पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८२ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण

विगत चवालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४७९ औँ विशेष शृङ्खला भदौ ६ गते शनिबार अपराह्न ठिक १ बजे पद्मकन्या क्याम्पस बागबजारको डेनिस हलमा आयोजना गरी पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८२ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा वरिष्ठ कवि, आख्यानकार एवम् पूर्वमन्त्री प्रदीप ज्ञवाली (शीतबिन्दु) उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवीको उपस्थिति रहेको थियो । सन्ध्याका सल्लाहकारद्वय वासुदेव अधिकारी र विधान आचार्य, अक्षयकोष स्थापनाकर्ता डा.मदनप्रसाद सत्याल, नर्मदेश्वरी सत्याल र पोषरमण चापागाईँ, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, डा.विजय सुब्बा, प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.लेखप्रसाद निरौला, डा.प्रदीप के.सी., डा.जया सत्याल, डा.नेत्र एटम, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.कृष्ण सुवेदी, डा.प्रतिभा पुन, रत्ननिधि रेग्मी, गायत्रीकुमार चापागाईँ, महेशराज खरेल, खेमराज निरौला, जयन्ता पोखरेल, का.म.पा.वडा नं.३१ की सदस्य अप्सरा खनाल, शब्द संयोजन साहित्यिक मासिककी कार्यकारी सम्पादक सुमी लोहनीलगायत अतिथिका रूपमा उपस्थित हुनुहन्थ्यो ।
उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती बालेर गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तित्वलाई सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो । २०८२ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि विद्वान प्रा.केशव सुवेदीज्यूको संयोजकत्वमा साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल र सदस्य देबु लुइटेल सदस्य रहेको ‘स्रष्टा चयन समिति’ गठन गरिएकोमा उक्त समितिले सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व चयन गरी सिफारिस गरेको हुँदा स्रष्टा चयनको औचित्य तथा आधारका बारेमा संयोजकज्यूले प्रकाश पार्दै साहित्य सन्ध्याले लगभग पचास वर्षको इतिहास तय गरिसकेको छ र यो संस्थाले पञ्चायती निरङ्कुशताको समयमा व्यक्तिका बोल्ने, लेख्ने अधिकार कुण्ठित पारेको अवस्थामा पनि प्रगतिशील साहित्यको सम्बर्धनमा विशिष्ट योगदान गरेको छ, निरङ्कुशताका विरुद्धमा अविचल सङ्घर्ष गरेको छ । अहिले समय फेरि अभिव्यक्तिको सङ्कटको समयका रूपमा देखिएको छ र यो समयका विरुद्धमा पनि साहित्य सन्ध्या र प्रगतिशील सिर्जनामा रहनुहुने स्रष्टाले अझ गहन र जिम्मेवार भूमिका खेल्नुपर्ने अवस्था उत्पन्न भएको छ । आज पुरस्कृत हुनुहुने पाँचैजना स्रष्टाले फरक फरक क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको हामीले ठहर गरेकाले सिफारिस गरेका थियौँ भन्ने धारणासहित व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
वि.सं.२०३३ वैशाख १८ गते दाङ जिल्लाको उरहरी गा.वि.स.वडा नं.२ कचिलीमा माता यज्ञकुमारी शर्मा र पिता बलदेव शर्माकी सुपुत्रीका रूपमा जन्मिएकी बिन्दु शर्माले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर र शिक्षाशास्त्र सङ्कायबाट बी.एड उत्तीर्ण गर्नुभई नेपाल संस्कृत विश्वविद्यालयबाट ‘नेपाली गीतिनाटकका प्रवृत्ति’ विषयमा विद्यावारिधि गर्नुभएको छ । विभिन्न अनुसन्धानमा संलग्न रहनुभएकी शर्माले वि.सं.२०५६ सालदेखि निरन्तर साहित्यसाधना गरिरहनुभएको छ । नेपाली साहित्यका गीत, कविता, गजल, समालोचना, संस्मरण, कथा, निबन्ध विधामा कलम चलाइरहनुभएको छ । उहाँका विभिन्न विधाका एक दर्जन पुस्तक प्रकाशित भएका छन् भने करिब आधादर्जन पत्रिका एवम् स्मारिकाको सम्पादनसमेत उहाँले गर्नुभएको छ । अहिले पनि आधादर्जन विभिन्न सङ्घसंस्थामा सक्रियता देखाइरहनुभएकी डा.शर्माका आधा दर्जन नै अनुसन्धानात्मक कृति पनि प्रकाशित भएका छन्. । डा.शर्माले नेपाली साहित्यमा देखाएको सक्रियता र गरेको योगदानका लागि करिब पौने एक दर्जन पुरस्कार तथा मानसम्मान उहाँलाई प्राप्त भएका छन् । नेपाली समाजका समग्र कुरूप एवम् विसङ्गत पक्षहरूलाई आफ्ना सिर्जनामा जीवन्त रूपमा उजागर गर्ने र रूपान्तरणका पक्षमा स्पष्ट वकालत गर्दै रूपान्तरणको प्रस्ट प्रगतिवादी वैचारिकतासमेत निर्भीकताका साथ सम्प्रेषण गर्ने अहिलेको समयकी अत्यन्तै क्रियाशील एवम् प्रखर बौद्धिक स्रष्टा डा.शर्मालाई उहाँले गरिरहनुभएको अनुकरणीय सत्कर्मका निम्ति २०८२ सालको रु.एक्काइस हजार एक सय राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गरियो ।
वि.सं.२००९ असोज ९ मा ओखल्ढुङ्गा जिल्लाको चिसङ्खुगढी ५, मदाने टोल, सेर्नामा माता कृष्णकुमारी कोइराला र पिता पुष्पलाल कोइरालाका सुपुत्रका रूपमा जन्मिएका ओमप्रसाद कोइरालाले संस्कृतमा स्नातक (शास्त्री) र त्रिभुवन विश्वविद्यालयबाट बी.एड.सम्मको शिक्षा हासिल गर्नुभई जीवनका करिब चार दशक शिक्षणसेवामा आपूmलाई समर्पित गराउनुभएको छ । नेपाली साहित्यका कविता, गीत, कथा, निबन्ध र नाटक विधामा निरन्तर कलम चलाइरहनुभएका कोइरालाका ‘भावनाका शृङ्खलाहरू’ २०६२ र ‘आफ्नै डम्फु’ २०७८ जस्ता दुइटा कवितासङ्ग्रह प्रकाशित भई नेपाली साहित्यमा भण्डारण भइसकेका छन् । शास्त्रीय छन्दलाई कुशलतापूर्वक खेलाएर परिपक्व साधना गरिरहनुभएका र विसङ्गत सामाजिक कुरूपतालाई जीवन्त चित्रण गरी रूपान्तरणको स्पष्ट सन्देश दिने स्रष्टा कोइरालाले साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार अपराह्न १ बजे सञ्चालन गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरि सम्पन्न हुने जम्मा एघारओटा गोष्ठीमध्ये कम्तीमा दशओटामा सहभागिता जनाई आफ्ना रचना वाचन गर्ने एकजना स्रष्टालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार’ दिने सन्ध्याको प्रावधान रहेकोमा यस वर्ष आयोजना गरिएका पूरै बारैओटा गोष्ठीमा सहभागी हुनुका साथै एघारओटा गोष्ठीमा कवितावाचन गर्नुभएको अभिलेखबाट देखिएकाले २०८२ सालको रु.पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गरियो ।
वि.सं.२०१० असोज ६ मा काठमाडौँको धुमबराहीमा आमा कृष्णकुमारी मिजार र बुबा मङ्गले मिजारकी कान्छी सुपुत्रीका रूपमा जन्मिनुभएकी सान्नानी मिजार सामान्य साक्षर मात्र हुनुहुन्छ । विद्यालयीय शिक्षा प्राप्त गर्ननपाए पनि दश वर्षकै उमेरदेखि सामाजिक रूपान्तरणको वैचारिक प्रशिक्षण प्राप्त गरेकी र चेतना विकास गरेकी सान्नानीले सङ्घर्ष गरे मात्र अधिकार पाइन्छ भन्ने चेतना विकास भएपछि ‘महिला मुक्ति आन्दोलन’ र ‘दलित मुक्ति आन्दोलन’मा वि.सं.२०३५ देखि नै सरिक भएर र अखिल नेपाल महिला सङ्घमा संलग्न भएर सामाजिक रूपान्तरण अभिभयानमा समर्पित भएकी उहाँले २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं.३१ की दलित महिला सदस्यमा निर्वाचित भएर एक कार्यकाल पूरा गर्नुभयो भने २०७९ को स्थानीय निर्वाचनमा सोही पदमा पुनः अत्यधिक मतले निर्वाचित भएर जनताको सेवामा समर्पित रहिरहनुभएको छ । उहाँ मिलनसार, जुझारु र चर्चित समाजसेवी पनि हुनुहुन्छ । हाम्रो देशका सबै जनआन्दोलनमा सक्रियताका साथ सहभागी भएकी उहाँले नेपालका प्रायः सबै जिल्ला र भारतका विभिन्न क्षेत्रको भ्रमण गरेर जीवनमुखी अनुभव सँगाल्नुभएकी हुँदा अहिले वडाको ‘मेलमिलाप समिति’मा रहेर कार्यसम्पादन गर्न सहज भइरहेको छ । ‘जागरण महिला समूह’, ‘चेतना समूह’जस्ता सामाजिक संस्थामा समेत सक्रिय सान्नानी अन्धविश्वासको विरोध, सबै प्रकारका समाजिक विभेदको विरोध गर्दै लैङ्गिक समानताका माध्यमबाट सुसभ्य समाजको निर्माणमा समर्पित इमानदार समाजसेवी पनि हुनुहुन्छ । इमानी, विश्वासी र कामप्रतिको समर्पणकी पर्याय बनेकी सान्नानीको यो अनुकरणीय एवम् समर्पणभावसहितको समाजसेवाको कर्मको उच्चसम्मान गर्दै उहाँलाई २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित सम्मानित गरियो ।
वि.सं.२०६८ पुस १३ मा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं.४ मा आमा माया तामाङ र बुबा सम्बरबहादुर तामाङकी सुपुत्रीका रूपमा जन्मिएकी लक्ष्मी तामाङ हाल आमाको लालनपालनमा श्री भीमसेनगोला माध्यमिक विद्यालय, नयाँबानेश्वर, काठमाडौँमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । अत्यन्त अनुशासित, लगनशील र मिहिनेती तामाङ पढाइमा सधैँ अब्बल रहँदा रहँदै पनि अत्यन्त विपन्न पारिवारिक पृष्ठभूमिका कारण उहाँको जेहनदार व्यक्तित्व छायाँमा पर्ने देखिएको हुँदा जीवनका भविष्यसम्मका परीक्षाहरूमा पनि उत्कृष्टता कायम गर्न÷गरिरहन उत्प्रेरणा प्राप्त होस् भन्ने अपेक्षाका साथ २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
वि.सं.२०३४ मङ्सिर २१ मा सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गा.वि.स.वडा नं.३ मा माता हीरामाया खतिवडा र पिता बलभद्र खतिवडाका सुपुत्रका रूपमा जन्मिएका गणेशप्रसाद खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरी हाल शिक्षण सेवामा संलग्न रहनुभएको छ । संस्थापन विद्यालय सङ्घ नेपालका उपाध्यक्षसमेत रहेर नेपाली साहित्यका कथा, कविता, मुक्तक, गजल, यात्रासंस्मरणजस्ता विधामा निरन्तर कलम चलाइरहनुभएका खतिवडाको हालको बसोवास काठमाडौँको थलीमा रहेको छ । उहाँका विभिन्न पत्रपत्रिकामा नियमित रूपमा फुटकर रचना प्रकाशित भइरहेका छन् । नेपालकै पहिलो छन्दप्रधान साहित्यिक पत्रिका ‘छन्दलोचन’को सम्पादन गर्नुभएका खतिवडाको ‘नुनको जोहो’ नियात्रासङ्ग्रह २०८२ साझा प्रकाशनबाट प्रकाशित भएको छ । नेपाली साहित्यका विशेष गरी कविता, कथा र नियात्रामा कलम चलाएवापत एक दर्जनभन्दा बढी विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गर्नुभएका उहाँको साहित्ययात्रा र नेपाली नियात्रा विधालाई समृद्ध पार्न गर्नुभएको÷गरिरहनुभएको योगदानको उच्चसम्मान गर्दै २०८२ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
पुरस्कृत सबै व्यक्तित्वलाई समारोहका अध्यक्ष राम विनयले माल्यार्पण, विशिष्ट अतिथि शान्ता मानवीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने प्रमुख अतिथि प्रदीप ज्ञवालीले सम्मानपत्र तथा पुरस्कार राशि अर्पण गर्नुभएको थियो ।
शिक्षा, स्वास्थ्य, साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृष्णचन्द्र बालकुमारी सत्याल’ सम्मान तथा पुरस्कार समर्पण गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको जानकारी अक्षयकोष स्थापक नर्मदेश्वरी सत्यालले दिनुभएको थियो भने साहित्यकार पोषरमण चापागाईँले ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गर्ने प्रयोजनका लागि अक्षयकोषको स्थापना गरेको र अक्षयकोष रु.१,५०,०००।–को स्थापना गरेको जानकारी गराउनु हुँदै नियात्राका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धि गर्नु पुरस्कार स्थापनाको उद्देश्य भएको अनि यस वर्ष यो पुरस्कार पाउने स्रष्टा अत्यन्त योग्य हुनुभएको व्यहोरासमेत प्रकाश पार्नुभएको थियो ।
‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित डा.बिन्दु शर्माले साहित्य सन्ध्या लगातारको पाँच दशकको साहित्यिक अभियान सञ्चालन गरेको, ऐतिहासिक विरासत बोकेको, सङ्घर्षपूर्ण यात्रा तय गरेको, जनपक्षीय इतिहास निर्माण गरेको गौरवान्वित संस्था हो र यसका गतिविधिमा म आपूm पनि लामै समयदेखि कुनै न कुनै रूपमा जोडिएकै पनि हुँ । आज यो संस्थाले २०८२ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान मलाई अर्पण गरेर थप जिम्मेवारी दिएको बोध भएको छ, गरौँ भारी बोकेँ मैले भन्ने लागेको छ । यतिखेर वैचारिक विचलन जताततै देखिएको छ र नेपाल प्रज्ञाप्रतिष्ठानमा नियुक्तिका लागि कसैले लाइन लागेर निवेदन दर्ता गरे भन्ने पनि र नियुक्त व्यक्तिहरूका अभिव्यक्तिले पनि विचलन देखाएका छन् ! लाद्न खोजिएको निरङ्कुशता र अराजकताका विरुद्धमा साहित्यकार जिम्मेवार हुनुपर्ने अवस्था देखिएको छ र यो पुरस्कारले मेरा पाइला नलडखडाउन् भन्ने अपेक्षा राखेको महसुस गरेकी छु र म मेरो यात्रामा विचलित नभइकन अगाडि बढ्ने छु । मलाई सम्मान तथा पुरस्कारका लागि सिफारिस गर्ने समिति तथा साहित्य सन्ध्याप्रति हार्दिक धन्यवाद दिन्छु भन्नुभयो र एउटा सुन्दर सशक्त कविता वाचन गर्नुभयो ।
सम्मानित व्यक्तित्व सान्नानी मिजारले सानैदेखि जातीय छुवाछुतविरुद्ध आबाज उठाउनुपर्छ भन्ने चेतना स्वतस्फुर्त रूपमा आएको, अन्तरात्माबाटै सत्यको पक्षमा लाग्नुपर्छ भन्ने सिकेको, पढ्ने इच्छा भए पनि विद्यालयमा हुने छुवाछुतकै कारण पढाइ छोडेर मानिस सबै एकै हुन् तर विभेद चाहिँ किन गरिन्छ भन्ने लागेर सामाजिक रूपातरणको अभियानमा सक्रिय भएकी हुँ । मेरो कर्मलाई पनि परैबाट मूल्याङ्कन गरी पुरस्कार दिनयोग्य ठानेर आजको यो गरिमामय सभामा पुरस्कृत हुनपाउँदा गौरवबोध भएको छ । म यो संस्थाका प्रति आभार प्रकट गर्दछु भन्नुभयो ।
सम्मानित व्यक्तित्व गणेशप्रसाद खतिवडाले २०७१।७२ सालतिर साहित्य सन्ध्याका मासिक गोष्ठीमा पटक पटक आएर कविता वाचन गरेको हुँ । हाम्रो भूगोल अरूले पनि चिनुन्, पढुन् भनेर ‘नुनको जोहो’ नियात्रासङ्ग्रह लेखेको थिएँ, त्यसलाई साझा प्रकाशनले छापिदियो । सोही कृतिलाई मूल्याङ्कन गरेर यहाँहरूले आज मलाई यो गरिमामय पुरस्कार तथा सम्मान दिनुभएकाले सहित्य सिर्जनामा थप ऊर्जा प्राप्त भएको महसुस गरेको छु । म साहित्य सन्ध्या र मूल्याङ्कन समितिलाई हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
विशिष्ट अतिथि शान्ता मानवीले साहित्य सन्ध्या पाँच दशक लामो इतिहास निर्माण गरिसकेको जनपक्षीय साहित्यिक संस्था हो । यसले हरेक महिनाको पहिलो शनिबार गोष्ठी गरेर नेपाली प्रगतिशील साहित्यको उत्थानमा उल्लेखनीय काम गरिरहेको छ । हाम्रो राजनीतिमा विचलन आयो र परिणामले अराजकता रोजेको देखिएको छ ! राजनीतिमा विचलन आउँदा त्यसलाई सही दिशामा ल्याउने काम चाहिँ साहित्यले नै गर्ने हो, निरन्तर खबरदारी गरि नै रहनुपर्दछ । तपाईँ साहित्य सन्ध्याका साथीहरूकै सङ्गतले म साहित्यसिर्जनामा लागेकी हुँ । पढ्ने, लेख्ने अवसर नपाए पनि मैले आपूmलाई कहिल्यै पनि कमजोर नठानेको र लगन र इमानका साथ लाग्ने हो भने जतोसुकै चुनौतीको पनि सामना गर्नसकिन्छ र सफलता हासिल गर्नसकिन्छ भन्ने मेरो ठम्याइ रहेको छ । साहित्य सन्ध्या सबै उमेरसमूहका स्रष्टालाई डोहोर्याउने संस्था पनि हो र मलाई यो संस्थाका कार्यक्रममा आउँदा रमाइलो लाग्ने गर्दछ । आज सन्तुलित चयनका माध्यमबाट सम्मानित हुनुहुने पाँचैजना स्रष्टालाई हार्दिक बधाइ दिन्छु भन्नुभयो ।
प्रमुख अतिथि पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार प्रदीप ज्ञवालीले साहित्य सन्ध्याको लगभग पाँच दशक लामो निरन्तरको सक्रियताको प्रमाणस्वरूप आजको यो विशेष समारोह ४७९ औँ शृङ्खलाका रूपमा सम्पन्न भइरहेको छ । यति महत्त्वपूर्ण र विशेष समारोहमा उपस्थित भएर पाँचजना विशिष्ट प्रतिभालाई सम्मानित गर्ने र आफ्ना भनाइसमेत अभिव्यक्त गर्न पाउने यो सुअवसरका लागि साहित्य सन्ध्यालाई म हार्दिक धन्यवाद दिन्छु । सन्ध्याको यो अविचलित यात्रा आफैँमा इतिहास हो, स्रोतविहीन निरन्तरता हो, वास्तवमा यो शोध गर्नुपर्ने संस्था हो । साहित्य सन्ध्या आफैँमा एउटा आन्दोलन हो र हरेक प्रतिकूललतामा यसले हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ । वास्तवमा भन्ने हो भने साहित्य सन्ध्या बेर्ना उत्पादन गर्ने नर्सरी नै हो । वर्तमान समयमा साहित्य, संस्कृति सङ्कटमा पार्ने प्रपञ्च गरिँदै छ । तत्काल लाभ हुने कुराबाहेकलाई कामै नलाग्ने ठान्ने प्रवृत्तिको सिकार हुनुपर्ने अवस्था देखिएको छ ! प्रविधिले पनि अवसरभन्दा बढी चुनौती थपेको समय हो यो ! भाइरलको दौडमा गुणवत्ता कमजोर भएको छ, विचारले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ ! जनपक्षीय साहित्य अप्ठ्यारोमा परेको देखिएको छ । समाजमा कोही कसैले फरक मत राख्यो भने त्यसैमाथि प्रहार गर्ने भयको वातावरण सिर्जना गरिएको छ ! सज्जनहरू गालीका डरले मौन हुने अवस्था उत्पन्न भएको छ ! सम्मानित नेता तथा स्रष्टाका नामका संस्थामा समेत आक्रमण गर्ने, निशानामा पार्ने प्रयत्न हुने गरेका छन् ! समाजमा अविश्वासको वातावरण सिर्जना गर्ने र समाज नै विभाजन गर्ने खालका प्रयत्नसमेत भएकाले वातावरण दूषित बनेको देखिएको छ ! प्रज्ञाहरूजस्ता मानक संस्थामा गरिएका नियुक्ति विवादित देखिएका छन् । वर्तमानको यो अवस्थाले साहित्य सन्ध्या र प्रगतिशील स्रष्टाका लागि झनै जिम्मेवारी थप भएको छ । विचार बन्द गर्ने प्रयत्नका विरुद्धमा सिर्जनाका माध्यमबाट प्रतिकार गर्नुपर्ने र रूपान्तरणका अभियानलाई अझै लक्ष्यभेदी बनाउनुपर्ने अवस्था उत्पन्न भएको छ । आज सम्मानित व्यक्तिहरू सबैलाई बधाइ ज्ञापन गर्दछु । पुरस्कृत हुनुहुने सबैको समर्पणभाव जनता र देशका लागि रहिरहोस् भन्ने आग्रह पनि गर्दछु भन्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०३३ सालमा राजबिराजमा गङ्गाप्रसाद उप्रेतीलगायतले साहित्यका माध्यमबाट नेपाली भाषा जोगाउने अभियानका रूपमा परिकल्पना गर्नुभएको र उहाँहरू तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थी काठमाडौँ आएसँगै २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको सोद्देश्यमूलक वैचारिक अभियानका रूपमा थालनी गरेको र एक वर्षपछि देखि नै वासुदेव अधिकारीलगायतले हाँकेको आन्दोलनका चार दशकभन्दा बढी समय व्यतीत भएका छन् । यस संस्थाले अहिलेसम्म ८४ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरेको छ । यो अभियानको उद्देश्यसँग सहमत हुने व्यक्तित्वहरू अक्षयकोष स्थापना गरेरै जोडिनुभएको छ । संस्थाको यति लामो इतिहास निर्माणमा योगदान गर्ने सबै सबैमा हामी हार्दिक धन्यवाद अर्पण गर्दछौँ र सबैको प्रेरणाले यो अभियानलाई निरन्तर अगाडि बढाइरहन्छौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, सहभागी आदरणीय व्यक्तित्वहरू, सम्मानित व्यक्तित्वहरू, स्रष्टा चयन समितिका पदाधिकारीहरू सबै सबैमा हार्दिक धन्यवाद अर्पण गर्दछौँ आभार प्रकट गर्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*