अविरल जनसाहित्य यात्रा–७७ मा सशक्त प्रगतिवादी कवि सुरेश हाचेकालीका एक दर्जन कविता गुञ्जिए

चैत्र ११ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७७ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि सुरेश हाचेकालीका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा वरिष्ठ राजनीतिज्ञ एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता गोपाल शाक्य उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामा, महासङ्घका उपाध्यक्ष द्वय आर.सी.न्यौपाने र भूमिका सुब्बा, का.मु महासचिव अशोक राई, डा.षडानन्द पौड्याल, नर्मदेश्वरी सत्याल, डा.गोविन्दप्रसाद आचार्य, राष्ट्रिय जनसङ्गीत सङ्घका अध्यक्ष बैकुण्ठ महत, वरिष्ठ कवि उमेश उपाध्याय, नमुना शर्मा, हेम भण्डारी र डम्बर पहाडी ‘एलाक’ अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविनायक सुरेश हाचेकालीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई यो विशेष समारोहमा ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले खोटाङ जिल्लाको कुभिन्डेमा जन्मिएर हाल भक्तपुर जिल्लाको दधिकोटमा बसोवास गरिरहेका, अङ्ग्रेजी साहित्यमा एम.एड., एम.फिल गर्नुका साथै विद्यावारिधि गरिरहेका, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गरिरहेका अनि आपूmले मात्र लेख्ने होइन सहयात्रीहरूलाई पनि लेख्न लगाउनुपर्छ, रूपान्तरण अभियानमा समेट्नुपर्छ भन्ने मान्यता राख्ने सुरेश हाचेकालीलाई यो विशेष समारोहमा उपस्थित गराएका छौँ । २०६६ सालमा ‘सीमान्त आमाहरू’ कवितासङ्ग्रह प्रकाशित गराएका, साझा प्रकाशनबाट ‘चक्रव्युह सञ्चेतना’ सैद्धान्तिक समालोचनासङ्ग्रह प्रकाशित गराएका, साहित्यका बहुल अर्थको उद्घाटन समालोचनाले गर्नुपर्छ भन्ने मान्यताका साथ अनुसन्धान गरिरहेका समालोचक व्यक्तित्व हाचेकालीले २०४७ देखि वैचारिक सङ्गठन, अनुसन्धान, पाठ्यक्रम लेखन, गीत लेखन र एलबम प्रकाशनजस्ता कार्यमा आपूmलाई समर्पित गराउँदै आएका छन् । ग्राम्य मिथकको प्रयोगका साथै सुन्दर विम्बको प्रयोग गर्ने, परिष्कार तथा परिमार्जनमा विशेष जोड दिने अनि विचार र कलाको सुन्दर संयोजन गर्ने हाचेकाली अहिलेको समयका व्यस्त स्रष्टासमेत हुन् भन्नेसमेतको जानकारीमूलक धारणा व्यक्त गर्नुभयो ।
समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले सक्रियता देखाइरहेका सक्रिय एवम् लगनशील स्रष्टा सुरेश हाचेकालीलाई प्रस्तुत गरिएको धारणा राख्नुभयो र कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।
कविनायक सुरेश हाचेकालीले विगत छ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्दछु । समाजमा दु:ख पाएका वर्गले भोगेका समस्या, पीडा र उनीहरूको जीवनभोगाइले चिमोटेपछि ती सबैको प्रकटीकरणको माध्यम साहित्यलाई बनाएको धारणासहित कविताको रचनागर्भको पनि जानकारी गराउँदै ‘मलाई नागरिक नभन्नू’, ‘लामपाते महात्म्य’, ‘हजुरआमाको इतिहास’, ‘नवनायकका नाउँमा’, ‘दुम्सीकाँडे काठमाडौँ’, ‘बलात्कृत पूmलकी छोरी’, ‘माटोको कैरन’, ‘म बाँचिरहन लोभिन्छु’ र ‘गाउँले मुखियाको नाति’ शीर्षकका अत्यन्त सशक्त वैचारिकता सम्प्रेषण गरिएका सुन्दर एवम् कलात्मक कविता वाचन गर्नुभयो । सहयोगी कविहरू डम्बर पहाडी ‘एलाक’ले ‘जीवनै जीवनको दिग्विजय’ शीर्षकको कविता वाचन गर्नुभयो भने अर्का सहयोगी कवि हेम भण्डारीले ‘जमुवावालीको मट्टीगीत’ शीर्षककोे, अनि अर्का सहयोगी कवि नमुना शर्माले ‘सीमान्त आमाहरू’ शीर्षकको त्यस्तै सशक्त कविता वाचन गर्नुभयो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै अतिथि डा.षडानन्द पौड्यालले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ७७ औँ शृङ्खलामा पुगेको छ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य रहेको छ । आजका कविनायक सुरेश हाचेकालीको लगभग साढे तीन दशकदेखिको साधनायात्रा रहेको छ । समकालीन कवितामा अलमल, दुर्वाेध्य, गन्तव्यहीनता देखिइरहेको सन्दर्भमा हाचेकालीका कवितामा भने नेपाली ग्रामीण समाजको जीवनभोगाइको जीवन्त प्रकटीकरण पाइन्छ । वाचित प्राय: कवितामा विम्बप्रयोगमा सशक्तता भेटिन्छ । कवितामा शान्तिको आग्रह गरिएको छ र कथित नक्कली क्रान्तिको वा क्रान्तिका नामको भ्रान्तिको विरोध गरिएको छ अनि सशक्त राष्ट्रवादी चेत त्यत्तिकै सुन्दर विम्बका माध्यमबाट सम्प्रेषण गरिएको छ । हरेक सिर्जनाले व्यक्तिको चेतना उजागर गर्दछ र हाचेकालीका कविताले पनि त्यही गरेका छन् । पितृसत्ताले आमालाई अनाम वा गुमनाम बनाइदिएको प्रति चिन्ताभाव व्यक्त गरिएको छ । विभिन्न भूगोलमा उत्पीडनमा परेका नारीहरूको पीडा सशक्त ढङ्गले कवितामा उजागर गरिएको छ । कवितामा समाजमा विद्यमान रुढ परम्पराको विरोध गरिएको छ र थोरैमा धेरै भन्नसक्ने सूक्तिमयता कविताले अवलम्बन गरेको देखिएको छ । मुलुकमा पटक पटकका आन्दोलनका माध्यमबाट प्रणाली फेरिने तर जनताको जीवनस्तर भने जस्ताको तस्तै रहने अवस्थाका प्रति चिन्ता जाहेर गरिएको छ, आक्रोश व्यक्त गरिएको छ । जातीय विभेदको अन्त्य नभएको सामाजिक सत्यलाई कवितामा उजागर गरिएको छ । शिल्पी समुदाय विभेद र उत्पीडनका सिकार भइरहेका प्रति चिन्ता जाहेर गरिएको छ र कविले माटोमा फुल्ने जीवनको सुगन्धको खोजी गरेको उल्लेख गरेका हुँदा आजका कविता सशक्त छन्, सुन्दर छन् अनि सम्प्रेषणीय छन्, रूपान्तरणका पक्षधर छन् भन्ने धारणा राख्नुभयो ।
विशेष अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । महासङ्घका सबै घटकहरूले सिर्जनात्मक सक्रियता देखाउन् भन्ने अभिप्रायले छ वर्ष अगाडि थालनी भएको यो विशेष समारोहले निरन्तरता पाइरहेको छ । यसका लागि राष्ट्रिय जनसाहित्यिक सङ्घलाई धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा अत्यन्त सुन्दर, चोटिला कविता सुन्ने अवसर प्राप्त भएको छ । आज अत्यन्त सक्रिय स्रष्टाका सामाजिक रूपान्तरणको चेतनाले भरिएका कविता वाचित भएका छन् र वाचित कवितामाथि मसिनोढङ्गले विद्वान व्यक्तित्वबाट समीक्षासमेत भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका पुराना व्यक्तित्व एवम् रूपान्तरण अभियानका अभियन्ता गोपाल शाक्य प्रमुख अतिथिको रूपमा उपस्थित भइदिनुभएको छ । कविताले पूर्वीय ग्राम्य समाजको परिवेश, जीवनभोगाइ, उत्पीडन र विभेदको सुन्दर चित्र खिचेका छन् । सँगसँगै सामाजिक बेथितिका प्रति प्रतिवाद गर्ने र सामाजिक न्याय र रूपान्तरणको आग्रह कविताले गरेका छन् भन्नुहुँदै यो शृङ्खला निरन्तर रहोस्, थप गतिशील र धारिलो बनोस् भन्ने आग्रह गर्नुभयो ।
प्रमुख अतिथि गोपाल शाक्यले आजको यो विशेष शृङ्खलामा उपस्थित भएर कविता सुनिरहँदा २०२९ सालमा शङ्करदेव क्याम्पसमा त्यो वेलाका सक्रिय स्रष्टाहरूको उपस्थितिमा गरिएको कविगोष्ठीको मलाई सम्झना भएको छ । सिर्जनशीलताले नेतृत्व विकास गर्दछ त्यसैले साहित्य रूपान्तरणको बलियो हतियार हो । आजका कवितामा विभेद, उत्पीडन, शोषणका कुराहरू आएका छन्, नेपाली समाजको चित्र खिचिएको छ र रूपान्तरणको आग्रह गरिएको छ । समाजको रूपान्तरण कानुन बनाएर मात्र हुँदैन, साहित्यले समाजलाई बदल्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । साहित्यले दु:ख र उत्पीडनको अन्त्यको आग्रह र सुखको खोजी गर्दछ । अब हामी सबैले प्रकृति र मानवको अन्तरसम्बन्धको खोजी गर्ने र त्यसैमा केन्द्रित रहेर कविता सिर्जना गर्नु जरुरी छ । आजको यो विशेष समारोह भने निकै महत्त्वपूर्ण रह्यो भन्ने धारणा राख्नुभयो ।
विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका साथै बौद्धिकतासमेतका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने सुरेश हाचेकालीले आफ्ना सिर्जनामा हाम्रो समाजका नारीहरूले र तल्लो वर्गका श्रमजीवी जनताले भोगेका सम्पूर्ण भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको, उत्पीडनको मर्मान्त एवम् जीवन्त चित्रण गरेका छन् । पेसाले प्राध्यापन कर्ममा रहेका, सङ्गठनका माध्यमबाट वैचारिकता सम्प्रेषण गर्दै रूपान्तरणको अभियानमा समर्पित रहेका अनि सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने अहिलेको समयका अत्यन्त सक्रिय, गुणग्राही स्रष्टा हाचेकालीका बारेमा हामीले सुन्यौ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्काे महिनामा ७८ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यका माध्यमबाट र सामाजिक रूपान्तरण अभियानमा योगदान गरिरहनुभएका कुशल स्रष्टा गणेश घिमिरे ‘मार्मिक’लाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*