माघ १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९५ औँ शृङ्खलामा साहित्य सिर्जना, सरकारी तथा अर्धसरकारी वा गैरसरकारी सेवा, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काठमाडौँका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा देविका तिमिल्सिनाका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने अविरल जनसाहित्य यात्रा परिचालन समितिका सदस्य ज्ञानु विद्रोहीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा राष्ट्रिय जनसांस्कृतिक वरिष्ठ आख्यानकार नारायण ढकाल, अग्रज स्रष्टा उमेश उपाध्याय, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, नर्मदेश्वरी सत्याल, नमुना शर्मा, शार्दूल भट्टराई, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, कविनायककी जीवनसङ्गिनी मन ढुङ्गाना तिमल्सिना, कालिकाप्रसाद तिमल्सिना, खेमराज निरौलालगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०११ भदौ २ गते चाबहिल, काठमाडौँमा माता शुभद्रा तिमल्सिना र पिता रघुनन्दन तिमल्सिनाका सुपुत्रका रूपमा जन्मिएका देविका नन्दन तिमल्सिना साहित्यमा देविका तिमल्सिनाका नामबाट कलम चलाउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा सनातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएका उहाँले २०३० सालमा ‘खियाऊ हातका नङ्ग्रा’ शीर्षकको कविता छपाएर नेपाली साहित्यमा प्रवेश गर्नुभएको र ‘मृत्यु दोस्रो पुस्ताको’ २०४४, ‘सीमाहीन सीमा’ २०५१ र ‘पृथ्वी आफ्नै कक्षमा घुमिरहेछ’ २०७४ जस्ता कथासङ्ग्रह प्रकाशित गराउनुभएको छ । त्यसैगरी ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ कवितासङ्ग्रह २०८० पनि उहाँको प्रकाशित भएको छ । पौने एक दर्जन साहित्यिक तथा अन्य पत्रपत्रिकाको सम्पादनसमेत गर्नुभएका उहाँले करिब एघार वर्ष नेपाल सरकारको सेवामा, पाँच वर्ष नेपाल रेडक्रसमा, करिब आठ वर्ष इन्सेकमा सेवा गर्नुभएको छ र सामाजिक रूपान्तरणका पक्षमा, मानवअधिकारका क्षेत्रमा निरन्तर क्रियाशीलता देखाइरहनुभएको छ । विभिन्न मान, सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएका उहाँ हाल पनि झन्डै पौने एक दर्जन सङ्घसंस्थामा क्रियाशील रहनुभएको छ । कवि तिमसिल्ना काम, सिर्जना तथा अनुभवका आधारका परिष्कृत स्रष्टा हुनुहुन्छ । अविरल जनसाहित्य यात्राको नयाँ, पुराना र वैचारिक आधारमा स्रष्टा चयन गर्ने र नयाँ तथा पुरानालाई मिसाएर प्रस्तुत गर्ने उद्देश्यअनुसार अहिलेको यो शृङ्खलामा उहाँलाई सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारीसमेत दिनुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९५ औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारीको देहावसानसमेत भइसकेको छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता तथा अधिकारवादी व्यक्तित्व अग्रज स्रष्टा देविका तिमल्सिनालाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने यिनै कुशल स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक देविका तिमल्सिनाले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर जीवनपर्यन्त क्रियाशील भइरहँदा, सकेजतिको सक्रियता देखाइरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । कस्ता मान्छेको कविता लेख्ने होला ? भन्ने प्रश्नले मनमा घर गरेपछि पसिना बगाउने