भदौ १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०२ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका झापाका प्रगतिवादी स्रष्टा परशुराम पराशरका एक दर्जन कविता सुनिए ।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सचिवालय सदस्य गोपालकुमार मैनालीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा महासङ्घकी उपाध्यक्ष नमुना शर्मा, महासचिव आर.सी.न्यौपाने, प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा.देवी दुलाल क्षेत्री, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, महेशराज खरेल, परशुराम पराशर, शारदा पराजुली, विमल अर्याल, शीतल गिरी, वासुदेव पौडेल, माधवलाल श्रेष्ठ, नन्दु उप्रेती, डिल्लीप्रसाद मुल्तिउन, थरेन्द्र बराल, वरिष्ठ स्रष्टा रामबहादुर पहारी, ललिता दोषी, डा.भागवत आचार्य, कुलप्रसाद भट्टराई, घनश्याम प्रसाईँ, नारायण निरासी, गङ्गा कर्माचार्य पौडेल, डा.हरिप्रसाद सिलवाल, डा.प्रतिभा पुनलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने सङ्घका सचिव सोमनाथ दाहालले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०२० सालमा झापा जिल्लाको हालको गौरादह नगरपालिका वडा नं.७ जन्मिएका परशुराम पराशरले १४ किलोमिटर टाढा रहेको गौरीगन्ज माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । तीन दाजु, एक दिदी र उहाँ गरी पाँचजना सन्तान भएका कारण उहाँले पठनपाठनको अवसर प्राप्त गर्नुभएको देखिन्छ । २०४३ सालतिर कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएका पराशरले २०४७ सालमा उच्चशिक्षार्जनका लागि काठमाडौँमा प्रवेश गरेर २०५२ सालमा गाईजात्रे पत्रिकामा कविता प्रकाशित गराएपछि निरन्तर साहित्यसाधना गर्नुभएको छ । शिक्षण पेसामा रहेका पराशरका ‘परिचय’ कवितासङ्ग्रह २०६६, ‘नवरत्न’ संयुक्त जीवनीसङ्ग्रह २०६७, ‘सावधान’ लघुकथासङ्ग्रह २०८१ प्रकाशित भएका छन् भने प्रकाशोन्मुख अवस्थामा करिब आधा दर्जन विभिन्न विधाका कृति रहेका छन् । विभिन्न सङ्घसंस्थामा संलग्न रहेर विभिन्न पत्रपत्रिकाको सम्पादनसमेत गरिरहनुभएका पराशरको कवि व्यक्तित्व बढी सशक्त रहेको छ । उहाँका एक छोरा जापानमा र छोरी क्यानाडामा रहेका हुँदा उहाँ सिर्जनामा सक्रिय रूपमा लाग्नुभएको छ र उहाँकी जीवनसङ्गिनी पनि साहित्यमै रहेर साथ दिइरहनुभएको छ । उहाँको लेखनमा कवितात्मक संवादशैलीको प्रवेश भएको छ र सामाजिक रूपान्तरणको चेतना स्पष्ट रूपमा अभिव्यक्त हुनुका साथै विचार र कलाको संयोजनसमेत भएको पाइन्छ । समाजका समग्र बेथिति र विसङ्गतिलाई आफ्ना सिर्जनामा उतार्ने र सामाजिक रूपान्तरणका पक्षमा स्पष्ट रूपमा आबाज बुलन्द गर्दै उहाँले सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नुभएको छ भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०२ औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेषसमेत भइसक्नुभएको छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, साहित्यिक सङ्घसंसथामा क्रियाशलिता देखाइरहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा परशुराम पराशरलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी यो समारोहलाई नै सभ्य र भव्य पारिदिनेगरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, कविनायकका आफन्तहरू, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका कुशल यिनै स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ । एउटै साहित्यिक यात्रामा कवि तथा जीवनसङ्गिनी लाग्नुभएको पक्ष झनै सुखद रहेको छ भन्नुभयो ।
