‘अविरल जनसाहित्य यात्रा–१०३’मा सशक्त प्रगतिवादी कवि भवानी खतिवडाका एक दर्जन कविता सुनिए

कार्तिक १५ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी उदयपुरकी सशक्त प्रगतिवादी स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता सुनिए ।

नेपाली छन्द कवितालाई समृद्ध पार्ने अभियानका कुशल अभियन्ता प्रा.डा.देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा महासङ्घकी अध्यक्ष भूमिका सुब्बा विशिष्ट अतिथिका रूपमा आमन्त्रित हुनुहुन्थयो भने महासङ्घका महासचिव आर.सी.न्यौपाने र वरिष्ठ साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थयो । अतिथिहरूमा सङ्घका सल्लाहकार वासुदेव अधिकारी, डा.सिर्जना शर्मा, युद्धप्रसाद स्मृति प्रतिष्ठानका महासचिव नन्दु उप्रेती, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईँ, खेमराज निरौला, नारायण निरासी, प्रभात िकिरण, त्रिलोचन आचार्य, सोमनाथ दाहाललगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो र आजको यो विशेष समारोहमा विशिष्ट अतिथि, विशेष अतिथि, कविनायक, अध्यक्ष महिला रहनुभएका कारण विगतको भन्दा फरक रहेको छ । यो विशेष समारोह हरेक महिना दोस्रो शनिबार हुने गरेकोमा तिहार परेका कारण तेस्रो शनिबार सारिएको र यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु हो । वर्तमानमा अलि प्रतिकूल अवस्था सिर्जना भएको भए पनि हामी स्रष्टाको काम निरन्तर गरि नै रहन्छौँ । प्रतिकूल अवस्था सधैँ रहिरहँदैन । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी आज प्रकृतिले पनि प्रतिकूल बनाएको यो झरीका दिनमा पनि उपस्थित भइदिएर हामी तथा कविनायकलाई हौसला प्रदान गरिदिनुहुने सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक स्वागत गर्दछु । २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०३ औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेषसमेत भइसक्नुभएको छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, साहित्यिक सङ्घसंसथामा क्रियाशीलता देखाइरहेकी, सामाजिक रूपान्तरण अभियानकी अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा भवानी खतिवडालाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका कुशल यिनै स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।

कविनायक भवानी खतिवडाले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै यति लामो समयदेखि सञ्चालन भइरहेको यो सोद्देश्यमूलक अविरल जनसाहित्य यात्राको १०३ औँ शृङ्खलामा मात्र आपूm जोडिन आइपुगेकोमा विगतमा निकै छुटाइरहेको महसुस भएको र आजका दिनमा गर्वधोध पनि भएको छ । नेपाली छन्द कविता अभियानका शिखर व्यक्तित्व प्रा.डा.देवी नेपालज्यू आज मेरा कविताका समीक्षकका रूपमा उपस्थित भइदिनुभएको पक्ष पनि अत्यन्त सुखद रहेको छ । म आपूm पनि छन्द साधनाकी साधक भए पनि प्राकृतिक सम्पदाले भव्य रहेको यो मुलुककी नागरिक पनि भएकीले वर्तमान म आपूm नियात्रा लेखनमा अलि बढी सक्रिय रहेकी छु । मेरो लेखनको उद्देश्य कतै न कतैे राष्ट्रवन्दना रहेकोजस्तो लाग्छ । समाजका कुरूप सामाजिक विसङ्गति देखेपछि, कर्णालीमा छाउपडीजस्तो कुप्रथा अद्यापि रहेको देखे÷सुनेपछि; निजामती सेवाका सबै भ्रष्ट र बेइमान छैनन्, ९० प्रतिशत इमानदार छन् तर उनीहरूको स्वाभिमानको अपमान भएको महसुस भएपछि आपूmले कविता सिर्जना गरेको, जापानले तीन हजार मिटरभनदा केही बढी उचाइ भएको पहाडलाई हिमाल भनेर प्रचार गरेको तर हाम्रो मुलुकमा त ५,१७६ मिटरमा त बस्ती बसेको छ र हाम्रो देशले ५,८०० मिटरभन्दा बढी उचाइका शिखरलाई मात्र हिमाल भनेर परिभाषित गरेको छ अनि संसारका दशओटा सर्वाेच्च शिखरमध्ये ८ ओटा त हामै्र मुलुकमा रहेका छन् । हामीकहाँ १,७९२ ओटा हिमाल रहेका