प्रा.डा.माधवप्रसाद पोखरेललाई रु.पचास हजार राशिको २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण

समाचार

विगत चवालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४८१ औँ विशेष शृङ्खला असोज २४ गते शनिबार अपराह्न ठिक १ बजे नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा आयोजना गरी विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा अङ्ग्रेजी तथा नेपाली साहित्यका विद्वान प्रा.डा.अभि सुवेदी उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो । अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकारहरू प्रा.डा.जीवेन्द्रदेव गिरी, प्रा.डा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, वासुदेव अधिकारी र प्रा.डा.देवी नेपाल, प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.माधवप्रसाद पोखरेल, प्राज्ञ विष्णु प्रभात, डा.हरिप्रसाद भण्डारी, प्रा.कोशराज न्यौपाने, प्रा.डा.लेखप्रसाद निरौला, साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रह्लाद पोखरेल, डा.राजेन्द्रप्रसाद अधिकारी, सामाजिक रूपान्तरण अभियानका अभियन्ता केशव बडाल, महेशराज खरेल, डा.कृष्ण सुवेदी, गोपाल बराल, डा.फणीन्द्रराज निरौला, वरिष्ठ पत्रकार प्रकाश सिलवाल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष नन्दु उप्रेती, प्रा.मोहनप्रसाद तिमल्सिना, डा.सुमन ढकाल, डा.नवराज रिजाल, तेजविलास अधिकारी, खेमराज निरौलालगायत अतिथिका रूपमा उपस्थित हुनुहन्थ्यो ।

उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती बालेर गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तित्वलाई सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो । प्रा.डा.हेमनाथ पौडेलले विख्यात समालोचक, चिन्तक, निबन्धकार तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा विशद चर्चा गर्नुभएको थियो । त्यसैगरी २०८२ सालको साहित्य सन्ध्या–गोविन्द भट्ट पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि सल्लाहकार प्रा.डा.जीवेन्द्र देव गिरीज्यूको संयोजकत्वमा जयन्ती स्पन्दन र गोपालकुमार मैनाली सदस्य रहेको ‘स्रष्टा चयन समिति’ गठन गरिएकोमा उक्त समितिले सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व चयन गरी सिफारिस गरेको हुँदा स्रष्टा चयनको औचित्य तथा आधारका बारेमा संयोजकज्यूले पुरस्कृत हुनुहुने प्रा.डा.माधवप्रसाद पोखरेलको व्यक्तित्व तथा कृतित्वका बारेमा विशद प्रकाश पार्नुहुँदै नेपालको भाषाविज्ञानका क्षेत्रमा अनुसन्धान गर्नुभएका, विद्यालयदेखि विश्वविद्यालयसम्म र अन्तर्राष्ट्रिय विश्वविद्यालयसम्म अध्यापन गर्नुभएका माधव सर वास्तवमै नेपाल र नेपालीका गौरव हुनुभएकोभएको धारणासहित विशद चर्चा गर्नुभएको थियो ।

वि.सं.२००५ मङ्सिर ७ गते सुनसरी जिल्लाको धरान, विजयपुरमा पिता गङ्गाधर पोखरेल तथा माता कृष्णादेवी पोखरेलको सुपुत्रका रूपमा जन्मिनुभएका प्रा.डा.माधवप्रसाद पोखरेल नेपाली वाङ्मयमा वरिष्ठ भाषाविद्, प्रखर समालोचक र आत्मपरक निबन्धकारका रूपमा सम्मानित र सुप्रतिष्ठित विशिष्ट व्यक्तित्व हुनुहुन्छ । ‘नेपाली ध्वनिव्यवस्थाको प्रयोगात्मक विश्लेषण’ विषयमा पुणे विद्यापीठ महाराष्ट्र, भारतबाट प्रा.भास्कर रावको गुरुकुलमा विद्यावाचस्पति उपाधि प्राप्त गर्नुभएका उहाँंले कोशविज्ञानलगायतका विषयमा भारतका प्रतिष्ठित संस्थाबाट विज्ञताको तालिमसमेत प्राप्त गर्नुभएको छ । सुप्रसिद्ध भाषावैज्ञानिक नोम चोम्स्कीसँग ‘मिनिमलिस्ट प्रोग्राम’सम्बन्धी अध्ययन र जापानका विश्वप्रसिद्ध भाषावैज्ञानिक शिवातानीसँग वाक्यविज्ञान र अर्थविज्ञान तथा माचुमोतोसँग संज्ञानात्मक अर्थविज्ञानसम्बन्धी अध्ययन गर्नुभएका उहाँंले जापानको कोबे विश्वविद्यालयबाट ‘नेपाली तथा जापानी वाक्य व्याकरणको तुलनात्मक अध्ययन’ एवम् ‘नेपाली र जापानी कोटिकारको अवधारणामा समानता’ विषयमा थप अनुसन्धानसमेत गर्नुभएको छ । चाइना इन्टरनेसनल बेइजिङमा र सेन्ट्रल इन्स्टिच्युट अफ इन्डियन ल्याङ्ग्वेजेज, मैसुर, इन्डियामा नेपाली भाषाविशेषज्ञका रूपमा समेत कार्य गरेर नेपाली भाषाको अध्ययन र अनुसन्धानलाई विश्वव्यापी तुल्याउन उहाँले निर्वाह गर्नुभएको प्राज्ञिक भूमिका महत्त्वपूर्ण र विशिष्ट छ । नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत, जापानी, प्राकृत, पाली, चिनियाँ, कुसुन्डा, मराठी, सिंहाली आदि भाषाका जानकारसमेत रहनुभएका उहाँंले झापाको लाफाती र खोटाङको किराती भाषाको अन्वेषणसमेत गर्दै नेपालका ४० भन्दा बढी भाषाको स्थलगत अनुसन्धान पनि गर्नुभएको छ अनि अलिखित रूपमा रहेका नेपालका ६९ भाषाका लेख्य रूप पनि तयार पारिदिनुभएको छ । उहाँंले तीन दर्जनभन्दा बढी विद्यावारिधि अनुसन्धानको निर्देशन गरेर, भाषाविज्ञान तथा समालोचनाका दर्जनौँ गहनतम अनुसन्धानमूलक लेख प्रकाशन गरेर, नेपाली भाषामा द्विरुक्ति प्रक्रिया, सङ्ख्या र सार्वनामिक शब्दका आधारमा नेपाली भाषिकाको निर्धारण, क्रियाको रूप र तत्त्वका आधारमा नेपाली भाषिकाको निर्धारण, वाक्यतत्त्वका आधारमा नेपालीका भाषिकाको सर्वेक्षण, उच्चारणका आधारमा नेपालीका भाषिकाको निर्धारण, नेपाली र मैथिलीका पदसङ्गतिको तुलना, नेपालका भाषामा आत्मनेपद र परस्मैपदका व्यतिरेकको अध्ययन, नेपाली शब्दको आवृत्तिगणना, नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण, गोरखा भाषा व्याकरण चन्द्रिकाको भाषावैज्ञानिक अध्ययन, नेपाली भाषाका पारिभाषिक शब्दावली, नेपाली राष्ट्रिय दैनिक अखबारमा संस्कृत शब्दको आवृत्तिगणनालगायत दर्जनौँ गहनतम अनुसन्धान गरेरसमेत भाषिक क्षेत्रमा अतुलनीय कार्य गर्नुभएको छ ।

नेपाल, भारत, जापान, चीन, स्विजरल्यान्ड, जर्मनी, अमेरिका र स्विडेनको भ्रमण गर्नुभएका उहाँंका भाषाविज्ञान, निबन्ध र समालोचना विधाका दर्जनौँ कृति प्रकाशित छन् । जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (पाँचओटा ठेली)लगायत दर्जनौँ कृतिको उहाँंले उच्च बौद्धिकतापूर्ण सम्पादनसमेत गर्नुभएको छ । ‘मेरो मान्छे’ (२०५४), ‘नागदहको थिति’ (२०५९), ‘गार्गीको गाँठो’ (२०६२) नामक उच्च बौद्धिक विचार बोकेका कलापूर्ण आत्मपरक निबन्धसङ्ग्रहका माध्यमबाट उहाँंले नेपाली निबन्धपरम्परालाई ओजपूर्ण र समृद्ध तुल्याउन महत्त्वपूर्ण योगदान गर्नुभएको छ । यसरी भाषाविज्ञानका साथै नेपाली निबन्ध र समालोचनाका क्षेत्रमा पु¥याउनुभएको अनुकरणीय, महत्त्वपूर्ण र विशिष्ट योगदानको उच्च सम्मान गर्दै प्रा.डा.पोखरेललाई वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा स्थापित पचास हजार द्रव्यराशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान (२०८२) अर्पण गरिएको छ ।

पुरस्कृत व्यक्तित्वलाई समारोहका अध्यक्ष राम विनयले माल्यार्पण, विशिष्ट अतिथि गङ्गाप्रसाद उप्रेतीले दोसल्ला ओडाएर सम्मानित गर्नुभएको थियो भने प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीलेले पुरस्कार राशि तथा सम्मानपत्र अर्पण गर्नुभएको थियो ।

विशिष्ट अतिथि गङ्गाप्रसाद उप्रेतीले साहित्य सन्ध्यासँगको सहकार्यमा गोविन्द भट्टका नाममा स्थापित यो पुरस्कार तथा सम्मान आज दोस्रोपटक अर्पण गरिरहिएको छ । गोविन्द भट्ट आफैँमा वैचारिक स्कुल हो भने साहित्य सन्ध्या विकट निरङ्कुश समयमा सप्तरीको राजविराजमा भाषा बचाऊ अभियानको रूपमा थालनी गरिएको र समयक्रममा त्यहाँ अध्यापन गर्ने तथा अध्ययन गर्ने काठमाडौँमा आएपछि साहित्यका माध्यमबाट रूपान्तरण अभियान सञ्चालन गरिरहेको र अविच्छिन्न रूपमा मासिक कार्यशाला सञ्चालन गरिरहेको विशिष्ट साहित्यिक संस्था हो । यसले प्रकाशन पनि गरिरहेको छ, विभिन्न व्यक्तित्वहरूसँगको सहकार्यमा र आपूm एक्लैले सममानका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । गतवर्षदेखि गोविन्द भट्टको स्मृति दिवसकै दिन पारेर रु.पचास हजार राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गर्ने परम्परा बसालिएको हो । साहित्य सन्ध्याले आफ्नो गुणस्तर कायम राखेर, नेपाली साहित्यका क्षेत्रमा आआफ्ना क्षेत्रबाट विशिष्ट योगदान गरेका स्रष्टाको मूल्याङ्कनसमेत गरेर पुरस्कार तथा सम्मान अर्पण गरेकोमा मलाई अत्यन्त गौरवबोध भएको छ । आजको सम्मान तथा पुरस्कार भाषाविज्ञानका क्षेत्रमा, निबन्धका क्षेत्रमा र समालोचनाका क्षेत्रमा अत्यन्तै विशिष्ट गयोगदान गरिरहनुभएका प्रा.डा.मात्रवप्रसाद पोखरेललाई समर्पण हुनु झनै गौरवको कुरा हो । आजको यो विशेष समारोहले २०२५ सालमा झापाको धुलाबारीमा विशेष प्रकारको वैचारिक गोष्ठी भएको र सो समारोहमा गोविन्द भट्टको पनि उपस्थिति रहेको थियो अनि माधव पोखरेलज्यूको पनि उपस्थिति रहेको थियो । त्यो कार्यक्रम वैचारिक मानकीकरणको समारोह थियो, त्यसमा सहभागी भएका एकजनाको नाममा स्थापित पुरस्कार तथा सम्मान अर्का सहभागी व्यक्तित्वले प्राप्त गर्नु झनै गौरवको विषय हो भन्नुभयो र माधव सरको योगदान थप चुलिएर जाओस् भन्ने कामना पनि गर्नुभयो ।

सम्मानित व्यक्तित्व प्रा.डा.माधवप्रसाद पोखरेलले एकोहोरा काम मात्र गरिरहने मान्छेलाई साहित्य सन्ध्याले सम्झेकोमा हार्दिक धन्यवाद छ । राजविराजको समेत जोड्दा आधा शताब्दी बिताएको साहित्य सन्ध्यालाई यति लामो तर निरन्तर, अविच्छिन्न यात्राका निम्ति हार्दिक बधाइ छ । यो संस्थाले थुप्रै साहित्यकार जन्माएको छ, लेख्ने प्रेरणा प्रदान गरेको छ । यता गङ्गाप्रसाद उप्रेतीज्यूको संस्था स्थापनाकालदेखि आजपर्यन्त योगदान रहेको छ । साइनाले गोविन्द भट्ट मेरा भिनाजु पर्नुहुन्थ्यो । विश्वविद्यालयमा गोविन्द भट्ट र सरस्वतीप्रसाद घिमिरेको संस्कृत, नेपाली र अङ्ग्रेजी भाषासम्म शास्त्रास्त्र चलेको सुनेपछि यी मान्छे सारै विद्वान् रहेछन् भन्ने मलाई लागेको थियो । भट्टजीले दुईपटक गरेर लामो समय चीन बस्दा अत्यन्त गहन अध्ययन गर्नुभएको हो । उहाँहरू चीनबाट फर्केर धरान आएपछि छोरीहरू लुना र शिरीषलाई तीन महिना नेपाली पढाएर धरान बोर्डिङ स्कुलमा कक्षा ९ र ८ मा आपूmले भर्ना गरिदिएको र पछि काठमाडौँको ल्याब्रोटरी स्कुलबाट लुनाले एसएलसीमा बोर्डफस्ट र शिरीषले बोर्डसेकेन्ड गरेका हुन् । लुनाले त तीन महिना मात्र पढेर धरानमा कक्षाप्रथम भएर उतकृष्टता नै प्रदर्शन गरेकी हुन् । यस्ता विद्वान् व्यक्तित्वको नाममा आधा शताब्दी लामो अविचल यात्रा गरेको संस्थाले सम्मानित गरेकोमा म हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।

प्रमुख अतिथि विद्वान् साहित्यकार प्रा.डा.अभि सुवेदीले साहित्य सन्ध्याको चार दशकभन्दा लामो निरन्तरको सक्रियता अनुकरणीय छ । आज सम्मानित व्यक्ति प्रा.डा.माधव्रसाद पोखरेल नेपालका अत्यन्त दुर्लभ, अथकित अनुसन्धानमा लागेका विद्वान् हुनुहुन्छ । उहाँ वैदिककालदेखि वर्तमानसम्म जोडेर आफ्ना अभिव्यक्ति र सन्दर्भलाई सार्थक पार्ने सामथ्र्यवान् विद्वान पनि हुनुहुन्छ । नेपालका जम्मा बोलिने भाषामध्ये आधाभन्दा बढीको नालीबेली जान्नु सामान्य र चानचुने कुरा हुँदै होइन । उता गोविन्द भट्टको लेखनक्षमता भने आफ्नो चेतनामा पाठकलाई प्रवेश गराउने मात्र होइन उहाँ सबैका रत्न व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ माक्र्सवादी चिन्तक हो, माक्र्सवाद भनेको दर्शन हो । पार्टीमा वैचारिक प्रयोगका आयाम हुन्छन् तर भट्टजी माक्र्सवादी सौन्दर्यशास्त्री हुन् र अहिले त्यस्ता मान्छेको खाँचो छ । धनवादी नभएर पनि एउटा यो देशकै गुणग्राही व्यक्तिका नाममा अक्षयकोष स्थापना गर्नेजस्तो सत्कार्यका लागि गङ्गाप्रसाद उप्रेती पनि विशेष धन्यवादका पात्र हुनुहुन्छ । यति महत्त्वपूर्ण समारोहमा उपस्थित भएर भूमिका निर्वाह गर्ने तथा आफ्ना धारणा राख्ने अवसर प्राप्त भयो त्यसका लागि पनि धन्यवाद दिन्छु ।

साहित्य सन्ध्याले यो वर्षदेखि विद्वान् व्यक्तित्वले समय र मिहिनेत लगाएर कुनै विद्वान्को व्यक्तित्व तथा कृतित्वका बारेमा लेख्नुपर्ने तर यथोचित पारिश्रमिक दिननसकिने अवस्थालाई केही हदसम्म अन्त्य गरी न्यूनतम पारितोषिक प्रदान गर्ने, विद्वान् व्यक्तित्वसँग लिखितमा मागेर साहित्य सन्ध्याको मासिक प्रकाशन शब्द संयोजनमा प्रकाशित गर्ने र सङ्ख्या पुगेपछि कृतिका रूपमा प्रकाशित गर्ने लक्ष्य राखेर यसपटक प्रा.डा.हेमनाथ पौडेलज्यूलाई रु.५,०००।– पारितोषिक अर्पण गर्ने निर्णयानुसार प्रमुख अतिथिज्यूले उहाँलाई समर्पण गर्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले २०३३ सालमा राजबिराजमा गङ्गाप्रसाद उप्रेतीलगायतले साहित्यका माध्यमबाट नेपाली भाषा जोगाउने अभियानका रूपमा परिकल्पना गर्नुभएको र उहाँहरू तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थी काठमाडौँ आएसँगै २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको सोद्देश्यमूलक वैचारिक अभियानका रूपमा थालनी गरेको र एक वर्षपछि देखि नै वासुदेव अधिकारीलगायतले हाँकेको आन्दोलनका चार दशकभन्दा बढी समय व्यतीत भएका छन् । यस संस्थाले अहिलेसम्म ७८ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरेको छ भने ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ आज हामीले दोस्रा विशिष्ट विद्वान्लाई समर्पण गरेका छौँ । संस्थाको यति लामो इतिहास निर्माणमा योगदान गर्ने सबै सबैमा हामी हार्दिक धन्यवाद अर्पण गर्दछौँ र सबैको प्रेरणाले यो अभियानलाई निरन्तर अगाडि बढाइरहन्छौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, सहभागी आदरणीय व्यक्तित्वहरू, सम्मानित व्यक्तित्वहरू, स्रष्टा चयन समितिका पदाधिकारीहरू सबै सबैमा हार्दिक धन्यवाद अर्पण गर्दछौँ, आभार प्रकट गर्दछौँ । २०२५ सालमा झापाको धुलाबारीमा सम्पन्न भएको पहिलो वैचारिक भेलामा तिनै गोविन्द भट्टको प्रेरणाले म पनि सहभागी हुने अवसर पाएको थिएँ र त्यहीँ मेरो गङ्गाप्रसाद उप्रेतीज्यूसँगभेट भएको थियो । आज मलाई ती इतिहासका दिनको पनि सम्झना भइरहेको छ । आज हामीले सम्मानित गरेका व्यक्तित्व प्रा.डा.माधवप्रसाद पोखरेल अर्थात् नेपालकै विशिष्ट विद्वान्ले हाम्रो निर्णय स्वीकार गरेर पुरस्कार तथा सम्मान ग्रहण गरिदिनुभयो, म आभार पनि प्रकट गर्दछु भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