साहित्य सन्ध्याको कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४२० औँ शृङ्खला असोज २ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा डा.हरिप्रसाद पोखरेल उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, अतिथिका रूपमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, प्राज्ञ नन्दु उप्रेती, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ कविहरू गायत्री चापागाईँ, डिल्लीराज अर्याल, गङ्गा कर्माचार्य पौडेल, डा.कृष्ण सुवेदी, डम्बर पहाडी ‘एलाक’, वरिष्ठ कलाकार लालकाजी लामा, वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल उपस्थित हुनुहुन्थ्यो ।
साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापनमा सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा प्रमुख अतिथि डा.हरिप्रसाद पोखरेलले ‘जीवनपद्धति र मानवस्वास्थ्य’ विषयमा विशद चर्चा गर्नुहुँदै अहिलेको महामारीजन्य समयमा मानवले अवलम्बन गर्नुपर्ने जीवनशैलीका बारेमा चर्चा गरिनु राम्रो कुरा हो । अहिले प्रकृतिमाथि विजयको उन्मादले सङ्कट निम्त्याएको पाइन्छ र वर्तमानमा स्वास्थ्य भनेको खरिदबिक्रीको साधन हो भन्ने मान्यता परास्त भएको छ साथसाथै औषधिविज्ञानलाई पनि चुनौती थप भएको छ । स्वास्थ्यविज्ञानले उल्लेख्य प्रगति गरे पनि नसर्ने खालका घातक रोगहरू ज्यादै नै बढेर गएका छन्, मान्छेहरूको मृत्यु भयावह भइरहेको छ । यसको प्रमुख कारकको रूपमा मानिसले अवलम्बन गरेको बिग्रँदो जीवनशैली देखिएको छ । हाम्रा लापरवाहीका कारणले ८० प्रतिशत अस्वस्थता भित्र्याइरहेका छौँ । भोजन स्वास्थ्यको पहिलो आधार हो तर हाम्रो ध्यान त्यता गएको छैन ! रासायनिक मल, कीटनाशक औषधि र हार्माेनको व्यापक प्रयोगले समग्र कृषि दूषित भएको छ । दुध, तरकारी, फलपूmल, अन्न आदिका माध्यमबाट हामी रोगी भइरहेका छौँ । परम्परागत खाध्यशैली त्यागेका छौँ, औषधीय गुण भएका मसला, रैथाने उत्पादनको प्रयोग हामीले छाडेका छौँ । त्यसैले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको छ र सङ्क्रामक रोगहरूको आक्रमण व्यहोरिरहेका छौँ । हामीले अहिले सभ्यताको प्रतीक ठानेर प्रयोग गरिरहेका जङ्क फुड (पत्रु खाना) महङ्गा पनि छन् र अस्वस्थकर पनि छन्, मोही पिउन बिर्सिएर कोल्ड डिङ्क्समा हामी अभ्यस्त बनेका छौँ ! हामीले पूर्ण अन्नको प्रयोग गर्नुपर्दछ । पोषक गुणका हिसाबले गहुँको चोकरसहितको पिठो उपयुक्त छ भने मैदा हानिकारक छ । बोक्रा, रेसा भएका खानेकुराहरू खानुपर्दछ । पेट राम्रो भयो भने मस्तिष्क राम्रो हुन्छ, शरीर स्वस्थ हुन्छ । अङ्कुरित गेडागुडी स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ । मानवस्वास्थ्यका लागि प्राणीजन्य भोजन होइन वनस्पतिजन्य भोजन लाभदायक छन् । जलीय भोजन बढी उपयुक्त छन् । हामी मसलालाई तेलमा डढाउने काम गर्छाैँ, ताजा पिसेर होइन धुलो बनाएर बट्टामा राख्छौँ, यो विधि पनि उपयुक्त होइन । औषधीय गुणले युक्त ताजा पिसेका मसला पानीमा घोलेर तरकारीमा हाल्ने तरिकाको परम्परागत भोजन शरीरका लागि उपयुक्त छ । शुद्ध प्राप्त गर्न सकिने भए तोरीको तेल सबैभन्दा राम्रो हो । सिसीमा खाँदेका पुराना अचार उपयुक्त होइनन् बरु तिल, सिलामको छोप वा टमाटर पिसेर बनाइएको चटनी राम्रो भोजन हो । कृत्रिम मिठाइ स्वास्थ्यबर्धक छैनन्, चिनी हितकर छँदै छैन, एक दिनमा बढीमा दुई चियाचम्चाभन्दा बेसी चिनीको सेवन गर्नु मानवस्वास्थ्यका लागि हानिकारक छ, बरु यसको सट्टामा सख्खरको प्रयोग उपयुक्त हुनसक्छ । आजको सूचनाको युगका जुन घरमा चाउ चाउ र कोक खाजाका रूपमा प्रयोग हुन्छ त्यो घर पीछडिएको घर हो । बेलायतजस्ता विकसित मुलुकमा समेत ँबकत ँययम ाबकत मभबतज भन्न थालिएको छ । त्यसैगरी हाम्रो शरीरका लागि बढी नुन पनि हानिकारक छ ।
हाम्रो जीवनशैलीमा व्यायाम अत्यावश्यक छ । प्राणायम वैज्ञानिक छ र नै संसारले अवलम्बन गरेर अहिले नेपालबाट सुरु भएको योगको परम्परा संसारका २०० देशमा पुगिसकेको छ । खुट्टाले हिँड्नु स्वास्थ्यबर्धक छ । श्रमशील जीवन राम्रो हुन्छ । तनाबको व्यवस्थापन आवश्यक छ । तनाब विश्वव्यापी महामारी हो । आसन, प्राणायम र ध्यान मानवजीवनका लागि महत्त्वपूर्ण छन् । शरीर चले स्वस्थ हुन्छ तर मन चाहिँ नचले स्वस्थ हुन्छ । पानी प्रशस्त पिएर महिनामा एक दुईपटक उपवास बस्नु स्वास्थ्यका दृष्टिले ठिक हो । आठ घण्टा खाने अनि सोर घण्टा चाहिँ पानी मात्र खाने पद्धति अहिले विज्ञानले समेत अवलम्बन गर्ने सल्लाह दिइरहेको छ । परम्परागत ज्ञानका राम्रा कुरा र आजको विज्ञानका राम्रा कुरा मिलाएर भोलिको भविष्य निर्माणमा लाग्नु आवश्यक छ । प्रकृति, पर्यावरण, जलवायु आदिमा परेको प्रभावको कारक मान्छे नै हो भन्ने बुझ्नु जरुरी छ र हामी जोगिनु छ अनि पृथ्वीलाई जोगाउनु छ । केही समयका लागि प्राप्त सुविधाले भविष्य बन्दैन । आजैदेखि हामी सचेत भएनौँ भने भविष्यमा हाम्रो स्वास्थ्य दुर्घटित हुनु अवश्यम्भावी छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
गोष्ठीमा डम्बर पहाडी, गायत्री चापागाईँ, विन्दु अधिकारी ढकाल, बेनीबहादुर थापा, नन्दु उप्रेती, राममणि ढुङ्गेल, गङ्गा कर्माचार्य पौडेल, दुर्गा नेपाली, वासुदेव अधिकारी, ज्ञानेन्द्र ढुङ्गाना, ओमप्रसाद कोइराल, डिल्लीराज अर्याल, उर्मिला पन्त पाण्डेय, खेमराज निरौला, प्रशान्त खरेल र डा.हरिप्रसाद पोखरेलले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।
वाचित सिर्जनामाथि डा.फणीन्द्रराज निरौलाले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा ‘जीवनपद्धति र मानवस्वास्थ्य’जस्तो अत्यन्तै उपयोगी विषयमा विशेषज्ञ व्यक्तित्वबाट ज्यादै प्रभावपरक परिचर्चा सम्पन्न भयो । साहित्य सन्ध्याले झण्डै चार दशकदेखि प्रगतिशील साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा विशेष योगदान गर्दै आइरहेको छ । हरेक महिना कुनै खास विषयमा विशेषज्ञबाट परिचर्चा गर्ने र कविता गोष्ठीलाई कार्यशालाका रूपमा अगाडि बढाउँदै आइरहेको छ । अग्रज स्रष्टाहरू श्यामप्रसाद शर्मा, आनन्ददेव भट्ट, गोविन्द भट्ट, प्रा.राजेन्द्र सुवेदीजस्ता विद्वानबाट प्रेरणा ग्रहण गर्दै विभिन्न बाधाअवरोधलाई पनि हटाउँदै अनवरत क्रियाशील, अविचलित यात्रा गरिरहेको र जुनसुकै विचारलाई पनि स्थान दिने, असल विचार दिने, विद्वानका ज्ञान पस्कने, कुनै पनि प्रकारका विभेदको विरोध गर्ने बृहत् संस्थाका रूपमा साहित्य सन्ध्या स्थापित रहेको छ । जीवनोपयोगी लेखन आवश्यक छ भन्ने स्पष्ट मान्यता राख्ने सन्ध्याको आजको यस विशेष गोष्ठीमा परिपक्व कविता आएका छन् । कविताले समाजका सबै प्रकारका रुढिलाई उजागर गर्दै आधुनिकताले जीवनपद्धति बिगोरको प्रति चिन्ता जाहेर गरेका छन् । साथै स्वाभिमानका पक्षमा वकालत गरिएको छ । सत्कर्ममा निस्वार्थ कुलोजस्तो भएर लाग्नुपर्ने धारणा आएका छन् भने राजनीतिले घर डढाएर खरानीको व्यापार गरेको प्रति चिन्ता जाहेर गरिएको छ । मानवीय जीवनभोगाइ, सामाजिक विभेद, सांस्कृतिक मूल्यमान्यतामा विकृति आएको, कथनी र करनीमा तालमेल नमिलेको प्रति आक्रोश अभिव्यक्त गरिएको छ । समयानुसार चल्ननसकेको नेपाली राजनीतिका प्रति व्यङ्ग्य गरिएको छ । नेताहरूको भर नभएकाले जनता आफैँ उठनुपर्छ भन्ने दृढोक्ति भाव पनि कवितामा आएको छ । राजनीतिक नेतृत्व बेकामे भए पनि सकारात्मक सोच आवश्यक भएको पक्षमा कविहरूको सचेतता देखिएको छ । हामीले विभिन्न आन्दोलनका माध्यमबाट घर राम्रो पार्ने बाचाकसम खाए पनि घर जहिल्यै पनि उस्तै रहेको वर्तमानको बेथितिजन्य पीडा कवितामा उजागर भएको छ । कथित क्रान्तिनायकहरू अहिले पनि सपना बाँडिरहेका छन्, बोक्रे कुरा गरिरहेका छन् भन्ने दृष्टान्तका माध्यमबाट जीवनपद्धति र चिन्तन सकारात्मक हुनुपर्छ भन्ने सन्देश सम्पेषण गर्ने आजका प्रायः कविताको शैली र शिल्पपक्ष सुन्दर रहेको पाइन्छ भन्ने धारणा राख्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि डा.हरिप्रसाद पोखरेलज्यू, विशेष अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । अग्रजहरू श्यामप्रसाद, जनकप्रसाद हुमागाईँ, केवलपुरे किसान, गोविन्द भट्टलगायतको यो संस्थामा विशेष योगदान रहेको छ । हालै मात्र दिवङ्गत हुनुभएका आनन्ददेव भट्टको प्रेरणा पनि अविस्मरणीय छ, हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरहन्छ । फेरि हामी अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नु हुँदै गोष्ठीको समापन गर्नुभयो ।