साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१३ औँ शृङ्खला पनि फागुन १ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।
साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यले व्यवस्थापन गरिदिनुभएको प्रविधिका माध्यमबाट सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा प्रा.डा.बद्रीविशाल पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, पिण्डेश्वर क्याम्पस धरानका पूर्व क्याम्पस पमुख प्रा.डा.भीम खतिवडा, प्रा.डा.खेमनाथ दाहाल, प्राज्ञ नन्दु उप्रेती, वरिष्ठ कविहरू उमेश उपाध्याय, डा.राजेन्द्रप्रसाद अधिकारी र गोपाल बराल, ऐतिहासिक चलचित्र बलिदानका निर्माता श्याम सापकोटा अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई सिर्जनावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको प्रविधिमैत्री आजको गोष्ठीमा पूर्वको सुनसरीको इटहरी, धरानदेखि मकवानपुर हुँदै काठमाडौँसम्मका स्रष्टाहरूको सहभागिता रह्यो । प्रविधिले धेरै सहयोग नगरेकाले जोडिन सकिएन भन्ने गुनासो पनि आइरह्यो । राजनीतिक माहोल बिग्रिएका कारण पनि र धेरैतिरका गोष्ठी एवम् कार्यक्रमहरूमा स्रष्टा विभाजित हुनुपरेको भन्ने जानकारीका कारणले सहभागिता पहिले जस्तो नभए पनि गोष्ठीमा गायत्री लम्साल, महेशराज खरेल, नन्दु उप्रेती, डा.राजेन्द्र अधिकारी, कात्यायन, उमेश उपाध्याय, मसान उपासक, गोपाल बराल, रश्मी रिमाल, प्रा.डा.खेम दाहाल, गोपाल नेपाल, प्रा.डा.भीम खतिवडा, जयन्ती स्पन्दन, अनिता लामा, श्याम सापकोटा, प्रा.डा.कृष्णप्रसाद घिमिरे, रमेश पोखरेल, राम विनय र प्रा.डा.बद्रीविशाल पोखरेलले आआप्mना समसामयिक कविता, गीत वाचन गर्नुभयो ।
वाचित सिर्जनमाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.बद्रीविशाल पोखरेलले साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा विभिन्न छन्द, लय र बान्कीका कविताहरू सुन्न पाइयो । कवितामा गोठाला, गिद्ध, कुकुर जस्ता विम्बहरूको प्रयोग भएका छन् । कवितामा राष्ट्रियताका सन्दर्भ, राष्ट्रिय राजनीतिका सन्दर्भ, यो देशको गौरवशाली इतिहासका सन्दर्भ र ती सबैको जगेर्नाको आग्रह पनि गरिएको पाइयो । समाजलाई अग्रगामी चिन्तन सम्प्रेषण गर्ने र निराशा हटाउने खालका र प्रगतिशील राष्ट्रवादका पक्षमा दृष्टिकोण सम्प्रेषण गर्ने प्रयत्न आजका कविताले गरेका छन् र यो आजको प्रमुख आवश्यकता पनि हो । हिजोको शासनव्यवस्था र आजको शासनव्यवस्थालाई तुलनात्मक अध्ययन गर्ने र राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने हिसाबले सकारात्मक चिन्तन सम्प्रेषण गर्ने दायित्व स्रष्टाको हो । स्रष्टा विचारबाट प्रभावित हुन्छ नै । साहित्य र संस्कृतिका माध्यमबाट अत्यन्त सूक्ष्म ढङ्गले वैचारिकता सम्प्रेषण गर्दै संवेदनशील भूराजनीतियुक्त यो मुलुकलाई शक्तिराष्ट्रहरूले क्रिडास्थल बनाउन खोजेको गम्भीरतालाई समेत मध्यनजर राखी धरापमा पर्दै गएको राष्ट्रियताको जगेर्ना गर्नेसमेतको उद्देश्यका साथ समग्र अन्तर्य बुझेर स्रष्टाले आफ्ना सिर्जनामा प्रहारको निशाना सोझ्याउनुपर्ने आजको आवश्यकता हो । राम्रा कुराको समर्थन, नराम्रा कुराको विरोध र सुधारको सन्देश सिर्जनाको उद्देश्य हुनु आवश्यक छ । नाकाबन्दीका समयमा, नक्सा जारी गर्दाका समयमा सम्पूर्ण स्रष्टा तथा नेपाली जनता एक ढिक्का भए जस्तै मुलुकको रक्षाका सन्दर्भमा पनि स्रष्टाले एक ढिक्का भएर सिर्जना गर्नुपर्दछ । स्वस्थ आलोचना अत्यन्तै आवश्यक छ तर आलोचनाका नाममा गालीगलोज मात्र चाहिँ हुनुहुँदैन भन्ने कुरामा स्रष्टा सदैव सचेत र सावधान हुनु आवश्यक छ । आज वाचित प्रायः सबै कविता शिल्पविधानका कोणबाट उत्कृष्ट छन् तथापि परिष्कार र परिमार्जन सदैव आवश्यक रहिरहन्छ । निरन्तरको साधनाका माध्यमबाट स्रष्टाले आपूmलाई वा आफ्ना सिर्जनालाई अब्बल पार्नुपर्दछ । साहित्य सन्ध्याको आजको यो समारोह गुणात्मक रहेको छ । पूर्वको सुनसरीको इटहरीमा बस्ने मलाई पनि साहित्य सन्ध्याले सम्झेर आजका कविता सुन्ने र आफ्ना विचार राख्ने अवसर दिएकोमा गौरवानुभूति भइरहेको छ भन्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री गोष्ठीमा पूर्वको इटहरी, धरानदेखि हेटौँडा हुँदै काठमाडौँसम्मका स्रष्टाहरूको सहभागिता रहेको छ । साहित्य सन्ध्याको प्रविधिमैत्री गोष्ठीको निरन्तरताका कारण देशैभरिबाट प्रमुख अतिथिलगायत स्रष्टाहरूलाई जुटाउन सकिरहिएको छ । प्रविधिका माध्यमबाट जोडिनुपर्ने हुँदा उपस्थिति कहिले पर्याप्त र कहिले ठिक्कको हुने गरेको भए पनि गुणात्मक रहने गरेको छ । सन्ध्याका कार्यक्रमलाई सशरीर उपत्यकाबाहिर पनि लैजानुपर्छ भन्ने सुझाव पनि हामीलाई प्राप्त भइरहेको छ । साहित्य सन्ध्याको वार्षिक कार्यक्रम तथा पुरस्कार एवम् सम्मान अर्पण समारोह सम्पन्न गर्न पनि बाँकी नै छ । आजको यो विशेष समारोहमा पनि स्रष्टाहरूले आआफ्ना सुन्दर कविता, गीत वाचन गर्नुभएको छ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिन चाहन्छु । केही स्रष्टाहरूले प्रविधिले साथ नदिएका कारण जोडिन नसकिएको गुनासो गर्नुभएको छ, अर्काे समारोहमा भेट हुने नै छ । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट समग्र समसामयिक विषयमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर आजको गोष्ठीले हामीलाई प्रदान गरेको छ । हामी हाम्रा सिर्जनाका माध्यमबाट सशक्त आबाज सम्प्रेषण गरिरहने छौँ । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नु हुँदै समारोहको समापन गर्नुभयो ।