छन् । मलाई हाम्रो यो प्राकृतिक भव्यता गर्वलायक लागेपछि हिमाल विषयमा कविता लेखेको, हाम्रो आस्था वा विचार बिरामी हुँदा, आदर्श स्खलित भइरहेको देख्दा मन दुखेपछि कविता लेखेको; कवि बन्नसक्दिन कि भन्ने लागेर पनि कविता लेखेको, देशलाई देशजस्तो बनाउन पाए हुन्थ्यो भन्ने लागेर पनि कविता लेखेको, नागरिक पलायन हुने र आधुनिकताका नाममा विकृति मौलाएको पीडा पनि कवितामा अभिव्यक्त गरेको रचनागर्भका बारेमा जानकारीसहित मन्दाक्रान्ता छन्दको ‘देश यो जुर्मुराओस्’ शीर्षकको, शार्दूलविक्रीडित छन्दको ‘राष्ट्रवन्दना’ शीर्षकको, अनुष्टुप् छन्दको ‘चेतनापुञ्ज’ शीर्षकको र मन्दाक्रान्ता छन्दको ‘देवकोटाको सम्झनामा’ शीर्षकको अत्यन्त सुन्दर, सशक्त र वैचारिक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू गणेश खतिवडाले इन्द्रबज्रा छन्दको ‘छचल्किएँ म’ शीर्षकको, दीनेश पाण्डेले अनुष्टुप् छन्दको ‘प्रश्नपुञ्ज’ र उपजाती छन्दको ‘भेडो’ शीर्षकको, डा.सिर्जना शर्माले मुक्त लयको ‘अन्तिम कथा’ शीर्षकको, राधा कँडेलले उपेन्द्रबज्रा छन्दको ‘स्वाभिमानी अभाव’ शीर्षकको, शान्ति पौडेलले उपजाती छन्दको ‘छाउगोठ’ र दिक्पाल छन्दको ‘आमा’ शीर्षकको र प्रभाती किरणले उपजाती छन्दको ‘हिमाल’ शीर्षकको त्यत्तिकै सुन्दर, सशक्त र रूपान्तरणको सन्देश बोकेका कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणीसमेत गर्नुहुँदै प्रमुख अतिथि प्रा.डा.देवी नेपालले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १०३ औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको पनि देखिएको छ । त्यसैले सर्वप्रथम म आजकी कविनायकलाई बधाइ दिन्छु र मलाई प्रमुख अतिथिको भूमिकासहित वाचित कविताको समालोचना गर्ने गहन जिम्मेवारीका लागि हार्दिक धन्यवाद दिन्छु । वि.सं.२०३० असार १२ मा उदयपुर जिल्लाको नेपालटारमा माता अम्बिकादेवी खतिवडा र पिता डिल्लीप्रसाद खतिवडाकी जन्तरी सुपुत्रीका रूपमा जन्मिएकी भवानी खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट कृषि डिप्लोमा, बी.एड., कानुनमा एलएलबी र ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण गरी हाल नेपाल सरकारको सेवामा रहनुभएको छ । हाल तीनकुने, काठमाडाँैमा बसोवास गरिरहेकी खतिवडाका ‘घामभन्दा पहिले’ नियात्रा २०७८, ‘चारखोलाको आँगनीमा’ पद्यनियात्रा २०७९, ‘आकाश ओढेको डोल्पो’ नियात्रा २०८०, ‘प्रणाम सगरमाथा’ नियात्रा २०८१ जस्ता नियात्राका कृति प्रकाशित भएका छन् । ‘छन्द सारथी’, ‘हिमाल हेर्ने पाइलाहरू’, ‘नेपाली प्रतिनिधि नियात्रा’जस्ता कृतिको सम्पादनसमेत उहाँले गर्नुभएको छ । भवानी खतिवडा प्रकृतिको जीवन्त चित्रण गर्ने, सामाजिक बेथितिलाई शालीन ढङ्गले उजागर गर्ने र रूपान्तरणको ध्वन्यार्थ बडो सुन्दर तरिकाले सम्प्रेषण गर्ने, सुन्दर विम्ब प्रयोगका माध्यमबाट सिर्जनालाई अत्यन्त कलात्मक पार्ने स्रष्टा हुनुहुन्छ । उहाँको व्यक्तित्व कर्मचारी, लेखक, सङ्गठकका रूपमा सक्रिय रहेको छ । आपूm काम गर्ने र अरूलाई पनि गराउने, धाराप्रवाह अभिव्यक्ति दिनसक्ने, कविको कवितावाचनसँगै कवितामै तत्कालै त्यही छन्दमा समीक्षा लेख्नसक्ने, देखेको कुरा मात्र लेख्ने, कवितामा पनि साहसी, ‘चारखोलाको आँगनीमा’ शीर्षकको पद्य नियात्रा लेखिसक्नुभएकी, देखेको कुरालाई दृश्यात्मक रूपमा लेख्नसक्ने अनि युवालाई उत्प्रेरणा प्रदान गर्ने स्रष्टा हुनुहुन्छ । डा.