साहित्य सन्ध्यामा ‘बौद्ध दर्शन र माक्र्सवाद’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको अझै पनि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४२४ औँ शृङ्खला माघ १ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय बौद्ध दर्शन विभागका प्रमुख उपप्राध्यापक वेदराज ज्ञवाली उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, अतिथिका रूपमा नेपाल राष्ट्र बैङ्ककी पूर्व निर्देशक उमा जोशी बोहरा, युद्धप्रसाद स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेय, डा.राजेन्द्रप्रसाद अधिकारी, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, अग्रज स्रष्टाहरू तारक धिताल, भक्ति घिमिरे ‘दुर्बाेध’, गणेश घिमिरे ‘मार्मिक’, डा.कृष्ण सुवेदी, सूत्र कवि कात्यायन, ललिता दोषी र डम्बर पहाडी ‘एलाक’, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, साहित्यकार पुण्यप्रसाद खरेल, सीताराम पदमकुमारी फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।
साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापन तथा कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि उपप्रा.वेदराज ज्ञवालीले ‘बौद्ध दर्शन र माक्र्सवाद’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२४ औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन गरेको साहित्य सन्ध्यामा धेरै वर्षअगाडि आपूmले पनि सहभागिता जनाएको पुरानो संस्था हो र आजको यो महत्त्वपूर्ण गोष्ठीमा गहन विषयमा आफ्ना धारणा राख्नपाएकोमा आयोजकलाई हार्दिक धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा बुद्ध दर्शन र माक्र्सवादका समानता र असमानताका विषयमा आफ्नो बहसलाई बढी केन्द्रित गर्दछु । समयको सापेक्षतालाई हेर्दा गौतम बुद्ध इशापूर्व ५६३ मा जन्मिए र इशापूर्व ४२३ मा महापरिनिर्माण प्राप्त गरे । अर्थात् ८० वर्ष बाँचे भने कार्ल माक्र्स ५ मई १८१८ मा जर्मनीमा जन्मिएर ६५ वर्ष बाँचे । यस हिसाबले गौतम बुद्ध माक्र्सभन्दा २,३८१ वर्ष पहिलाका हुन् । गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान विचारधाराका हुन् भने माक्र्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् । बुद्धले बुद्धत्व प्राप्त गरेपछि असार पूर्णिमाका दिन सारनाथमा आपूmले प्राप्त गरेको ज्ञान सार्वजनिक गरे र त्यसलाई प्रथम धर्मचक्र प्रवर्तन भनियो । त्यसपछिका ४५ वर्षसम्म उनी आफ्ना तिनै विचारलाई सम्प्रेषण गर्दै लोकहितमा समर्पित भए । त्यसको चार सय वर्षपछि मात्र श्रीलङ्कामा अनिकाल लागेर भिक्षुहरूसमेत भकाभक मर्नलागेपछि धर्म नै नाश होला भनेर त्यहाँका राजाले त्रिपिटकका रूपमा बुद्ध दर्शनलार्ई लिपिबद्ध गरेका हुन् भन्ने मानिन्छ । यति लामो अवधिमा कति परिमार्जन, संशोधन वा थपघट पनि गरियो होला । यता कार्लमाक्र्सले कम्युनिस्ट पार्टीको घोषणापत्रमार्फत भौतिकवादी विचार सम्प्रेषण गरेका छन् । यी दुइटै दार्शनिकले मानवीय र सांस्कृतिक आन्दोलनका माध्यमबाट रूपान्तरणको विचार सम्प्रेषण गरेका छन् । माक्र्सले समानता र न्यायमा आधारित समाजनिर्माणका पक्षमा र बौद्ध दर्शनले मानवकल्याका पक्षमा, बुद्धिवादी चिन्तनका पक्षमा र सामाजिक परिवर्तनका पक्षमा वकालत गरेको पाइन्छ । हाम्रै वरिपरिको यथार्थ परिवेशको ज्ञानले दर्शन निर्माण भइरहेको हुन्छ भन्ने बुद्धको मान्यता रहेको छ र उनले सत्ता, परिवर्तन, कर्म र मुक्तिको चर्चा गर्दै सत्ता भौतिक र चेतनाको सेरोफेरोमा रहन्छ भन्ने मानेका छन् । उपनिषद्ले आत्मालाई अन्तिम सत्य मानेको छ तर बुद्धले अन्तिम सत्य मानेका छैनन् बरु अनात्मवादी दर्शन प्रतिपादन गरेका छन् तर उनी प्रस्टरूपमा भौतिकवादी पनि होइनन्, उनको दृष्टिकोण मध्यमार्गी हो भन्नसकिन्छ । उनले अन्तिम सत्यलाई पञ्चस्कन्दको रूपमा मानेका र अव्याकृत भनेर छाडिदिएका छन् । तत्त्वका बारेमा माक्र्स स्पष्ट छन् र उनले भौतिकवाद नै अन्तिम सत्य हो भनेका छन्, उनले सामाजिक अस्तित्वलाई प्रमुख मानेर भौतिकतालाई स्वीकार गरेका छन् । यसमा एङ्गेल्सले धर्म भनेको भ्रान्ति हो भनेर थप प्रकाश पारेका छन् । कारणबाट उत्पन्न भएर विनाश हुने र नयाँ बन्ने अर्थात् यो संसार अनित्य र परिवर्तनशील छ, एउटै स्थितिमा वस्तुहरू रहँदैनन्, संसार अस्थिर छ, अनित्य छ, परिवर्तनशील छ । दृश्य मानजगत्मा प्राप्त पदार्थहरूका बिचको अन्तरसम्बन्धका आधारमा गति निर्माण हुन्छ भन्ने दुइटै विद्वानका मतमा समानता रहेको पाइन्छ । बुद्धले हामी जे छौँ त्यो कर्मद्वारा निर्धारित हुन्छ, संसारमा विविधता छ, यो संसार कुनै ब्रह्माले बनाएको होइन भन्ने मान्यता राखेका छन् भने माक्र्सले श्रम जीवनको सार हो, उत्पादनको कर्म हो, स्वतन्त्रताको उदय नै कर्म वा श्रमद्वारा हुन्छ भन्ने मान्यता राखेका छन् । बुद्धले वृद्धावस्था, रोग, मृत्युको चिन्ता व्यहोरिरहेको मान्छेको कल्पना गरी भिक्षु बन्ने अठोट गरेका हुन् भन्ने केही विद्वानको मत रहेको छ त्यसैगरी मावली र आफ्नो गाउँका बिचमा पानीको कारणले द्वन्द्व भएको र बुद्धले शान्तिको पक्षमा वकालत गरेका कारण उनलाई किनारा लगाउन खोजिएकाले उनी भिक्षु बनेका हुन् भन्ने पनि केही मत पाइन्छन् । तर बुद्धले मानिसले भोगेका समस्याको समाधान खोज्ने चिन्तन भनेको मुक्ति हो भनेका छन् । उनको कथावस्तु भन्ने एउटा ग्रन्थमा सङ्घमा सम्पत्तिको हक ह्ुनुहुन्न भनिएको छ, वर्णव्यवस्थाको विरोध गरिएको छ, जनतान्त्रिक पद्धतिका पक्षमा वकालत गर्दै बहु जनहितायको पक्षपोषण गरिएको छ । माक्र्सले पनि श्रमको स्वतन्त्रताका पक्षमा वकालत गरेका र मनलाई मात्र होइन संसारलाई बदल्नुपर्ने धारणा राखेका छन् । यसरी हेर्दा माक्र्सभन्दा झन्डै दुई हजार चार सय वर्ष अगाडिका बुद्धमा रूपान्तरणको प्रखर चेतना रहेको देख्नसकिन्छ भन्ने धारणा राख्नुभयो ।
गोष्ठीमा महेशराज खरेल, ललिता दोषी, रामदेव पाण्डेय, खेमराज निरौला, दुर्गा नेपाली, बेनीबहादुर थापा, ओमप्रसाद कोइराला, गोपाल नेपाल, जयन्ती स्पन्दन, भक्ति घिमिरे ‘दुर्बाेध’, विन्दु अधिकारी ढकाल, डा.राजेन्द्रप्रसाद अधिकारी, गणेश घिमिरे ‘मार्मिक’, डा.भीम खतिवडा, तिला लेकाली, तारक धिताल, कात्यायन, अनिता लामा, प्रशान्त खरेल, डा.कृष्ण सुवेदी, वासुदेव अधिकारी, उर्मिला पन्त पाण्डेय, डम्बर पहाडी, ज्ञानु विद्रोही र राम विनयले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।
वाचित सिर्जनामाथि ज्ञानु विद्रोहीले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा सुदूर पूर्वको इलाम, झापादेखि मोरङ हुँदै काठमाडौँसम्मबाट स्रष्टाहरू जोडिएर कवितावाचन गरिएको छ । वाचित तेइसओटा मध्ये पाँचओटा पद्यका र अठारओटा गद्यलयका कविता वाचन भएका छन् । प्राय: कवितामा विषयवस्तुको समानता रहेको छ । विकृत शासनशैलीका विरुद्धका, सामाजिक विभेदविरुद्धका, पर्यावरण तथा विगतप्रतिको सम्मोहनका, सीमान्तकृतका आबाज उठाइएका र इतिहासप्रतिको सम्मान र त्यसैप्रति प्रश्न उठाइएका कविता वाचित भएका छन् । यति हुँदाहुँदै पनि विदेशी साहित्यको तुलनामा हाम्रोमा स्रष्टा र सिर्जनाका प्रतिको आकर्षणमा कमी हुनुको कारण चाहिँ विचार र व्यवहारमा तालमेल नमिलेकोले हो कि भन्ने लाग्छ । छैनभित्रको छ’को खोजी कविको चेतले गर्दछ त्यसैले स्रष्टाले प्रयोग गर्ने विम्ब र प्रतीक समसामयिक हुनुपर्ने र सिर्जनालाई कलात्मक अनि सरल तथा बोधगम्य पार्ने प्रयत्न भने हामी स्रटालाई आवश्यक छ । सिर्जना दैनिक भोगाइसँग सम्बन्धित हुन्छन् र आजका सिर्जना पनि छन् । आजका हरेक कविताले विकृतिका विरुद्धमा खबरदारी गरेका छन् । कविता सुन्दर, राम्रा र उत्कृष्ट रहेका छन् भन्ने धारणा व्यक्त गर्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । अघि प्रा.डा.भीम खतिवडाले भन्नुभएजस्तै ‘साहित्य सन्ध्या कलासँगै विचारको पनि प्रयोगशाला बनोस् भन्ने हाम्रो पनि चाहना हो ।’ साहित्यकारले जहिल्यै पनि सत्य र न्यायको पक्षमा उभिनुपर्दछ । महामारीजन्य प्रकोपको सिकार भएर पनि आजको गोष्ठीमा उपस्थित हुनुहुने अनिता लामा, रामदेव पाण्डेयप्रति हार्दिक आभार व्यक्त गर्दछु । सांस्कृतिक रूपान्तरणविना समाज रूपान्तरण हुनसक्तैन भन्ने मान्यता साहित्य सन्ध्याले राखेको छ । साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरहन्छ र यो अभियानमा निरन्तर जोडिइरहन हामी यहाँहरूलाई पनि अनुरोध गर्दछौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।