मान्छेकै पक्षमा लेख्नुपर्छ किनभने पसिना नै मान्छेको पहिचान हो भनेर कलम चलाएको, जिल्लामा जाँदा देखिएका विकृति विसङ्गति र मान्छेले मान्छे भएर बाँच्ने अवसर नै नपाएको देखेपछि कविता सिर्जना गरेको, जनतामुखी शासन र नेतृत्व नभइदिएको अनुभूति भएपछि कविता सिर्जना गरेको, श्रम र समृद्धिको तालमेल कतै नभएको र अवसरको खोजमिा युवा पलायन तीव्र भइरहेको पक्षले दुखाएर पनि कविता सिर्जना गरेको, प्रकृतिको व्यवहार समान छ तर मान्छे विभेदको अगुवाइ गरिरहेको छ भन्ने देखेर पनि सिर्जना गरेको, सबैको अधिकार सुरक्षित हुनुपर्छ भन्ने लागेर पनि कविता सिर्जना गरेको रचनागर्भको जानकारीसहित ‘कसको कविता सुनाऊँ’, ‘दोहन जारी छ’ ‘अझै रात असुरक्षित छ’, ‘लोकतन्त्र र समाजवाद’, ‘बाटै बिर्सियो !’, ‘मान्छे अर्थात् जनता’, ‘प्रकृति र मान्छे’ र ‘आआफ्नो अधिकार’ शीर्षकका अत्यन्त उत्कृट, सशक्त एवम् सुन्दर वैचारिक आठओटा गद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू डम्बर पहाडी ‘एकलाक’ले ‘भुइँमान्छे’ शीर्षकको गद्यकविता, दिवा तिमल्सिनाले ‘लेटाङ ! तिमीलाई सम्झिरहेको छु’ शीर्षकको, मन ढुङ्गाना तिमल्सिनाले ‘रारा र म’ शीर्षकको र शार्दूल भट्टराईले ‘श्रमिक र समृद्धि’ शीर्षकको कविता गरी चारओटा त्यस्तै सुन्दर, शालीन तर सशक्त वैचारिक कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक वरिष्ठ स्रष्टा उमेश उपाध्यायले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९५ औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा उपस्थित भएर आज कुशल एवम् अग्रज स्रष्टा देविका तिमल्सिनाका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । गहन दर्शन र चिन्तनलाई कविले काव्यमा वाणी प्रदान गरेको हुन्छ । कविको शाश्वत चिन्तन कवितामा उतारिएको हुन्छ । कवितामा काव्यात्मकता, लालित्य, विम्ब, प्रतीक र अलङ्कार चाहिन्छ सोझो अभिवयक्ति कविता हुनसक्तैन । आजका कविले आफ्नो जीवनको विगतको चालिस वर्षको अवधिका कविता सुनाउनुभएको छ । सुनिएका सबै कविता भावनात्मक गहिराइ र विम्बात्मक उचाइका रहेका छन् । कवितामा मानवीय पक्ष, प्रकृतिको पक्ष तथा लथालिङ्ग वर्तमानको समेत जीवन्त रूपमा चित्रण गरिएको छ । आम मान्छेको आबाज, समाजमा विद्यमान विभेदको चित्र र असमानताप्रतिको आबाज कवितामा मुखरित भएको पाइन्छ । सबैभन्दा बढी पसिनाको शोषण र विभेद मानिसले गरेको यथार्थलाई कवितामा उजागर गरिएको छ । पहाडका दुःखमा बाँचेका मात्र होइन परिवार पाल्नकै लागि भारतको कालापहाड जानुपर्ने बाध्यतामा बाँचेका जनताको पीडालाई मात्र पनि होइन गरिबीको उपहास गरिएको स्थानविशेष अनि ग्रामीण जनताका दुःख, बलात्कारका पीडा, साहुको शोषण, कुलतमा फसेको समाज र सामाजिक दुरावस्थाको तिक्तता पनि कवितामा जीवन्त रूपमा चित्रण गरिएको छ । लोकतन्त्रका नाममा राजनीति गर्ने तर व्यवहारमा नदेखिने प्रवृत्तिको विरोध, प्रतिक्रान्तिलाई हकार्ने र सत्तालिप्साको वर्तमानका प्रति विरोध गर्ने काम पनि कवितामा भएको छ । राराको प्राकृतिक सुन्दरता मात्र उजागर गर्ने होइन त्यहाँको दर्द र दुःख, असमानुपातिक विकास, बेरोजगारीका कारण श्रमिकले पलायन हुनुपरेको पीडा, अनि सपना पूरा गर्न तातोभूमिमा पुगेकाहरू बाकसमा फिर्ता हुनुको मार्मिक पीडा पनि कवितामा अभिव्यक्त भएको छ । राजनीतिले श्रमिकको समृद्धिको सपना देखाइरहेको भए पनि श्रमिकको