मोदनाथ प्रश्रितबाट थालनी भएको अविरल जनसाहित्य यात्राको १०३ औँ शृङ्खलामा हामी आज छौँ र यसले अविरल शब्दको सार्थकता पुष्टि गरेको छ । आज सुनिएको भवानीको पहिलो कविता नै भाव, विचार र जागृति बोकेको कविता हो । सत्यको सूक्तिकरण कविताको शक्ति हो । मानव जडतामा रूपान्तरण भएपछि छाउपडीजस्ता प्रवृत्ति समाजमा जीवित रहन्छन् भन्ने यथार्थ अर्काे कवितामा उजागर भएको छ । एउटा कविताले सिङ्गो किताबले बोल्ने अभिव्यक्ति सङ्क्षेपमा बताइरहेको हुन्छ र आज वाचित हिमाल कविताले त्यही गरेको छ । सङ्घर्ष गर्न पनि सोद्देश्यमूलक सपना चाहिँ देख्नुपर्छ, देशमा समस्या सिर्जना हुनुमा अहम् जिम्मेवार छ, आस्था बिरामी नहोस् भन्ने कामना पनि कवितामा छ । निराशा होइन तर सत्सिर्जनाका पक्षमा कवितामा वकालत गरिएको छ । आजको पुस्ताले काइँलीआमा चिन्दैन र मुलुक छाड्नेको लस्करले मुलुकको विकराल अवस्थाको चित्रण गरेको छ र अहिलेको पुस्ता विकृति भित्र्याउन बढी उद्दत रहेकोप्रति चिन्ताभाव व्यक्त गरिएको छ । अभावभित्र पनि स्वाभिमान हुन्छ र त्यसको सम्मान गरिनुपर्छ, बाहिरी आदर्श होइन यथार्थ अवलम्बन गर्ने हो भने मात्र रूपान्तरण सहज हुन्छ, गजलको मुजारे बहरको प्रयोग कवितामा भएको छ, आमाको महत्तागान गाइएको छ, हाम्रा पुर्खा र हाम्रो माटोको बखान गरिनुपर्छ, देवकोटाको सम्झना र सम्मानका माध्यमबाट अग्रजको सम्मान गरिनुका साथै उहाँको वैयक्तिक र काव्यात्मक उचाइको पनि मूल्याङ्कन गरिएको छ । ‘भेडो’ शीर्षकको कविता चाहिँ व्यङ्ग्यात्मक कविता हो र यसले नेपाली राजनीति र यसका विकृत पक्षलाई जीवन्त चित्रण गरेको छ । स्रष्टाले आफ्नो आदर्शलाई स्थापित गर्न जस्तोसुकै चुनौतकिो पनि सामना गर्नुपर्छ भन्ने सशक्त वैचारिकता पनि कवितामा आएको छ । हामी स्रष्टाको आत्ममूल्याङ्कन, स्रष्टामूल्याङ्कनका लागि सङ्गठन आवश्यक छ । आजका कविताले छन्दको मानकलाई स्वीकार गरेका छन् । अनुमानमा होइन यथार्थमा आधारित भएर यात्रा गरिनु आवश्यक छ । कतै कतै देखिने निराशाको पक्षलाई आशावादमा अवतरित गराउनु आवश्यक छ भन्नेसमेतको धारणा राख्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले राष्ट्रसेवा, सिर्जना, साहित्यिक सङ्घसंस्थामा सक्रियता, सङ्गठन, सामाजिक रूपान्तरण अभियानमा सक्रिय हाल तीनकुने, काठमाडौँमा बसोवास गरिरहनुभउकी स्रष्टा भवानी खतिवडालाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट अनि अत्यन्त सरल भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्राम्य विम्बको प्रयोग गर्ने, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; मुलुकको वर्तमान चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा उजागर गर्ने; विद्रोहका स्वरलाई सोझो वैचारिकतामा, व्यङ्ग्यार्थमा र ध्वन्यार्थमा सम्प्रेषण गर्ने अनि आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, शास्त्रीय छन्दलाई पूर्ण नियन्त्रणमा राखेर सिर्जना गर्ने अत्यन्त प्रखर र सशक्त स्रष्टा भवानी खतिवडाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन भएको छ, युवापलायनका, विकृतिका, भ्रष्टाचारका, भागबण्डाका प्रवृत्ति नेपाली राजनीतिले भित्र्याएको प्रति चिन्ताभाव अभिव्यक्त भएको छ, कविका कविताले प्रौढोक्तिबोध गरेका छन् । सत्ता जनजीविकासँग नजोडिएको, अपेक्षाअनुसार समाज रूपान्तरण नभएको, विकृत परम्परा समाजमा विद्यमान रहेका पीडा कवितामा व्यक्त भएको छ । सुन्दर, सरल र सपाट कविता सुन्दा कविको चेतना सशक्त रहेको देखिन्छ । यो अभियानमा जोडिएर कीर्तिशेष भइसक्नुभएका माथि उल्लेखित छजना अग्रज स्रष्टाका प्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । हामी स्रष्टाले वर्तमानका सत्ताका वा प्रतिपक्षका वेथितिका कुराहरूलाई निरन्तर उठाइरहेका भए पनि सुनवाइ नहुने वा सुनेर उडाउने प्रवृत्ति पनि भोगिरहेकै छौँ तापनि हामी हाम्रो कर्ममा लागि नै रहने छौँ । अब हामी मङ्सिर महिनामा १०४ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा, बालअधिकारका पक्षमा अत्यन्त क्रियाशील रहेका परिचित एवम् सशक्त स्रष्टा गौरीबहादुर प्रधानलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*