‘अविरल जनसाहित्य यात्रा–१००’मा सशक्त प्रगतिवादी कवि भवानी पाण्डेका एक दर्जन कविता सुनिए

असार १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०० औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी काभ्रेकी सशक्त प्रगतिवादी स्रष्टा भवानी पाण्डेका एक दर्जन कविता सुनिए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इन्चार्ज हेमराज राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा महासङ्घका महासचिव आर.सी.न्यौपाने, निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सङ्घका सल्लाहकारद्वय प्रा.डा.जीवेन्द्र देव गिरी र वासुदेव अधिकारी, कविनायक भवानी पाण्डे, राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष नमुना शर्मा, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.लेखराज खतिवडा, डा.हरिप्रसाद सिलवाल, सङ्घका निवर्तमान अध्यक्ष राम विनय, डा.विन्दु शर्मा, राष्ट्रिय चलचित्रकर्मी सङ्घका अध्यक्ष वसन्त रिजाल, रक्तिम लामा, सरस्वती चिमौरिया, ज्ञानु विद्रोहीलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
दुुई चरणमा सम्पन्न गरिएको आजको विशेष समारोहको पहिलो चरणमा जननेता मदन भण्डारीको चौहत्तरौँ जन्मजयन्तीका अवसरमा भण्डारीको तस्बिरमा प्रमुख अतिथिले माल्यार्पण गर्नुभएको थियो भने विशेष अतिथि तथा अतिथिहरूले पुष्पार्पण गर्नुभएको थियो । नेपाली कम्युनिस्ट राजनीतिमा नेपाली माटो र हावापानी सुहाउँदो ‘जनताको बहुदलीय जनवाद’ विचारको प्रतिपादन गर्ने विचारक मदन भण्डारीको बारेमा चर्चा गर्नुहुँदै डा.गोविन्दप्रसाद आचार्यले नेपाली वामपन्थी आन्दोलनको मूल धार नै वर्तमानमा ‘जनताको बहुदलीय जनवाद’ भएको र यसलाई बाहिर कोही कसैले नमाने पनि उनीहरूसमेत भित्र भित्र त्यही विचार अनुसरण गर्न बाध्य भएका छन् । जनक्रान्तिका नामले थालनी भएको युद्धले परिणाम दिननसकेको, सम्झौतामा टुङ्गिएको अवस्थामा माक्र्सवाद–लेनिनवादलाई सममयसापेक्ष एवम् मुलुकको प्रकृतिअनुसारको व्याख्या गरी प्रतिपादित भएको हुँदा जबज नेपाली राजनीतिमा स्थापित भएको छ, हुदै गइरहेको छ । संसद्लाई पनि उपयोग गर्दै नेपाली जनता र देशको हितमा काम गर्ने, बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्ने र श्रेष्ठतालाई स्वीकार गर्ने भनेर ल्याइएको विचारका माध्यमबाट मदन भण्डारी पुष्पलालपछिका विचारकका रूपमा स्थापित भएका हुन् भन्ने धारणा राख्नुभयो । त्यसपछि राम विनय, नमुना शर्मा, खेमराज दाहाल, देबु लुइटेल, साधुराम नेपाल र रमेश पोखरेलले मदन भण्डारीद्वारा लिखित दुइटा गद्यकविता र चारओटा पद्यका कविता र गीत वाचन एवम् गायनका माध्यमबाट मदन भण्डारीको साहित्यिक उचाइसमेतका प्रति सम्मान जाहेर गरिएको थियो ।
दोस्रो चरणको कार्यक्रममा अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने सङ्घको काव्य विभाग सदस्य त्रिलोचन आचार्यले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०३० माघ १४ गते काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाउँपालिका नं.६, ठुलो पर्सेलमा माता धुमा भगवती पाण्डे र पिता सानुरत्नप्रसाद पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भवानी पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेकी छिन् । हाल बनेपामा बसोवास रहेकी पाण्डेका चारओटा बालसहित्यका कृति प्रकाशित भइसकेका छन् भने ‘उज्यालो धर्ती’ कवितासङ्ग्रह र ‘गरिब को ?’ बालनाटक प्रकाशोन्मुख अवस्थामा रहेका छन् । काभ्रे जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थामा सक्रियता देखाइरहेकी पाण्डे समाजका समग्र बेथिति र विसङ्गतिलाई आफ्ना सिर्जनामा उतार्ने र सामाजिक रूपान्तरणका पक्षमा स्पष्ट रूपमा आबाज बुलन्द गर्ने स्रष्टा हुन् । सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने पाण्डेका ‘शिक्षक व्यक्तित्व’, ‘कवि एवम् साहित्यकार व्यक्तित्व’, ‘राजनीतिक व्यक्तित्व’ र ‘सामाजिक व्यक्तित्व’ गरी चारओटा पाटा रहेका छन् । तेर वर्षकै उमेरमा अनेरास्ववियुमा सङ्गठित भएकी पाण्डे हाल पनि विभिन्न सङ्घसंस्थामा क्रियाशील रहेकी छिन् भन्नेसमेतको जानकारीसमेत दिनुभयो ।
समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०० औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसेको देहावसानसमेत भइसकेको छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेकी, सामाजिक रूपान्तरण अभियानकी अभियन्ता एवम् सचेत, सशक्त प्रगतिवादी स्रष्टा भवानी पाण्डेलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी यो समारोहलाई नै सभ्य र भव्य पारिदिनेगरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, विशेष अतिथिहरू, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले समाजमा देखिने सबै प्रकारका विकृति, विसङ्गति र बेथितिको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयकी प्रखर एवम् कुशल यिनै स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक भवानी पाण्डेले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेकी, सानै उमेरदेखि कविता सिर्जना गरेकी र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर आजपर्यन्त क्रियाशील भइरहेकी छु, सकेजतिको सक्रियता देखाइरहेकी छु । काठमाडौँभन्दा अलि पर रहेकी आपूmलाई कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता वाचन गर्ने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेकी छु र यसका निम्ति यस सङ्घको काव्य विभागका निवर्तमान संयोजक डा.हरिप्रसाद सिलवालज्यूलाई विशेष धन्यवाद दिन्छु । भावनाको विशिष्ट अनुभूतिको अभिव्यक्ति कविता हो र कविको भावना निजी कुरा हो तर त्यसले समाजको चित्रण गरेको हुन्छ भन्ने सिद्धान्त मैले पनि पढेकी भए पनि मेरा कवितामा कतिको उतार्नसकेकी छु त्यसको मूल्याङ्कन यहाँहरूले गरिदिनुहुने छ । असहाय र निमुखाको पीडा देखेर मन दुखेपछि, युवापलायन भइरहेका मात्र होइन देश नै वृद्धाश्रम भइरहेको देखेपछि अनि स्वाभिमानको रक्षाका निमित्त पनि बोल्नुपर्छ भन्ने लागेपछि; मुलुकमा प्रजातन्त्र आइसकेपछि झन् आधुनिक महाजनहरू बढेका तर जनताको जीवनस्तर बढ्नु त कता हो कता शोषण पनि उस्ताको उस्तै रहेको देखेपछि, आफ्ना सहोदर बुबाआमाका प्रति युवामा घृणा पैदा हुने र वृद्धाश्रममा पुर्याउने प्रवृत्तिले समाज जिम्मेवार नहुँदै गएको पीडाले पोलेपछि, लोकतन्त्रले जनताका अपेक्षा पूरा नगरेको मात्र होइन जनताका आशाका पूmल पलाँसका पूmल साबित भएको देखेपछि र अनुभूत गरेपछि यी यावत विकृतिमा रूपान्तरण आवश्यक छ भन्ने सन्देश पनि दिनुपर्छझैँ लागेर कविता सिर्जना गरेको भन्ने रचनागर्भको पनि जानकारीसहित ‘घुँडा टेक्ने छैन’ ‘बालअधिकार’, ‘यो युगको महाजन’, ‘खुसी मन (बालकविता’, ‘पर्खाइ’ र ‘विवश वर’ शीर्षकका छओटा गद्यकविता, बालकविता र झ्याउरे लयमा सिर्जना गरिएका सुन्दर वैचारिक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू डा.हरिप्रसाद सिलवालले ‘प्रण’, अनामिका सजलले ‘तिम्रो प्राणपखेरु’, नवराज उत्साहीले ‘बन्द छ विज्ञापन’, सरस्वती चिमौरियाले ‘धुरीबलो’, गीता सापकोटाले ‘अनुत्तरित प्रश्न’ र दिनेश खरेलले ‘मौन समय’ शीर्षकका त्यस्तै सुन्दर, सरल, शालीन र सशक्त वैचारिक कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक डा.लेखराज खतिवडाले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान १०० औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको छ । यो अभियानसँग आयोजक नै भएर सुरुदेखि नै जोडिएको आपूmले आज समीक्षकका रूपमा उभिने जिम्मेवारी पाएको र यो अभियानअन्तर्गतको आजको यो भव्य समारोहमा उपस्थित भएर अहिलेको समयकी प्रखर, प्रगतिवादी स्रष्टा भवानी पाण्डेका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा भने खुसी पनि लागेको छ । नेपाली कविता, बालकविता, नाटक लेखन, शिक्षण पेसा तथा समाजिक रूपान्तरण अभियानमा सक्रिय रहेकी भवानी पाण्डेको कविता सिर्जनायात्रा सरल छ, समयसापेक्ष छ । यी कविताका आधारमा भवानी पाण्डे प्रगतिवादी कवि हुन् । कवि सामान्य मान्छे मात्र नभएर द्रष्टा पनि हो । यहाँ पाण्डेले समाजमा पीडकहरू खुसी छन्, छाती फुलाएर हिँडिरहेका छन् तर पीडित दुःखी र प्रताडित छन् भन्ने यथार्थलाई कवितामा उतारेकी छिन् । पसिना बेच्नेहरू उपेक्षित रहेका, नारी उत्पीडन जस्ताको तस्तै रहेकोप्रति कवितामा चिन्ताभाव व्यक्त गरिएको छ । सबै कवितामा देशभक्तिलाई सशक्त रूपमा उजागर गरिएको छ । सामाजिक विकृतिको अन्त्यका प्रयत्न नगरेका कारण शासकलाई खबरदारी गरिएको छ । मुलुक बनाउनका लागि विदेशीको दान होइन स्वदेशीले नै योगदान गर्नुपर्ने विचारका साथ दान अस्वीकार गर्न आग्रह गरिएको छ । गणतन्त्रका कमजोरीको फाइदा उठाएर व्यवस्थाकै विरुद्धमा विषवमन गर्नेहरूको विरुद्धमा आक्रोश व्यक्त गरिएको छ । यो मुलुकलाई समृद्ध पार्न सबै सबैले आआफ्ना ठाउँमा जिम्मेवार भएर काम गर्नुपर्ने आह्वान गरिएको छ । पारिवारिक विखण्डन र अभिभावकको अपहेलना अहिलेको डरलाग्दो समस्या हो भन्ने देखाउँदै संयम र जिम्मेवारीबोधको आह्वान गरिएको छ । कवि पाण्डे मूलतः गद्यकवि भए पनि शास्त्रीय छन्द तथा झ्याउरे छन्दमा प्रयास गरे सफलता मिल्ने देखिन्छ । सचेत र बौद्धिक कवि भएका नाताले नेपाली समाजको जीवन्त चित्रण गर्दै सुधार तथा रूपान्तरणको अपेक्षा सबै कवितामा गरिएको छ । वर्तमानमा विश्व साँघुरिएको र युद्धको त्रासदी मडारिएको प्रति पनि सिर्जना गर्न र विश्वदृष्टिकोणसहित अझ परिष्कार गर्दै सिर्जनायात्रा अघि बढाउन स्रष्टालाई अनुरोध पनि गर्दछु भन्नुभयो ।
समारोहका प्रमुख अतिथि तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इन्चार्ज हेमराज राईले अविरल जनसाहित्य यात्राको यो सयौँ विशेष शृङ्खलालाई आज विशेष पार्ने प्रयत्न भएको, नेपाली कम्युनिस्ट आन्दोलनका विचारक जननेता मदन भण्डारीको चौहत्तरौँ जन्मजयन्तीलाई पनि जोडेर विशेष कार्यक्रम गरिएको प्रति बधाइ दिन चाहन्छु । मदन भण्डारी एमालेका नेता मात्र होइन कम्युनिस्ट आन्दोलनकै नेता हुनुभएको, आगामी दिनमा पनि उहाँ वैचारिक नेताकै रूपमा स्थापित भइरहनुहुने मलाई विश्वास छ । बहुदलीय राजनीतिक अभियानबाटै समाजवादसम्म कसरी पुग्नसकिन्छ भन्ने चिन्तक पनि हुनुभएका मदन भण्डारीको जीवनकाल भने छोटो रह्यो । वर्तमानमा हाम्रो राजनीतिले निश्चित उद्देश्य र लक्ष्यमा डोहोर्याउन सकिरहेको छैन भन्ने जनमूल्याङ्कनलाई कतै न कतै, कुनै न कुनै रूपमा सुनवाइ गर्नु आवश्यक छ । उत्पादनसँग, रोजगारीसँग, वैज्ञानिक खेतीप्रणालीसँग युवालाई जोड्नुपर्ने, युवापलायन रोक्नुपर्ने दायित्व पूरा गर्यौँ भने मात्र मदन भण्डारीको विचारलाई आत्मसात गरेको ठहरिने छ ।
