साहित्य सन्ध्याको ४७२ औँ नियमित मासिक शृङ्खलामा ‘जेनजी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव’ विषयक परिचर्चाका साथ कविगोष्ठी सम्पन्न गरियो

२०८२ माघ ३ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा सम्पन्न भएको साहित्य सन्ध्याको ४७२ औँ नियमित मासिक शृङ्खलामा ‘जेन्जी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव’ विषयमा परिचर्चाका साथ कविगोष्ठी गरिएको छ । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा विश्लेषक प्रा.डा.सुरेन्द्र के.सी. प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ नर्मदेश्वरी सत्याल, सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वयोवृद्ध स्रष्टा बेनीबहादुर थापा, नियात्राकार पोषरमण चापागाईँ, डा.गोविन्दप्रसाद आचार्य, डा.कृष्ण सुवेदी, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष नन्दु उप्रेती, तारक धिताल, रत्ननिधि रेग्मी, राममणि ढुङ्गेल, महेशराज खरेल, डम्बर पहाडी ‘एलाक’लगायत उपस्थित हुनुहुन्थ्यो ।
सचिव जयन्ती स्पन्दनले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी आन्दोलन र त्यसले पारेको प्रभाव विषयमा विश्लेषक प्रा.डा.सुरेन्द्र के.सी.ले विशद चर्चा गर्नुहुँदै शासनसत्ता सञ्चालन गर्नेहरूले जनताका इच्छा, चाहना र विशेषगरी युवाका वर्तमानका चाहनासमेतको ख्याल गर्नुपर्नेमा नेत्तृत्वले सोको हेक्का राख्न छाडेपछि जेन्जी आन्दोलनका नाममा डरलाग्दो विद्रोहको स्वरूप देखा परेको छ । आन्दोलनमा अचम्मका, अत्यन्त गम्भीर परिदृश्य देखा परेका छन्, कथित आन्दोलन स्वतःस्फुर्त हो कि परिचालित हो भन्ने आशङ्कासमेत गरिएको छ, केही अपत्यारिला तथ्यहरूसमेत सार्वजनिक भएका छन् त्यसैले यस्ता विभिन्न विरोधाभासपूर्ण विद्रोहभित्र मसिनोगरी खोजीनीति हुनुपर्छ । यदि यस्ता खाले विद्रोहलाई गहिरिएर नखोज्ने हो भने यस्ता कथाव्यथा दोहोरिइरहन्छन् र जनतालाई सन्त्रस्त पारिरहन्छन्, मुलुकको क्ष्यति भइरहन्छ । अन्यौलतालाई अनुकूलतामा पार्नेहरूले भित्री रूपमा खेल खेलिरहन्छन् र मुलुक अस्थिरताको भुमरीमा परिरहन्छ । यथार्थमा निरङ्कुश राजतन्त्रको समाप्तिपछि प्राप्त गरेको लोकतन्त्रले जनतामा आसा र विश्वास जगाउने काम इमानका साथ गर्नसकेन । सामाजिक सञ्जालका माध्यमबाट नवपुस्ता परिचालित भए र असन्तुष्टिका स्वर प्रखर रूपमा मुखरित गर्नथाले । नैराश्य, वितृष्णा, अकर्मण्यता र नकारात्मकताले उकुसमुकुस भएपछि विद्रोहमा परिणत भएको देखिन्छ । दोषीले कारवाहीको भागिदार बन्नुपर्ने प्रणाली स्थापित गर्नै सकिएन । सहकारी क्षेत्रमा मात्र ८७ अरब रुपैयाँ अपचलन भएको छ तर कारवाही प्रभावकारी भएको छैन ! दण्डहीनता, निराशा र अन्योलले नै विद्रोह जन्माउने हो । नेपालमा माओवादीले गरेको दश बर्से जनयुद्धमा बयानब्बे अर्ब रुपैयाँको क्ष्यति भएको थियो तर अहिलेको दुई दिने जेनजी आन्दोलनले तीन खर्बको क्ष्यति गरेको छ त्यसैले यो अत्यतैै डरलाग्दो रूपमा देखिएको छ । संसारमा यस्ता खाले विद्रोह देखिएका छन्, हाम्रै छिमेकीतिर पनि आन्दोलन भइसकेका थिए र ती दुर्घटनाको प्रभाव हाम्रोमा पनि देखियो । आगोमा घिउ थप्ने काम स्वदेशी विदेशी धेरैले गरेका छन् । सुशासन प्रमुख कुरा हो भन्ने मान्यतालाई बिर्सियौँ भने यस्ता दुर्घटनाहरू भइरहन्छन् र तिनको जिम्मेवारी पनि हामीले नै लिनुपर्छ र निकासको समुचित खोजी गरिनुपर्छ । कामको प्रकृति जस्तो हुन्छ परिणाम पनि त्यस्तै आउँछ । हामी सबैले आआफ्नो जिम्मेवारीअनुसार सही काममा लाग्नुपर्छ । कोहीकसैलाई दोषै मात्र थोपरेर पनि समस्याको निकास निस्कने होइन त्यसैले आत्मसंयमका साथ आआफ्ना जिम्मेवारी पूरा गर्ने र देखिएका समस्यामा समाधानका इमानदार प्रयत्न गर्दै जाने अहिलेको हामी सबैको दायित्व हो, त्यसका लागि सरकार नै बढी जिम्मेवार हुनुपर्दछ र देखिएका समस्याको समाधानका प्रयत्न पनि गर्नै पर्छ भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा ओमप्रसाद कोइराला, सञ्जय सोती, भोवलाल श्रेष्ठ, रत्ननीधि रेग्मी, सुशिला प्रधानाङ्ग, वासुदेव अधिकारी, डम्बर पहाडी ‘एलाक’, नवराज श्रेष्ठ, डा.मनोज जोशी, बेनीबहादुर थापा, पोषरमण चापागार्इँ, राममणि ढुङ्गेल, नगेन्द्रप्रसाद पौड्याल, बलराम विष्ट, डा.गोविन्दप्रसाद आचार्य, दिनेशराज खरेल, लक्ष्मण तिमल्सिना, कुमार नेपाल, नन्दु उप्रेती, महेशराज खरेल, तारक धिताल, बैरागी जेठा, धनबहादुर मगर, केशव घिमिरे र मुक्तिनाथ आचार्यले समसामयिक विषयमा कविता, गीत, गजल, मुक्तक, एलाक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै प्राज्ञ नर्मदेश्वरी सत्यालले आजको यो विशेष समारोहमा दुई दर्जन स्रष्टाका सिर्जना वाचित भएका छन् । सबै सबै सिर्जनाले आजको समसामयिक समयको चित्रण गरेका छन् । केही सिर्जनाले भने सामाजिक रूपान्तरणको भावनालाई आत्मसात गरेर विचार वा गन्तव्यको सङ्केत गर्नुपर्ने धर्म निर्वाह गरेको देखिएको छैन । स्रष्टा समाजको सचेत प्राणी हो, समाजकै भोक्ता पनि हो त्यसैले समाजबाटै विषयवस्तु लिएर विचार तथा कलाको संयोजनका माध्यमबाट आफ्ना सिर्जनामा अभिव्यक्त भयो भने त्यस्ता सिर्जना समाजोपयोगी हुने हुँदा यतातिर स्रष्टाको सचेततापूर्वक ध्यान जानुपर्दछ । समसामयिक युगजीवनलाई टिपेर विसङ्गत पक्षमा रूपान्तरणको अपेक्षा राख्ने आजका अधिकांश स्रष्टाका सिर्जना उपयुक्त रहेकाले यो समारोह सार्थक भएको लागेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष एवम् साहित्य सन्ध्याका अध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा बहस गर्नै पर्ने निकै महत्त्वपूर्ण विषय ‘हालैको जेनजी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव’का बारेमा विद्वान व्यक्तित्व प्रा.डा.सुरेन्द्र के.सी.ले विशद चर्चा गरिदिनुभएको छ । चौबिसजना कविहरूले आआफ्ना सिर्जना वाचन गर्नुभएको छ र वाचित सिर्जनामाथि प्राज्ञ नर्मदेश्वरी सत्यालले समीक्षासमेत गरिदिनुभएको छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ । आजको यो समारोहमा उपस्थित भइदिनुहुने प्रमुख अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*