२०८३ मङ्सिर ५ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा साहित्य सन्ध्याको नियमित मासिक ४८२ औँ शृङ्खलामा ‘जनताको बहुदलीय जनवाद र साहित्य’ विषयमा विशद परिचर्चा गरिनुका साथै कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले नेता एवम् सामाजिक रूपान्तरण अभियानका प्रखर अभियन्ता सुरेन्द्र पाण्डे उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा सन्ध्याका सल्लाहकार प्रा.डा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.बद्रीविशाल पोखरेल, वरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया, डा.फणीन्द्रराज निरौला, डा.कृष्ण सुवेदी, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, प्रशान्त खरेल, ओमप्रसाद कोइराला, परशुराम परासर, रूपक अलङ्कार, ज्ञानु विद्रोही, महेशराज खरेल, पूर्णशोभा चित्रकारलगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सुरेन्द्र पाण्डेले ‘जनताको बहुदलीय जनवाद र साहित्य’ विषयमा विशद परिचर्चा गर्नुहुँदै चार दशकभन्दा लामो समयदेखि अविच्छिन्न र अविश्रान्त रूपमा साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान हाँकिरहेको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा उपस्थित हुँदा पुरानो समयमा पुगेको अनुभूति भएको छ । विगतको कालरात्रिमा म पनि साहित्य सन्ध्याका केही कार्यक्रममा लुकेर सहभागी भएको छु । साँचो अर्थमा भन्ने हो भने साहित्य सन्ध्या जबजको पनि जननी हो । साहित्यले सामाजिक मनोविज्ञानलाई प्रस्तुत गर्दछ र २०४६ सालको जनआन्दोलनलाई मलजल गर्ने काममा साहित्य सन्ध्याको ज्यादै ठुलो योगदान रहेको छ । त्यो समयलाई तुलना गर्ने हो भने चाहिँ साहित्य सन्ध्या पनि साँघुरिएको छ र जबजले अघि सारेका जबजका आयामहरू पनि खुम्चिएका छन् । अर्थात् सबै क्षेत्र र तहका अन्तरसम्बन्धहरू खुम्चिँदै गएका छन् । साहित्यले मानिसलाई मार्गदर्शन गर्नुपर्दछ, उत्प्रेरित गर्नुपर्दछ र त्यसका लागि साहित्यले समाजको यथार्थ एवम् जीवन्त चित्रण गर्नुपर्दछ । राजनीतिक व्यक्ति पनि साहित्यबाट प्रभावित भयो भने मात्र ऊ चिन्तनशील र विवेकी हुन्छ । साहित्य भनेको समाजलाई जोड्ने तन्तु हो । वर्तमान हाम्रो मुलुकको अवस्था मध्यरातसँग मिल्दोजुल्दो रहेको छ । अहिलेको समय निकै कठिन देखा पर्दै छ र यो समयमा साहित्यकार बडो सुझबुझका साथ सिर्जनामा क्रियाशील हुनु र विकृत अवस्थाका प्रति निर्मम प्रहार गर्नु आवश्यक छ र यही मर्मबोध गरेर नै साहित्य सन्ध्याले ऐतिहासिक विरासतलाई कायम राख्दै नियमित रूपमा यस्ता कार्यक्रम गरिरहनुु गौरवको कुरा हो । यति महत्त्वपूर्ण समारोहमा उपस्थित भएर आफ्ना विचार राख्ने अवसरका लागि म साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
समारोहमा ओमप्रसाद कोइराला, डम्बर पहाडी ‘एलाक’, खेममराज निरौला, नवराज श्रेष्ठ, डा.बद्रीविशाल पोखरेल, डा.कृष्ण सुवेदी, डा.गोविन्दप्रसाद आचार्य, लक्ष्मीप्रसाद थपलिया, रामचन्द्र दाहाल, गोपाल नेपाल, केदारनाथ आचार्य, ताराचन्द्र आचार्य, गणेशप्रसाद थपलिया, डा.मनोज जोशी, डा.हेमनाथ पौडेल, डा.जगत्प्रसाद उपाध्याय, गोपालप्रसाद थपलिया, महेशराज खरेल, परशुराम परासर, पूर्णशोभा चित्रकार, डा.रूपनारायण श्रेष्ठ, राधिका भण्डारी सापकोटा, कृष्णप्रसाद पौडेल जस्ताघरे, चेवन वस्नेत ठुलाघरे, लक्ष्मण तिमल्सिना, प्रशान्त खरेल, ज्ञानु विद्रोहीले आआफ्ना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि समीक्षा गर्नुहुँदै समालोचक डा.फणीन्द्रराज निरौलाले लामो यात्राको अविश्रान्त सारथि साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा महत्त्वपूर्ण विषयमा विद्वान् व्यक्तित्वबाट परिचर्चा भएको छ । दुई दर्जनभन्दा बढी कविता वाचन भएका छन् । आज वाचित सबै कविता÷सिर्जनाले मुलुकको वर्तमान समयमा हामी निकै कुण्ठित भएर बाँचेका छौँ भन्ने चित्रण गरेका छन् । प्रायः कवितामा असन्तोष, विद्रोह, बेथिति, अराजकता अभिव्यक्त भएका छन् । २०३६ पछिको हाम्रो देखाइ वा भोगाइ अनि त्यसका विरुद्धको सङ्घर्ष पनि कवितामा उजागर भएको पाइयो । अर्थात् आजको सामाजिक मनोविज्ञान कवितामा चित्रण भएको पाइन्छ । आज मुलुकले आफ्नै नागरिक सुकुमबासीका छाप्रामा डोजर लगाउने शासक व्यहोरेको पीडा कवितामा अभिव्यक्त भएको छ । जबजले समाज रूपान्तरण गर्ने, सांस्कृतिक क्रान्ति गर्ने र लेखकीय स्वतन्त्रतालाई प्रभावशाली बनाउने कुरालाई पनि कविताले वकालत गरेको पाइन्छ । साहित्य सन्ध्याको मञ्च प्रगतिशील विचारलाई प्राथमिकता दिने भए पनि सबैलाई सम्मान गर्ने र स्थान दिने स्थल भएकाले स्वच्छन्दतावादी रचना पनि आज वाचित भएका छन् । गाउँबाट मानिस गायब भएका वा गाउँ वृद्धाश्रम भइरहेका यथार्थपूर्ण रचना पनि सुनिए । सिर्जनामा आक्रोशै आक्रोशका अभिव्यक्ति पनि कवितामा आएका छन् तर स्रष्टाले आफ्ना कवितामा आक्रोशै आक्रोश अभिव्यक्त गरेर पनि हुन्न सकारात्मकता र आशावादी दृष्टिकोण पनि सम्प्रेषण गर्नुपर्दछ । यद्यपि कतिपय कवितामा संसार बदल्ने विश्वचेत सुन्दरढङ्गले आएको पनि छ । कवितामा साझा चिन्तन आएको छ । वाचित कविताहरू केही शास्त्रीय छन्दका, केही मुक्त छन्दका, केही गीति छन्दका, केही गजल र मुक्तक रहेकाले विविधता रहेको पाइन्छ । समग्रमा आजको यो विशेष समारोह सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा भने ‘जनताको बहुदलीय जनवाद र साहित्य’जस्तो अत्यन्त समसामयिक विषयमा परिचर्चाका साथ कविगोष्ठी सम्पन्न गरिएको छ । साहित्य सन्ध्यालाई सुरुदेखि नै माया गर्ने र सकेको सहयोग पनि गर्ने, मार्गनिर्देश गर्ने गुणग्राही विद्वान् व्यक्तित्व आजको यो समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित भइदिनुभयो र विशद चर्चा पनि गरिदिनुभयो । म उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु । आज वाचित सिर्जनाले मुलुकको सासामयिक अवस्थाको जीवन्त चित्रण गरेका छन् भन्ने मूल्याङ्कनसहितको समीक्षा विद्वान् समालोचक डा.फणीन्द्रराज निरौलालले गरिदिनुभएकाले उहाँलाई पनि धन्यवाद छ । साथै आजका अतिथि, कविहरू तथा सहभागी सबै सबैका प्रति हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