जीवनस्तर, अवसरहीनता उस्तै रहेको; प्रकृतिले विभेद नगरेको भए पनि मान्छे चाहिँ हस्तक्षेपकारी रहेको, मान्छेले मान्छेलाई नै अछुत मान्ने कुप्रथा नहटेको प्रति शालीन आक्रोश पनि कवितामा अभिव्यक्त भएको छ । नेतृत्वले बाटो बिराएको वा वैचारिक स्खलन भएकोदेखि सिमाना मिचिएकोसम्मका यावत समस्या कवितामा उठान गरिएको छ । कविता सूक्तिमय पनि छन् । जनता माटोमा पसिना पोखिरहेका छन् भन्ने यथार्थको उद्घाटन गर्दै श्रम तथा पसिनाका पक्षमा कविता आएका छन् । कविले वर्गीय पक्षधरता लिएर सबै प्रकारका विभेद तथा विसङ्गतिका विरुद्धमा, राष्ट्रहितका पक्षमा बुलन्द आबाज कवितामा उठाएको पाइन्छ । ग्राम्य जीवनका जीवन्त पात्रका माध्यमबाट यथार्थको प्रकटीकरण गर्नुका साथै कवितामा सहरभन्दा बढी गाउँ आएको पाइन्छ । यी कविताले कवि परिवर्तनकारी भएको र परिवर्तनका पक्षमा आशावादी दृष्टिकोण सम्प्रेषण भएको पुष्टि गरेको छ भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो पञ्चानब्बेऔँ शृङ्खलामा आज सक्रिय, सशक्त एवम् अविश्रान्त प्रगतिवादी अग्रज कवि देविका तिमल्सिनालाई सुनियो । रूपान्तरणको पक्षमा सशक्त विचारसहितका कविता हामीले सुन्यौँ । कवितामा लेटाङ ठिङ्ग उभिएपछि म आपूmले भूमिगतकालमा काम गरेको ठाउँ जस्ताको तस्तै दिमागमा घुम्यो । अहिले हामी आफैँ पनि अवसरको खोजीमा चित्त नबुभ्mदा नबुझ्दै पनि उभिएका छौँ । अहिले पनि गाउँको पीडा असाध्यै धेरै छ । म आपूm पनि आफ्ना सिर्जनामा ग्राम्य जीवनकै चित्र उतार्ने कोसिस गरिरहेको छु । अहिलेका हाम्रा सिर्जनामा मान्छेले तलसम्म बुझ्ने विषय र पक्षधरता आवश्यक छ । आजका कविताले त्यो धर्म निर्वाह गरेका छन् । राष्ट्रिय जनसाहित्यिक सङ्घको सक्रियतामा अहिलेसम्म ९५ ओटा शृङ्खला सम्पन्न भएका छन् । यीसहित १०० शृङ्खलाका कवि, कविता, समीक्षा तथा समाचारसमेत समेटिएको बृहत् ग्रन्थ यसै कार्यसमितिको पहलमा प्रकाशित गरौँ; त्यसका लागि महासङ्घ सहयोग गर्न तयार छ भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, निजामती तथा गैरसरकारी संस्थाको सेवा, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा सक्रियता देखाइरहेका; सामाजिक रूपान्तरण अभियानमा सक्रिय, अथकित, अविश्रान्त स्रष्टा देविका तिमल्सिनालाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन व्यङ्ग्य एवम् विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्रामीण विम्बलाई प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; विचार र व्यवहारमा तालमेल नगर्ने ढोँगी राजनीति र नेतृत्वलाई कठोर प्रहार गर्ने; आदर्श मानेका नेतृत्व विचारमा स्खलित भएकाले आफैँ होचा भएका यथार्थको प्रस्तुति गर्ने, समाजमा विद्यमान अन्धविश्वासमा शालीन प्रहार गर्ने; तौलिएर कवितामा शब्दप्रयोग गर्ने र वर्गीयताको पक्षपोषण गर्ने, नेतृत्वसँग विचार र व्यवहारको तालमेल नभएका कारण सङ्कीर्णता मौलाएको मात्र होइन रूपान्तरण अभियानले बाटो बिराएको प्रस्ट धारणा राख्ने तिमल्सिना स्पष्ट आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने शिल्पी हुन् । यिनै अत्यन्त कुशल स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी फागुन महिनामा ९६ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेका स्रष्टा दिल पौडेललाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
Leave a Reply