विगत अड्तिस वर्षदेखि अविच्छिन्न मासिक साहित्यिक गोष्ठीको आयोजना गर्दै ४२९ औँ शृङ्खला सम्पन्न गरिसकेको र साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले २०४२ सालदेखि राष्ट्रियस्तरमा नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने व्यक्तिलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने परम्पराको थालनी गरेकोमा सन्ध्याको यो अभियानमा केही सहृदयी एवम् गुणग्राही व्यक्तिहरूसमेत जोडिनुभई पुरस्कारहरू थप भएअनुसार २०७८ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने प्रयोजनका लागि प्रा.डा.कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देबु लुइटेल सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिसअनुसार निम्नबमोजिम व्यक्तित्वहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय साहित्य सन्ध्याको कार्य समितिले गरेको छ र यी पुरस्कारहरू २०७९ भदौ ४ गते शनिबार अर्पण गरिने छ ।
१. वि.सं.२०३३ कार्तिक २३ गते शनिबार माता लीला सुवेदी र पिता पुष्पलाल सुवेदीकी सुपुत्रीका रूपमा मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं.१ नक्सलबारीमा जन्मिएकी रेखा सुवेदीले त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायबाट नेपालीमा स्नातकोत्तर गर्नुभएकी र २०४९ सालमा ‘तिमी कैद छ्यौ’ शीर्षकको कविताका साथ नेपाली साहित्यमा प्रवेश गरी नेपाली साहित्यका कविता, लघु कथा, निबन्ध, समालोचना विधामा समर्पित भएर निरन्तर सिर्जनारत रही एउटा कवितासङ्ग्रह नेपाली साहित्यमा भण्डारणसमेत गरी नेपाली प्रगतिवादी साहित्यमा निरन्तर योगदान गर्नुभएको, नेपाली समाजको समग्र रूपान्तरणका लागि सिर्जना, वैचारिक सङ्गठन, समाजसेवा र जनपरिचालनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएको हुँदा रु.पन्द्र हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने ।
२. साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार अपराह्न १ बजे सञ्चालन गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरिका जम्मा बारओटा गोष्ठीमध्ये दशओटामा सहभागिता जनाई आफ्नो रचना वाचन गर्ने एकजना स्रष्टालाई रु.पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ दिने प्रावधान रहेकोमा यस वर्ष कोरोनामहामारीका कारण नौओटा गोष्ठी भर्चुअल माध्यमबाट र तीनओटा गोष्ठी प्रत्यक्षरूपमा सम्पन्न गरियो । तीमध्ये दशओटा गोष्ठीमा सहभागी भएका स्रष्टा डम्बर पहाडी र विन्दु अधिकारी ढकाल रहनुभएको देखिन आयो ।
(क) सोअनुसार वि.सं. २०१२ मङ्सिर १२ गते माता जानुकादेवी परियार र पिता केशरबहादुर परियारका सुपुत्रका रूपमा इलाम नगरपालिका वडा नं.२ मालापथमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयममा स्नातकोत्तर गरी सिङ्गो जीवन प्राध्यापन तथा नेपाली साहित्यका कविता, नाटक लेखन, अभिनय, गीत लेखन, गायन एवम् सङ्गीतका क्षेत्रमा समर्पित भई नेपाली समाजको रूपान्तरणका पक्षमा उल्लेख्य योगदान गर्नुभएका; एक लाइने कविता अभियानका अभियन्ताका रूपमा स्थापित हुनुभएका, विभिन्न सङ्घसंस्थामा सक्रिय रहनुभएका डम्बर पहाडीले साहित्य सन्ध्याले सम्पन्न गरेका वर्षभरिका बारओटा गोष्ठीमध्ये दशओटामा प्रत्यक्ष सहभागी भई सिर्जना वाचन गर्नुभएको अभिलेखबाट देखिएको हुँदा उहाँलाई रु.दुई हजार पाँच सय राशिसहित २०७८ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने ।
