वि.सं.२०४४ पुस १९ मा डा.मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’ले आफ्नो यात्राका ३८ वर्ष पूरा गरेर पुस १९ गते शनिबार सात घटकसहितको ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’को ३९ औँ स्थापना दिवस महासङ्घकै सभाकक्ष बागबजारमा भव्य रूपमा मनाएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा संस्थापक महासचिव एवम् नेकपा एमाले उपाध्यक्ष रघुजी पन्त प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहन्थ्यो भने अतिथिहरूमा एमाले केन्द्रीय सदस्यहरू सुजिता शाक्य, हेमराज राई र विनोद श्रेष्ठ, महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, लक्ष्मण रायमाझी, विष्णु प्रभात, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.हेमनाथ पौडेल, लक्ष्मी माली, स्नेह सायमी, पूर्व महासचिव राजेश थापा, शुष्मा राजभण्डारी, श्याम तमोट, राम विनय, डम्बर पहाडी, नर्मदेश्वरी सत्याल, रमेश पोखरेल, डा.कृष्ण सुवेदी, नन्दु उप्रेती, आकाश थापा, माधव प्रधान, डा.प्रतिभा पुन, नारायण परिश्रमी, के.के.कर्माचार्य, अशोक राई, पूर्व उपाध्यक्ष मधु गुरुङ, पूर्व महासचिव वासुदेव अधिकारी, बुढानलिकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, ओम श्रेष्ठ, सुशिला प्रधानाङ्ग, मनोहर सुनाम, भोजबहादुर शाह, शान्तिराम राई, प्रकाश सिलवाललगायत उपस्थित हुनुहुन्थ्यो ।
उपस्थित सम्पूर्ण व्यक्तित्वलाई महासङ्घकी उपाध्यक्ष नमुना शर्माले स्वागत गर्नुहुँदै महासङ्घले आफ्ना ३८ वर्षका यात्रामा सामाजिक रूपान्तरण अभियानमा महत्त्वपूर्ण योगदान गरेको छ र यो अभियानमा लाग्नुभएका केही अभियन्ताको अवसानसमेत भइसकेको इतिहासको जगेर्ना गर्दै सांस्कृतिक अभियानका माध्यमबाट सामाजिक रूपान्तरणमा निरन्तर लागिरहने धारणा राख्नुभयो ।
समारोहमा राष्ट्रगान बजाएर राष्ट्रको वन्दना गरिएको थियो भने मुलुकको राजनीतिक परिवर्तनका निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । महासङ्घको हालै स्थापना गरिएको नयाँ कार्यालयको प्रमुख अतिथिले उद्घाटन गर्नुभएको थियो । राष्ट्रिय जनसङ्गीत सङ्घ, बागमती प्रदेशका कलाकारले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
महासङ्घका महासचिव आर.सी.न्यौपानेले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा प्रमुख अतिथि रघुजी पन्तले डा.मोदनाथ प्रश्रितको नेतृत्वमा ३९ वर्ष पहिले स्थापना भएको यो महासङ्घले धेरै नै आरोह–अवरोह पार गरेको छ । अहिले हामी प्रविधिको युगमा छौँ र अहिले प्रविधि सिर्जनशीलताका निम्ति चेनौतीका रूपमा पनि रहेको छ । लेखन भनेको मानवीय अनुभूति हो र यो समाजबाटै ग्रहण गरिन्छ । महासङ्घको र तपाईँ–हामी स्रष्टाका लागि पुरानाको सम्मान गर्दै नयाँपुस्तासम्म पुग्नुपर्ने र उनीहरूलाई समेटेर वैचारिक एवम् सोद्देश्यमूलक यात्रामा ल्याउनुुपर्ने आवश्यकता रहेको छ र तपाईँ–हाम्रो प्रयत्न यस दिशामा समर्पित होस् भन्ने शुभकामना दिनुभयो ।
