‘राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँसझैँ’ बालकवितासङ्ग्रह तथा जयन्ती स्पन्दनको बालकवितासङ्ग्रह ‘खेलौँ रमेर’को लोकार्पण तथा परिचर्चासहित डा.मदनप्रसाद सत्यालको हीरक जयन्ती मनाइयो

असोज ३ गते बुधबार अपराह्न ठिक २ बजे सिद्धार्थ कटेज, तीनकुने, काठमाडौँको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाललको आयोजनामा सङ्घकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालद्वारा लिखित यात्राकाव्य ‘प्रभातमय जिन्दगी’ र ‘गुराँसझैँ’ बालकवितासङ्ग्रह र उहाँकी छोरी जयन्ती स्पन्दनद्वारा लिखित ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चाका साथ डा.मदनप्रसाद सत्यालको हीरक जयन्ती विशेष समारोहको आयोजना गरियो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले संस्कृति विभाग प्रमुख माननीय रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, नर्मदेश्वरी सत्यालकी आमा खेमकुमारी घिमिरे, डा.मदनप्रसाद सत्याल र प्रनिसा रेग्मी (तीन पुस्ता) विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रा.डा.जीवेन्द्र देव गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.हेमनाथ पौडेल, वासुदेव अधिकारी, विधान आचार्य, भाषा आयोगका सदस्य मातृका पोखरेल, लक्ष्मी माली, यद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, स्नेह सायमी, डम्बर पहाडी, अनिल पौडेल, सीता शर्मा, सुशिला प्रधानाङ्ग, डा.सावित्री श्रेष्ठ, लक्ष्मी मिश्र, प्रतिभा पुन, नन्दु उप्रेती, खेमराज निरौला, डा.गोविन्दप्रसाद आचार्य, राममणि ढुङ्गेल, प्रशान्त खरेल, डा.नारायणप्रसाद रेग्मी, डा.प्रदीप के.सी., डा.जया सत्याल, विजया सत्याल, यादव भट्टराईलगायतका व्यक्तित्वहरू तथा डा.मदनप्रसाद सत्याल तथा नर्मदेश्वरी सत्यालका आफन्त तथा मान्यजनहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सभाध्यक्षले प्रमुख अतथि तथा विशेष अतिथिहरूलाई माल्यार्पण गरी सम्मान गर्नुभएको थियो भने प्रमुख अतिथिले अध्यक्षलाई माला लगाइदिनुभएको थियो । विशेष अतिथि आमा खेमकुमारी घिमिरेले तामाको दियोमा बत्ती प्रज्ज्वलन गरी समारोहको उद्घाटन गर्नुभएको थियो भने डा.मदनप्रसाद सत्याल र नर्मदेश्वरी सत्यालका युकेजीमा अध्ययनरत दुइटी नातिनीहरू माहिसा र सानिधाले जन्मदिनको शुभकामना गीतमा सुन्दर नृत्य प्रस्तुत गर्नुभएको थियो ।
डा.जया सत्यालले उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई स्वागत गर्दै आमाबुबा हरेक सन्तानका लागि सर्वश्रेष्ठ हुन्छन् । हाम्रा सर्वश्रेष्ठ बुबाआमाको त्याग र बलिदानले हामीले गरिखानसक्ने शिक्षा प्राप्त गर्नसक्यौँ र असल संस्कार ग्रहण गर्नसक्यौँ । आज बुबाको ७६ जन्मजयन्ती मनाउन पाउने यो सुअवसर आफैँमा उदाहरणीय थियो नै त्यसमा पनि आमा र दिदीका तीन तीनओटा कृतिको लोकार्पण तथा परिचर्चा पनि यही सुअवसरमा हुनु अत्यन्त सुखद पक्ष हो र यो सुखद कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिने समपूर्ण आदरणीय एवम् मान्यजनमा हार्दिक स्वागत गर्दछु भन्नुभयो ।
प्रमुख अतिथि, विशेष अतिथि र लेखकद्वयले संयुक्तरूपमा ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य, ‘गुराँसझैँ’ र ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहको लोकार्पण गर्नुभएको थियो । लोकार्पित ‘गुराँसझैँ’ र ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहको समीक्षा गर्नुहुँदै प्रा.डा.लेखप्रसाद निरौलाले आजको यो विशेष समारोह चार पुस्ताको अपूर्व सङ्गम रहेको छ र अनुकरणीय पनि छ । यो विशेष समारोहमा हीरक जयन्तीलाई सिर्जनात्मक पार्ने प्रयत्न गरिएको छ । जयन्ती स्पन्दनको ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहमा अत्यन्त सहज बालअनुभूति समेटिएको छ । बालसाहित्यलेखन कठिन कुरा हो । सुन्दर आवरणको यो सङ्ग्रहमा बिसओटा बालकविता समेटिएका छन् । लोकलयका यी कवितामा ‘र’ वर्णको पुनरावृत्तिका माध्यमबाट प्रसाद गुण सिर्जना गरिएको छ । कविताका शीर्षकैले आकर्षण पैदा गरेका छन् । सबै कविताका विषय र शीर्षक बालमैत्री रहेका छन् । कवितामा नैतिक सन्देश, देशभक्ति, पुस्ता जोड्ने कुरा, किसानलाई माया गर्नुपर्ने, श्रमको सम्मान गर्नुपर्ने कुरा समेटिएका छन् । अनुप्रासीय गुण सबै कवितामा पाइन्छ । अन्धविश्वास हटाउने संवादात्मक शैलीको प्रयोग पनि गरिएको छ । कवितामा वनस्पति र जीवजन्तुको प्रयोगले बालकको आकर्षण पैदा गराउने देखिन्छ । कवितामा बनाइएका चित्र पनि आकर्षक रहेका छन् । समग्रमा सङ्ग्रह पठनीय र बालमैत्री रहेको छ ।
त्यसैगरी नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘गुराँसझैँ’ बालकवितासङ्ग्रहको शीर्षक नै विम्बात्मक रहेको छ । यस सङ्ग्रहमा पनि बिसओटै बालकविता रहेका छन् । यसमा लोकलयको आधिक्य रहेको छ, त्यसमा पनि सवाइको प्रयोग बढी छ । कवितामा अग्रज साहित्यकार केवलपुरे किसानलाई दृष्टान्त बनाइएको छ । देश र प्राकृतिक सम्पदालाई चिनाउने प्रयत्न कवितामा गरिएको छ । कवितामा विषयको विविधता रहेको छ र समग्र सङ्ग्रह बालमैत्री रहेको छ भन्ने धारणा राख्नुभयो ।
लोकार्पित यात्राकाव्य ‘प्रभातमय जिन्दगी’ लेख्न उत्प्रेरणा पनि प्रदान गर्ने प्रा.डा.देवी नेपालले आजको यो विशेष समारोह हीरक जयन्तीको सन्दर्भ पारेर आयोजना गरिएको तर फरक प्रकृतिको, सकारात्मक चेतना सम्प्रेषण गर्ने अनि महत्त्वपूर्ण रहेको छ । नर्मदेश्वरी सत्यालले छोराबुहारी तथा नातिलाई भेट्न बेलायत जाने कुरा गर्नुभएपछि आपूmले ‘फर्किँदा यात्राकाव्य लिएर आउनू है’ भनेर भनेको हो । विदेशबाट फर्किँदा स्रष्टाको क्षमतासँग जोडिएको सिर्जना आओस् भन्ने अपेक्षा मेरो रहने गर्दछ । २०५८ सालदेखि नै नर्मदेश्वरी सत्यालसँग साहित्यिक नाता जोडिएको हो । यो ‘प्रभातमय जिन्दगी’ यात्राकाव्यमा उहाँलाई अङ्ग्रेजी शब्दलाई शास्त्रीय छन्दमा ढाल्नुपर्ने चुनौती पनि र समस्या पनि थिए । केही अङ्ग्रेजी शब्दलाई उच्चारणमुखी र नेपाली शब्दलाई लेखनमुखी बनाउनुपर्ने नियमको उहाँले पालना गर्नुभएको छ । बेलायतमा रहँदा गरिएका विभिन्न ठाउँको भ्रमणलाई कविले सोर सर्गमा विभाजन गरी शार्दूलविक्रीडित छन्दबाट सुरु गरेर बिचमा अनुष्टुप् छन्दलाई खेलाएर अन्त्यमा मालिनी छन्दमा टुङ्ग्याउनुभएको छ । ‘मेघदूत’, ‘राजेश्वरी’जस्ता काव्यमा यात्राको चर्चा गरिएको छ भने अन्य थुप्रै यात्राकाव्य नेपाली साहित्यमा आएका छन् । त्यही कडीमा आएको यो काव्यमा सूक्तिमयता, विभेद र शोषणको अन्त्यको आग्रह, अनौपचारिक शैलीको प्रयोग, सामान्य पाठकलाई निकै सहज लाग्ने सरल शैलीको प्रयोग गरिएको छ र काव्य सुन्दर बनेको छ भन्ने समीक्षा गर्नुभयो ।
विशेष अतिथि प्रनिसा रेग्मीले ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहबाट एउटा कविता वाचन गर्नुभयो भने डा.जया सत्यालले ‘गुराँसझैँ’ कवितासङ्ग्रहबाट ‘धर्मका नाममा’ कविता वाचन गर्नुभएको थियो ।
विशेष अतिथि प्रेमनाथ अधिकारीले आजको यो विशेष समारोहमा भएका चर्चा सुनिसकेपछि मैले डा मदनप्रसाद सत्याल नमुना अभिभावक हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ । उहाँहरूको सिङ्गो परिवार उदाहरणीय रहेछ र सबै छोराछोरीले समाजमा विशिष्ट योगदान गरिरहनुभएको रहेछ । हीरक जयन्तीको सन्दर्भ पारेर आयोजना गरिएको यो विशेष साहित्यिक समारोहले पनि मुलुकको समृद्धिका पक्षमा र समाजमा चेतना फैलाउने कर्ममा साहित्यकारहरू लागिरहनुपर्छ भन्ने नै सन्देश दिएको छ भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि माननीय रघुजी पन्तले आज संविधान दिवसका दिन यो विशेष समारोहको आयोजना भएको छ । हाम्रो जीवन, संस्कृति, परम्परा परिवर्तनशील हुन्छ र हुनुपर्छ । हाम्रो जीवनलाई प्रभावित पार्ने काम संस्कृतिले गर्छ । प्रविधिका कारणले अहिले पठनसंस्कृति कमजोर भएको छ । आजको पुस्ता पुरानो पुस्ताबाट सिक्नखोज्दैन ! घरमा पारिवारिक संवाद नै हुनछाडेको छ । अर्थात् क्रमशः जीवन नीरस बन्दै गइरहेको छ । साहित्यलाई जीवनसँग जोड्ने भनेको बालसाहित्यले नै हो । साहित्य, गीत, सङ्गीतको आकर्षण वैज्ञानिकहरूमा समेत छ । हामीले हाम्रा बालबालिकालाई सानैदेखि मानवीय बनाउने काम गर्नुपर्छ र त्यो काम बालसाहित्यले गर्छ । हाम्रा बालबालिकालाई नेपाली साहित्य पढाउनुपर्दछ । आजको यो विशेष समारोहले त्यो कुराको सङ्केत गरेको छ, पुस्ता जोडेको छ । म डा.मदनप्रसाद सत्याललाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिन्छु भने आमाछोरी स्रष्टालाई बधाइ दिन चाहन्छु भन्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका जीवनसाथी डा.मदनप्रसाद सत्यालको हीरक जयन्ती र सहयात्राका बाउन्न वर्षको सुखद अवसरमा आज यो विशेष समारोहको आयोजना गरी तीनओटा कृतिको लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ । यो उदाहरणीय सत्कर्म हो । गरिमामय, भव्य र उल्लेख्य उपस्थिति रेहेको यो विशेष समारोहमा दुईजना विद्वानले तीनओटा कृतिका बारेमा समीक्षात्मक टिप्पणी गरिदिनुभएको छ । यो विशेष समारोहमा चार पुस्ता जोडिएको छ । यसर्थ पनि यो समारोह ऐतिहासिक छ र अनुकरणीय छ । निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिने सम्पूर्ण व्यक्तित्वमा हार्दिक आभारसहित धन्यवाद दिनुहुँदै कार्यक्रमको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*