कविनायक परशुराम पराशरले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको, सानै उमेरदेखि कविता सिर्जना गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर आजपर्यन्त सिर्जना, प्राध्यापन, साहित्यिक संस्थाहरू, सम्पादन आदि क्षेत्रमा क्रियाशील भइरहेको छु, सकेजतिको सक्रियता देखाइरहेको छु । आफ्नो कर्मलाई कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता वाचन गर्ने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु र यसका निम्ति यस सङ्घको काव्य विभागका संयोजक डा.कृष्ण सुवेदीज्यूलाई विशेष धन्यवाद दिन्छु । मेरो विचारमा भावनाको विशिष्ट अनुभूतिको अभिव्यक्ति कविता हो र मैले पनि आफ्ना भावनालाई कवितामा उतार्ने प्रयत्न गरेको छु । राजनीति, शिक्षा, प्रशासन आदि सबै सबै क्ष्ेत्रमा विकृति, विसङ्गति देखेपछि रूपान्तरणको उद्देश्य राखेर मैले सिर्जना गर्ने गरेको हुँ । राजनीतिले सिर्जना गरेको अशान्ति, जालझेल, भागबण्डा, व्यक्तिगत महात्वाकाङ्क्षा, मौलाएको भ्रष्टाचार, सत्तास्वार्थका साँठगाँठ, दुष्टमतिका नेताका प्रवृत्ति, कृषकले भोगेका पीडा, माटोमा पसिना बगाउनुपर्छ भन्ने आफ्नो मान्यता आदि आदि विविध विषयले झक्झक्याएपछि मैले कविता सिर्जना गर्ने गरेको छु भन्नेसमेतको रचनागर्भको पनि जानकारीसहित उपजाति छन्दको ‘परिचय’ शीर्षकको, पञ्चचामर छन्दको ‘युवा उठौँ’ शीर्षकको, मन्दाक्रान्ता छन्दको ‘शान्तिको गीत लेखौँ’ शीर्षकको, मालिनी छन्दको ‘देश खाए किराले’ शीर्षकको र शार्दूलविक्रीडित छन्दको ‘मेरो भुँडी’ शीर्षकका सुन्दर, सशक्त र वैचारिक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू कृष्णप्रसाद पौडेल जस्ताघरेले शार्दूलविक्रीडित छन्दको ‘नेपाल सर्वाेपरि’ शीर्षकको, चेबन वस्नेत ठुलाघरेले अनुष्टुप् छन्दको ‘राजनीतिक कोटा’ शीर्षकको, डिल्लीप्रसाद मुल्तिउनले अनुष्टुप् छन्दको ‘चाहना’ शीर्षकको, नारायण निरासीले शार्दूलविक्रीडित छन्दको ‘नेता नबन्ने मता’ शीर्षकको, विपी इलामेले मन्दाक्रान्ता छन्दको ‘सिर्जना गर्नपाऊँ’ शीर्षकको, मेनका आचार्य पोखरेलले मालिनी छन्दको ‘मेरो देश’ शीर्षकको र शारदा पराजुलीले उपजाति छन्दको ‘धराको कविता’ शर्षिकका त्यत्तिकै सुन्दर, सशक्त र रूपान्तरणको सन्देश बोकेका कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणीसमेत गर्नुहुँदै प्रमुख अतिथि डा.फणीन्द्रराज निरौलाले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १०२ औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको पनि देखिएको छ । त्यसैले सर्वप्रथम म आजका कविनायकलाई बधाइ दिन्छु र मलाई प्रमुख अतिथिको भूमिकासहित वाचित कविताको समालोचना गर्ने गहन जिम्मेवारीका लागि हार्दिक धन्यवाद दिन्छु । साहित्यमा स्नातकोत्तर गरेर सिर्जनामा रहेका आजका स्रष्टा सचेत सर्जक हुनुहुन्छ । देशको माटो, परिवेश, नेपाली जनताका भोगाइ उहाँका कवितामा आएका छन् । कवितामा नेताको पहिरन सफा तर मन कालो बिरालाको जस्तो भनेर मर्मान्त प्रहार गरिएको छ । कविताको एउटै पङ्क्तिमा कविले नेपाली जनताले बाँचेको दुर्दशापूर्ण अवस्थाको सुन्दर चित्रण गर्नुभएको पाइन्छ । बोर्डिङका शिक्षक, कलेजका विद्यार्थी, कर्मचारी आदि आदि सबै सबै क्षेत्रका विकृतिलाई पनि कवितामा बडो मजाले चित्रण गरिएको छ । भ्रष्टाचार, अशान्ति, सेवाभावको अभाव जनताले भोगुन्जेल र नेतृत्वले आफ्नो आचरणमा सुधार नगरुन्जेल देशको हित हुनसक्तैन । नेता, उनीहरूमा विद्यमान रहेको सामन्ती सोचका प्रति सशक्त व्यङ्ग्य कवितामा गरिएको छ । कवितामा देशका समग्र विसङ्गतिका प्रति युवा उठ्नुपर्ने आग्रह गरिएको छ । प्रयः कविताले हाम्रा नेता बेइमानका प्रतीक साबित भएका छन् भन्दै कडा व्यङ्ग्य गरिएको छ । सबैमा असल भावनाको विकास होस् भन्ने