असार २८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा साहित्यकार खेमराज निरौलाद्वारा लिखित ‘नयाँ युगका नयाँ कुरा’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा सम्पन्न गरियो । प्रा.डा.जीवेन्द्र देव गिरीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा माननीय मेनका पोखरेल, महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र प्रा.डा.देवी नेपाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सहप्रा.गोपाल न्यौपाने, डा.हरिप्रसाद सिलवाल, कथाकार खेमराज निरौला र उहाँकी जीवनसङ्गिनी मातृका चापागाईँ निरौला, डा.रमेश शुभेच्छु, डा.गोविन्दप्रसाद आचार्य, इलाम क्याम्पसका पूर्व क्याम्पस प्रमुख द्वय खगेन्द्र चापागाईँ र धरणी गौतम, सङ्घका निवर्तमान अध्यक्ष राम विनय, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, खगेन्द्र लुइटेल, आनन्द नेपाल, महेशराज खरेल, प्रशान्त खरेललगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती प्रज्ज्वलन गरेर गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण विद्वत व्यक्तित्वलाई सङ्घकी कोषाध्यक्ष गीता सापकोटाले स्वागत गर्नुभएको थियो । विशेष समारोहका प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले सामूहिकरूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
लोकार्पित ‘नयाँ युगका नयाँ कुरा’ कथासङ्ग्रहको सहप्रा.गोपाल न्यौपानेले चर्चा गर्नुहुँदै दुइटै मृगौला बिग्रिएपछि जीवनसङ्गिनी मातृका निरौलाले मृगौला दिएर जीवनदान प्राप्त गर्नुभएका खेमराज निरौलाले जीवनदान प्राप्त गरेपछि लगातार ‘जीवनको खोजीमा’, ‘मदन शोककाव्य’, ‘क्रान्तिदूत’ महाकाव्य हुँदै योसमेत गरी पाँचओटा कृति प्रकाशित गरिसक्नुभएको छ । लोकार्पित कथासङ्ग्रहको आवरणचित्र नै लालित्यमय छ, उज्यालोको सङ्केत गरेको छ र त्यसमा एउटा वृक्ष छ अनि त्यसको फेदमा साधक आफैँ साधना गरिरहेका छन् भन्ने अर्थ लाग्नेखालको रहेको छ । सङ्ग्रह २७४ पृष्ठको रहेको छ र यसमा चौधओटा कथा सङ्ग्रहित छन् । एक बसाइमा पढिसकिने विधा कथा हो । कथामा हामी बाँचेको युग, परिवेश चित्रित हुन्छ । गाउँबाट सहरको बोर्डिङमै राखेर पढाएको छोरा संस्कारले आमाबुबाका प्रति गर्नुपर्ने संस्कार चाहिँ बिर्सेको छ, व्यवहार अस्वाभाविक छ, फजुल खर्च गर्छ र मोटरसाइकलको माग गर्छ अनि बाबुआमाले किन्ननसकिने जनाउँदा उल्टै दुव्र्यवहार गर्छ ! सामाजिक रूपान्तरणका अभियन्ताकै सहयोगी भावना हराएको, ज्येष्ठ नागरिकहरू उपेक्षित भइरहेका, कोरोनाको कहरमा मानिसको मृत्यु अत्यन्त दारुण बनेकोजस्ता सामाजिक जीवनका सबै सबै विकृत पक्षलाई व्यङ्गार्थ सङ्केत गर्दै नयाँ युगका नयाँ कुरा भनिएको छ । कथाकार सर्वदर्शी, समदर्शी र सीमितदर्शी हुन्छ । यहाँ कथाकार तीनैओटा रूपमा प्रस्तुत भएका छन् । सबै कथाहरू समसामयिक यथार्थमा आधारित छन् । ऐनामा अगाडि मात्र देखिन्छ तर कथाकारले पछाडि पनि देख्छ, कला भर्छ र सुन्दरता थप्छ । प्रायः कथामा दृश्यात्मकता पाइन्छ र कतै कतै सुमधुर शृङ्गार पनि आएको छ । सङ्ग्रहमा केही भाषिक त्रुटि देखिन्छन् र कतै सङ्गति पनि बिग्रेको छ । एउटा कथामा छोरीले अंश मागेकी र दिइएको पनि देखाइएको छ तर त्यसको कारण खोलिएको छैन ! पाठकले चाहिँ अलि पर गएर पनि सोच्छ भन्ने सोचिनु पनि आवश्यक हुन्छ । समग्रमा कथाकार खेमराज निरौला सफल देखिन्छन् भन्ने धारणा राख्नुभयो ।
