साहित्य सन्ध्यामा ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको नियमित मासिक ४०१ औँ शृङ्खला मङ्सिर ७ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयक अत्यन्त महत्त्वपूर्ण एवम् समसामयिक अन्तरक्रिया गरिनुका साथै सीमा अतिक्रमणसम्बन्धी रचना वाचन गरी सम्पन्न भयो ।


वरिष्ठ पत्रकार एवम् अहिले भारतले अतिक्रमण गरेको हाम्रो भूमि लिम्पियाधुरामा २०१८ सालमा जनगणना गर्ने जीवित इतिहास भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा साहित्यकार प्रा.डा.खेम दाहाल, साहित्यकार नर्मदेश्वरी सत्याल, प्राज्ञ नन्दु उप्रेती, साहित्यकार तथा सङ्गीतकार डम्बर पहाडी, वरिष्ठ कवि विधान आचार्य, अग्रज स्रष्टाहरू राममणि ढुङ्गेल र सुनिल पौड्याल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा प्रमुख अतिथि ९२ वर्षीय भैरव रिसालले ‘सीमा अतिक्रमण, सीमासुरक्षा र हाम्रो दायित्व’ विषयमा विशदरूपमा प्रकाश पार्नुहुँदै म सामान्य मान्छे हुँ, मेरो अतिमूल्याङ्कन नहोस् । मेरी आमा विरामी हुँदा अस्पताल नलगेर आर्यघाट लगेछन् ! पाठशाला खोल्दा पनि जेल जानुपर्ने समयमा जन्मेर हुर्केको मान्छे हुँ म । वि.सं.२०१८ सालमा जोनल अफिसर (अहिलेको जनगणना अधिकृत) भएर सुदूर पश्चिममा म गएको थिएँ । त्यो क्षेत्र शिक्षामा पछाडि परेको, राजाको भ्रमण हुँदा बाटोघाटो नभएर घोडामा जानुपर्ने र राजाले टेकेको पाइलाको माटो मान्छेले निधारमा लगाएको मैले देखेको हुँ ! त्यहाँ पुग्न भारत भएर जानुपर्ने अवस्था थियो । त्यहाँ पुग्नका लागि रातभरि बाघको डरले धुनी जगाएर जङ्गलमै वास पनि बसियो । त्यहाँका जनताहरू त्यो वेला भ्रमणमा गएका राजासँग विद्यालय, अस्पताल, बाटोघाटो, पुल वा अन्य विकास नमागेर हुलाक स्थापना गरिदिन अनुरोध गर्थे ! बाहिर गएका आफन्तले लेखेको चिठी पाउनका लागि पो रहेछ ! त्यस वेला पहिलो विश्वयुद्धमा गएका नेपालीहरूले मासिक पन्द्र रुपैयाँका दरले तलब पाउँदा पनि नेपालमा तेर करोड भित्रिएको थियो रे ! तर त्यो रकमले उद्योगव्यवसाय गर्नभन्दा पनि उनीहरूलाई तास खेल्न, चुरोट खान सिकाइएको हुन्थ्यो !
म हाकिम भएर गएको त्यो ठाउँमा मसँग ८ जना खरिदार गएका थिए । ती सबै मरिसके । त्यहाँ गएपछि खरिदारले मुखिया नियक्त गथ्र्याे र मुखियाले गणक नियुक्त गथ्र्याे र तिनै गणकले लिम्पियाधुराको जनगणना गरेर ल्याएका हुन् र मैले प्रतिवेदन बुझाएको हुँ । त्यो सिङ्गो क्षेत्र लिम्पियाधुरा हो; कालापानी, लिपुलेक भनेका लिम्पियाधुराअन्तर्गतकै अलग अलग टुक्रा हुन् । त्यो वेलाको जनगणनामा त्यस्तै ३०० घर र करिब १,५०० मानिस बसेको जनगणना हामीले गरेका र सरकारलाई बुझाएको थिएँ तर त्यो अभिलेख अहिले सुरक्षित प्राप्त भइरहेको छैन ! अति विकट र चिसो भएका कारण कालापानीमा वस्ती बस्नसक्तैन । सुगौली सन्धीले कालीपारि नेपालले दावी गर्दैन भनेको छ तर हामीले कालीवारिकै भूमि पनि लिनसकेका छैनौँ ! राज्यले सुविधा दिएका कारण कालापानीमा भरातीय बस्नसकेका छन्, भारतले त्यहाँ दुई रुपैयाँ किलो चामल र तीन रुपैयाँ किलो चिनी उपलब्ध गराएको छ तर हाम्रो सरकारले त्यहाँ पुग्ने गोरेटो बाटो पनि बनाएको छैन, मानववस्तीका लागि आधारभूत संरचनासमेत बनाउनसकेको छैन ! यो पक्षमा ध्यान दिएको भए भारतीय सुरक्षाकर्मी बस्नसक्दा हाम्रा पनि त बस्थे नि । त्यो क्षेत्रबाट बहादुरसिँह अइतवाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएर आएपछि उनले विकासका लागि आबाज उठाए । धेरै पछि माननीय प्रेमसिंह धामीले पनि आबाज उठाए तर पनि राज्यले बेवास्ता गर्यो ! मैले जनगणना गरेको समयमा नेपालमा ३५ जिल्ला थिए, हिन्दुस्थानमा कम्पनी सरकार थियो । सुगौली सन्धिपछि लिम्पियाधुरा क्षेत्रका वासिन्दाले जमिनको तिरो नेपाल सरकारलाई नै बुझाएको प्रमाण हामीसँग छ । सैँतिस वर्षअगाडि ‘उच्चस्तरीय प्राविधकस्तरीय सीमा समिति’ बनेको हो तर त्यसले विवाद टुङ्ग्याउने प्रयत्न गरेको भए पनि सम्भव भएन । अहिले काली नदी कुन हो भन्नेमा नै भारतले विवाद गरिरहेको छ ! त्यो वेलामा सुगौली सन्धीमा काली नदीको उत्पत्तिस्थल उल्लेख गरिदिएको भए अहिले समस्या हुने थिएन । पानी धेरै भएको, लामो बहाव, जलाधार क्षेत्र बढी हुनुले नदीको अर्थ बुझाउँदो रहेछ । काली (कुटियानी) लिम्पियाबाट बगेको हो भन्ने यथार्थलाई भारतले नस्विकारेर अर्काे कृत्रिम लिपुखोला तयार पारी अहिले विवाद खडा गरेको छ, बदमासी गरेको छ ! केही केही नेपालीलाई सुगौली सन्धीताकादेखि नै भारतले खरिद गर्ने गरेको पनि हामीले पाएका छौँ !


अब हाम्रो स्पष्ट सीमासहितको नक्सा हामीले दिनुपर्दछ र आधारप्रमाणका माध्यमबाट बलियो दबाब दिएर हाम्रो जमिन फिर्ता गर्नुपर्छ । हामी स्रष्टाले पनि सिर्जनाका माध्यमबाट कडा दबाब दिनुपर्छ । हाम्रा पितापुर्खाले बहादुरी देखाएर जोगाएको मुलुकको माटो सबैले मिलेर जोगाउनुपर्छ । बेसर्मी छिमेकीसँग सचेत हुनुपर्ने गम्भीर वेला आएको छ । हामी सार्वभौमसत्तासम्पन्न मुलुक हौँ । संयुक्त राष्ट्रसङ्घमा भारत र हाम्रो समान हैसियत छ त्यसैले हामीले हेपाइ सहने होइन अन्तर्राष्ट्रिय अदालतसमम्म पनि पुग्नुपर्छ । मुलुकमा अहिले सबैको एकता छ र अनुकूल अवस्था पनि सिर्जना भएको छ, जनता जागृत भएका छन् । यो अवसरको सदुपयोग गर्दै हामीले हाम्रो भूमिको रक्षा गर्नुपर्दछ भन्नुभयो ।


गोष्ठीमा डम्बर पहाडी, मुकुन्द न्यौपाने, भोलानाथ सुवेदी, रमेश पोखरेल, प्रमोद स्नेही, नेत्रप्रसाद गौतम, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, प्रशान्त खरेल, राम विनय, दुर्गा रिमाल, रामचन्द्र दाहाल, अनिता लामा, भावना न्यौपाने, ललिता दोषी, नन्दु उप्रेती, डा.गोविन्दप्रसाद आचार्य, बेनीबहादुर थापा, अच्युत घिमिरे, विधान आचार्य, सरस्वती चिमौरिया, यदुनाथ वसन्तपुरे, चूडा निर्भीक, राममणि ढुङ्गेल, प्रा.डा.खेम दाहाल, नारायणप्रसाद निरौला, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, मिसन अधिकारी, सन्तोष सिंखडा र सुनिल पौड्यालले आआफ्ना कविता, गीत, गजल, हाइकु वाचन गर्नुभएको थियो ।


सभाध्यक्ष राम विनयले आजको यो विशेष समारोह ४०१ औँ नियमित शृङ्खला हो । आजको यो समारोहमा हाम्रो मुलुुकले अहिले छिमेकीबाट सीमा अतिक्रमणको पीडा भोगिरहेको छ त्यसैले यसै गम्भीर विषयमा जीवित इतिहास भैरव रिसालज्यूबाट तथ्यगत जानकारी प्राप्त गर्यौँ र अबको हाम्रो दायित्वका बारेमा समेत उहाँले विशदरूपमा चचाृ गरिदिनुभयो । ३१ जना स्रष्टाले आआफना रचना वाचन गर्नुभयो । सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । निमन्त्रणा स्वीकार गरी आइदिने सबैप्रति हामी आभारी छौँ । फेरि अर्को शृङ्खलामा कुनै विशेष विषयमा बहस गर्नेगरी उपस्थित हुने छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।