आजको यो विशेष समारोहमा कवि भवानी पाण्डेका बारओटा कविता श्रवण गर्ने अवर मिल्यो, समीक्षकको टिप्पणी पनि सुनियो त्यसैले आजको यो विशेष समारोह सार्थक र प्रभावकारी भएको मलाई महसुस भएको छ । यो विशेष समारोहले मलाई पनि सिर्जनायात्रामा फर्काउला कि भन्ने आशासमेत पलाएको छ । हाम्रो राजनीतिक नेतृत्वले दिशा दिनेगरी छिटोछरितो कार्यसम्पादन नगरेको वा सुस्त कार्यशैली अवलम्बन गरेको प्रति पनि स्रष्टाका कलमले सचेत गराउनुपर्ने आजको आवश्यकता हो, त्यसमा तपाईँहरूको ध्यान जाने छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक सबैलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, अध्यापन, शैक्षिक संस्थामा सक्रियता देखाइरहेकी; सामाजिक रूपान्तरण अभियानमा सक्रिय काभ्रेकी स्रष्टा भवानी पाण्डेलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट अनि अत्यन्त सरल भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्राम्य विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गरेर सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता लेख्ने; मुलुकको वर्तमान चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा उजागर गर्ने; विद्रोहका स्वरलाई सोझै र ध्वन्यार्थमा सम्प्रेषण गर्ने अनि आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने प्रखर शिल्पी भवानी पाण्डेका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । प्रगतिवादी कवि गोपालप्रसाद रिमाल, हृदयचनद्रसिंह प्रधानले महिलाका प्रति हुने सामाजिक विभेदको अन्त्य र सम्मानको आग्रह गरेको परम्परालाई अझ सशक्त पार्दै मदन भण्डारीले महिला विभेदको अन्त्यका पक्षमा लेखेको गीत पनि हामीले सुन्यौँ, मदन भण्डारीका प्रति उहाँका कविता वाचन गरेर सम्मान जाहेर गर्यौँ । आजको यो विशेष दिनमा हाम्रो यो अभियानलाई ‘अविरल जनसाहित्य यात्रा’ भनेर नामकरण गर्ने प्रा.डा.देवी नेपाललाई पनि धन्यवाद भन्न चाहन्छौँ । यो अभियानमा जोडिएर कीर्तिशेष भइसक्नुभएका माथि उल्लेखित छजना अग्रज स्रष्टाका प्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । आजको यो विशेष समारोहमा १०० औँ शृङ्खलासम्मको समग्र इतिहास, जोडिनुभएका स्रष्टाहरू, हालसम्मको नेतृत्व र वर्तमानको नेतृत्वसमेतको सङ्छिप्त चर्चा सङ्घका सचिव सोमनाथ दाहालले गरिदिनुभएको छ र उहाँ पनि धन्यवादको पात्र हुनुहुन्छ । अभियानको समग्र इतिहास यहाँ अभिलिखित गरेका छौँ । हामी स्रष्टाले वर्तमानका सत्ताका वा प्रतिपक्षका वेथितिका कुराहरूलाई निरन्तर उठाइरहेका भए पनि सुनवाइ नहुने वा सुनेर उडाउने प्रवृत्ति पनि भोगिरहेकै छौँ तापनि हामी हाम्रो कर्ममा लागि नै रहने छौँ । अब हामी साउन महिनामा १०१ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेका सिन्धुपाल्चोकका स्रष्टा पारसमणि आचार्यलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*