समारोहमा छेवाङ तेन्जिङ लामाको समूहले टुङ्नाको अत्यन्त सुमधुर स्वागत धुन बजाएको थियो । विशेष समारोहलाई शुभकाना दिनुहुँदै बुढानलिकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले यो महासङ्घ आफ्नो सिर्जनशीलतासहितको परिचय गराउने र आपूmलाई स्थापित गराउने संस्था हो । हरेक स्रष्टाको व्यक्तित्व विकास मात्र होइन उसको चौतर्फी वा बहुआयामिक व्यक्तित्व निर्माण गराउने पनि संस्था हो यो । आपूm अहिले राजनीतिक नेतृत्वमा रहँदा पनि सिर्जनाशक्तिले सहयोग गरिरहेको छ । वर्तमानमा महासङ्घको नेतृत्वमा अर्थात् अध्यक्षमा भूमिका सुब्बा रहनुभएकाले यस संस्थाले महिला नेतृत्व प्राप्त गरेको छ । कुनै पनि अभियानमा समर्पित भइरहियो भने मात्र निष्कर्षमा पुगिन्छ भन्ने मलाई लाग्दछ । सांस्कृतिक रूपान्तरणमा चेतना वा विचार निर्माण अत्यन्त आवश्यक रहेको हुन्छ र त्यही चेतना वा विचारले विचलन र स्खलन रोक्नसकिन्छ । भ्रम तथा आडम्बररहित चेतना सम्प्रेषणको महासङ्घको यात्रालाई सघाउने वा हातेमालो गर्ने निर्णय बुढानीलकण्ठ नगरपालिकाले गरिसकेको छ र त्यो अभियानका बारेमा महासङ्घका पदाधिकारीहरूसँग बसेर छलफल गर्न र थप सहयोग गर्न हामी तयार छौँ । आजको यो विशेष दिनमा म हार्दिक शुभकामना दिन्छु भन्नुभयो ।
विशेष समारोहमा नन्दु उप्रेतीले समसामयिक कविता वाचन गर्नुभएको थियो भने अतिथि सुजिता शाक्यले शुभकामना दिनुहुँदै आफ्नो विद्यार्थी जीवनमै यो संस्थामा जोडिएर सांस्कृतिक चेतनासहितको ऊर्जा प्राप्त गरेको, संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको वर्तमानमा संस्कृतिकर्मीको विशेष भूमिका रहेको, चेतना सम्प्रेषण गर्ने प्रखर माध्यम कला, साहित्य तथा संस्कृति भएको हुँदा युवापुस्तालाई पनि यो अभियानमा जोड्दै क्रमशः आत्मनिर्भर हुँदै गरेको यस महासङ्घले भावी दिनमा थप व्यवस्थित र योजनाबद्धढङ्गले कार्यसम्पादन गर्नु आवश्यक रहेको छ । हालै जेनजीको आवरणमा प्रविधिको दुरुपयोगका माध्यमबाट भुइँफुट्टा, परिवार तथा समाजको दायित्वबाट विमुख, आत्मकेन्द्री, जिम्मेवारीविहीन विध्वंसको बाटो अवलम्बन गरिएको हुँदा संस्कृतिकर्मीले भाषा, संस्कृति, कला, साहित्यको मर्मसहितको खरो चेतना सम्प्रेषण गर्नुपर्ने जिम्मेवारी रहेको हुँदा सचेतताको साथ सांस्कृतिक रूपान्तरण अभियान सञ्चालनमा महासङ्घ थप सक्रिय हुनसकोस् भन्नुभयो ।
समारोहमा भरत नेपाली र सूर्य मगरले सारङ्गीको सुमधुर धुन सुनाउनुभएको थियो भने अतिथि हेमराज राईले महासङ्घले अड्तिस वर्षको गौरवमय यात्रा तय गरिसकेको छ । परिवर्तनलाई सम्बोधन गर्ने नयाँ सशक्त गीत नआएका, युवापुस्ता नसमेटिएको अर्थात् युवापुस्ता विचारविहीन हुँदै गएको गुनासा सुनिएका छन् र केही चाहिँ अनुभूत पनि गरिएको छ । समाजलाई मार्गनिर्देश गर्ने सांस्कृतिक अभियान आवश्यक छ र अबको सिर्जनाले अबको बाटो वा दिशाको पनि सङ्केत गर्नुपर्ने धारणासहित शुभकामना दिनुभयो ।
समारोहका अध्यक्ष अशोककुमार राईले अग्रजको योगदानले स्थापित महासङ्घले झण्डै चार दशकको यात्रा तय गरेको छ । यो आफैँमा सङ्गठित र सशक्त संस्था भएर पनि यसलाई परिचालित गर्ने सांस्कृतिक नीतिको भने अद्यापि अभाव रहेको छ । पार्टीका समारोहमा हाम्रा गीत नबज्ने वा सार्थक गीतले स्थान नपाउने अवस्था अहिले पनि रहेको हुँदा सिद्धान्त र व्यवहारका बिच तालमेल गर्नुपर्ने, साङ्गठनिक समन्वय गरिनुपर्ने आवश्यकता अझै रहेको छ । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्विकारेर उपस्थित भइदिनुहुने आदरणीय अग्रज, विद्वान व्यक्तित्व तथा सङ्गठनमा रहेर योगदान गरिरहनुभएका सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply