सहयोगीनगरमा शुभकाममना आदानप्रदान विशेष समारोह सम्पन्न

रमेश पोखरेल, काठमाण्डौ,

असोज २० गते शनिबार बिहान ८ बजे सहयोगीनगर, कोटेश्वरमा सहयोगीनरगर विकास समाज, सहयोगी युवा क्लब र झोलुङ्गे पुल–पूmलबारी टोल सुधार समितिको संयुक्त आयोजनामा भित्रिनै लागेका नेपालीका महान चाडबाडहरू दसैँ, तिहार, छठ, इदुल फित्र, नेपाल सम्बतका सुखद उपलक्ष्यमा शुभकाममना आदानप्रदान विशेष समारोहको आयोजना गरियो ।

सहयोगीनगर विकास समाजका अध्यक्ष धनपति सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथि पूर्व सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपाल हुनुहन्थ्यो भने अतिथिहरूमा अमरावती टोल सुधार समितिका अध्यक्ष सरोजकुमार उपाध्याय, शान्ति टोल सुधार समितिका अध्यक्ष इन्दु सापकोटा, झोलुङ्गे पुल–पूmलबारी टोल सुधार समितिका अध्यक्ष शिवप्रसाद भट्टराई, सहयोगी युवा क्लबका अध्यक्ष बैजुहरि भट्टराई, साहित्यकार रमेश पोखरेल, साहित्यकार कुलप्रसाद पराजुली, लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी, त्रि.वि.की पूर्व डिन चिरिकशोभा ताम्राकार, पूर्व महावाणिज्य दूत विनोदकुमार नेपाल, वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदी, कर्णेल कृष्णदेव भट्ट, ज्येष्ठ नागरिक शिवप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।

उपस्थित प्रमुख अतिथि, अतिथिहरूलाई सभाध्यक्ष धनपति सापकोटाले खादा लगाएर सम्मान गर्नुभएको थियो भने सहयोगीनगर विकास समाजका उपाध्यक्ष कृष्णमुरारी कोइरालाले स्वागत गर्दै देशैभरिका मान्छेको बसोवास रहेको यो क्षेत्रमा घर मात्रै होइन मन मिलेका र सबैसँग सद्भाव कायम राखेर बसेका मान्छेको बाहुल्य रहेको भन्नुहुँदै सबैलाई चाडबाडको शुभकामना दिनुभयो ।

विभिन्न टोल सुधार समितिका अध्यक्षहरू शिवप्रसाद भट्टराई, सरोजकुमार उपाध्याय, इन्दु सापकोटा, मोहनकुमार पराजुली, डाकबहादुर कार्कीले शुभकामना दिनुभयो भने सहयोगी युवा क्लबका अध्यक्ष बैजुहरि भट्टराई, त्रि.वि.का पूर्व डिन चिरिकशोभा ताम्राकार, लोसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी, पूर्व महावाणिज्य दूत विनोदकुमार उपाध्याय, इन्जिनियर मनोज बर्माले पनि शुभकामना मन्तव्य दिनभएको थियो । साहित्यकार रमेश पोखरेलले भने कवितात्मक शुभकामना दिनुभएको थियो ।

सहयोगी विकास समाजका महासचिव तथा कर्मचारी सञ्चय कोषका मुख्य नायब प्रबन्धक श्री जीवनकुमार कटुवाललाई उहाँको विशेष सक्रियताका लागि र कम उमेरमै महत्त्वपूर्ण पदभार ग्रहण गर्नुभएकोमा प्रमुख अतिथिले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो भने समाजमा सबै गतिविधिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने विनोद खरेललाई समेत सम्मानित गरिएको थियो ।

प्रमुख अतिथि माधवकुमार नेपालले तीनओटा संस्था मिलेर अत्यन्त सुन्दर समारोहको आयोजना गरेकामा खुसी व्यक्त गर्नुहुँदै यस्तो विशेष समारोहमा आफ्नो समय निकालेर भेला हुने सबै टोलवासी तथा यस्तो अवसरको पहल गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ, यो ठुलो कुरा हो । हाम्रा चाडबाडले सामाजिक सम्बन्धलाई अझ गहिरो पार्दछन् । टोल भनेको परिवार हो र यहाँ बस्ने हामीबिचमा परिचय आदानप्रदान महत्त्वपूर्ण कुरा हो । यस क्षेत्रका टोल सुधार समितिको सक्रियता, गतिशीलता र व्यवस्थापन अनुकरणीय रहेको छ । विकासमा निम्ति सरकारको मात्र मुख ताकेर हुँदैन यस क्षेत्रका समितिहरू र वासिन्दासमेतले सरकारलाई घच्घच्याउने काम गर्नुपर्दछ, सक्रिय हुनुपर्दछ । स्थानीयको जति चासो, रुचि र निगरानी हुन्छ त्यति नै त्यस क्षेत्रमा विकास छिटो हुन्छ, गुणस्तरीय हुन्छ । हाम्रो सरकारी संरचनामा र ठेकेदारहरूमा काम नगर्ने, गरे पनि सुस्त गर्ने प्रवृत्ति हुर्किएको छ, यसमा तत्काल सुधार आवश्यक छ, अझ भनौँ चाबुक लगाउने कार्य आवश्यक छ । हाम्रा खराब संस्कार परिवर्तन गर्न राज्यले माथिबाटै प्रयत्न गर्नुपर्दछ र जनतामा चेतना जागृत गर्नुपर्दछ । नियम, कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ । हामी जनताले पनि हाम्रा बानीव्यहोरामा परिवर्तन, सुधार गर्नु आवश्यक छ । देशको इज्जत बढोस्, जनताका दुःख, पीडा सम्बोधन होउन्, सरकारले इमान्दारिताका साथ प्रभावकारी काम गरोस् भन्ने अहिलेको जनताको अपेक्षा हो, हाम्रो अपेक्षा हो । आफ्ना क्षेत्रका बाटाघाटा निर्माणका काम छिटो सक्न मैले यस क्षेत्रका वडाध्यक्षहरूलाई पनि भनेको छु तर राज्यका विभिन्न निकायका बिचमा समन्वयको अभावका कारण केही समस्या देखिएका पनि छन् र तिनको निराकरण आवश्यक छ । जनताका सबै अपेक्षा पूरा गर्न तपाईँ जनता तथा हामी जनप्रतिनिधि मिलेर एकसाथ अगाडि बढ्ने हो भने सफलता निश्चित छ । हाम्रा चाडबाडहरू क्षमतानुसार मनाऔँ र हाँसीखुसी जीवनयापन गरौँ । हार्दिक शुभकामना छ भन्नुभयो ।

समारोहका अध्यक्ष धनपति सापकोटाले सहरी जीवनका हाम्रा आचरणमा सुधार आवश्यक छ, उचित व्यवस्थापन आवश्यक छ, हाम्रा संस्कारमा समयोचित रूपान्तरण आवश्यक छ । हाम्रो समाजमा बस्ने हामी हामीबिच परिचय आदानप्रदान आवश्यक छ, भाइचारा अभिवृद्धि आवश्यक छ भन्ने मान्यताका साथ विगत १३ वर्षदेखि यस्तो घेटघाटको र शुभकामना आदानप्रदानको विशेष समारोह गर्दै आएको, विकासलाई संस्कृतिसँग जोड्ने प्रयत्न गरिएको जानकारी दिनुभयो र निम्ता स्वीकार गरी आइदिनुहुने प्रमुख अतिथि, अतिथिहरू, सबै टोलवासीमा हार्दिक आभार व्यक्त गर्नुभयो, चाडबाडको शुभकामना व्यक्त गर्नुभयो ।