अविरल जनसाहित्य यात्रा –६० मा सशक्त प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता गुञ्जिए

रमेश पोखरेल, काठमाडौं

भदौ १३ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक महासङ्घको व्यवस्थापन र जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा विगत पाँच वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन भइरहेको अविरल जनसाहित्य यात्राको ६० औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता गुञ्जिए ।
जनसाहित्यिक मञ्च, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष समाराोहमा प्राज्ञ डा.रजनी ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रखर युवा कवि देबु लुइटेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अतिथिका रूपमा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा, वरिष्ठ साहित्यकार डम्बर पहाडी, जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनय, जनगायक एवम् प्राज्ञ श्याम तमोट, प्रा.डा.सुधन पौडेल, वरिष्ठ कवि वासुदेव अधिकारी, लक्ष्मण रायमाझी, स्नेह सायमी, मञ्चको काव्य विभागकी संयोजक डा.विन्दु शर्मा, कवि तारा गाउँले उपस्थित हुनुहुन्थ्यो । सहयोगी कविका रूपमा डा.फणीन्द्रराज निरौला, सुमी लोहनी, अनिल पौडेल, पम्फा भट्टराई, घायल योद्धा नवराज र हरि भण्डारी उपस्थित हुनुहुन्थ्यो ।
समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायक जयन्ता पोखरेललाई माला लगाएर सम्मान गर्नुभयो । कविनायक जयन्ता पोखरेलले कविता रचनाको गर्भका बारेमा समेत केही चर्चा गर्दै जनसाहित्यिक मञ्च नेपालले विगत पाँच वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन गरिरहेको यो विशेष कार्यक्रममा, विशेष मञ्चमा आपूmलाई स्थान दिएर कविता सुनाउने अवसर प्राप्त भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै ‘ओ ! काठमाडौँ सरी ल’, ‘निर्मली’, ‘खबर’, ‘प्रमिथस र पानी’, ‘अखबार’ र ‘म, आमा र छोरा’ शीर्षकका शक्तिशाली छओटा कविता वाचन गर्नुभएको थियो भने सहयोगी कविहरू घायल योद्धा नवराजले ‘विश्वासका कोसेलीहरू’ शीर्षकको, अनिल पौडेलले ‘भुइँ कुहिरो’ शीर्षकको, डा.फणीन्द्रराज निरौलाले ‘अनुत्तरित प्रश्न’ शीर्षकको, सुमी लोहनीले ‘सुन्दरी र कविता’ शीर्षकको, हरि भण्डारीले ‘बृद्धाघर र आमा’ शीर्षकको र पम्फा भट्टराईले ‘रेमिट्यान्सको कथाबाट’ शीर्षकका शक्तिशाली कविता वाचन गर्नुभएको थियो ।
कविनायक जयन्ता पोखरेलको व्यक्तित्वका बारेमा चर्चासमेत गर्दै प्रमुख अतिथि प्राज्ञ डा.रजनी ढकालले कवितामा कवि सचेत स्रष्टाका रूपमा देखिएकी, कवितामा परिवर्तिन र समयको चिन्तन अभिव्यक्त भएको, हजुरआमा जस्ती आमा नभएकीमा छोराका चिन्ताका माध्यमबाट नेपाली समाजको अहिलेको यथार्थ उजागर भएको, कवितामा आफ्नो कर्तव्यप्रति बफादार, नकारात्मक कुराप्रति व्यङ्ग्य, विकृति र विसङ्गति उजागर गर्नुका साथै रूपान्तरणको आग्रह गरिएको छ र मानवले कर्तव्य बर्सिएकोप्रति कवितामा क्षमयाचनासमेत गरिएको छ । कवितामा सम्पन्नताको सपना देखेर विदेश पुगेका नेपाली चेलीहरूको कारुणिक कथाव्यथासमेत समेटिएको पाइन्छ । सँगसँगै कवितामा आशावादी स्वरसमेत सम्प्रेषण गरिएको छ । कवितामा सुन्दर विम्ब र प्रतीकको प्रयोग गरिएको छ । वाचन ज्यादै सशक्त र अभिनयात्मक रहेको छ । कवितामा आत्मविम्बको प्रयोग गरिएको छ, नारीचेतनाको स्वर सशक्त रहेको छ, अनुभूतिको लयात्मकता छ र व्यङ्ग्यको प्राधान्यता रहेको पाइन्छ । अझै पनि नारीवादी दृष्टिकोणको स्पष्टता भने आवश्यक रहेको छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले जयन्ता पोखरेल अहिलेको समयको नेपाली प्रगतिवादी साहित्यकी सशक्त हस्ताक्षर हुन् । विगत पाँच वर्षदेखि अविच्छिन्नरूपमा एक जना स्रष्टाका एक दर्जन कविता सुन्ने र सकारात्मक एवम् नकारात्मक पक्षको चर्चासमेत गरी स्रष्टालाई अझ खार्ने उद्देश्यमुताविक सञ्चालन भइरहेको अविरल जनसाहित्य यात्राको ६० औँ शृङ्खलामा यिनै सशक्त स्रष्टाका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने यो विशेष समारोहको आयोजना गर्यौँ । प्राज्ञ डा.रजनी ढकाललाई प्रमुख अतिथिका रूपमा आइदिन अनुरोध गर्यौ, उहाँ आइदिनुभयो र विस्तृत समीक्षा गरिदिनुभयो । हाम्रो निमन्त्रणा स्वीकार गरी यो समारोहमा उपस्थित भइदिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु र अर्काे शृङ्खलामा फेरि कुनै कविव्यक्तित्वलाई यहाँ उपस्थित गराइँने र यहाँहरूलाई उपस्थितिका लागि अनुरोध गरिने छ भन्ने जानकारीसहित सबैलाई पुनः हार्दिक धन्यवाद दिँदै समारोहको समापन गर्नुभयो ।