साहित्य सन्ध्याको अझै पनि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४२२ औँ शृङ्खला मङ्सिर ४ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष चिन्तक गोपीरमण उपाध्याय उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, अतिथिका रूपमा प्रा.डा.षडानन्द पौडेल, डा.नारायण चौलागाईँ, प्रा.डा.ध्रुव घिमिरे, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ नन्दु उप्रेती, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापन तथा सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि गोपीरमण उपाध्यायले ‘पूर्वीय दर्शन र भौतिकवाद’ विषयमा विशद चर्चा गर्नुहुँदै एउटै यन्त्रबाकसमा देशैभरिबाट सबैजना अटाएर कविताको श्रवण गर्ने साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा उपस्थित हुने अवसरले मलाई अत्यन्तै आनन्दानुभूति भएको छ । आजको चर्चाको विषय ज्यादै गहन छ । पूर्वीय वाङमयअन्तर्गत वैदिक साहित्य, उपनिषद, वेद, पुराण पर्दछन् । यी सबैमा दर्शन कहाँ कहाँ छ त ? भनेर चिन्तन गर्ने काम गर्दै पुष्पलालले ‘आदिम युगमा मातृसत्तात्मक समाज’ शीर्षकको निबन्ध २०२७÷२८ सालतिर लेख्नुभएको छ । २०३० सालमा युद्धप्रसाद मिश्रको अध्यक्षतामा ‘नेपाली जनवादी सांस्कृतिक सङ्घ’ स्थापना भयो र नेपाली जनवादी संस्कृति कस्तो हुनुपर्छ भन्ने विशद धारणा प्रस्तुत गर्दै हाम्रो समाजमा पुर्पुरो, परमेश्वर, पुनर्लाेक, पुनर्जन्म र परम्पराजस्ता पाँचओटा अन्धविश्वासयुक्त कारणले समाज परिवर्तन गर्न कठिन भएको हुँदा प्रगतिशलि चेतना र वैज्ञानिक शिक्षाका माध्यमबाट जडताको अन्त्य गर्नसकिन्छ भन्ने मान्यता अघि सार्नुभएको छ । यो जीवनजगत् कसले बनायो ? यो जीवनजगत् कसरी बन्यो ? भन्ने यिनै दुइटा पश्नको उत्तरसँगै दुइटा फरक फरक धार छुट्टिन्छन् । कसले बनायो भन्दा ईश्वरले भन्नेहरू अध्यात्मवादी र कसरी बन्यो भनी विज्ञानसम्मत खोजी गर्नेहरू भौतिकवादी मानिन्छन् । अर्थात् हाम्रो समाजमा कर्तृत्ववादी र कारणतावादी दुई अलग शिविर रहेका छन् । पहिलोले विचारअनुसार संसार परिचालित हुन्छ भन्छ भने अर्काेले भौतिक परिस्थितिले विचारको निर्माण हुन्छ भन्ने मान्यता राख्छ । यो चाहिँ पश्चिमाहरूले राख्ने मान्यता हो । यथार्थमा मानव चिन्तन र चेतना चाहिँ पूर्वको पश्चिमको जताको भए पनि गम्भीर चिन्तनमनन गरी समाजोपयोगी पार्नुपर्छ भन्ने नै वैज्ञानिक मान्यता हो । समाजमा भौतिक उत्पादनसँगै सांस्कृतिक उत्पादन पनि हुन्छ । विज्ञानले वस्तुगत सत्य र नियमलाई खोज्छ भने अध्यात्मले सृष्टिको आदर्श कुरा गर्छ । आदिम युग, दास युग, सामन्तवादी युग, पुँजीवादी युग र समाजवादी युग भएजस्तै दर्शन पनि त्यहीअनुसार विकसित हुँदै समाजवादी युगमा आइपुग्दा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादसम्म पुगेको छ । पवित्रताका लागि होइन समस्याको समाधान खोज्ने प्रयत्न नै वैज्ञानिक आधार हो । समाज र चेतना सँगसँगै जानुपर्छ । प्राणाीको रूपमा मानवविकास तीन करोड वर्ष पहिले भएको मानिन्छ तर समाजविकासमा मानवको उत्पत्ति चाहिँ धेरै पछि मात्र भयो । सम्पत्तिको विभाजन सुरु भएपछि वर्ग विभाजन भएको हो । वेदमा पनि यज्ञाग्नि र गृहाग्नि भनेर वर्णन गरिएको छ । यज्ञाग्निमा गणसमाजको चर्चा छ तर पछिल्ला समयमा वेद भनेको मर्दा शुद्ध पार्ने मन्त्रका रूपमा मात्र लिइयो । अवैज्ञानिक कुरामा विश्वास गर्ने भनेकै वैज्ञानिक चेतनामूलक ज्ञानको कमीले हो । पूर्वीय दर्शनका अन्धविश्वासयुक्त कुरा छाडेर वस्तुगत र प्रामाणिक पक्षलाई ग्रहण गर्नुपर्दछ भन्ने धारणा राख्नुभयो ।
गोष्ठीमा रश्मि रिमाल, ओमप्रसाद कोइराला, गणेश मार्मिक, महेशराज खरेल, यामप्रसाद न्यौपाने, ललिता दोषी, डा.नारायण चौलागाईँ, विन्दु अधिकारी ढकाल, भीमकुमारी श्रेष्ठ, दुर्गा नेपाली, परशुराम पराशर, उर्मिला पन्त पाण्डेय, भगतदास श्रेष्ठ, खेमराज निरौला, तीला लेकाली, बेनीबहादुर थापा, तारा गाउँले, लक्ष्मी माली, गोविन्द घिमिरे वेदमणि, जयन्ती स्पन्दन, प्रशान्त खरेल, डा.भीम खतिवडा र डा.षडानन्द पौडेलले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।
वाचित सिर्जनामाथि प्रा.डा.षडानन्द पौडेलले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा सुदूर पूर्वको इलामदेखि पश्चिमको दाङसम्मबाट स्रष्टाहरू जोडिएर कवितावाचन गरिएको छ । साहित्य सन्ध्याको अविच्छिन्नता र निरन्तरता आफैँमा उदाहरणीय छ । आजको यो विशेष समारोहमा ‘पूर्वीय दर्शन र भौतिकवाद’जस्तो अत्यन्तै सान्दर्भिक विषयमा विशेषज्ञ व्यक्तित्वबाट ज्यादै प्रभावपरक परिचर्चा सम्पन्न भयो । आज वाचित छन्दोबद्ध कविता निकै उत्कृष्ट रहे भने भने अन्य कतिा पनि प्रायः उत्कृष्ट रहेका छन् । कविता भनेको समय र भावनालाई जोड्ने प्रतिविम्ब हो । आजका प्रायः कवितामा राष्ट्रप्रतिको चिन्ता अभिव्यक्त भएको छ । राष्ट्र बनाउने जिम्मा लिनेहरू स्वार्थमा लिप्त भएको चिनता कविताले गरेका छन् । मान्छेहरू पदलोलुप भएको अवस्थाका प्रतिको चिन्ता पनि कविताका स्वरकै रूपमा आएको छ । आमालार्य सम्बोधन गरेर देशमा भित्रिएका विकृतिलाई उजागर गरिएको छ । छिमेकीबाट हेपिएका प्रसङ्गसहित मुलुकको रक्षाका प्रकति सचेत हुनुपर्ने सन्देश पनि कविताले सम्प्रेषण गरेका छन् । समाज स्वार्थी बन्दै गएकोले सद्भाव, सहकार्य, सहिष्णुताको पाटो कमजोर भइरहेको प्रति पनि कवितामा चिन्ता जाहेर गरिएको छ । नवीन शैली र शिल्पको प्रयोग पनि आजका कवितामा भएको हुँदा गुणवत्ताका दृष्टिले आजको गोष्ठी उत्कृष्ट रहेको धारणा राख्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि प्रलेख उपाध्यक्ष गोपीरमण उपाध्यायज्यू, विशेष अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । गोपीरमण उपाध्यायले प्रगतिशील लेखक सङ्घमा चर्चा गर्दा साहित्य सन्ध्याको योगदानको प्रसङ्ग उठाइदिनुभएको र हिजो मङ्सिर ३ गते उहाँकै संयोजनमा साहित्य सन्ध्याले विगतदेखि वर्तमानसम्म गरेका योगदानका बारेमा प्राज्ञ विष्णु प्रभातद्वारा चर्चा गराउने कार्य गरिदिनुभएको छ । विगतमा साहित्य सन्ध्या स्खलित भयो भनेर प्रतिभा प्रवाह भन्ने अर्काे समानान्तर गोष्ठी गरिएको रहेछ तर त्यो संस्था अहिले गुमनाम छ, साहित्य सन्ध्या क्रियाशील छ । यो तथ्यले साहित्य सन्ध्या आफ्नो यात्रामा निरन्तर लागिरहेको छ, स्खलित भएको छैन भन्ने पुष्टि गरेको छ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । यी गोष्ठीले नयाँ स्रष्टा जन्माउन र लेखनलार्य परिस्कृत पार्न योगदान गरेका छन् । स्रष्टाले जहिले पनि सत्यको पक्ष लिनुपर्छ र दासत्वको विरोध गर्नुपर्छ, सांस्कृतिक रूपान्तरणविना समाज रूपान्तरण हुनसक्तैन भन्ने मान्यता साहित्य सन्ध्याले राखेको छ । आजको यो गोष्ठीमा निकै राम्रा कविता सुन्न पाइयो । साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरहन्छ । फेरि हामी अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नु हुँदै गोष्ठीको समापन गर्नुभयो ।