निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लि.ले यही भदौ १६ गते शनिबार अपराह्न १.३० बजे शिवशक्ति पार्टी प्यालेस, महादेवस्थान, कोटेश्वरमा नेपाली हिन्दु महिलाको महान् चाड तीजको उपलक्ष्यमा ‘तीज विशेष समारोह’को आयोजना गरियो । संस्थाको शिक्षा उपसमितिको आयोजनामा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता शिक्षा उपसमितिकी संयोजक शारदा कडायतले गर्नुभएको थियो भने उक्त विशेष समारोहकी प्रमुख अतिथि वरिष्ठ कलाकार, स्थापित रङ्गकर्मी, बौद्धिक एवम् शालीन व्यक्तित्व मिथिला शर्मा उपस्थित हुनुभएको थियो । संस्थाका सचिव रमेश पोखरेलले सञ्चालन गरेको उक्त विशेष समारोहमा संस्थाका सल्लाहकारहरू मेनका रावल, मोतीसिंह धामी र आर्थिक सल्लाहकार भीमबहादुर थापा अनि शान्ति टोल सुधार समितिकी अध्यक्ष तथा सामाजिक रूपान्तरण अभियानकी अभियन्ता इन्दु सापकोटा, संस्थाका उपाध्यक्ष नीकेन्द्रबहादुर रावल, कोषाध्यक्ष पशुपति अर्याल, सञ्चालक भरतबहादुर के.सी., कम्मानसिंह साउद, लेखासुपरीवेक्षण समितिका सयोजक विष्णुप्रसाद पौडेल, शिक्षा उपसमितिका सदस्य द्वय विष्णुप्रसाद दाहाल र रोहित भुजेल, चक्रबहादुर कडायत, संस्थाका महाप्रबन्धक लोकेन्द्रबहादुर कडायत, प्रबन्धक तुलसा अधिकारी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
संस्थाका एक सय पच्चिस महिला दिदीबहिनीको प्रत्यक्ष सहभागिता रहेको उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती प्रज्ज्वलन गरेर गरिएको थियो भने राष्ट्रगान बजाएर कार्यक्रमको थालनी गरिएको थियो । वर्षैपिच्छे तीज आउने र संस्थाका दिदीबहिनीहरूले समारोहको आयोजना गर्न आग्रह गरिरहनुभएको भए पनि संस्थाको साधारणसभा भरखरै सम्पन्न हुने र लगत्तै यस्ता विशेष खाले कार्यक्रमको आयोजना गर्न नसकिरहिएकोमा यस वर्ष भने तीज पर्व मनाउने शैलीका बारेमा बहससमेत होस्, यसका सकारात्मक र राम्रा पक्षको अनुकरण र नराम्रा पक्षको त्याग आवश्यक छ र यस विषयमा बहसको थालनी आवश्यक छ; सामाजिक–राजनीतिक रूपान्तरण सरल भए पनि सांस्कृतिक रूपान्तरण त्यति सहज नभएको, यसमा रूपान्तरणका लागि मानसिक रूपान्तरण आवश्यक रहेको, तीजको व्रत बसेर श्रीमान्को आयु र आरोग्य बढ्छ भन्ने अन्धविश्वासले घर गरिरहेको, आयातित संस्कृतिले हाम्रो भाषा र संस्कृतिमा हस्तक्षेप गरिरहेको, दूरदराजमा छाउपडी जस्ता अन्धविश्वासका पक्ष यथावत रहेका र ग्रामीण महिलाले बाँचिरहेको जीवन अझै कष्टसाध्य रहेको, शिक्षा र चेतनामा पछाडि परेका कारणले महिला र पुरुषका बिचमा विभेदको रेखा टड्कारो रहेकोसमेतका अवस्थाको विद्यमानतामा तीज मनाउने अवधि डेढ–दुई महिना लम्बिएको र भड्किलोपन देखिएको पक्ष सकारात्मक नरहेको पक्षलाई बहसमा ल्याउनुपर्छ र यसमा यथोचित रूपान्तरण आवश्यक छ भन्ने बहस पनि चल्नुपर्छ भन्ने उद्देश्य राखिएको, त्यसैगरी यस्ता विशेष पर्वका माध्यमबाट भेला हुँदा अपनत्वको विकास हुने, चिनाजानी नवीकरण हुने, पछि पछि गएर हाम्रै जीवनलाई फर्केर हेर्दा वा मूल्याङ्कन गर्दा यस्ता समारोह इतिहास बन्ने पनि भएका कारण यो सोद्देश्यमूलक विशेष समारोहको आयोजना गरिएको व्यहोरा रमेश पोखरेलले प्रकाश पार्नुभएको थियो ।
संस्थाका अध्यक्ष झपटबहादुर बोहराले नेपाली हिन्दु महिलाको महान् चाड तीज विशेष समारोहका माध्यमबाट संस्थाका चेलीबेटीका प्रति सम्मान जाहेर गर्न खोजिएको, शुभ कामना आदानप्रदान गर्न खोजिएको र निम्ता स्वीकार गरी प्रमुख अतिथि, अतिथिहरू र यत्तिको सङ्ख्यामा चेलीबेटी उपस्थित भइदिनुभयो हार्दिक स्वागत पनि गर्दछु, आभार पनि व्यक्त गर्दछु र हार्दिक शुभ कामना अर्पण गर्दछु भन्नुभयो ।
शान्ति टोल सुधार समितिकी अध्यक्ष इन्दु सापकोटाले संस्थाले आयोजना गरेको यति सुन्दर समारोहमा मलगायत मेरो कार्यसमितिका सबै पदाधिकारीलाई आमन्त्रण गरी सहभागिता जनाउने अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिन्छु । परम्परादेखि चलिआएको हाम्रो सांस्कृतिक पर्व तीजको अवसरमा आयोजित यस समारोहका माध्यमबाट हामीले हाम्रा पर्वका राम्रा पक्षलाई अनुकरण गर्ने र नराम्रा पक्षलाई त्याग गर्ने कार्य गर्नुपर्दछ, परिवारका बिचमा आत्मीयता कायम गर्ने यो रङ्गीन पर्वको उपलक्ष्यमा सबै दिदीबहिनीमा हार्दिक शुभ कामना व्यक्त गर्दछु भन्नुभयो ।
प्रमुख अतिथि मिथिला शर्माले महिलाले पति र आफ्ना परिवारका लागि माया र समर्पणभाव देखाउन तीज पर्व मनाउने हाम्रो परम्परा रहेको हो । परिवारमा मायाप्रेम, सद्भावना बढाउने र आपूm महिलाले सिकेको कुरा परिवार तथा समाजमा सम्प्रेषण गर्ने काम महिलाले गर्ने र विशेषगरी आमाले नै सन्तानलाई संस्कार सिकाउने गर्छिन्, नमस्कारबाट आमाले संस्कार सिकाएकी हुन्छिन्, आमाले नै आफ्नो सन्तानलाई पहिले बाबु चिनाउने, गुरु चिनाउने अनि समाजलाई चिनाएकी हुन्छिन्, त्यसैले महिलाले कुनै राम्रा कुरा जान्नु भनेको सारा समाजले जान्नु हो । अहिले व्यस्त जमानामा पनि समय निकालेर महिलाहरूले अलि बढी लामो तीज मनाउनुलाई अन्यथा लिनुहुँदैन, पुरुषले महिलाका लागि यस्ता विशेष पर्वको सन्दर्भ पारेर आयोजना हुने यस्ता कार्य सराहनीय छन् र कुनै वेला महिलाले पनि पुरुषका लागि यस्ता खाले समारोहको आयोजना गर्नु राम्रो हुन्छ । तीज चाहिँ खासमा तीन दिन नै मनाउनु उपयुक्त हो, अरू वेला चेलीबेटीको जमघट अन्य कुनै नामले गर्नु उपयुक्त हुन्छ । अब हामी महिलाले आफ्ना सन्तानलाई जसरी बाबुआमाले तिमीलाई कोठा दिएका थिए, हुर्काएका थिए ठिक त्यसैगरी तिमीले पनि अब हाम्रालागि पनि कोठा भएको घर बनाऊ, मन्दिर धाउने होइन असल संस्कार सिक र असल व्यवहार गर्ने बानी बसाल भन्ने सिकाउनु आवश्यक छ । घर र मनको वातावरण राम्रो भए त्यसै मान्छेको आयु बढ्छ, पुण्य प्राप्त हुन्छ, भोको बसेर धर्म हुँदैन अनि व्रत बसेर कसैको आयु बढ्ने पनि होइन, घर र समाजको स्वच्छ वातावरण भए सबै सबैको आयु बढ्छ । यसतर्फ सबैले सोच्नु आवश्यक छ । यति सुन्दर समारोहमा प्रमुख अतिथिको रूपमा निम्ता गर्नुभयो र बोल्ने अवसर पनि दिनुभयो म हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
समारोहकी सभाध्यक्ष शारदा कडायतले यो विशेष तर उद्देश्यमूलक समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, संस्थाका पदाधिकारीहरू, संस्थासँग आवद्ध महिला दिदीबहिनीहरू सबै सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु भन्नु हुँदै पहिलो सत्रको समारोह समापन भएको जानकारी दिनुभयो र दोस्रो सत्रमा महिला दिदीबहिनीहरूलाई मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइदिन आग्रह गर्नुभयो । साथै समारोहमा लामो समयसम्म राम्रो नृत्य प्रस्तुत गर्ने सहभागीलाई पुरस्कार दिइने र अन्तमा खाना खाएर मात्र जान आग्रहसमेत गर्नुभयो । साँझ पाँच बजेसम्म चलेको उक्त समारोहमा सुन्दर नृत्य प्रस्तुत गर्नुहुने सीता ऐर प्रथम हुनुभयो भने जानकी रावल, तारादेवी अधिकारी, पार्वती ऐर र विनु बानियाँसमेत पुरस्कृत हुनुभएको थियो ।