‘अविरल जनसाहित्य यात्रा–१०५’मा कुशल चिकित्सक, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सशक्त प्रगतिवादी कवि डा.सरोज धितालका एक दर्जन कविता गुञ्जिए

पुस १२ गते शनिबार अपराह्न ठिक १ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७२ सालदेखि अविच्छिन्न रूपमा आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०५ औँ शृङ्खलामा अत्यन्त कुशल र सफल चिकित्सक, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सशक्त प्रगतिवादी कवि डा.सरोज धितालका एक दर्जन सुन्दर र सशक्त कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले उपाध्यक्ष, पूर्वमन्त्री एवम् साहित्यकार रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो भने वरिष्ठ साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी, हेमराज राई, प्राज्ञ सुलोचना मानन्धर, मञ्जुल, प्राज्ञ माधव प्रधान, मानवअधिकारकर्मी गौरी प्रधान, प्रा.डा.देवी नेपाल, वरिष्ठ संस्कृतिकर्मी श्याम तमोट, वासुदेव अधिकारी, प्राज्ञ लक्ष्मी माली, डा.सावित्री श्रेष्ठ, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालकी उपाध्यक्ष नमुना शर्मा र महासचिव आर.सी.न्यौपाने, स्नेह सायमी, तारक धिताल, शार्दूल भट्टराई, युद्धप्रसाद मिश्र प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नन्दु उप्रेती र सोही प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा.फणीन्द्रराज निरौला, डम्बर पहाडी, जयन्ता पोखरेल, मा.आभा सेतु सिंह, डा.देवकी आचार्य, देविका तिमिल्सिना, डा.गोविन्दप्रसाद आचार्य, प्रशान्त खरेल, महेशराज खरेल, सुस्मिता नेपाल, राजेश थापा, मधु गुरुङलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका महासचिव एवम् अविरल जनसाहित्य यात्रा संयोजन समिति संयोजक डा.कृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा उहाँले नै कविनायक डा.सरोज धितालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै वि.सं.२०११ सालमा माता चूडाकुमारी धिताल र न्यायमूर्ति पिता तेजप्रसाद धितालका सुपुत्रका रूपमा जन्मिएका डा.सरोज धिताल पुराना, नेपाली वामआन्दोलनमा भूमिगत भएर सामाजिक रूपान्तरण अभियानमा सरिक भएका स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले डा.सरोज धितालका समसामयिक विषय र सन्दर्भका एक दर्जन कविता प्रस्तुत गर्नेगरी कविलाई उभ्याएका छौँ । चिकित्सा विज्ञानका माध्यमबाट मानवजीवनको रक्षा, वैचारिक सक्रियताका माध्यमबाट सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता तथा साहित्यका माध्यमबाट सामाजिक विकृतिमा रूपान्तरण गर्ने तथा मानवहितका लागि साहित्य सिर्जना गर्ने अभियानमा सामेल रहेका स्रष्टालाई आज हामी सुन्ने छौँ । डा.सरोज धितालले सन १९९१ मा चीनबाट जनरल सर्जरीमा स्नातकोत्तर उत्तीर्ण गरेर २०३४÷३५ सालदेखि नै साहित्यमा कलम चलाएका हुन् । डा.सरोजका ‘उज्यालोको बिउ’ निबन्धसङ्ग्रह, ‘आँसु र उत्सव’ कवितासङ्ग्रह, ‘झ्यालमा रमाउने सानी केटी’ अनुवाद कृति तथा थप दुई अनुवादकृति प्रकाशित भइसकेका छन् । नेपाली समाजको नजिकबाट अवलोकन गर्ने र देखिएका विकृति उजागर गरी रूपान्तरणका पक्षमा कलम चलाउने डा.धिताल सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानका अभियन्तासमेत रहेको धारणा राख्नुभयो ।
समारोहको अध्यक्षता गर्दै नर्मदेश्वरी सत्यालले दश वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’मा यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने गरिन्छ । यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका स्रष्टाको कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । प्रगतिशील दृष्टिकोणसहित रचना गरिएको साहित्यले सामाजिक रूपान्तरणमा मदत गर्दछ भनेर नै हामी हरेक महिना एकजना स्रष्टाको छनोट गर्दछौँ । आजको शृङ्खलामा चिकित्सा विज्ञानका माध्यमबाट मानवजीवनको रक्षामा समर्पित अत्यन्त सफल चिकित्सकका अलावा वैचारिक रूपमा सामाजिक रूपान्तरण अभियानमा पनि समर्पित हुँदै नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा सशक्तढङ्गले अविच्छिन्न सक्रियता देखाइरहेका स्रष्टा डा.सरोज धिताललाई प्रस्तुत गरिएको छ । डा.धिताल आफ्ना सिर्जनामा गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई उतार्ने र सरलताका साथ जीवनभोगाइका यथार्थ एवम् सुन्दर विम्बलाई प्रयोग गर्दै रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि हुन् । आजको यो विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले उपाध्यक्ष एवम् सक्रिय साहित्यकार रघुजी पन्त उपस्थित भइदिनुभएको छ । निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने अतिथिज्यूहरू एवम् सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक स्वागत पनि गर्दछु भन्नुहुँदै कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।
कविनायक डा.सरोज धितालले विगत दश वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा धेरै स्रष्टाका कविता सुन्ने÷सुनाउने कामले निरन्तरता पाएको छ । यसअघि सम्पन्न भएको मानवअधिकारीकर्मी तथा कवि गौरी प्रधानका कविता सुन्न म आपूm पनि उपस्थित भएको थिएँ । यो उद्देश्यमूलक विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता पनि जाहेर गर्दछु । आजको यो विशेष समारोहले मेरो जीवनको पचास वर्षअगाडिको समयलाई सम्झाइदिएको छ । लगभग सिर्जनाको क्षेत्रबाट टाढा पुगेर चिकित्साका माध्यबाट मानवजीवनको रक्षामा भुलेको वा रमेको मैले आई.एस्सी.पढ्दादेखि नै कविता लेख्न थालेको हुँ । चीनबाट डाक्टर पढेर फर्केपछि वामपन्थी त्यसमा पनि तत्कालीन नेकपा मालेसँग सम्बन्ध भयो । वामपन्थी विचारको प्राविधिक पक्ष हिंसा र षडयन्त्र नै हो तर त्यहाँ कल्पनाको वा आशावादिताको प्रबलता हुन्छ । मैले आफ्नो परिवार त्यागेर भूमिगत जीवन ग्रहण गर्दा पनि मैले कविता लेखेको छु । विशेषज्ञ डाक्टर भइसकेपछि ग्रामीण जीवनसँग उठबस भइसकेपछि फेरि कविता लेखेको छु । राजधानी काठमाडौँको व्यस्त सहरमै पनि दिउँसोभन्दा साँझ वा राति मानिसका दुःख बढी देखेपछि मन दुखेर पनि कविता लेखेको छु । पहिले आपूmले हिँडेको सैद्धान्तिक बाटो लर्बराएको देखेर पनि मैले कविता लेखेको छु । जोसुकै र जुनसुकै विचारको भए पनि उपचार गर्नुपर्ने एउटा चिकित्सिकले कहिलेकाहीँ प्रताडित हुनुपर्दाको क्षणमा पनि कविता लेखेको छु । आखिर हामी सपना देख्ने मान्छेलाई जहिल्यै पनि सपनाले पछ्याइ नै रहने रहेछ तर पनि अब भने राजनीतिक विकृति, विसङ्गति, राजनीतिक नेतृत्वका कमीकमजोरीका बारेमा बारेमा प्रश्न गर्नुपर्ने वेला आएको महसुस गरेर पनि कविता सिर्जना गरेको छु । नेपाली वामपन्थीहरूले २०० वर्ष पुरानो माक्र्सवादका बारेमा परिमार्जित एवम् व्यवहारपरक विचार निर्माण गर्नुपर्दछ, मुलुकसुहाउँदो हुनेगरी समयसापेक्ष पार्नुपर्दछ भन्ने मलाई लागिरहन्छ र म त्यतातर्फ सङ्केत गर्दै सिर्जना गर्दछु भन्ने रचनागर्भको जानकारीसहित आफ्ना ‘आँसु’, ‘धरहरा लासहरूको’, ‘तिमीलाई चिन्ता’ र ‘सपना’ शीर्षकका चारओटा सशक्त, सुन्दर, विम्बात्मक एवम् वैचारिक कविता वाचन गर्नुभयो । सहयोगी कविहरू गौरी प्रधानले पचास वर्ष पुरानो ‘क्रान्तिकारी’ शीर्षकको, जीवनसङ्गिनी प्राज्ञ सुलोचना मानन्धरले ‘जेल परेकी बहिनी’ शीर्षकको कविता सुनाउँदै यही कविताले कविलाई चिनाएको इतिहास खोतल्नुभयो । त्यसैगरी कवि तारानिधि भुर्तेलले ‘पैतालिस वर्ष अगाडि लेखिएको ‘हामी’ शीर्षकको, विना सुवेदीले ‘बिदाइ’ शीर्षकको, शार्दूल भट्टराईले ‘अझै नजन्मेको सन्तानसित’ शीर्षकको, स्नेह सायमीले ‘स्फटिकको चिसोभित्रको इतिहास’ शीर्षकको, प्राज्ञ माधव प्रधानले छयालिस वर्ष अगाडि लेखिएको ‘जीवननदी’ शीर्षकको, तारक धितालले ‘विजय’ शीर्षकको र नन्दु उप्रेतीले ‘घामको सपना’ शीर्षकको त्यस्तै सशक्त, सुन्दर, कलात्मक, विम्बात्मक कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै कवि एवम् यो समारोहका समालोचक श्यामलले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १०५ औँ शृङ्खलामा पुगेको छ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य सकारात्मक छ । आजको यो समारोहको उपस्थिति पनि उल्लेखनीय छ । आज हामीले डा.सरोज धितालका एक दर्जन कविता सुन्यौँ । आजको यो समारोहले पच्चिस वर्षपहिले डा.धिताको कवितासङ्ग्रह लोकार्पण भएको र सो समारोहको सञ्चालन मैले गरेको प्रसङ्ग सम्झाइदिएको छ । पहिले पहिले वैचारिक कविता लेख्ने कविताको बान्की आजका केही कविताले प्रस्तुत गरेका छन् । कविता भनेको अनुभूतिको वा आवेगको तीब्र अभिव्यक्ति हो । तर प्रगतिशील कवितामा भावनाको गहिराइभन्दा सपाट प्रस्तुतिको शैली रहन्छ, यो कमजोरीको पक्ष हो । लोर्काले ‘मेरो कविताको आत्मा जमिनमा गाडिएको हुन्छ’ भनेका छन् त्यसैले सपाट लेखनले साहित्यको मूल मर्मको निर्वाह गर्दैन । पाब्लो नेरुदाले जीवन्त प्रेमकविता लेखेका छन् र क्रान्तिसँग सम्बन्धित गराएका छन् । आज सुनिएका डा.सरोजका कवितामा पनि त्यो प्रवृत्ति देखापर्दछ । वास्तवमा समाजसँग जोडिने माध्यम कविता हो । आजका कवि डा.सरोज धिताल प्रतिबद्ध वैचारिक कवि हुन्, जीवनप्रति स्पष्ट र सकारात्मक दृष्टिकोण भएका कवि हुन् भन्ने तथ्यलाई आज वाचित कविताले पुष्टि गरेका छन् । नयाँ सन्दर्भमा नयाँ शैलीको खोजी गर्नु आवश्यक छ र डा.सरोजले आफ्ना कवितामा शैलीगत निजात्मकता देखाएका छन् । अर्काे पेसामा रहेको अर्थात् सफल र कुशल डाक्टर भएर पनि कवितालई न्याय गरेका छन् र उनका कवितामा अविच्छिन्न आशावाद छ । जीवनलाई सम्पूर्णतामा हेर्नुपर्ने दृष्टिकोण पनि उनका कवितामा पाइन्छ । विम्बको सुन्दर संयोजन छ, अनुभूतिमा इमानदारिता छ र इमानको अभिव्यक्ति कवितामा पाइन्छ । चौतर्र्फी रूपमा देखिएको पाखण्डका विरुद्धमा प्रश्न गर्नुपर्ने आग्रहसहितको प्रवृत्ति पनि कवितामा देखिएको छ । पाठकको विवेकमाथि विश्वास, श्रमप्रतिको विश्वास, पौराणिक मिथकको उचित प्रयोग भएका कारण डा.सरोजका सबै कविता बलिया छन् । अब उनको अर्काे कवितासङ्ग्रह पनि छिटै आओस्; हार्दिक शुभकामना दिन्छु भन्नुभयो ।
प्रमुख अतिथिले धेरै पहिलेदेखि कवि तथा परिवारसम्मका सबै सबैलाई चिनेका कविका एक दर्जन कविता आज सुनियो । डा.सरोज धिताल भूमिगत हुनेवेलामा नै मैले डाक्टरले भूमिगत हुने होइन, जीवनरक्षा पनि गर्दै सामाजिक रूपान्तरणको अभियानलाई पनि सघाउनुपर्छ भन्ने मान्यता अघि सारेको थिएँ । त्यो वेलामा फर्केर जाने बाटो पनि बन्द गर्ने नियत नै राखेर बुर्जुवा शिक्षा बहिष्कारको नीति पार्टीले लिएको होला भन्ने मलाई अझै पनि लाग्छ । उग्रवामपन्थी एवम् अव्यवहारिक विचार ग्रहण गर्ने तत्कालीन कम्युनिस्ट आन्दोलनताका पनि पुष्पलालले तुलनात्मक रूपमा परिपक्व विचार अभिव्यक्त गरेका छन् । मान्छेको सांस्कृतिक भोक विस्तारै बढ्ने हुँदा पढ्ने बानी मात्र बस्यो भने पनि राम्रो कुरा पढ्ने बानी बस्छ । प्रेम हार्दिक कुरा हो र यो मानवसमाज रहुन्जेले रहिरहन्छ । कविता आवेग, पीडा र अनुभूतिको संश्लेषण हो । हामीले पनि साहित्यलाई हेर्ने दृष्टिकोण फराकिलो पार्नुपर्दछ । दक्षिण एसियामा हेर्ने हो भने वामपन्थी विचारको प्रभाव नेपालमा अझै पनि बढी छ । माक्र्सवादलाई कसरी परिमार्जन गर्ने र आफ्ना कमजोरी सुधार्ने चुनौती अहिले हामीसँग छ । राजनीति भनेको शक्तिको निर्मम खेल हो । राजनीतिले प्रश्नबाट भाग्ने अवस्था छैन । ठग, गँजडी, सञ्चारको दुरुपयोग गर्ने प्रवृत्तिले नेपाली राजनीति भडखालोमा जाने अवस्था देखिँदै छ । यतिखेर राजनीतिमार्फत हाम्रो जीवनले प्राप्त गरेका उपलब्धि यत्ति नै हुन् त ? भन्ने प्रश्न अहिले खडा भएको छ । पढ्ने संस्कृति नै समाप्त भएको, राजनीति सत्ताको खेलमा रमाउने प्रवृत्ति बढेको वर्तमानले सामाजिक रूपान्तरण अभियानलाई सघाउँदैन । सामाजिक तथा सांस्कृतिक रूपान्तरण राजनीतिक परिवर्तनजस्तो स्वाट्ट हुने कुरा होइन र हुँदैन पनि । हाम्रो यात्राको बाटो ठिक हो कि होइन ? प्रश्न नगर्ने र गर्ननपाइँने लोकतन्त्र लोकतन्त्र होइन । कविता भनेकै आफैँ सुन्दर प्रश्न हो । आज हामीले सुनेका डा.सरोजका सबै कविता सुन्दर छन् । यी कविताले हरेक बेथितिका प्रति रूपान्तरणको स्पष्ट सङ्केत गरेका छन् । म कविलाई धन्यवाद दिन्छु भन्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताभित्र बौद्धिकता मिश्रण गरी गम्भीर एवम् रूपान्तरणप्रेमी भाव सम्प्रेषण गर्ने; भूमिगतसमेत भएर सिङ्गो जीवन आन्दोलनमा र रूपान्तरण अभियानमा लगाएका अत्यन्त कुशल र सफल चिकित्सक, सरलताका पर्याय अनि सशक्त कवि डा.सरोज धितालले आफ्ना सिर्जनामा महिलाका प्रतिको सम्मान, भाग्यवादको विरोध मात्र गरेका छैनन् कवितावाचनको सुनियोजित वितरणसमेत गरेर व्यवस्थापकीय कौशलसमेत प्रदर्शन गरेका छन् । आजका कविताका माध्यमबाट कविको पचास वर्ष पहिलेको भूमिगत राजनीतिक प्रवेश, प्राज्ञ सुलोचना मानन्धरसँगको भेटजस्ता इतिहासको उत्खनन पनि भएको छ । क्रान्ति, सङ्घर्ष र रूपान्तरणका पक्षमा अनि विभेद तथा शोषणका प्रति विद्रोह कवितामा अभिव्यक्त भएको छ । मृत्युको घण्टी बजाइरहेको भूमिगतकालको चित्रण कवितामा गरिएको छ । निरङ्कुशतन्त्रको चित्रणमा अत्यन्त सुन्दर विम्बको प्रयोग गरिएको छ । कविको सिङ्गो परिवार सामाजिक रूपान्तरण अभियानमा समर्पित रहेको छ । कविताहरू कलात्मक, सुन्दर हुनुका साथै ध्वन्यार्थ सम्प्रेषणमा सफल रहेका छन् । विकृत राजनीतिका प्रति स्रष्टाले प्रश्न उठाउनुपर्ने भावसमेतको अभिव्यक्ति गरेको पाइन्छ । आफ्ना सिर्जनामा आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने यिनै प्रखर स्रष्टा डा.धितालका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्काे महिनामा १०६ औँ ‘अविरल जनसाहित्य यात्रा’मा सिन्धुपाल्चोकका प्रगतिवादी कवि लक्ष्मण तिमिल्सिनालाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*