२०८२ पुस ५ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४७१ औँ शृङ्खलामा ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.रमेशप्रसाद भट्टराई उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा डा.प्रतिभा पुन, डा.गोविन्दप्रसाद आचार्य, पोषरमण चापागाईँ, गायत्रीकुमार चापागाईँ, डम्बर पहाडी, खेमराज निरौला, रत्ननिधि रेग्मी, महेशराज खरेल, नन्दु उप्रेती, रामबहादुर पहारी, कात्यायन, सीताराम ढकाल प्रतिष्ठानकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, मिसन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि प्रा.डा.रमेशप्रसाद भट्टराईले ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’ विषयमा विशद चर्चा गर्नुुहुँदै प्रगतिवाद र उत्तरआधुनिकतावाद दुबै दर्शन हुन् । मध्ययुगपछि पश्चिममा पुनर्जागरणको काल आयो । ग्यालिलियोहरूले परम्परागत मान्यताका विरुद्धमा सूर्य होइन पृथ्वी चाहिँ घुम्छ भन्ने ज्ञाननिर्माणको मान्यता अघि सारे । अर्थात् त्यो समयमा युरोपमा युरोपादेवी र एसियामा भूदेवीले रक्षा गरेका छन् भन्ने मान्यतालाई विज्ञानका नयाँ चेतनाले तोड्दै गए । विभिन्न विद्वानले प्रतिपादन गरेका दर्शनले सामन्ती दृष्टिकोणलाई कमजोर बनाए । तर्क, ज्ञान मुख्य कुरा हो भन्ने मान्यता अनि स्वतन्त्रता, समानता र भातृत्वका आधारमा हेर्ने दृष्टिकोण कार्लमाक्र्ससम्म आइपुग्दा प्रतिपादन भयो । संसारको उत्पत्तिदेखि किासममका कुरामा विज्ञान जोडिन थाल्यो । वर्गसँग जोड्ने अर्थतन्त्रको जगका आधारमा पुँजीवादी संसार र सर्वहारा वर्गीय संसार स्पष्ट छुट्टिए । माक्र्सवादले संसारलाई प्रभाव पार्ने काम गरेको वा हलचल नै ल्याइदिएका कारण माक्र्सवादका विरुद्धमा विभिन्न वादहरू देखा परे, विभिन्न विचारहरूले प्राथमिकता पाए, महान् विचार संसारमा लागू हुन्छ भन्ने मान्यता स्थापित गर्ने प्रयत्न भए । माक्र्सवादको प्रभावले पुँजीवाद पछि पर्दै गयो र त्यसको रक्षाका लागि किन्सको अर्थशास्त्रले केन्द्रीय उत्पादनपद्धतिले मात्र पुँजीवाद अगाडि बढ्छ भन्ने मान्यता स्थापित गर्ने प्रयत्न गर्यो । विस्तारै पुँजीको विकेन्द्रीकरण बहुराष्ट्रिय कम्पनीमार्फत गर्नथालियो । सन १९६० देखि विभिन्न ठाउँमा हिप्पी आन्दोलन, हङ्ग्री आन्दोलन, कालाहरूको आन्दोलन, नारीवादी आन्दोलन सुरु भए र सन १९६८ मा फ्रान्समा ठुलो आन्दोलन भयो तर त्यो विफल भयो त्यसपछि भने सबैमा निराशा पैदा भयो । डेरिडा, लोतार, मेसिल फुकोजस्ता वामपन्थीहरू पनि निराश भए । फेरि ग्लोबल इकोनोमीमार्फत पुँजीवादलाई संसारमा पुर्याइयो, पुँजीवादी शोषणको रूप फेरियो, त्यसका लागि सञ्चारले महत्त्वपूर्ण सहयोग पुर्यायो ।
मानवस्वास्थ्य र समाजलाई खराब गर्ने कुरा प्रचारित भयो अर्थात् भ्रमको वितरण भयो, फलस्वरूप उपभोक्ताको छनोट पनि फेरियो । सबैतिर विज्ञापनको एकछत्र स्वरूप देखियो । यसै समयमा क्यानडाको क्युबेक विश्वविद्यालयका प्राध्यापक लोतारले निर्देशित रूपमा सांस्कृतिक नीति बनाए । उनको ‘उत्तरआधुनिक दसा’ नामक किताव नै प्रकाशित भयो र त्यसलाई माक्र्सवादविरोधी परियोजना मानियो । त्यसअनुसार प्रगतिवादलगायत सबै दर्शनको समय सकियो भन्ने भ्रम छर्ने र टुक्रे इतिहासको थालनी गरी समाजलाई टुक्र्याउने, विच्छेद गर्ने अनि त्यसका लागि सञ्चारले सघाउने हदैसम्मका प्रयत्न भए । वर्ग भन्ने नै हुँदैन, पुरषबाहेकको नारीवाद आवश्यक, पहिचानवाद, जातीय विद्वेष ल्याउने, एकत्व हुननदिनेजस्ता अतिवादका माधयमबाट माक्र्सवादको अस्वीकार गर्ने कार्यमा डेरिडाको अथक प्रयत्न रहेको देखिन्छ । विखण्डन, विघटन हुँदै अर्थहीन पार्ने र निराशा ल्याउने काम भएको पाइन्छ । मिसेल फुकोले त ज्ञान, सत्ता माथिबाट होइन तलबाट प्राप्त हुन्छ भन्ने, माक्र्सको अन्त्य भएको, आशाको अन्त्य भएको, गहिराइको अन्त्य भएको मात्र होइन निराशा नै प्रमुख