२०८२ चैत्र ७ गते शनिबार अपराह्न १ बजे प्रकृतिको प्रतिकूलताका कारण गुगल मिटका माध्यमबाट प्रविधिमैत्री माध्यमबाट साहित्य सन्ध्याको नियमित मासिक ४७३ औँ शृङ्खलामा ‘जीवनशैली र मानवस्वास्थ्य’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा विशेष अतिथिका रूपमा प्रा.श्रीराम पाण्डे उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा सन्ध्याका सल्लाहकार विधान आचार्य, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्याल, ज्ञानु विद्रोही, डा.भागवत आचार्य, डम्बर पहाडी एलाक, कृष्ण बाउसे, बेनीबहादुर थापा, महेशराज खरेल, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, जयन्ती स्पन्दन, गोपाल नेपाललगायतको उपस्थिति रहेको थियो ।
विशेष अतिथि प्रा.श्रीराम पाण्डेले ‘जीवनशैली र मानवस्वास्थ्य’ विषयमा विशद चर्चा गर्नुुहुँदै अहिलेको समयमा हरेक मानिसको मानसिक गतिविधि बढेको तर शारीरिक गतिविधि घटेको पाइन्छ; जसका कारणले नसर्ने खालका रोगको बढोत्तरी भइरहेको छ र यो जीवनशैलीको समस्या हो । हाम्रा आहार, व्यायाम र व्यवहार फेरिएका छन् । वास्तवमा जीवनशैली भनेको चिकित्सा हो, थेरापी हो । औषधिले देखिएको समस्यालाई तत्कालका लागि दबाउने मात्र काम गर्दछ त्यसैले समस्याको स्थायी समाधानका लागि जीवनशैलीमा सुधार आवश्यक छ । शाकाहारी भोजन, ताजा र प्राकृतिक खानेकुराको प्रयोग अनि प्रशोधित खानाको निषेध नै स्वस्थकर जीवनको मूल आधार हो । धेरै नुन, तेल, मसला आदिको प्रयोग अस्वस्थकर हुन्छ तर स्थानीय तथा मौसमी तरकारी तथा फलपूmलको प्रयोग र तनाबव्यवस्थापनले मानव स्वास्थ्यलाई अनुकूल पार्दै लान्छ । शरीरको आफ्नो भाषा हुन्छ र त्यसले सङ्केत गर्दछ, त्यसलाई सुन्नुपर्छ । तनाब मनसँग सम्बन्धित हुन्छ र यसले निद्रामा, सामाजिक स्वास्थ्यमा, दैनिक कार्यसम्पादनमा प्रभाव पार्दछ । घरायसी कार्यक्षेत्रको तनाब पनि मनले उत्पन्न गर्दछ । शरीरको तनाब व्यवस्थापनमा अहङ्कारको त्याग आवश्यक हुन्छ, स्रष्टाले गर्ने सिर्जनाका माध्यमबाट मनको तनाब उजागर गर्ने कार्य हुन्छ, असल साथीसङ्गातीको सङ्गत र स्वस्थ परिचर्चा, व्यायाम पनि तनाबव्यवस्थापनका लागि आवश्यक हुन्छ । योगले शरीरको ढाँचा नर्माणदेखि मानसिक स्वास्थ्यसम्म सहयोग पुर्याउँछ । सबैले आआफ्ना गुण र धर्म खोज्छन् त्यसरी नै हाम्रो शरीरले पनि त्यही खोज्छ । प्रकृति नै उपचार हो । परोपकार, प्रेम, करुणा, सिर्जना, आनन्द आदि सबै कुराले मानसिक तनाब न्यूनीकरण गरिरहेका हुन्छन् । योगले सात्विक आहार सेवन गर्ने कुरामा जोड दिन्छ र हृदयचक्र खुम्चिने भौतिक लिप्सा बढ्ने अवस्थालाई सन्तुलनमा राख्ने काम गर्दछ । मानवमनको अध्ययन पनि आवश्यक छ । चित्त भनेको एउटा पोखरी हो भने त्यहाँ उत्पन्न हुने लहर चाहिँ मन हो तर मबाट जब मेरो भन्नथालिन्छ तब अहङ्कार पैदा हुन्छ । अमेरिकाका विख्यात मुटुरोग विशेषज्ञ डिन अलिस्टले पनि योग, प्राकृतिक खानपान र जीवनशैलीका माध्यमबाट मानवको मुटु जोगाउन सकिन्छ, जीवन जोगाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयन नै गरेका छन् भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा महेशराज खरेल, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, गोपाल नेपाल, डा.भागवत आचार्य, डम्बर पहाडी एलाक, प्रशान्त खरेल, कृष्ण बाउसे, विधान आचार्य, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, बेनीबहादुर थापा, प्रा.श्रीराम पाण्डे, राम विनय, कुमार नेपाललगायतले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि समीक्षा गर्नुहुँदै उपप्रा.ज्ञानु विद्रोहीले लामो इतिहास बनाएको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा परिचर्चा गरिएको विषय र सुनाइएका कविता समसामयिक रहेका छन् । विश्वका सन्दर्भमा २७ औँ अन्तर्राष्ट्रिय कविता दिवस र हाम्रो सन्दर्भमा २५ औँ अन्तर्राष्ट्रिय कविता दिवस हो आजको दिन । आज वाचित प्रायः कविता आजको विषय र आत्मसमीक्षासँग सम्बन्धित छन् । केही कविता अहिले भरखरै सम्पन्न भएको निर्वाचनका प्रति विभिन्न विम्बको प्रयोगका माध्यमबाट व्यङ्ग्य गर्ने र आशावादी भाव सम्प्रेषण गर्ने खालका रहेका छन् । स्रष्टाका सिर्जनामा पाइन लाउनुपर्ने वा धारिलोपन ल्याउनुपर्ने आग्रह कवितामा गरिएको छ । समाज र राजनीतिक परिवृत्त कवितामा उजागर गर्दै नयाँमा के छ ? भन्ने प्रश्नसहित पुरानै धुवाँ फाल्ने वाहन, आपूmलाई नचिन्ने र अरूलाई महान् ठान्ने प्रवृत्तिका प्रति गहन व्यङ्ग्यसमेत गरिएको छ । पहिचानको त्यसमा पनि नारीको बहुआयामिक पहिचानको खोजी कवितामा गरिएको छ । स्वतन्त्रताका लागि मुलुकमा घटेका फरक फरक समयका घटना वा आन्दोलन र तिनले ल्याएको परिवर्तनको चित्र पनि कवितामा उजागर गरिएको छ । हाम्रो क्षमताको अवमूल्यन गर्ने हस्तक्षेपकारी देशीविदेशी प्रवृत्तिको शालीन विरोध पनि कवितामा गरिएको छ । उद्देश्य दिग्भ्रमित भएको वर्तमान उजागर गर्दै सपना बिउँझाउनुपर्ने अपेक्षा पनि कवितामा गरिएको छ । कवितामा समयको रूपान्तरित चित्र उतार्ने प्रयत्न भएको पाइन्छ । खुम्चिुनु र साँघुरिनु स्वभाविकता भए पनि अस्तित्वरक्षा प्रमुख कुरा भएको, वर्तमान राजनीतिका प्रति निर्मम समीक्षा गरिएका कवितासमेत वाचित भएका छन् । देखिएका विचलनमा रूपान्तरण आवश्यक छ र अबका दिनमा के गर्नु आवश्यक छ भन्ने दिशानिर्देश पनि कवितामा गरिएको छ । अहमको प्रदर्शन, रिस राख्ने वा प्रतिशोध साँध्ने प्रवृत्तिको विरोध आजको एक मात्र छन्द कविताले गरेको छ । आज परिचर्चा गरिएको ‘मानव स्वास्थ्य र जीवनशैली’ विषयसँग मेल खाने ‘अभिव्यक्ति नै मनशान्तिको अस्त्र हो’ भन्ने भावका अधिकांश कविता आज वाचित भएका छन् । वर्तमानका प्रतिको सहमति, असहमति र भविष्यको आशा आजका कविताको समग्र सन्देश हो त्यसैले आजको यो विशेष समारोह अत्यन्त सार्थक रहेको छ । यस समारोहमा उपस्थित भएर वाचित रचनामाथि टिप्पणी गर्ने अवसरका लागि म हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । आजको यो विशेष समारोह भने मौसमी प्रतिकूलताका कारण प्रविधिमैत्री गर्नुपरेको र छोटो सूचनाका आधारमा आयोजना गर्नुपरेका कारण धेरै स्रष्टा छुट्नु पनि भएको छ । हामी जेजति यहाँ उपस्थित हुनसकेका छौँ गुणस्रीय उपस्थिति रहेको छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा बहस गर्नै पर्ने निकै महत्त्वपूर्ण विषय ‘जीवनशैली र मानवस्वास्थ्य’का बारेमा विद्वान व्यक्तित्व प्रा.श्रीराम पाण्डेले विशद चर्चा गरिदिनुभएको छ । कविहरूले आआफ्ना सिर्जना वाचन गर्नुभएको छ र वाचित सिर्जनामाथि ज्ञानु विद्रोहीले सुन्दर एवम् विश्लेषणात्मक समीक्षा गरिदिनुभएको छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ । वर्तमानमा देखिएको अराजकता, उग्रता र भ्रम छर्ने प्रवृत्तिका विरोधमा हामी स्रष्टाको कलम चल्नु आवश्यक छ । आजको यो समारोहमा उपस्थित भइदिनुहुने विशेष अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply