साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४०९ औँ शृङ्खला असोज ३ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।
वरिष्ठ कवि एवम् साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याकी सदस्य जयन्ती स्पन्दनले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा विद्वान साहित्यकार प्रा.बालकृष्ण भट्टराई भैरहवाबाट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, धरानका साहित्यकार प्रा.डा.भीम खतिवडा, प्राज्ञ नन्दु उप्रेती, प्रलेस कोषाध्यक्ष डा.ध्रुव घिमिरे, अरुणिमा फाउन्डेसनका प्राचार्य ईश्वरीप्रसाद लामिछाने, अग्रज स्रष्टा गोपाल बराल, साहित्यकार खेम नेपाली, अग्रज साहित्यकारहरू प्रा.डा.खेम दाहाल, सीताराम नेपाल र डा.बालचन्द्र मिश्र, साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र विधान आचार्य, बलिदान चलचित्रका निर्माता श्याम सापकोटा, ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेय अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई कवितावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको गोष्ठीमा गोष्ठीका आचरसंहिताका बारेमा विधान आचार्यले प्रारम्भमै जानकारी गराउनुभएको थियो । गोष्ठीमा इलामदेखि नेपालगन्जसम्मका कविहरूको उपस्थिति रहेको थियो । जसअनुसार बालकवि अनुश्री आचार्यको छन्द कवितावाचनबाट प्रारम्भ गरिएको गोष्ठीमा गोमा कटुवाल, गणेश मार्मिक, नन्दु उप्रेती, प्रा.डा.भीम खतिवडा, प्रकाश सिलवाल, यादव भट्टराई, रामदेव पाण्डेय, भारती न्यौपाने दाहाल, रूपक अलङ्कार, सरस्वती चिमोरिया, ललिता दोषी, सीताराम नेपाल, गोपाल बराल, गीता सापकोटा, डा.बालचन्द्र मिश्र, प्रा.डा.जीवेन्द्र देव गिरी, श्याम सापकोटा, खेम नेपाली, अस्मिता गिरी, डा.खेम दाहाल, डा.भागवत आचार्य, वासुदेव अधिकारी, गोपालकुमार मैनाली, डा.ध्रुव घिमिरे, रमेश पोखरेल, राम विनय, जयन्ती स्पन्दन र प्रा.बालकृष्ण भट्टराईले आआप्mना समसामयिक कविता, गीत, गजल वाचन गर्नुभयो ।
वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि प्रा.बालकृष्ण भट्टरार्ईले साहित्य सन्ध्याको आजको यो विशेष गोष्ठीमा अठ्ठाइसओटा कविता, गीत, गजल सुन्ने अवसर प्राप्त भयो । प्रविधिमैत्री यो महत्त्वपूर्ण गोष्ठीमा बालकविताबाट सकारात्मक सन्देश सम्प्रेषण भयो भने कोरोनाको प्रकोप झेल्दै क्वारेन्टाइनमा बस्नुपरेको पीडा र सँगसँगै यसले स्वावलम्बी बनाएको ऊर्जा र उत्साह पनि कवितामा आयो, संविधान दिवस पनि परेकाले र संविधान उत्कृष्ट बनेको भए पनि नेतृत्व कुशल बन्ननसकेको प्रति सावधानीको अपेक्षा गरिएका, मातृत्व अपहेलित हुनुको पीडा र आक्रोश अभिव्यक्त गरिएका कविता आए, व्यङ्ग्य र व्यञ्जनासहित काँठे भाकामा शासकीय विकृतिका प्रति निकै कडा प्रहार गरिएको वर्तमान समयको जीवन्त चित्रणसहितको सुन्दर सिर्जना पनि आयो, चेलीका पीडाका विलौना र अधिकारको रक्षाको आग्रहका कविता पनि आए; उत्साह, आत्मविश्वास र दृढताका अभिव्यक्तिका रूपमा पनि कविता आए, समसामयिक राजनीतिक अवस्थाका प्रति व्यङ्ग्य गर्दै कोरोना र बाढीले मुलुक र जनता आक्रान्त हुँदा पनि भ्रष्टाचार ठसठसी गनाइरहेको अवस्थाका प्रतिको आक्रोश पनि कवितामा अभिव्यक्त भएको, मान्छेका आँसुको अवमूल्यन भइरहेको प्रति आक्रोश व्यक्त भएको, संविधानप्रदत्त हकअधिकारको प्राप्तिको अपेक्षा र देखिएका विकृतिका प्रतिको आक्रोश पनि कवितामा अभिव्यक्त भएको, पितृको सम्मानको संस्कारको अपेक्षा र रुढि एवम् अन्धविश्वास त्याग्नुपर्ने आग्रह पनि सुन्दरढङ्गले अभिव्यक्त भएको, सामाजिक विकृतिको विरोध गरिएको सुन्दर गजल वाचन भएको, सहरलाई विम्ब बनाएर दुःखी र गरिबका पीडाको सम्बोधन नगरिएको अवस्थाका प्रतिको चिन्ता कवितामा अभिव्यक्त भएको, संविधानको सम्मान गर्दै सत्कर्म गर्न सत्तासँग आग्रह गरिएको, मानवता हराएको प्रति कवितामा चिन्ता व्यक्त गरिएको, माटोको माया अनि राष्ट्रियताको र वीरताको भावना कवितामा समेटिएको, लोकतन्त्रमा जनअपेक्षाको ख्याल गरिनुपर्ने र व्यक्तिवादको अन्त्य हुनुपर्ने भावसहित सुन्दर गीत प्रस्तुत गरिएको, जनताका र हिजो देखाइएका सपना पूरा नभएकाले सत्ताले परिमार्जित भएर शासन गर्नुपर्ने आग्रह कवितामा गरिएको, संविधान निर्माणका वेला र जारी भएपछिका जनअपेक्षा पूरा हुननसकेको अवस्थाका प्रति गुनासो गरिएको, प्रकृतिको संरक्षण गरिनुपर्दछ दोहन मात्र होइन भन्ने भावना कवितामा समेटिएको, मृत्युको विरोध र जीवनको आह्वान कवितामा गरिएको, सुन्दर र आशावादी बालकविता वाचन गरिएको, सन्ध्याको इतिहास उजागर गर्दै जनअपेक्षा ठुकरिएको अवस्थाका प्रति आक्रोशको ध्वन्यार्थ सम्प्रेषण गरिएको, माटो र बाटोको महत्तागान गाउँदै सत्मार्ग निर्माणको आग्रह गरिएको, वर्गसङ्घर्षको आवश्यकताको आह्वान गरिएको अनि संविधानको सम्मान गर्नुपर्ने आग्रह गरिएका कविता वाचन गरिए । सबै कविताले विकृति, विसङ्गतिको विरोध गर्दै प्रगतिका, रूपान्तरणका स्वर उरालेका हुँदा गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नुभयो ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री पाँचौँ गोष्ठीमा पूर्वको झापादेखि, विराटनगर हुँदै सुर्खेतसम्मका स्रष्टाहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । प्रविधिको प्रयोग र व्यवस्थापनमा साहित्य सन्ध्याका सल्लाहकार एवम् वरिष्ठ कवि विधान आचार्यको सहयोग महत्त्वपूर्ण रहेको छ । आजको विशेष गोष्ठीमा ३४ जनाको प्रत्यक्ष सहभागिता रहे पनि २९ जनाले कविता, गीत, गजल वाचन गर्नुभएको छ । प्रविधिले साथ नदिँदा केही स्रष्टाले सिर्जनावाचन गर्नसक्नुभएन, अर्काेपटक हामी अवश्यै सुन्ने छौँ । हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रविधिसँग जोडिएर सहभागी भइदिनुहुने र सिर्जना वाचन गरी खबरदारी गर्नुहुने सबै स्रष्टामा हार्दिक धन्यवाद दिनचाहन्छु । आजको यस शृङ्खलामा प्रमुख अतिथिको रूपमा भैरहवाबाट जोडिएर वाचित सिर्जनामाथि मसिनोगरी टिप्पणीसमेत गरिदिनुहुने प्रा.बालकृष्ण भट्टराईज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट समग्र समसामयिक विषयमा सशक्त आबाज उठाउनु हाम्रो दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर आजको गोष्ठीले हामीलाई प्रदान गरेको छ । आज उपस्थित प्रमुख अतिथि, सबै अतिथि, स्रष्टा र उहाँहरूका सिर्जनाका लागि हार्दिक धन्यवाद दिन्छु । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।