कुरा हो भन्ने मान्यता स्थापना गर्ने प्रयत्न गरेका छन् । हरेक कुरालाई सतही रूपमा मात्र हेर्ने, सत्य भन्ने छँदै छैन भन्ने, जे मन लाग्छ त्यही लेख्ने हो भन्ने, जे पनि अर्थ लगाउन मिल्छ भन्ने निष्कर्षविहीन पार्ने र साहित्यमा अराजकता सिर्जना गर्ने कार्यसमेत गरिएको छ । सन २००० सम्म आउँदा लेखनलाई सतही पार्ने प्रयत्न गरिएको भए पनि त्यसपछि भने उत्तरआधुनिकतावादको विरोध सुरु भएको छ । भर्चुअल संसारका कुरा, उत्तरमानवतावादका बहस प्रारम्भ भएका छन् । सन २०१८ मा चिलीका मन्त्रीले मानिस र वर्ग रहँदासम्म माक्र्सवाद रहन्छ भन्ने योङ कार्लमाक्र्सको अवधारणा ल्याएका छन् । उनले माक्र्सवादले अहिलेको समयको समेत व्याख्या गरेको भन्ने दाबी गरेका छन् ।
माक्र्सवादको विद्रुपीकरण र असौन्दर्यीकरण गर्ने अनि सबै सबै क्षेत्रमा निराशा भर्ने काम उत्तरआधुतिकतावादले गरेको छ । साहित्यमा विधामिश्रण गर्ने र सबै सबै विषय साहित्य हुन् भन्ने मात्र होइन सम्पूर्ण समाप्त पार्ने काम गरिएको छ । हाम्रो मुलुकमा आइएनजिओहरूले र विश्वविद्यालयहरूले पाठ्यक्रममा समावेश गरेर उत्तरआधुतिकतावादलाई मलजल गर्ने काम भएको पाइन्छ । तर यथार्थमा माक्र्सवाद र उत्तरआधुतिकतावादका बारेमा समयसापेक्ष बहस अहिले झनै आवश्यक रहेको छ । पर्यावरण, प्रविधि, डाटासाइन्स र मानवचेतनाका सापेक्षतामा माक्र्सवादको समीक्षा पनि आवश्यक छ । माक्र्सवादी दृष्टिकोण आएदेखि नै यसका विरुद्धका धारहरू सक्रिय भएका हुन् । पुँजीवादीहरू अरूबाट पनि सिक्छन् र कार्यान्वयनमा ल्याउँछन् तर माक्र्सवादले अरूबाट ग्रहण गर्ननसकेको चाहिँ सत्य हो भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा ओमप्रसाद कोइराला, खेमराज निरौला, रत्ननिधि रेग्मी, नवराज श्रेष्ठ, गायत्रीकुमार चापागाईँ, डम्बर पहाडी, कुमार नेपाल, डा.मनोज जोशी, दिनेश खरेल, कात्यायन, रामेश्वर आचार्य, रामबहादुर पहारी, बलराम विष्ट, विन्दु अधिकारी ढकाल, नन्दु उप्रेती, डा.गोविन्दप्रसाद आचार्य, बेरागी जेठा, महेशराज खरेल, मिसन अधिकारी, प्रशान्त खरेल, गोपालकुमार मैनाली र राम विनयले आआफ्ना कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि समीक्षा गर्नुहुँदै डा.प्रतिभा पुन’ले आजको लामो इतिहास बनाएको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा तेइसजनाका स्रष्टाका कविता, गीत, एलाक बाचन भएका छन् । कविता भनेको बौद्धिक चिन्तनको उपज हो । आज मैले गर्ने प्रभावपरक समीक्षा भने कविताको उद्देश्य, भाव र कलाका पक्षबाट वाचित कवितालाई हेर्ने प्रयत्नमा केन्द्रित हुने छ । स्रष्टाको उमेरगत चिन्तन सिर्जना हुने, आदर्श समाजको अपेक्षा गर्ने, यथार्थ सामाजिक समस्याको प्रकटीकरण गर्ने, विचारसहितको सौन्दर्यीकरण गर्ने कोणबाट आज यहाँ कविता वाचन भएका छन् । वर्तमान समाज वर्गमा विभाजित छ र साहित्य सन्ध्याको लक्ष्य पनि वर्गीय चिन्तनसहितका र सामाजिक रूपान्तरणका पक्षमा हाम्रो लेखन केन्द्रित होस् भन्ने रहेको सन्दर्भमा पाठकको मन तान्ने सिर्जना हाम्रो लेखनको ध्येय हुनुपर्ने कुरामा स्रष्टाको सचेतना आवश्यक रहेको छ । आज अत्यन्त समसामयिक विषयमा विशद परिचर्चा पनि भएको छ, हामीले सुन्दर सिर्जना श्रवण गरेका छौँ त्यसैले आजको यो गोष्ठी भने सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा बहस गर्नै पर्ने निकै महत्त्वपूर्ण विषय ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’का बारेमा विद्वान व्यक्तित्व प्रा.डा.रमेशप्रसाद भट्टराईले विशद चर्चा गरिदिनुभएको छ । तेइसजना कविहरूले आआफ्ना सिर्जना वाचन गर्नुभएको छ र वाचित सिर्जनामाथि डा.प्रतिभा पुनले समीक्षासमेत गरिदिनुभएको छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ । आजको यो समारोहमा उपस्थित भइदिनुहुने प्रमुख अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply