साहित्य सन्ध्यामा ‘हाम्रा चाडपर्वहरू, तिनको वैज्ञानिक आधार र महत्त्व’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४२१ औँ शृङ्खला कार्तिक ६ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, अतिथिका रूपमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.नारायणप्रसाद चौलागाईँ, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ नन्दु उप्रेती, साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र विधान आचार्य, वरिष्ठ कविहरू गायत्री चापागाईँ, उमेश उपाध्याय, डा.कृष्ण सुवेदी, डम्बर पहाडी ‘एलाक’, डा.हिरण्य ज्ञवाली, डा.राजेन्द्रप्रसाद अधिकारी, वरिष्ठ सङ्गीतकार एवम् गायक माधव प्रधान, वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल उपस्थित हुनुहुन्थ्यो ।
साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापन तथा सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि उपकुलपति डा.जगमान गुरुङले ‘हाम्रा चाडपर्वहरू, तिनको वैज्ञानिक आधार र महत्त्व’ विषयमा विशद चर्चा गर्नुहुँदै हाम्रा चाडपर्वहरू वैशाखदेखि सुरु हुन्छन्, भारतीय विक्रमादित्यले चलाएको भनिए पनि यसको प्रारम्भ सूर्यमासको आधारमा भएको छ, सूर्यको उपासनाका माध्यमबाट भएको छ । वैशाखको प्रारम्भमा सूर्य उत्तरी गोलार्धमा रहने र यो समयमा अत्यन्तै प्राचीनतम् बिस्केटजात्रा मनाइँने, घोडेजात्रा मनाइँने गरिन्छ भने यही समयमा एक नम्बर प्रदेशमा विशु पर्व मनाइन्छ, वैशाखमै चण्डी पूर्णिमा, बुद्ध जयन्ती, मातातीर्थ औँसीजस्ता पर्व पर्दछन् र यी पर्वहरू विभिन्न जातजाति तथा सम्प्रदायले मनाउँछन् । त्यसैले समग्र नेपालीलाई समन्वय गर्ने कार्य गरिरहेका हुन्छन् । त्यसैगरी जेठमा नेवारको सिठी नःख (देवाली पूजा), दशहरा, वनको संरक्षण गर्ने पर्व पर्दछन् भने असारमा गुरु पूर्णिमा मनाइन्छ । साउने संक्रान्तिमा लुतोफाल्ने संस्कार मनाइन्छ । उता नेवारहरूले त्यस्तै प्रकृतिको गठेमङ्गल पर्व मनाउँछन्, क्वाँटी खाने र सर्दी भगाउने वैज्ञानिक मान्यता छ, त्यही परम्परालाई पश्चिममा विरुडा खाने भनिन्छ । यसरी उस्तै खालका पर्वले विभिन्न जातजातिका बिचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । गाईजात्रा, इन्द्रजात्रा (देवराज इन्द्रलाई पनि चोरदोष लगाएर बाँधेको)जस्ता पर्व मनाइन्छ । कुसेऔँसी, सोरश्राद्ध, मोतीजयन्ती हामी मनाउँछौँ । कुसको आसनमा बसियो भने खराब मनोवृत्ति हटाउँछ, करेन्ट प्रवाहलाई रोक्छ भनिएको छ । दसैँका बारेमा अनावश्यक विवाद गरिरहेको पनि देखिन्छ तर दसैँ भनेको शक्तिको उपासना हो जुन सबैले गरेकै हुन्छन् । जस्तै –पूर्वको छिन्ताङ भगवती, पाथीभरा देवी शक्तिपीठ हुन् र यहाँ बारै महिना सबै सबै जातजातिले उपासना गरिन्छ । पाथीभरामा विद्युतको ट्रान्स्फरमर राख्नखोज्दा सम्भव हुँदैन, शक्तिले छेक्छ, गडीमाईमा थारु पुजारी छन्, मनकामनामा मगर पुजारी छन्, देउतीबज्यैमा राजी पुजारी छन् । यस्ता शक्तिहरूको उपासना सबै सम्प्रदायले गरिरहेको पाइन्छ । शक्तिको उपासना कोही कसैको निजी कुरा हुँदै होइन । शरद ऋतुमा आकाश खुला हुन्छ भनेर शरदचन्द्रको पूजा गर्ने चलन छ । धान्य पूर्णिमा, उँधौली पूर्णिमा, यमोरी पूर्णिमाजस्ता पर्वहरू विभिन्न जात तथा सम्प्रदायले प्रकृतिसँग जोडेर पूजा गर्ने, उपासना गर्ने प्रचलन छ । पुस १५ देखि लामा रात हुने र सूर्य उत्तरायण हुने विज्ञानसम्मत परम्परा छ । ल्होसार, माघे संक्रान्तिजस्ता पर्वहरू हामी सबैले र जात विशेषले खास पर्वका रूपमा मनाउने चलन छ । तीजको व्रतलाई पनि आयु र आरोग्यसँग जोडेर पश्चिममा गौरा, मिथिलामा मधुश्रावणीका रूपमा मनाउने चलन छ । तिहारमा पनि किजा पूजा, म्ह पूजा गर्ने, विवाह परम्परा हाडनातामा नहोस् भनेर दिदीभाइको सुमधुर सम्बन्ध विकास गर्ने परम्पराका रूपमा स्थापित छ । त्यसैले हाम्रो देशमा वैशाखदेखि चैत्रसम्म विभिन्न चाडपर्वहरू मनाइन्छ र यिनमा वैज्ञानिक आधार छन् र सँगसँगै हाम्रा संस्कृतिका रूपमा विकसित भएर प्रचलन बनिसकेका छन्, हाम्रा जीवनसँग यी चाडपर्वहरू जोडिएका छन्, यिनले हामी नेपालीका बिचमा एकता, सद्भाव, मित्रता र हार्दिकता कायम राख्ने, बढाउने काम गरेका छन् भन्नुभयो ।
गोष्ठीमा महेशराज खरेल, ज्ञानेन्द्र ढुङ्गाना, गायत्री चापागाईँ, माधव प्रधान, भगतदास श्रेष्ठ, देवकी आचार्य, गायत्री लम्साल, डम्बर पहाडी एलाक, उमेश उपाध्याय, चूडा निर्भीक, रमेश गौतम पाल्पाली, उर्मिला पन्त पाण्डेय, कात्यायन, शान्ता शर्मा, ललिता दोषी, डा.फणीन्द्रराज निरौला, पुण्यप्रसाद खरेल, विधान आचार्य, नन्दु उप्रेती, तारक धिताल, डा.राजेन्द्रप्रसाद अधिकारी, प्रा.डा.जीवेन्द्र देव गिरी, गोपाल बराल र डा.सावित्री श्रेष्ठले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गर्नु÷गाउनुभएको थियो ।
वाचित सिर्जनामाथि प्राज्ञ विष्णु प्रभातले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा ‘हाम्रा चाडपर्वहरू, तिनको वैज्ञानिक आधार र महत्त्व’जस्तो अत्यन्तै सान्दर्भिक विषयमा विशेषज्ञ व्यक्तित्वबाट ज्यादै प्रभावपरक परिचर्चा सम्पन्न भयो । आज वाचित अधिकांश कविताको वाचनशैली उत्कृष्ट रहेको छ भने केही कवितामा चाहिँ वाचनशैलीमा परिष्कार आवश्यक रहेको देखियो । आजका कविताले समसायिकताभित्र देशभक्ति, राष्ट्रियता, श्रमको सम्मान, पौरखी नेपालीको गायन, विकृत कुरूपताको विरोध, हिंसासंस्कृतिको विरोध र अहिंसाका पक्षमा वकालत, आधुनिकताले मौलिकतालाई थिचेको प्रतिको चिन्ता, निष्ठा र प्रतिबद्धताका पक्षमा उद्घोष गरेका छन् । आजका अधिकांश कवितामा कला र विचारको संयोजन रहेको देखिएको हुँदा साहित्य सन्ध्याको आजको यो गोष्ठी निकै उपलब्धिमूलक रहेको धारणा राख्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि उपकुलपति डा.जगमान गुरुङज्यू, विशेष अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याले भदौको विशेष समारोहमा २०७७ सालको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित डा.शेषराज आचार्यको कोरोनाका कारण दुखद निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । नियमित कार्ययोजनामा कार्तिक महिनामा सन्ध्याले गोष्ठी नगर्ने गरेकोमा यो वर्ष प्रविधिमैत्री गोष्ठी हुने भएको र कलेजको सभाकक्ष आवश्यक नपर्ने भएकाले छोटो तयारीमा यो गोष्ठी सम्पन्न गर्न सकियो र आज महिनैपिच्छे मनाइँने हाम्रा चाडपर्व र यिनको औचित्यका बारेमा विशेषज्ञ व्यक्तित्वबाट गहन परिचर्चा भएर लाभ प्राप्त गर्न सकियो । राम्रा कविता सुन्न पाइयो । साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरहन्छ । फेरि हामी अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नु हुँदै गोष्ठीको समापन गर्नुभयो ।