प्रा.राजेन्द्र सुवेदीको तेस्रो उपन्यास ‘धितो कोख’को लोकार्पण तथा परिचर्चा सम्पन्न

रमेश पोखरेल, काठमाडौं

प्रखर निबन्धकार, विशिष्ट कवि एवम् अत्यन्त खरा समालोचक नेपाली भाषासािहत्यका शिखर व्यक्तित्व प्रा.राजेन्द्र सुवेदीको तेस्रो उपन्यास ‘धितो कोख’को आज प्रदर्शनीमार्ग स्थित आर.आर.क्याम्पसको सभाकक्षमा नेपाली भाषा, साहित्य र समालोचनाका शीर्षस्थ व्यक्तित्व प्रा.डा.वासुदेव त्रिपाठीले लोकार्पण गर्नुभयो । ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा नेकपाका नेता एवम् साहित्यकार दीनानाथ शर्मा र ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के.के कर्माचार्य उपस्थित हुनुहुन्थ्यो । अतिथिका रूपमा डा.रामप्रसाद ज्ञवाली, प्राज्ञ डा.देवी नेपाल, आकाश अधिकारी, आख्यानकार हरिहर खनाल, वरिष्ठ कवि भुवनहरि सिग्देल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, भारतीय दूतावासका जे.एन.सरस्वती, महेश्वर उपाध्याय, आख्यानकार प्रा.शरणकुमार राई, जनसाहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेल, डा.हरिप्रसाद सिलवाल, इन्दिरा सुवेदी, देवीप्रसाद घिमिरे, मदनराज थापा र कुञ्जराज थापाको उपस्थिति रहेको थियो ।
साहित्यकार रमेश शुभेच्छुले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई ऐरावती प्रकाशनका आनन्द तिवारीले स्वागत गर्नुहुँदै नेपाली भाषा, साहित्यका क्षेत्रमा योगदान गरिरहेको प्रकाशनले अश्लील, अन्धविश्वासयुक्त कृतिको प्रकाशन नगर्ने जानकारीका साथ स्वागत गर्नुभएको थियो ।
उपन्यासकार प्रा.राजेन्द्र सुवेदीको व्यक्तित्वका बारेमा चर्चा गर्नुहुँदै प्राज्ञ डा.देवी नेपालले राजेन्द्र सुवेदी हामी प्रायः सबैका गुरु हुनुभएकाले उहाँको व्यक्तित्व चर्चा गर्नु भनेको परम्पराको निर्वाह मात्र भएको; गुरु भावनाको कुरा पनि भएको र उहाँ गुरुत्वपूर्ण गुरु रहनुभएको, उहाँ सिर्जनामा उचाइ लिइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँको तर्कशक्ति र विषयलाई हेर्ने दृष्टिकोण अत्यन्त प्रखर रहेको छ । उहाँको प्राध्यापन र लेखनशैली दुबै विशिष्ट रहेको छ र चेलासँग पनि रमाउने र सहयात्रा गर्ने सरलताका पर्यायका रूपमा उहाँ रहनुभएको तर आफ्नो अस्तित्व कायम गर्ने कुरामा भने उहाँ दृढ रहनुहुन्छ । नयाँ शैलीको आख्यानलेखनमा उहाँ देखा पर्नुभएको छ । उहाँको लेखाइ अनुभव र ज्ञानले खारिएको चेतनासहितको हुने गरेको हुँदा आदरणीय गुरुलाई यो कृतिका लागि पनि हार्दिक बधाई दिन्छु भन्नुभयो ।
समारोहमा प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठीले प्रा.राजेन्द्र सुवेदीको तेस्रो आख्यान ‘धितो कोख’को लोकार्पण गर्नुभयो । लोकार्पित उपन्यासको विस्तृत समीक्षा गर्नुहुँदै डा.रामप्रसाद ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा कक्षामा पढाउँदा ‘खेतीपातीमा वर्षाले सघाउँछ, बाढीले होइन’ भन्ने सत्य दृष्टान्त दिँदै पढाउनुहुने गुरुको कृतिका बारेमा टिप्पणी गर्न उभिँदा असजिलो पनि लागिरहेको छ भन्नुहुँदै सिर्जना, समालोचना, सम्पादन र प्राध्यापनका एकमुष्ठ स्वरूप कुशल व्यक्तित्व राजेन्द्र सुवेदीज्यूका विविध विधाका करिब पचास कृति प्रकाशित भइसकेका छन् । गुणात्मक र मात्रात्मक सिर्जना गर्ने उहाँको यो उपन्यास विशृङ्खल विशृङ्खल लाग्ने तर शृङ्खलित छ । लामो समय लगाएर, अनुसन्धान गरेर योजनाबद्धरूपमा लेखिएको यो उपन्यासको प्रस्तुतिको शैली नितान्त नौलो रहेको छ । नरिबल जस्तो जति चबायो त्यति मिठास आउने खालको छ । पाश्चात्य मुलुकमा हुर्किएको धितो कोखको चलन, विदेसिएका नेपाली नारीको पीडा, पत्नीपीडित पुरुषका व्यथा, विषयवस्तुका फरक फरक स्वरूप, माओवादी द्वन्द्वले समाजमा पारेको नकारात्मक प्रभाव, नेपाली राजनीति, संस्कार र संस्कृति आदि आदि विषय उजागर गर्ने काम उपन्यासले गरेको छ । वर्तमान समय पुँजीवादको दास बनेको, घरेलु कामदारका रूपमा विदेश जाने नेपाली महिलाको स्वास्थ्य परीक्षण गर्दा नै बच्चा पाउने क्षमता रहेनरहेको जाँचसमेत गर्ने खतरनाक प्रवृत्ति मौलाएको पक्षसमेतलाई उपन्यासले चिन्ताभावसहित आँैँल्याएको छ । उपन्यासमा प्राज्ञिक र बौद्धिक संवादको प्रयोग भएको छ । रितम्बरा र पत्रकार दुई प्रमुख पात्र छन् । रितम्बराको संस्मरणात्मक जीवनकथा उपन्यासले समेटेको छ । रितम्बरालाई विछिप्त महिलाका रूपमा, पुरुषपीडित महिलाका रूपमा, जीवनलाई गहिरिएर बुझेकी अनि द्वन्द्वको पीडा भोगेकी तर जिउँदै हुँदा मरेकी भनेर राज्यबाट पाउने क्ष्यतिपूर्ति पनि सत्तामा बस्नेहरूले नै खाइदिएको पीडा भोगेकी, बच्चा जन्माइदिन आफ्नो कोख प्रयोग गर्नेले पछि लिन अस्वीकार गरेको, जन्मेको बच्चाको परीक्षण पनि अत्यन्त कहालीलाग्दो तरिकाले गर्ने गरिएको, बालअधिकारका कुरा गर्ने विदेशीहरूको प्रवृत्ति झनै घिनलाग्दो रहेको, राजनीतिक नेतृत्वको आलोचना गरिएको, मानवमनोविज्ञान, समाजविज्ञान र अर्थविज्ञान उपन्यासमा उजागर गरिएको, प्रसङ्गहरू फरक फरक रहे पनि मूल कथाको मियोमा बाँधिएका, मान्छे विनिमयको वस्तु भइरहेकोमा चिन्ता व्यक्त गरिएको, मान्छेलाई पुँजीवादले बिकाउ माल बनाएको, आयात निर्यात हुने वस्तु बनाएको, मानव अङ्गको ठेक्कापट्टा हुने गरेको, युरोपमा मौलाएको विकृति हाम्रो देशमा पनि आउन लागेको, विदेश जाने भिसा पाउनका लागि पनि विवाहको नाटक गर्ने प्रवृति बढेको, कोख धितो राख्नु भनेको आफ्नो अस्तित्व र स्वाभिमान गुमाउनु हो भन्ने पीडा अभिव्यक्त भएको, पश्चिमी समाज अत्यन्त विकृत रहेको तथ्य उजागर भएको र सम्बन्ध अत्यन्त सस्तो रहेको उजागर गरिएको लगायतका अनेकन पक्ष उपन्यासमा समेटिएका छन् । उपन्यासको निष्कर्षमा भने मान्छे भन्नु नै विचार हो, जिन्दगी भनेको अस्थिरतासहितको भोगाइ हो भन्ने दृष्टिकोण सम्प्रेषण गरिएको यो उपन्यास समस्याप्रधान उपन्यास हो । यसको केन्द्रमा अर्थ र यौन देखिन्छ । यसको समयावधि बहत्तर सालपछिको रहेको छ, सत्य घटना समेटिएको छ, मातृत्वको द्वन्द्व (वात्सल्य, उपेक्षा र पैसा) उजागर भएको छ । समाज भाँड्ने र बिगार्नेमा आइएनजिओ र एनजिओको संलग्नता रहको ठम्याइ छ । समग्रमा नेपाली उपन्यास परम्परामा यो उपन्यास नवीन शैलीका साथ, उत्कृष्ट अभिव्यक्तिका साथ बिचमा उभिन आइपुगेको छ भन्ने धारणा राख्नुभयो ।
उपन्यासको आवरणचित्र निर्माता नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले उपन्यासको शीर्षक नै अनौठो र विषयवस्तु पनि नौलो लागेको यो उपन्यासको आवरण डिजाइनका लागि राजेन्द्र सरले मलाई सम्झनुभयो र मैले अवसर पाएँ । आजको यो विशिष्ट समारोहमा उपन्यास उत्कृष्ट रहेको चर्चा सुन्न पाउँदा अत्यन्तै खुसी लागेको छ भन्नुभयो ।
विशिष्ट अतिथि नेकपाका नेता एवम् साहित्यकार दीनानाथ शर्माले आपूm खरो माओवादी रहेको र राजेन्द्र सर खरो समालोचक हुनुभएको भए पनि आपूm साहित्यका विद्वानका प्रति अगाध आस्था राख्ने र सम्मान गर्ने व्यक्ति रहेको मात्र होइन राजनीतिको उखरमाउलो बाँझो जोत्दाजोत्दै साहित्यको शीतल छहारी खोज्ने प्रयत्नस्वरूप मेरो निबन्धसङ्ग्रहको भूमिका राजेन्द्र सरले लेखिदिनुभएर गुन लगाउनुभएको छ । उपन्यासको समीक्षा सुन्दा यो सशक्त रहेको छ भन्ने सुन्न पाएँ । यस्तै सशक्त कृति फेरि फेरि पनि आइरहुन्, शुभकामना दिन्छु भन्नुभयो ।
उपन्यासका लेखक प्रा.राजेन्द्र सुवेदीले धितो कोख स्वीकार गर्न बाध्य अनि नमरिकन मरेकी भनिएकी रितम्बरा उपन्यासकी नायिका हो । उसको पूर्वदीप्ति अध्यायमा यो उपन्यास लेखिएको छ । यसमा अलिकति नाटकीकरण गर्ने प्रयास मैले गरेको छु । उपन्यासको टुङ्ग्याउनी पाठकको जिम्मामा छोडेको छु । आमालाई अन्तिममा न्याय प्राप्त भएको छ । धितो कोख हाम्रो मुलुकको सन्दर्भमा प्रोत्साहित गर्नुपर्ने विषय होइन । माओवादी आन्दोलनले निर्माण गरेको चरित्र अलि बढी आलोचित छ, अरूको पनि आलोचना रहेको छ । मुलुकको संस्कृतिमा विकृति भित्रिनुपर्ने हो त ? बहसको विषय हो । स्वास्थ्यशालाहरूमा हुने विनिमय अत्यन्त डरलाग्दो रहेको छ भन्ने तथ्य उजागर गर्ने प्रयत्न गरेको छु । यसमा सूचना सञ्जालको प्रयोग भएको छ । युद्धको संस्कृतिले नकारात्मकताको बीज नरोपोस् भन्ने मेरो आग्रह प्रतिविम्बित भएको छ । उपन्यासको आवरण डिजाइन गरिदिएर के.के.कर्माचार्यले अर्थात् सही कलाकारले अमूर्ततालाई मूर्तीकरण गरिदिनुभएको छ । समालोचक मित्रले सुन्दर समीक्षा गरिदिनुभएको छ, यहाँहरू संस्थागतरूपमा उपस्थित भइदिनुभएको छ । म सबैमा हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो ।
प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठीले बहुमुखी प्रतिभाशाली व्यक्तित्व राजेन्द्र सुवेदी लब्धप्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ, अत्यन्त कुशल समालोचक हुनुहुन्छ । निबन्धका क्षेत्रमा, महाकाव्यलेखनका क्षेत्रमा उहाँको विराट उपस्थिति रहेको छ । पश्चिमी समाजमा मौलाएको विश्वउपन्यास परम्पराको विषय यस उपन्यासमा उठाइएको छ । रुसेली र फ्रान्सेली साहित्यमा यथार्थवाद, परिष्कारवाद, स्वच्छन्दतावादको प्रयोगका रूपमा उत्कृष्ट आख्यान सिर्जना भएका छन् र त्यही पश्चिमी परम्परा यो उपन्यासमा उजागर भएको छ । नेपाली उपन्यासमा इन्द्रबहादुर राईले यसको प्रयोगको थालनी गरेका हुन् । ध्रुवचन्द्र गौतमले पनि यसको प्रयोग गरेका छन् । त्यही प्रयोगधर्मी परम्परालाई यस उपन्यासले उजागर गरेको छ अनि सबल आख्यान बनेको छ र यसलाई उपन्यास र अउपन्यासका बिचमा उभ्याउने कुशल सामथ्र्य राजेन्द्र सुवेदीमा रहेको छ । फरक फरक विधिको प्रयोग यसमा गरिएको छ । उत्कृष्ट कलात्मक उपन्यास हुनका लागि उत्कृष्ट विम्बहरूको प्रयोग पनि यसमा गरिएको छ । पूर्वीय र पश्चिमा साहित्यसिद्धान्त बुझेको विज्ञ स्रष्टा भएकाले संवादात्मक शैलीमा उपन्यास तयार पार्नुभएको छ । यहाँ सूक्तिचेतना सशक्त रहेको छ । यहाँ होइन भन्दाभन्दै पनि मान्छेको जीवन रहस्यमय छ भन्ने देखाइएको छ । भित्र अत्यन्त गहिरो अन्तरयोजना रहेको छ । यसमा महिलाका, पुरुषका, वृद्धवृद्धाका, बालबालिकाका पीडा समेटिएका छन् । १०–१५ वर्षमा नेपाली समाजमा आएका बेथिति, पीडा, व्यापारका समस्या उजागर भएका छन् । यहाँ उठाइएका विषय बहुउपन्यास बन्ने खालका रहेका छन् । त्यसैले यो सुन्दर आख्यान सिर्जनाका लागि स्रष्टालाई हार्दिक बधाई दिन्छु भन्नुभयो ।
सभाध्यक्ष रामदेव पाण्डेयले उत्कृष्ट उपन्यासको प्रकाशनका लागि ऐरावती प्रकाशनलाई अवसर दिनुभएकोमा स्रष्टा प्रा.राजेन्द्र सुवेदीलाई धन्यवाद दिनुभयो । उपन्यासकारको व्यक्त्त्वि चर्चाका लागि प्राज्ञ डा.देवी नेपाल र कृति समीक्षाका लागि डा.रामप्रसाद ज्ञवालीलाई धन्यवाद दिनुभयो । निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिने सबै सबैलाई हार्दिक धन्यवादसहित समारोहको विसर्जन गर्नुभयो ।