मान्यताका साथ देशभक्तिको भावना प्रखररूपमा कवितामा उजागर भएको पाइन्छ । कविताले शान्तिको गीत लेख्ने चाहना राख्नुका साथै सत्ममार्गमा सबैले चल्ने हो भने समुन्नत समाज निर्माण हुने अपेक्षा पनि कवितामा गरिएको छ । राम्रा–नराम्रा चरित्रका प्राणीका क्रियाकलापका माध्यमबाट मानव तथा नेताको चरित्रसुधारको व्यङ्ग्यात्मक आग्रह पनि गरिएको छ । अर्थात् असल मानवताको वकालत गरिएको छ । समृद्ध र गौरवपूर्ण हाम्रो देश लथालिङ्ग पार्ने वा राम्रो पार्ने प्रयत्न नगर्ने स्वार्थी प्रवृत्तिका विरुद्धमा र भागबण्डामा देश चलाउने प्रवृत्तिका प्रति आक्रोश व्यक्त गरिएको छ । योग्यताको कदर नहुने र अयोग्यलाई नै महायोग्य बनाउने असङ्गत पक्षका विरुद्धमा आबाज बुलन्द गरिएको छ । युवाले मुलुक परिवर्तन गर्ने हुँदा समग्र असङ्गत पक्ष हटाएर सुन्दर पार्ने चाहना पनि व्यक्त गरिएको छ । कवितामा विषयको विधिता छ, राष्ट्रवादी चिन्तन छ, नेताको व्यवहारले जनता वाक्क भएका भए पनि समग्र विकृतिमा रूपान्तरण गरेर समुन्नत समाज निर्माण गर्नुपर्ने कविको आग्रह रहेको छ । कवितामा युगीन असङ्गतिको जीवन्त चित्रण गरिएको छ । सामाजिक रूपान्तरणको चाहना पूरा नभएको चिन्ताभावका साथ वैचारिक प्रगतिशलि चेतना कविताले सम्प्रषण गरेका छन् । सबै वर्गमा जागरण ल्याउने प्रयत्नका साथ युगीन प्रतिविम्ब कविताले खिचेका छन् । अन्त्यानुप्रासको सुन्दर संयोजनका साथ श्लेष अलङ्कारको यथोचित प्रयोग गरिएको छ । प्राकृतिक, सांस्कृतिक एवम् पौराणिक विम्बको प्रयोग कवितामा गरिएको छ । मोतीराम भट्टले अवलम्बन गरेको समस्यापूर्तिको शैलीको सुन्दर प्रयोग गरिएको छ । कवितामा अझ सशक्त रूपमा केही सन्देश आउला आउला भन्ने लाग्दालाग्दै कविता टुङ्गिएका छन्, रचनाकाल उल्लेख गरिएको छैन त्यसैले भावी दिनमा विश्वचेतना पनि कवितामा आओस् र सूक्तिमयता पनि पाइयोस्; कविलाई हार्दिक शुभकामना दिन्छु भन्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, साहित्यिक सङ्घसंस्थामा सक्रियता, सामाजिक रूपान्तरण अभियानमा सक्रिय झापाका स्रष्टा परशुराम पराशरलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट अनि अत्यन्त सरल भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्राम्य विम्बको प्रयोगका माध्यमबाट आञ्चलिकता देखाउने, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; मुलुकको वर्तमान चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा उजागर गर्ने; विद्रोहका स्वरलाई सोझै, व्यङ्ग्यार्थमा र ध्वन्यार्थमा सम्प्रेषण गर्ने अनि आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने प्रखर शिल्पी परशुराम पराशरका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन भएको छ, युवापलायनका, विकृतिका, भ्रष्टाचारका, भागबण्डाका प्रवृत्ति नेपाली राजनीतिले भित्र्याएको प्रति चिन्ताभाव अभिव्यक्त भएको छ, कविका कविताले प्रौढोक्तिबोध गरेका छन् । सत्ता जनजीविकासँग नजोडिएको पीडा कवितामा व्यक्त भएको छ । सुन्दर, सरल र सपाट कविता सुन्दा कविको चेतना सशक्त रहेको देखिन्छ । यो अभियानमा जोडिएर कीर्तिशेष भइसक्नुभएका माथि उल्लेखित छजना अग्रज स्रष्टाका प्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । हामी स्रष्टाले वर्तमानका सत्ताका वा प्रतिपक्षका वेथितिका कुराहरूलाई निरन्तर उठाइरहेका भए पनि सुनवाइ नहुने वा सुनेर उडाउने प्रवृत्ति पनि भोगिरहेकै छौँ तापनि हामी हाम्रो कर्ममा लागि नै रहने छौँ । अब हामी कार्तिक महिनामा १०३ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेकी सशक्त स्रष्टा भवानी खतिवडालाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply