‘अविरल जनसाहित्य यात्रा–१०४’मा सशक्त प्रगतिवादी कवि गौरी प्रधानका एक दर्जन कविता सुनिए

मङ्सिर १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०४ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, सामाजिक–साङ्गठनिक नेतृत्व, मानवअधिकार, बालअधिकार तथा सामाजिक रूपान्तरण अभियान आदि विभिन्न क्षेत्रमा अत्यन्त सक्रियताका साथ क्रियाशीलता जनाइरहेका सिन्धुपाल्चोक सशक्त प्रगतिवादी स्रष्टा गौरी प्रधानका एक दर्जन कविता सुनिए ।
साहित्यकार, पूर्वमन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी कुशल अभियन्ता शान्ता मानवीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा सङ्घका सल्लाहकार वासुदेव अधिकारी, युद्धप्रसाद स्मृति प्रतिष्ठानका महासचिव अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.सरोज धिताल, प्राज्ञ सुलोचना मानन्धर, प्रा.डा.ध्रुवकुमार घिमिरे, नेपाल सरकारका पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, डा.देवकी आचार्य, कुमार भट्टराई, सुबोध श्रेष्ठ, रविन नेपाली, मोहन दङ्गाल, डा.गोविन्दप्रसाद आचार्यलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुहुँदै आजको यो विशेष समारोह समारोह हरेक महिना दोस्रो शनिबार नियमित रूपमा हुने गरेको छ र यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु हो । वर्तमानमा अलि प्रतिकूल अवस्था सिर्जना भएको भए पनि हामी स्रष्टाको काम निरन्तर गरि नै रहन्छौँ । प्रतिकूल अवस्था सधैँ रहिरहँदैन । यस समारोहमा हामीले कवितालाई हालसम्म प्राथमिकता दिइरहेका छौँ तर अन्य विधामा पनि जाने सोचाइ बनाउँदै छौँ । हामी नेपाली साहित्यका माध्यमबाट राज्यभरि रहेर सामाजिक रूपान्तरण अभियानमा सघाउ पुर्याइरहनुभएका स्रष्टाको खोजी गरी यहाँ उपस्थित गराउने गर्दछौँ । यस कार्यक्रमका अलावा स्रष्टाका पुस्तक परिचर्चा तथा लोकार्पणका कार्यक्रम पनि हामी गरिरहेका छौँ अनि कुनै खास विशेष महत्त्वको विषयमा बहस तथा परिचर्चा गर्ने, कार्यपत्र पेस गर्ने कार्य पनि हामीले गर्ने गरेका छौँ । सोहीअनुसार पुस महिनामा अर्काे छुट्टै विशेष समारोहको आयोजना गर्ने पनि तयारी गरिरहेका छौँ । आजको यो विशेष समारोहमा अन्यत्रका व्यस्तताका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिएर हामी तथा कविनायकलाई हौसला प्रदान गरिदिनुहुने सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक स्वागत गर्दछु । २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०४ औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेषसमेत भइसक्नुभएको छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, साहित्यिक सङ्घसंसथामा क्रियाशीलता देखाइरहेका, मानवअधिकारका क्षेत्रमा, बालअधिकारका क्षेत्रमा, सामाजिक रूपान्तरण अभियानमा अत्यन्त सक्रियताका साथ समर्पित रहेका अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा गौरी प्रधानलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने; कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका कुशल यिनै स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
समारोहका कविनायक गौरी प्रधानको सङ्क्षिप्त परिचय गराउँदै डा.कृष्ण सुवेदीले वि.सं.२०१९ वैशाख १ गते सिन्धुपाल्चोक जिल्लामा माता गङ्गामैया प्रधान र पिता तोरणबहादुर प्रधानका सुपुत्रका रूपमा जन्मिएका गौरी प्रधान मानवअधिकार अभियानका, बालअधिकार अभियानका अभियन्ता हुनुभएकाले नेल्सन मन्डेलासँगै संयुक्त रूपमा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य, पब्लिक हेल्थ कन्सर्न नामक संस्थाका संस्थापक, कीर्तिपुरमा रहेको बर्न हस्पिटलका सञ्चालकसमेत रहनुभएको छ । अनेरास्ववियुको नेतृत्व गर्दै निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्धमा लाग्नुभएका र जीवनपर्यन्त सामाजिक रूपान्तरण अभियानमा समर्पित हुनुभएका उहाँ सिविन भन्ने संस्थाका संस्थापक पनि हुनुहुन्छ । पञ्चायतकालमा सिन्धुपाल्चोकमा उहाँका बुबाले राजनीतिक अभियन्तालाई आश्रय दिने काम गर्नुभएको सचेत परिवारका सदस्य प्रधानका अत्यन्त महत्त्वपूर्ण अङ्ग्रेजी भाषामा लेखिएका नेपाल चिनाउने पाँचओटा पुस्तक प्रकाशित भएका छन् भने सयाँै बालगीत लेखिएका र रेकर्डसमेत गरिएका छन् भन्नुभयो ।
कविनायक गौरी प्रधानले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै यति लामो समयदेखि सञ्चालन भइरहेको यो सोद्देश्यमूलक अविरल जनसाहित्य यात्राको १०४ औँ शृङ्खलामा मात्र आपूm जोडिन आइपुगेकोमा विगतमा निकै छुटाइरहेको महसुस भएको र आजका दिनमा गर्वधोध पनि भएको छ । सिन्धुपाल्चोकको स्कुले जीवनमा त्यहाँ आउने प्रगतिशील पत्रिका पढेर कविता लेखनको थालनी गरेको, २०३६ सालको भवानी घिमिरेहरूले नेतृत्व गर्नुभएको सडक कविताक्रान्तिमा प्रत्यक्ष भाग लिएर कविता लेखनकार्यलाई निरन्तरता दिएको हुँ । पूर्वमा वाल्मीकिले र पश्चिममा टिग्रिस र युरेफस नदीकिनारमा कविता लेखिएको भन्ने कतै पढेको मैले चाहिँ विकृतिका, विभेदका र विषमताका खाल्डाहरू देखेपछि; प्रकृतिलाई माया गर्नुपर्छ भन्ने बुझेपछि; विकृतिको जड सिंहदरवार हो जसले विभेद र विसङ्गतिको अन्त्य गराउनसकेन भन्ने अनुभूत गरेपछि, ढाकामा एक वर्षअघि जेनजीले गरेको आन्दोलन देखेर हामीकहाँ पनि यो दूरावस्था अवश्य आउँछ भन्ने लागेपछि मैले कविता लेखेको छु तर मलाई आफ्ना कविता कविता भएको होलान् र ? भन्ने चाहिँ लागिरहेको अर्थात् सन्तुष्टि नभएको पनि बताउनुभयो । तर पनि हाम्रो आस्था वा विचार बिरामी हुँदा, आदर्श स्खलित भइरहेको देख्दा मन दुखेपछि कविता लेखेको; देशलाई देशजस्तो बनाउन पाए हुन्थ्यो भन्ने लागेर पनि कविता लेखेको, नागरिक पलायन हुने र आधुनिकताका नाममा विकृति मौलाएको पीडा पनि कवितामा अभिव्यक्त गरेको रचनागर्भका बारेमा जानकारीसहित गद्यलयका ‘खाल्डोभित्रका खाल्डाहरू’, ‘बागमतीका विद्रोहहरू’, ‘सिंहदरवारको कथा’, ‘विम्ब र बहस’, ‘थरी थरीका चोरहरू !’, ‘जलन र उज्यालो’ र ‘महादेव’ शीर्षकका अत्यन्त सुन्दर, विम्बात्मक, व्यङ्ग्यात्मक, सशक्त र वैचारिक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू सुशीला प्रधानाङ्गले ‘चित्र र चरित्र’ शीर्षकको, कुसुम थापाले ‘आसन’ र ‘धर्म र सत्ता’ शीर्षकका, कुमार भट्टराईले ‘बुद्ध र माक्र्स’ र ‘नाममा के छ र !’ शीर्षकका, जोन झाले ‘डुङ्गाको यात्रा’ र ‘जनउभार’ शीर्षकका, डा.सरोज धितालले ‘वामियानका बुद्धहरू’ शीर्षकको त्यत्तिकै सुन्दर, सशक्त र रूपान्तरणको सन्देश बोकेका अत्यन्त सरल तर परिपक्व वैचारिकताले युक्त कविता वाचन गर्नुभएको थियो ।
वाचित सवा एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक प्रा.डा.ध्रुवकुमार घिमिरेले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १०४ औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको पनि देखिएको छ । त्यसैले सर्वप्रथम म आजका कविनायकलाई बधाइ दिन्छु र समीक्षकको भूमिकामा समालोचना गर्ने गहन जिम्मेवारीका लागि हार्दिक धन्यवाद दिन्छु । आजका कवि बालअधिकारका क्षेत्रमा काम गर्ने र म आपूm पनि बालबालिकाका लागि लेख्ने, उनीहरूलाई उत्प्रेरणा जगाउने काममा लागेको हुँदा एउटै क्षेत्रको संयोग पनि मिलेको छ । कविका भावनालाई विम्बमा, अनुप्रासमा र विचारका माध्यमबाट अभिव्यक्त गर्ने र पाठकसम्म पुर्याउने माध्यम हो कविता । आज वाचित एउटै कविताले थोरै शब्दमा सिङ्गै नेपालको चित्र खिचेको छ । कविको शैली हेर्दा भूपि शेरचनको जस्तो विम्ब प्रयोग र अनुप्रास संयोजन रहेको पाइन्छ । मान्छेले प्रकृतिको अतिदोहन गरेपछि प्राकृतिक विपत्तिको त्रासदी भोग्नुपर्छ भन्ने दृष्टान्तका माध्यमबाट पोहोरको उपत्यकाको बाढीलाई चित्रण गरिएको छ । मान्छेको चरित्र अत्यन्त महत्त्वपूर्ण हुन्छ र त्यसले व्यक्तित्व निर्माण गर्छ भन्ने शाश्वततालाई कवितामा अभिव्यक्त गरिएको छ । बुद्ध र माक्र्सको तुलना गरेर लोककल्याणमा विचारलाई समर्पित गर्नुपर्छ भन्ने सन्देश दिइएको छ । डुङ्गालाई सङ्घर्षको पर्यायका रूपमा चित्रण गरिएको छ । सिंहदरवार विकृतिको प्रतीक बनेको आक्रोश व्यक्त गरिएको छ भने विकृतिकै जड भए पनि इतिहास भएकाले जलाउने दुस्साहसका प्रति भने घृणा गरिएको छ । घटनालाई आपूmअनुकूल बहस गर्ने विकृत राजनीतिका प्रति व्यङ्ग्य गरिएको छ । धर्मका नाममा आडम्बर प्रदर्शन गर्ने, विभेद गर्ने र हिंसाको खेती गर्ने प्रवृत्तिको चर्काे आलोचना गरिएको छ । चोरीका विभिन्न प्रकारको उल्लेख गर्दै चोरहरू दण्डित हुनुको सट्टा झन छाती फुलाएर हिँड्ने दूरावस्थाको चित्रण गरिएको छ । जनउभार कोही कसैले रोक्नसक्तैन भन्ने शाश्वततालाई अभिव्यक्त गरिएको छ । राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय समस्यालाई पनि कवितामा उजागर गरिएको छ । सङ्घर्षका पक्षमा, न्यायका पक्षमा र श्रमका पक्षमा कवितामा वकालत गरिएको छ । महादेवको निश्छल चरित्र, आँट, साहसको पक्षलाई सकारात्मक र सर्वहाराका रूपमा चित्रण गरिएको छ । कविको अनुभव, अध्ययन र भ्रमणका अनुभूतिलाई कवितामा पाठकको मन र मस्तिष्कलाई झननन्न पार्नसक्ने बौद्धिक क्षमता कविका आजका कविताले प्रदर्शन गरेका छन् त्यसैले यी कविताको पुस्तकाकार रूप छिटै आओस् भन्ने शुभकामनासमेत दिनुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले राष्ट्रसेवा, सिर्जना, साहित्यिक सङ्घसंस्थामा सक्रियता, सङ्गठन, मानव अधिकार, बालअधिकारका क्षेत्रमा सक्रियता देखाउँदै सामाजिक रूपान्तरण अभियानमा सिङ्गो जीवन समर्पण गरी अहिले पनि अत्यन्त सक्रिय रहनुभएका स्रष्टा गौरी प्रधानलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट अनि अत्यन्त सरल भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर राष्ट्रिय तथा अन्तर्राट्रिय विम्बको प्रयोग गर्ने, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; मुलुकको वर्तमान चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा उजागर गर्ने; विद्रोहका स्वरलाई सोझो वैचारिकतामा, व्यङ्ग्यार्थमा र ध्वन्यार्थमा सम्प्रेषण गर्ने अनि आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने; अधिकारका, न्यायका, श्रमका पक्षमा कविता सिर्जना गर्ने; कर्म नै महान् हो भन्ने लक्ष्मीप्रसाद देवकोटाको प्रभाव ग्रहण गरेर सिर्जना गर्ने, सूक्तिमय सिर्जना गर्ने अत्यन्त प्रखर र सशक्त स्रष्टा गौरी प्रधानका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन भएको छ, युवापलायनका, विकृतिका, भ्रष्टाचारका, भागबण्डाका प्रवृत्ति नेपाली राजनीतिले भित्र्याएको प्रति चिन्ताभाव अभिव्यक्त भएको छ; कविका कविताले प्रौढोक्तिबोध गरेका छन् । सत्ता जनजीविकासँग नजोडिएको, अपेक्षाअनुसार समाज रूपान्तरण नभएको, विकृत परम्परा समाजमा विद्यमान रहेका पीडा कवितामा अत्यन्त सरल तर सुन्दर वैचारिकताका साथ व्यक्त भएको पाइन्छ । सुन्दर, सरल र सपाट कविता सुन्दा कविको चेतना अत्यन्त सचेत र सशक्त रहेको देखिन्छ । यो अभियानमा जोडिएर कीर्तिशेष भइसक्नुभएका माथि उल्लेखित छजना अग्रज स्रष्टाका प्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । हामी स्रष्टाले वर्तमानका सत्ताका वा प्रतिपक्षका वेथितिका कुराहरूलाई निरन्तर उठाइरहेका भए पनि सुनवाइ नहुने वा सुनेर उडाउने प्रवृत्ति पनि भोगिरहेकै छौँ तापनि हामी हाम्रो कर्ममा लागि नै रहने छौँ । अब हामी पुस महिनामा १०५ औँ ‘अविरल जनसाहित्य यात्रा’मा अत्यन्त कुशल चिकित्सक भएर पनि नेपाली प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेका परिचित एवम् सशक्त स्रष्टा डा.सरोज धिताललाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*