प्रवृत्तिका प्रति आक्रोश व्यक्त भएको छ, सङ्घर्ष सहज छैन तर पनि सबै जुटे सम्भव छ भन्ने आशावादी भाव उजागर भएको छ, परिस्थितिजन्य पीडाले खुसी हराएको र चाडपर्वमा हुनुपर्ने उत्सव वा रमाइलो पनि खोसिएको पीडा अभिव्यक्त भएको छ, छापामार शैलीमा संसारलाई त्रस्त पार्दै कोरोना मडारिए पनि मानवले हार्दैन भन्ने दृढता व्यक्त गरिएको छ, सबै खाले विकृतिबाट मुक्तिको आग्रह गर्दै समसामयिक राजनीति र नेतृत्व अनि उनीहरूको कार्यशैलीका प्रति व्यङ्ग्यात्मक आक्रोश व्यक्त गरिएको छ, राजनीतिमा सिद्धान्त र आदर्श हराएकोप्रति चिन्ताभाव व्यक्त गरिएको छ, छिमेकीको मिचाहा प्रवृत्तिका प्रति शालीन आक्रोश व्यक्त गरिएको छ, कवितामा सत्तासञ्चालकले आपूmलाई सुधार्नुपर्ने अपेक्षा गरिएको छ, अहिलेको कोरोनाको पीडाको झल्को दिने तीजका गीत पनि गाइएको छ, तीजको दर विकृत भएर डरका रूपमा विकसित हुनुका साथै नारीको त्याग र बलिदानको सम्मान गर्नुको साटो तिरस्कार गरिएकाले नारीलाई सम्मान गर्नुपर्ने आग्रह गरिएको छ, कालोको विम्बबाट उज्यालोको खोजी गर्दै उज्यालो र अँध्यारोको अन्तरसम्बन्ध खुट्याउने काम सुन्दरढङ्गले कवितामा गरिएको पाइन्छ । कवितालाई उत्कृष्ट बनाउन कवि स्वयम्ले झनै बढी अध्ययन गर्नु आवश्यक छ, धेरै कविताले सुन्दर विम्बविधानको संयोजन गरेका छन् जुन कविताको सफलता हो । धेरै कविताले महिलामाथिको विभेदपूर्ण उत्पीडन उजागर गर्दै रूपान्तरणको आग्रह गरेका छन् । कवितामा बेसारमहात्म्यका कुरा पनि सुन्दरढङ्गले आएका छन् र अनुवाद कविता पनि ऊर्जाशील स्वाभिमानका पक्षमा आएको छ । समग्रमा आजको यो विशेष गोष्ठी निकै उत्कृष्ट रहेको छ, रचना सुनेर टिप्पणीसमेत गर्ने मलाई प्राप्त अवसरका लागि धन्यवाद म दिन्छु भन्नुभयो ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री चौथो गोष्ठीमा पूर्वको झापादेखि, विराटनगर, रौतहट, पोखरा हुँदै नेपालगन्जसम्मका स्रष्टाहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । प्रविधिको प्रयोग र व्यवस्थापनमा साहित्य सन्ध्याका सल्लाहकार एवम् वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । आजको विशेष गोष्ठीमा ३९ जनाको प्रत्यक्ष सहभागिता रहेको छ । प्रविधिले साथ नदिँदा केही स्रष्टाले सिर्जनावाचन गर्नसक्नुभएन, अर्काेपटक हामी अवश्यै सुन्ने छौँ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिनचाहन्छु । सन्ध्याको गोष्ठी एक खालको कार्यशाला हो, यहाँ सबै उमेरसमूहका स्रष्टा जोडिने गरेकोमा यसपटक बालस्रष्टा र ज्येष्ठ स्रष्टा जोडिनसक्नुभएको छैन, हामी त्यो प्रयास पनि गर्ने नै छौँ । आजको यस शृङ्खलामा प्रमुख अतिथिको रूपमा उपस्थित भइदिएर वाचित सिर्जनामाथि मसिनोगरी टिप्पणीसमेत गरिदिनुहुने प्रा.डा.कृष्णचन्द्र शर्माज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट समग्र समसामयिक विषयमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर आजको गोष्ठीले हामीलाई प्रदान गरेको छ । आज उपस्थित प्रमुख अतिथि, सबै अतिथि, स्रष्टा र उहाँहरूका सिर्जनाका लागि हार्दिक धन्यवाद दिन्छु । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।