(ख) माता लक्ष्मी अधिकारी र पिता बालकृष्ण अधिकारी ‘धनकुटे’की सुपुत्रीका रूपमा धनकुटा जिल्लाको चुनवाङमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको शिक्षा हासिल गरी समाजसेवाका अतिरिक्त नेपाली साहित्यका कविता, कथा, निबन्धलेखनका क्षेत्रमा निरन्तर समर्पित भई नेपाली समाजको रूपान्तरणका पक्षमा समेत क्रियाशील रहँदै विभिन्न सङ्घसंस्थामा सक्रिय रहनुभएकी विन्दु अधिकारी ढकालले साहित्य सन्ध्याले सम्पन्न गरेका वर्षभरिका बारओटा गोष्ठीमध्ये दशओटामा प्रत्यक्ष सहभागी भई सिर्जना वाचन गर्नुभएको अभिलेखबाट देखिएको हुँदा उहाँलाई रु.दुई हजार पाँच सय राशिसहित २०७८ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने ।
३. वि.सं.२०६० असोज २८ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.५ मा माता बमकुमारी रोका मगर र पिता जीवनकुमार रोकाकी सुपुत्रीका रूपमा जन्मिएकी निशा रोका मगरले बाबुआमा भएर पनि परित्यक्त अवस्था व्यहोर्दै सङ्घर्षपूर्ण जीवननिर्वाहका साथ गोङ्गबु काठमाडौँको मनोहर मा.वि.बाट हालै कक्षा १२ को परीक्षा दिएकी; गायन, नृत्यका क्षेत्रमा सक्रियता देखाउँदै नेपाली साहित्यको कविता विधामा निरन्तर कलम चलाइरहेकी; कविता र वक्तृता प्रतियोगितामा सहभागिता जनाएर विभिन्न सङ्घसंस्थाबाट झण्डै आधा दर्जन पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी र आशावादी जीवनदृष्टिका साथै आफ्नो भविष्य निर्माणमा आफैँ सङ्घर्षरत रहेकी पाइएकाले उहाँको सक्रिय, आशावादी एवम् सङ्घर्षपूर्ण जीवनयात्रालाई थप प्रोत्साहित गर्दै सत्कर्मका माध्यमबाट असल नागरिक बन्नसक्नुहोस् भन्ने कामनाका साथ रु.दश हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने ।
४. वि.सं. २००३ चैत्र १६ मा काठमाडौँको गोकर्णमा माता विष्णुकुमारी भण्डारी र पिता भोजनाथ भण्डारीका सुपुत्रका रूपमा जन्मिनुभएका नारायणप्रसाद भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्रसम्मको अध्ययन गरी साहित्य, कला र संस्कृतिको सम्बर्धनमा योगदान गर्नुभएको; विभिन्न विद्यालयको व्यवस्थापन समितिमा रहेर शैक्षिक विकासमा योगदान गर्नुभएको; वैचारिक सङ्गठनका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा छ दशकभन्दा लामो सिङ्गो जीवन समर्पण गरी नेतृत्वदायी भूमिकासमेत निर्वाह गरी समाजसेवाका क्षेत्रमा इमानदार, निष्ठावान् व्यक्तित्वका रूपमा आपूmलाई स्थापित गर्नसक्नुभएको हुँदा उहाँको यो अथकित सत्कर्ममय योगदानको उच्च सम्मान गर्दै रु.दश हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या–कृष्णचन्द्र–बालकुमारी पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने ।
५. वि.सं.२०२१ वैशाख ९ गते माता कौशल्यादेवी निरौला र पिता हरिप्रसाद निरौलाका सुपुत्रका रूपमा ताप्लेजुङ जिल्लाको पूmलबारी गा.वि.स.वडा नं.२ मा जन्मिएका डा.फणीन्द्रराज निरौलाले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर र विद्यावारिधिसम्मको उच्च शिक्षा हासिल गरी २०४६ सालदेखि हालसम्म अविच्छिन्न प्राध्यापन कर्ममा समर्पित रहनुभएको, माध्यमिकदेखि स्नातक तहसम्मका पाठ्यपुस्तक लेखन र लुम्बिनी बौद्ध विश्वविद्यालयको मानविकी सङ्कायको स्नातक तहको अनिवार्य नेपाली र ऐच्छिक नेपाली विषयको पाठ्यक्रम निर्माणमा योगदान गर्नुभएको; नेपाली साहित्यका कविता, निबन्ध, समालोचना, गीतलगायत विविध विधामा कलम चलाउनुका साथै नियात्रा विधाको प्राध्यापनका अतिरिक्त विभिन्न पत्रपत्रिकामा फुटकररूपमा अविच्छिन्न नियात्रा प्रकाशित गरी नेपाली नियात्रासाहित्यमा समेत उल्लेख्य योगदान गर्दै साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा विशिष्ट योगदान गर्नुभएको हुँदा रु.दश हजार राशिको २०७८ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने ।