साहित्य सन्ध्याको ४८० औँ नियमित मासिक शृङ्खलामा ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयमा विशद चर्चा गरिनुका साथै ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहको परिचर्चाका साथ विशेष कविगोष्ठीको आयोजना गरियो

समाचार

२०८३ असोज ३ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४८० औँ विशेष शृङ्खलामा ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयमा विशद चर्चा गरिनुका साथै वरिष्ठ पत्रकार एवम् साहित्यकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासङ्ग्रह ‘सत्ताको मान्छे’को परिचर्चाका साथ कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा संस्कृतिविद् प्रा.डा.सोमप्रसाद खतिवडा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा प्रा.डा.हेमनाथ पौडेलको उपस्थिति रहेको थियो । अतिथिहरूमा गोपालप्रसाद थपलिया, पूर्वराजदूत डा.विष्णुहरि नेपाल, रूपक अलङ्कार, डा.कृष्ण सुवेदी, डा.कृष्ण सुवेदी, गायत्रीकुमार चापागाईँ, डा.रूपनारायण श्रेष्ठ, कात्यायन, डम्बर पहाडी ‘एलाक’, वासुदेव अधिकारी, आभा सेतु सिंह, ओमप्रसाद कोइराला, मदनराज थापा, लक्ष्मण रायमाझी, ललित बस्नेत ‘भिमाली’लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा.सोमप्रसाद खतिवडाले ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयमा विशद चर्चा गर्नुुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा उपस्थित भएर सिर्जना सुन्ने र वास्तवमै अत्यन्त समसामयिक विषयमा आफ्ना धारणा राख्ने अवसर मिलेको छ । चाडबाड भनेका खुसियाली मनाउने हाम्रा परम्परा हुन्, सम्पदा हुन् । हाम्रा चाडबाडहरू देखेर सुनेर संसारका मान्छे चकित हुन्छन् । मान्छेभन्दा बढी मूर्तिहरू, चाडबाड पाइन्छन् । उदाहरणका लागि काठमाडौँमा एकहप्ता होली मनाइन्छ तर बाहिर एक वा दुई दिन मात्र । हाम्रो समाजमा १४२ ओटा चाडबाड, जात्रा र सम्पदा पाइन्छन् र ती सबै हाम्रा संस्कृति हुन् । हाम्रा यी चाडबाड र जात्राहरू संसारमै कहीँ नभएका पनि छन् । एउटै पर्व पनि ठाउँअनुसार फरक फरक तरिकाले मनाइन्छ । नयाँवर्षको छेको पारेर मनाइँने सिरुवा पर्व, विस्केट जात्रा, साकेला, बुद्धपूर्णिमा मनाइन्छन् । आएको कुनै महामारी गएपछि पनि पर्व मनाउने परम्परा रहेको पाइन्छ । न्यानो समय आओस् भनेर मनाउने पर्व पनि हामीकहाँ छन् । काठमाडौँका चाडबाडमा बढी नै तन्त्रको प्रभाव रहेको पाइन्छ । जगन्नाथ मन्दिरमा तन्त्रको प्रभावका साथै कलात्मकता, लज्जा हटाउने मानवीयता राखिएको छ र यसले ज्ञान बढ्ने विश्वास गरिएको पाइन्छ । कृष्णले मयलको बोटमा चढेर गोपिनीका लुगा हरण गरेकाले चीरका लिङ्गो ठड्याउँदा मयलको रुखको हाँगो राख्ने परम्परा विद्यमान रहेको छ । स्वस्थानी, तीजजस्ता पर्वहरू हाम्रो देशमा मात्र मनाइन्छ । व्रत बस्नु वैज्ञानिक हिसाबले पनि उपयुक्त भएकाले तीजको व्रत पुरुषले पनि लिए हुन्छ । नाचगानले शरीरलाई व्यायामको पनि काम गर्ने हुनाले तीजमा नाचगान गर्ने परम्परा चलेको हो र यो पनि वैज्ञानिक छ । नाचगान भनेको भोकहर्ता पनि हो, पुराणको उद्देश्य ज्ञान दिनु हो तर यसमा पनि नाचगान मिसाउने रूपान्तरणका प्रयत्न अहिले देखिएका छन् । दसैँ पनि काठमाडौँको चाहिँ शास्त्रीय छ भने बाहिरको लौकिक मात्र । शिवरात्रि र बालाचतुर्दशी काठमाडौँम मात्र मनाइँने परम्परा रहेकोमा भोजपुरमा पनि षडानन्दले सतबीज छर्ने चलन चलाएको देखिन्छ । शिव सबैका देवता भएकाले समाजका सबै बाँच्नपाउन् भनेर सतबीज छर्दा चराचुरुङ्गीले खान्छन्; टुसा, घाँस, पूmल, फल खान पाइँने फाइदाका लागि पितृको कल्याणका नाममा यो पर्व चलाइएको देखिन्छ ।
हाम्रो मुलुकमा एक हजारभन्दा बढी चाडबाड, जात्रा, पर्व मनाइन्छन् । वास्तवमा संस्कृति भनेको नै मान्छे हो, उसका परम्परा हुन् । वसन्तश्रवण नेपालमा र भारतको एक ठाउँमा मात्र हुन्छ । यो पर्वलाई राज्यले पनि रूपान्तरण गर्नसकेको छैन र राज्यकोषबाट लाखौँ खर्च गरेर मनाइँन्छ । तलेजुमा पूजाआजा गर्ने, जीवित कुमारी रहने तान्त्रिक पद्धति रहेको पाइन्छ तर केही केही चाडपर्व मनाउने प्रक्रियामा भने समयले नै रूपान्तरण गराउँदो रहेछ । शिवलिङ्ग यात्रा हराएर गयो, दानवनृत्य, पचली भैरवको जात्रा र खड्ग साट्ने परम्परा हराएर गएको देखिन्छ । पशुपतिनाथको बच्थली जात्रा पनि हराएर गएको पाइन्छ । यहाँ काठमाडौँमा मनाइँने पर्व तथा जात्रामा नेवारी संस्कृतिको प्रभाव बढी रहेको पाइन्छ । जात्रा, पर्व, चाडबाडमा समयानुकूल पुस्तान्तरण र रूपान्तरण आवश्यकीय कुरा हो र त्यसो गर्नसकिएन भने पहिचान पनि समाप्त भएर जान्छ । नीलबाराहीको नृत्यमा नर्तकी फेरिएपछि तन्त्रशास्त्रले कायम राख्नुपर्ने प्रथा कायम गर्ननसकिएको गुनासो अहिले आइरहेको छ त्यसैले हाम्रा चाडबाडको गरिमा राख्नु पनि आवश्यक छ र राज्यका तहबाट त होइन जनताकै तहबाट समयसापेक्ष पार्ने खालको रूपान्तरण पनि आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।
विशेष अतिथि प्रा.डा.हेमनाथ पौडेलले वरिष्ठ पत्रकार एवम् साहित्यकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासङ्ग्रह ‘सत्ताको मान्छे’को परिचर्चा गर्नुहुँदै साहित्य सन्ध्याले आजको यो विशेष समारोहमा वि.सं.२०२३ सालदेखि नेपाली राजनीतिमा होमिएका नेपाली पत्रकारिताका भीष्मपिताम्मह मानिएका साहित्यकार थपलियाको कवितासङ्ग्रहको चर्चा गरिनु सान्दर्भिक रहेको छ । थपलियाको राजनैतिक, पत्रकार र साहित्यकार व्यक्तित्व रहेको देखिन्छ । राजनीतिमा लागेका कारण जेलनेल भोगेका अग्रज स्रष्टा थपलियाका ‘जीवनोपयोगी विचारहरू’ र दुइटा अन्य मुक्तकसङ्ग्रह प्रकाशित भएका छन् । यस ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहमा १६४ ओटा कविता सङ्गृहित रहेका छन् । स्रष्टाको आफ्नो सिर्जनामा जीवनभोगाइका प्रभाव लेखिने, समाजको यथार्थ लेखिने भएकाले सत्ताप्रतिको आशक्ति, विद्रोह, क्रान्तिजस्ता साहित्यिक सामाजिक विशेषता यी कवितामा रहेको देखिन्छ । राष्ट्रियता, मानवीयता, प्रकृति, असन्तुष्टि, सत्ताको अहङ्कार, मूल्यहीनता, जनउत्तरदायित्वको कमीजस्ता यथार्थपरक विषयलाई पनि कविताले उजागर गरेका छन् अनि आलोचनात्मक चेत कवि तथा कविताको विशेषता बनेर आएको पाइन्छ । लोकतन्त्रपछि पनि जनअपेक्षा पूरा नहुनुले सत्ता र जनताका बिचमा द्वन्द्व रहेको देखिन्छ । कविताको वैचारिक आधार लोकतन्त्रप्रतिको प्रतिबद्धता, श्रमको सम्मान, राष्ट्रिय स्वाधीनताको वकालत, सामाजिक–सांस्कृतिक रूपान्तरणको आग्रह, परिपक्व वैचारिकता, जनपक्षधरता, बलिदान र देशभक्तिको भावना, सामाजिक सद्भावको आग्रह, जीवनदर्शनको पक्षधरता रहेको देखिन्छ भने निराशा र पलायन यी कवितामा पाइँदैन ।
कवितामा सङ्घर्ष छ, आशा छ, प्रगतिशीलता छ, इतिहासचेतना छ, वर्तमान बोध प्रखर छ, भविष्यप्रतिको चेतना पनि छ र विकृति–विसङ्गतिका प्रति दरिलो प्रहार रहेको छ । कविताको मूल भाव भने राजनीति नै हो । शिल्पपक्षमा पत्रकारिताको प्रभाव देखिएको छ । मुक्त र गीतिलयका कविता समेटिएका छन् । कवितामा संवादात्मकता, प्रश्नात्मकता र आह्वान पाइन्छ । कवितामा व्यङ्ग्यात्मकताका साथै सरल, बोधगम्य, विम्ब र प्रतीकको संयोजन गरिएको पाइन्छ । केही कवितामा समग्र कविता नै विम्बात्मक देखिएका पनि छन् । कविताले सामाजिक न्यायको आग्रह गरेका छन् । केही कवितामा विवरणत्मकता पाइए पनि यो कवितासङ्ग्रह वि.सं.२०७८ मा प्रकाशित भएको हो तापनि अहिलेसमेत सार्थह रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा ओमप्रसाद कोइराला, राम विनय, शिवप्रसाद आचार्य, कुमार नेपाल, नवराज श्रेष्ठ, आभा सेतु सिंह, डा.मनोज जोशी, बैरागी जेठा, बलराम विष्ट, ललित बस्नेत भिमाली, डम्बर पहाडी एलाक, कात्यायन, गायत्रीकुमार चापागाईँ, डा.विष्णुहरि नेपाल, प्रशान्त खरेल, दुर्गा घिमिरे, केदारनाथ आचार्य, दिनेश खरेल, राजाराम राउत, प्रा.डा.हेमनाथ पौडेल, केशव ज्ञवाली आगत, डा.रूपनारायण श्रेष्ठ, अर्जुन अन्योल, चेवन बस्नेत, कृष्णप्रसाद पौडेल, लक्ष्मण रायमाझी र गोपालप्रसाद थपलियाले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि समीक्षा गर्नुहुँदै समालोचक उपप्रा.रूपक अलङ्कारले लामो इतिहास बनाएको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा परिचर्चा गरिएको विषय र सुनाइएका कविता समसामयिक रहेका छन् । आजको उपस्थिति पनि गुणात्मक रहेको छ । आज बाढीको वितण्डाका, राजनीतिक परिवेशका र व्यक्तिगत अनुभूतिका कविता वाचित भएका छन् । अहिलेको विपत्तिलाई प्राकृतिक प्रकोप भन्ने कि दैवी विपत्ति भन्ने प्रश्न छ । पूर्वीय मान्यतानुसार प्राकृतिक तत्त्वहरूलाई नै देवता मानिएको छ । पुराणमा भने मानवीकरण भएको पाइन्छ । मानव जतिसुकै शक्तिशाली भए पनि प्रकृतिसँग हार्ने यथार्थलाई वितण्डाले पुष्टि गरेको छ । स्रष्टा पनि विद्याले, ज्ञानले वृद्ध हुनुपर्छ, शरीरले होइन भनिन्छ त्यसैले हामी सहभागी स्रष्टाले पनि औपचारिक कार्यक्रमलाई महत्त्व दिनु आवश्यक छ । साहित्य सन्ध्या आफैँमा ४८० मासिक अविच्छिन्न शृङ्खला सम्पन्न गरेको ऐतिहासिक संस्था हो । आजको यो समारोहमा वाचित कविताले सामाजिक विकृति–विसङ्गतिका पक्षलाई, चिन्तनमा ज्ञान हुने यथार्थलाई, देखिएको र भित्रको मान्छे फरक परेको सत्यलाई समेटेका छन् । प्रकोप देखे÷भोगेपछि वेदना उत्पन्न हुने र त्यही नै साहित्यमा अभिव्यक्त हुने हो । कवितामा हार्नेको पनि मूल्याङ्कन हुने जिकिर गरिएको छ । पूर्वीय ज्ञानविज्ञानकै कुरा दोहोरिएका पनि छन् । प्रजातन्त्रले जनअपेक्षा पूरा नगरेको, वर्तमानको कुरूपता, भोटेकोसीको विध्वंस खलनायक बनेर आएको पक्षलाई समेटेका छन् । कवितामा साहित्य सन्ध्या ज्ञानशाला हो भन्ने मूल्याङ्कन गरिएको छ । छन्दका कविताले मर्म धानेका छन् । अनतर्राष्ट्रिय अत्याचारको विरोध पनि कवितामा गरिएको छ । कविले पाठकलाई मन पर्ने कविता लेख्नुपर्छ भन्ने असल विचार कवितामा व्यक्त गरेको पनि पाइएको छ । छन्दका कविताले वितण्डालाई झल्झली देखाएजस्तो पनि महसुस भएको छ । विकृतिका सबै झार उखेल्नुपर्ने र रूपान्तरणका पक्षमा जागरण ल्याउनुपर्छ भन्ने वैचारिकता पनि कवितामा आएको छ । लोभी र लालची प्रवृत्ति देखिएको प्रति कविताले आक्रोश व्यक्त गरेका छन् । स्वभाविक तर प्रभावशाली अभिव्यक्तिका कविता सुनिएका छन् । भोटेकोसीको ताण्डवको कारक भौतिक विकास हो, मान्छे नै हो र दोषको मात्राका आधारमा न्याय पाउनुपर्छ भन्ने मान्यताका कविता पनि आएकाले आजको यो विशेष समारोह अत्यन्त सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । आजको यो विशेष समारोहमा पनि पुराना र स्थापित पुस्ताको उल्लेख्य सहभागिता रहेको छ । हामी जेजति यहाँ उपस्थित हुनसकेका छौँ गुणस्रीय र भव्य उपस्थिति रहेको छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज उठाउने वा बहसको थालनी गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा बहस गर्नै पर्ने निकै महत्त्वपूर्ण विषय ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयका बारेमा विद्वान व्यक्तित्व प्रा.डा.सोमप्रसाद खतिवडाले विभिन्न तथ्ययुक्त दृष्टान्तसहित विशद चर्चा गरिदिनुभएको छ । विशिष्ट अतिथि प्रा.डा.हेमनाथ पौडेलले वरिष्ठ पत्रकार एवम् साहित्यकार गोपालप्रसाद थपलियाद्वारा लिखित सत्ताको मान्छे कवितासङ्ग्रहको विशद परिर्चा गरिदिनुभएको छ भने उपप्रा.रूपक अलङ्कारले वाचित सिर्जनामाथि पनि समीक्षा गरिदिनुभएको छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ । वर्तमानमा देखिएको अराजकता, उग्रता, आतङ्कवादी प्रवृत्ति र भ्रम छर्ने प्रवृत्तिका विरोधमा हामी स्रष्टाको कलम चल्नु आवश्यक छ । आजको यो समारोहमा उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु, आभार प्रकट गर्दछु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