अर्का चर्चाकार डा.हरिप्रसाद सिलवालले यो सङ्ग्रहका कथामा कथाकार खेमराज निरौलाको कविव्यक्तित्व हाबी भएको देखिएको छ । कथाका शीर्षक, पात्रहरू नै काव्यात्मक छन् । कथाहरू निबन्धात्मक छन्, तर्कशील छन् । पात्रहरू अनुप्रासमय छन् तर कथाको विषय र पात्रको नामको तालमेल चाहिँ अलि मिलेको पाइँदैन । दुई शब्दका शीर्षकका दशओटा कथाहरू, तीन शब्दका शीर्षकका कथा दुईओटा, एक शब्दको शीर्षकको एउटा कथा, चार शब्दको शीर्षकको एउटा कथा रहेको छ । परिवारको आदर्श र संस्स्कार भत्काएको कुरालाई नयाँ भनेर व्यङ्ग्य गरिएको छ । विसङ्गति, विकृति, निराशाजस्ता समसामयिक यथार्थको चित्रण कथामा गरिएको छ । कथामा यथार्थवाद, आलोचनात्मक यथार्थवादको चित्रण गरिएको भए पनि प्रायः कथाले यथार्थ नै देखाएर यथार्थमै टुङ्गिएको देखिन्छ । कथाहरू सहज र बोधगम्य रहेका छन् । सम्पूर्ण कथा नेपाली समाजकै उपज हुन् । समयगत परिवेश ५०–६० वर्षको रहेको छ । संस्कार र संस्कृतिको सुपुत्र स्वतन्त्रले पारिवारिक विघटनको प्रतिनिधित्व गरेको छ । यस्तो वर्तमानका कारक पक्ष के के हुन् ? खोतल्ने प्रयास गरिएको छ र बालकलाई आमाको माया अत्यावश्यक छ भन्ने आदर्श एवम् यथार्थ सन्देश दिने प्रयत्न गरिएको छ । द्वन्द्वकालीन नेपालको चित्रका माध्यमबाट सायद नयाँ कुरा भइरहेको व्यङ्ग्य गरिएको छ । प्रायः कथामा पारिवारिक विछोड देखिएको छ । टेलिसिरियल हेर्न लिप्त सदस्यलाई आफ्नो परिवारको सदस्य बिरामी भएर अस्पताल पुगिसकेको यथार्थ पनि थाहा नभएको दृष्टान्तका माध्यमबाट वर्तमानको विद्रुप चित्रण गरिएको छ । दोस्रो बिहे महिलाका लागि अझै निषेध छ भन्ने विचार आएको छ । कोरोनालाई हैजासँग तुलना गरिएको छ तर यी दुइटा एउटै होइनन् कि ? बलात्कारीलाई यौनाङ्ग निष्क्रिय पारिएको कुरा आएको छ तर कानुनतः ठिक होला कि नहोला ? अर्काे निर्दाेष पक्षको मानवअधिकार हनन होला कि ? मुलुकको शैक्षिक विकृति र भ्रष्टाचारका कुरा कथामा आएका छन् । छोराछोरी विदेश पठाएर वा गएर एक्ला बनेका अभिभावको मर्मान्त पीडा पनि कथामा आएको छ । समस्या आएका छन् र सँगसँगै समाधानका उपायका कुरा पनि आइदिनु आवश्यक होला कि ? परिवारको सहयोग नपाएपछि मनोरोग उत्पन्न हुने, राजनीति भ्रष्ट भएको सत्य भए पनि राजनीतिक परिवर्तनसँगै धेरै क्षेत्रमा सकारात्मक र उल्लेखनीय काम चाहिँ नभएका होइनन् । साहित्यकार प्रतिपक्ष नै हो तर आदर्श सन्देश चाहिँ दिनै पर्छ । नारीबाट पीडित पुरुषका कुरा पनि कथामा आएका छन् । बेइमानको लिङ्ग हुँदैन भन्ने कथामा देखाइएको छ । धर्म गर्नजाँदा दुर्घटना भएको दुष्टान्तले पनि व्यङ्ग्य नै गरेको छ । आमाको नामबाट नागरिकता प्राप्त भएको सकारात्मकता देखाइएको छ । सबै कथाले पारिवारिक, सामाजिक, राजनीतिक विकृतिलाई उजागर गरेका छन् । कथा घटनाप्रधान छन् र सुस्ंस्कृत समाजको कथाले परिकलपना गरेका छन् । फेरि पनि कथा र कविताको द्वन्द्व भने देखिएकै छ । यद्यपि कथाकार खेमराज निरौला काव्यकारझैँ कथामा पनि सफल देखिएका छन् भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले नयाँ जीवन प्राप्त गरेर पनि पाँच पाँचओटा कृति त्यसमा पनि भीमकाय महाकाव्य नै प्रकाशित गरिसकेका खेमराज निरौला जोदाहा स्रष्टा हुन्, श्रद्धा गरिनुपर्ने व्यक्तित्व हुन् । आजको यो विशेष समारोह उनै स्रष्टाको कथासङ्ग्रह लोकार्पण तथा परिचर्चाका निमित्त आयोजना हुनु झनै महत्त्वपूर्ण र सार्थक काम भएको छ । कथासङ्ग्रहका बारेमा दुईजना समालोचकले राम्रो चिरफार गर्नुभएको छ । आजको यो विशेष समारोहमा उपस्थित हामी सबैले पनि आजको यो दिन सार्थक मानेका छौँ । यो बौद्धिक समारोहमा आजको समयका समसामयिक यथार्थलाई उजागर गरिएको महत्त्वपूर्ण कथासङ्ग्रहको परिचर्चा भएको छ । अहिलेको समय भनेको नयाँ पुस्ताका लागि के लेख्ने ? भन्ने सोच्नुपर्ने समय हो । जे छ त्यही लेख्ने, आलोचना लेख्ने र आदर्श सिकाउनेगरी लेख्ने भन्ने तीन प्रकारका यथार्थ हुन्छन् । कतै कतै आदर्शको वा दिशानिर्देश नपुगेको हो कि भन्ने पनि देखिएको छ । काव्य र निबन्धले कथालाई थिच्यो कि ? भन्ने पनि देखियो । कतै कतै बढी वर्णनात्मकता पनि देखियो तर पनि कथा पठनीय, सुबोध्य र स्पष्ट छन्, विचारको अलमल कतै देखिँदैन । राम्रा पात्र र विषयवस्तुको चयनका माध्यमबाट वर्तमानका भोगाइको जीवन्त चित्रण गरिएको छ त्यसैले आजको यो विशेष समारोह सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
कथाकार खेमराज निरौलाले आफ्नै विगतले आज मलाई बोल्न कठिन भइरहेको छ । मेरी जीवनसङ्गनी अर्धनारीश्वर साबित भएकी छिन् र उनकै प्रेरणाले यो कथासङ्ग्रह प्रकाशित हुनसकेको हो । सबैले मलाई माया गरेर आजको यो विशेष समारोहमा उपस्थित भइदिनुभएर मलाई थप प्रेरणा प्राप्त भएको छ । यसपछि अर्काे एउटा महाकाव्य तयारी अवस्थामा पुगेको छ । आजको यो कथासङ्ग्रहका पात्र र परिवेश चाहिँँ हामीले भोगेको नेपाली समाज नै हो । मेरो ध्येय पनि आलोचनात्मक यथार्थवाद नै हो भन्ने ठानेको छु । यो कथासङ्ग्रहमा भूमिका लेखिदिनुहुने डा.गुरुप्रसाद पोखरेल, टिप्पणी गरिदिनुहुने आजका दुईजना विद्वानहरू, यो विशेष समारोहको आयोजना गरिदिने राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपाल, हाम्रो निमन्त्रणा स्वीकार गरी आइदिनुहुने यहाँहरू सबै सबैका प्रति म हार्दिक आभार प्रकट गर्दछु भन्नुभयो ।
अध्यक्ष नर्मदेश्वरी सत्यालले सामाजिक रूपान्तरणमा सघाउने कृतिका लेखकलाई प्रोत्साहित गर्ने उद्देश्यले आजको यो विशेष समारोहको आयोजना गरिएको हो । कथाकार खेमराज निरौलाको परिवार नै अत्यन्त सहयोगी देखेर खुसी पनि लागेको छ । हामी स्रष्टाको लेखनको उद्देश्य सदैव सामाजिक रूपान्तरण नै हुनुपर्दछ र यावत विकृतिका प्रति निर्मम भएर नलेख्दासम्म रूपान्तरण कठिन हुन्छ नै । दुईजना समालोचक र प्रमुख अतिथज्यूसमेतले कथासङ्ग्रहका बारेमा सम्पूर्ण चर्चा गरिसक्नुभएकाले मैले थपिरहनुपरेन । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी आइदिनुहुने प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू, यहाँहरू सबै सबैका प्रति हार्दिक आभार व्यक्त गर्दछु । यो कार्यक्रमको आयोजनाका निमित्त हामीलाई अवसर दिने लेखकलाई पनि धन्यवाद दिन्छु भन्नुहँदै कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply