‘अविरल जनसाहित्य यात्रा–९२’मा सशक्त प्रगतिवादी कवि डा.राजेन्द्रप्रसाद अधिकारीका एक दर्जन कविता गुञ्जिए

साउन १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९२ औँ शृङ्खलामा साहित्य सिर्जना, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र कुशल प्राविधिक एवम् प्रशासकसमेत रहेका अहिलेको समयका अत्यन्त सक्रिय एवम् सशक्त प्रगतिवादी स्रष्टा डा.राजेन्द्रप्रसाद अधिकारीका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इन्चार्ज एवम् एमाले संस्कृति विभाग प्रमुख माननीय रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सचिव नवराज रिजालले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा एमाले सल्लाहकार परिषद् सदस्य प्रा.डा.जीवेन्द्र देव गिरी, भाषा आयोगका सदस्य मातृका पोखरेल, कविनायककी जीवनसङ्गिनी प्रभा प्याकुरेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, महासचिव नन्दु उप्रेती, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, नर्मदेश्वरी सत्याल, अनिल पौडेल, डम्बर पहाडी, कृष्ण बाउसे, प्रह्लाद पोखरेल, जीवराज घिमिरे, सुशिला प्रधानाङ्ग, नरनाथ लुइटेल, महेशराज खरेल, पोषरमण चापागाईँ, श्याम तमोटलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०१८ सालमा नुवाकोटमा जन्मेका डा.राजेन्द्रप्रसाद अधिकारी ‘साहित्यकारहरू समाजप्रति जिम्मेवार हुनुपर्छ र साहित्यले राजनीतिलाई डोहोर्याउनुपर्छ’ भन्ने स्पष्ट मान्यता राख्ने स्रष्टा हुन् । २०३८ सालमा ‘खै के हाँस्नु र ?’ कवितासङ्ग्रह लिएर नेपाली साहित्यमा प्रवेश गरेका अधिकारीले ‘आजको आकाश’ संयुक्त कवितासङ्ग्रह २०४२, २०६३ र २०७५ प्रकाशित गर्नुका साथै अन्य सिर्जनाससङ्ग्रहसमेत प्रकाशनमा ल्यउनुका अतिरिक्त अविश्रान्तरूपमा विभिन्न पत्रपत्रिकामा फुटकर कविता, लेख आदि प्रकाशित गरिरहेका छन् । ‘वेदना’ साहित्यिक पत्रिकाका पूर्वकार्यकारी सम्पादक, पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्ष आदि अन्य धेरै संस्थाको नेतृत्वसमेत गरिसकेका अधिकारी सामाजिक न्यायका निम्ति ‘मेलमिलाप परिषद्’जस्तो संस्थाको नेतृत्वमा समेत रहेकाले निरन्तरको उनको योगदानका लागि ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’लगायत थुप्रै पुरस्कार तथा मानसम्मान प्राप्त गरेका छन् । नेपाली समाजलाई नजिकबाट नियाल्ने, त्यसको जीवन्त चित्रण गर्ने र रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अधिकारीलाई आजको यो विशेष समारोहमा प्रस्तुत गरिएकोे हो भन्ने धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९२ औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण तथा सुशासन अभियानमा सक्रियता देखाइरहेका डा.राजेन्द्रप्रसाद अधिकारीलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने यिनै कुशल स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक डा.राजेन्द्रप्रसाद अधिकारीले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर जीवनपर्यन्त क्रियाशील भइरहँदा, सकेजतिको सक्रियता देखाइरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । यो अत्यन्त महत्त्वपूर्ण, सबैभन्दा महत्त्वपूर्ण अवसर आज मैले प्राप्त गरेको अनुभूत पनि गरेको छु । मेरा कविताका विषयवस्तु यही समाजबाट टिपिएका छन् । यो मुलुकको भविष्य निर्माण हामीले नै गर्नुपर्छ भन्ने चेतनाले घच्घच्याएपछि, राजनीति विकृत बन्दै गएको र सामाजिक विभेद र शोेषण बढेको देखेपछि, लेनदेन एवम् सम्बन्ध वा प्रभावका आधारमा पदक दिन÷लिने परम्पराको विकास भएको देखेपछि, भारतमा पढ्दै गरेकी छात्राले आगो लगाएर आत्महत्या गरेको घटनाले मन उद्वेलित भएपछि, मान्छेमा त्यसमा पनि कविसमेतमा नैतिकता हराएको वा वैचारिक स्खलन भएको देखेपछिजस्ता यावत् सामाजिक यथार्थले निर्देश गरेपछि मलाई कवितासिर्जनाको हुटहुटी बढेको हो । विभेद र अन्यायको साम्राज्यको अन्त्य नगर्दासम्म सामाजिक रूपान्तरण सम्भव छैन भन्ने लागेपछि पनि मैले कविता सिर्जना गरेको हुँ भन्ने रचनागर्भसहित ‘राजनीतिको तन्त्रसाधना’, ‘पदक’ ‘हो, गिद्धहरू गीत गाउँदैनन्’, ‘महेन्द्रको सालिक र समाजवाद’, ‘भूकम्पपीडित र संवेदनहीन तमासेहरू’, ‘कविजी खै त नैतिकता !’, ‘किसान र सरकार’, र ‘काका र काकाहरू’ शीर्षकका अत्यन्त उत्कृट, सशक्त एवम् सुन्दर आठओटा गद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू डम्बर पहाडीले ‘नारी समानता र मन्त्रीको भाषण’ शीर्षकको गद्यकविता, विष्णु भण्डारीले ‘अलबिदा शिवानी’ शीर्षकको, प्रह्लाद पोखरेलले ‘काँसका सेता पूmलहरू’ शीर्षकको र जीवराज घिमिरेले ‘पूmल’ शीर्षकको गद्यकविता गरी चारओटा त्यस्तै सुन्दर, शालीन तर सशक्त कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक प्रा.डा.षडानन्द पौड्यालले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९२ औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा उपस्थित भएर आज कुशल स्रष्टा डा.राजेन्द्रप्रसाद अधिकारीका एक दर्जन सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । सुपरिचित कविका कविताको टिप्पणी गर्न उभिए पनि कविले देखेको विश्वजगत् कवितामा अभिव्यक्त भएको हुन्छ भने समीक्षकले कविता पढेर बनाउने दृष्टिकोण अभिव्यक्त गर्दछ । राजनीतिक परिवर्तनपछि राजनीति दूषित भएको र जनतालाई केन्द्रमा नराखिएको प्रति सशक्त राजनीतिक व्यङ्ग्य कवितामा अभिव्यक्त गरिएको छ । आजका कवितामा प्रयोग गरिएको गिद्ध पृथ्वीलाई बस्नयोगय पार्ने प्राणी हो र रामायणमा पनि सत्यवक्ताका रूपमा जटायुका नामले चित्रित छ । कवितामा प्रयुक्त बगरमा फुल्ने काँस र गिद्धले हेलाँहोचोमा पारिएका जनताको नै प्रतिनिधित्व गरेका छन् । कविले कविताका लागि गरेका शब्दचयन र वाचन दुबै उत्कृष्ट देखिन्छ । सबै कविता बोधगम्य मात्रै छैनन् समाजका सामाजिक व्यवहारका मसिना कुराहरू जीवन्तरूपमा कवितामा उतारिएको छ र कविताले उचाइ प्राप्त गरेका छन् । हरेक कविता सामाजिक व्यवहारसँग र सामाजको अस्वीकृतिसँग जोडिएका छन् अनि रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गरेका छन् । समग्र कविताको चेत प्रगतिवादी चेत हो । वेदको आदर्शको सङ्केतसँग सबै कविता जोडिएका छन् । सत्ताले जनताका पीडामा मलम लगाउननसकेको प्रति आक्रोश व्यक्त गरिएको छ । सामाजिक यथार्थको जीवन्त चित्रण सबै कविताले गरेका छन्, सुन्दर छन् भन्ने धारणा राखनुभयोे ।
प्रमुख अतिथि मा.रघुजी पन्तले अविरल जनसाहित्य यात्राको यो बयानब्बेऔँ शृङ्खलामा आज सक्रिय, सशक्त एवम् अविश्रान्त प्रगतिवादी कवि डा.राजेन्द्रप्रसाद अधिकारीलाई सुनियो । कविताको अनुभूति वा भावार्थ फरक हुनसक्छ । वर्तमान समय र राजनीतिसँग आजका कविताको असन्तुष्टि देखिन्छ । राजनीति भनौँ वा देशको अवस्था सुधार्ने अन्यान्य अवसर पनि छन् तर सरकारले प्रोत्साहन गर्ने वा सहजीकरण गर्ने काममा कम ध्यान गएको सत्य हो । हाम्रो साहित्यले समाजका नराम्रा पक्षलाई उजागर गर्ने र रूपान्तरण गर्ने पक्षमा विशेष योगदान गर्नु अझै आवश्यक छ । नेपाली भाषा क्रमशः लोप हुने खतरा बढिरहेको छ, एसइईमा नेपालीमा अनुत्तीर्ण हुनेको सङ्ख्या उल्लेख्य हुनु पनि गम्भीर विषय बनेको छ । अमेरिकाले पनि युवालाई डिभी चिठ्ठा दिने र प्रतिभावान्लाई अवसर दिने गरेको देखिन्छ । त्यसैगरी हाम्रो देशले पनि र हामी स्रष्टाले पनि भाषा, साहित्य जोगाउने र चेतना जगाउने सिर्जना गर्नु आवश्यक छ । नयाँपुस्तामा साहित्य पुर्याउने काम गर्नु आवश्यक छ । सबैले कविता लेख्दैनन् । माक्र्सले, लेनिनले कविता लेखेनन् तर धेरैभन्दा धेरै पढे । मानवको समुन्नत चेतनाले कविता सिर्जना हुने हो र साहित्यले नेतृत्वविकासमा पनि सहयोग पुर्याउँछ । आफ्नो मुलुक र यसको विशिष्टता बुझेर साहित्य सिर्जना गरिनुपर्दछ । साँचो धर्मनिरपक्षवादी चाहिँ हामी नेपाली हौँ । संसारकै नमुना सहिष्णुता हामीकहाँ छ । आज हामीले सुनेका डा.राजेन्द्रका कविता पनि यही समाजको यथार्थका प्रतिरूप हुन्, सरल छन् तर सशक्त र उत्कृष्ट छन्; त्यसैले आजको यो विशेष समारोह सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा सक्रियता देखाइरहेका; सामाजिक रूपान्तरण अभियानमा सक्रिय, अथकित, अविश्रान्त स्रष्टा, कुशल प्राविधिक प्रशासक डा.राजेन्द्रप्रसाद अधिकारीलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन व्यङ्य एवम् विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने अधिकारीको पारिवारिक माहोल पनि सहयोगी रहेको देखियो । अत्यन्त सरल, विनम्र र गुणग्राही कवि अधिकारी प्राविधिक साहित्यकार हुन् । सुशासन र रूपान्तरण दुइटै समसामयिक र यथार्थपरक विषयलाई आफ्ना कविताको विषय बनाउने, सामूहिक सहयात्रा रुचाउने, विचार र व्यवहारमा अत्यन्त सुन्दर तालमेल गर्ने, प्रचारबाट टाढा रहने, आफ्ना सिर्जनामा समसामयिक समाज र राजनीतिक यथार्थको जीवन्त चित्रण गर्ने र स्पष्ट आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, शब्दलाई कुशलतापूर्वक कुँदेर कविता सिर्जना गर्ने, सुन्दर ग्राम्यजीवनका विम्बको प्रयोग गर्ने र समाजको निर्मम यथार्थलाई उजागर गर्ने, अत्यन्त सचेतताका साथ इमानदारीपूर्वक कलम चलाउने यिनै अत्यन्त कुशल स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी भदौ महिनामा ९३ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेका तनहुँका अग्रज स्रष्टा शेषमणि आचार्यलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*