जेठ २७ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७९ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि डा.रमेश शुभेच्छुका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद् माननीय दयालबहादुर शाही उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व अध्यक्ष खगेन्द्र राई, मधेसी आयोगकी आयुक्त आभा सेतु सिंह, महासङ्घका उपाध्यक्ष आर.सी न्यौपाने, शुभेच्छुका पितामाता, वरिष्ठ साहित्यकार डम्बर घिमिरे, राममणि ढुङ्गेल, डा.कृष्ण सुवेदी ‘भारद्वाज मित्र’, इन्द्रकुमार श्रेष्ठ सरित, नवराज रिजाल, गोपाल मैनाली, डा.भागवत आचार्य, डा.सीता सुवेदी पन्थी, ज्ञानु विद्रोही, रूपक अलङ्कारलगायत अतिथिको उपस्थिति रहेको थियो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविनायक डा.रमेश शुभेच्छुको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई यो विशेष समारोहमा ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले शुभेच्छुका करिब दुई दशकबिचमा रचना भएका दर्जन कविता प्रस्तुत गर्नेगरी कविलाई उभ्याएका छौँ । सामाजिक यथार्थलाई आफ्ना कवितामा उजागर गर्ने र स्पष्ट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने शुभेच्छु आफैँमा परिचित स्रष्टा भएको धारणा राख्नुभएको थियो ।
समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले सक्रियता देखाइरहेका सक्रिय एवम् लगनशील स्रष्टा डा.रमेश शुभेच्छुलाई प्रस्तुत गरिएको छ । डा.शुभेच्छु आफ्ना सिर्जनामा गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई उतार्ने र रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि भएको धारणा राख्नुभयो र कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।
कविनायक डा.रमेश शुभेच्छुले विगत छ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्दछु । समाजमा दुःख पाएका वर्गले भोगेका समस्या, पीडा र उनीहरूको जीवनभोगाइले चिमोटेपछि ती सबैको प्रकटीकरणको माध्यम साहित्यलाई बनाएको धारणासहित कविताको रचनागर्भको पनि जानकारी गराउँदै अविरल जनसाहित्य यात्रामा थुप्रैपटक सहभागी भएर, थुप्रैपटक वाचक भएर र केहीपटक समीक्षक भएर उपस्थित भएको स्मरण पनि गर्दै आफ्ना ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र ‘उल्टो न्याय’ गरी छओटा कविता वाचन गर्नुभयो । कवि जय गौडेलले ‘हन्मेर्नो’, कवि नारायण निरासीले ‘अचानो’, कवि देवु लुइँटेलले ‘माझी’, कवि गीता सापकोटाले ‘आमा’ र ‘द्रोणाचार्यमाथि अभिमन्यु प्रश्न’, कवि डम्बर पहाडीले ‘लुखुरेको वादी’ वाचन गरी कवि शुभेच्छुका कवितामा थप ओज प्रदान गर्नुभयो । शुभेच्छुका नौवटा कविता शास्त्रीय लयढाँचामा र बाँकी तीनवटा मुक्त लयढाँचामा संरचित थिए । ती कविताले एकपछि अर्को गर्दै स्रोताको मन तान्नसकेका थिए ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै अतिथि प्रा.केशव सुवेदीले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ७९ औँ शृङ्खलामा पुगेको छ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य रहेको छ । उहाँले आजका कविनायक डा.रमेश शुभेच्छु शुभेच्छुका सबल र दुर्बल पक्ष दुबैको निकै गहन विश्लेषण गर्नुभयो । कवितामाथि टिप्पणी गर्नुअघि उहाँले भन्नुभयो शुभेच्छुजी र म एम.ए. र एम.फिलका गुरुचेला हौँ । वासुदेव त्रिपाठी, म र शुभेच्छुजी मिलेर दैवज्ञराज न्यौपानेका विषयमा एउटा कृति पनि लेखेका छौँ; यस अर्थमा उहाँ मेरा सहलेखक र सहकर्मी पनि हुनुहुन्छ । त्यसैगरी उहाँ र मेरो जम्काभेट यस्ता सङ्घसङ्गठनमा धेरै ठाउँमा भएको छ । हामी दुबै प्राध्यापक र वैचारिक लेखक हौँ । यस अर्थमा हाम्रो त्रैत सम्बन्ध छ । यस सम्बन्धले पनि समीक्षकका रूपमा मेरो छनोट भएको हुनुपर्छ । सुवेदीले शुभेच्छुले दश वर्षका उमेरदेखि कक्षा तीनमा पढ्दैदेखि लेखेका भए पनि २०५७ सालदेखि उहाँका दुई दर्जनअधिक सिर्जनात्मक कृति प्रकाशन भइसकेको पनि बताउनुभयो । उहाँले शीर्षक चयन र कविताविन्यासमा केही मिलाउनुपर्ने पक्ष भए पनि टाक्सिँदै गएको कवितापरम्परामा शुभेच्छुको कवित्व प्रखर रहेको देखिन्छ । यद्यपि शुभेच्छु आफँै सशक्त कवि, वाचक र शास्त्रीय एवम् लोककलाका विशिष्ट प्रशिक्षक पनि भएको धारणा राख्नुभयो ।
विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका साथै बौद्धिकतासमेतका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने डा.रमेश शुभेच्छुले आफ्ना सिर्जनामा हाम्रो समाजका नारीहरूले, तल्लो वर्गका श्रमजीवी जनताले भोगेका सम्पूर्ण भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको, उत्पीडनको मर्मान्त एवम् जीवन्त चित्रण गरेका छन् । सिर्जना र सङ्गठनका माध्यमबाट वैचारिकता सम्प्रेषण गर्दै रूपान्तरणको अभियानमा समर्पित रहेका अनि सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने अहिलेको समयका अत्यन्त लगनशील, सक्रिय, गुणग्राही स्रष्टा शुभेच्छुका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्काे महिनामा ८० औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यका माध्यमबाट र सामाजिक रूपान्तरण अभियानमा योगदान गरिरहनुभएका कुनै एक स्रष्टालाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
Leave a Reply