विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४५४ औँ विशेष शृङ्खला भदौ १ गते शनिबार अपराह्न ठिक १ बजे पद्मकन्या क्यामपस बागबजारको डेनिस हलमा आयोजना गरी पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८० सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार एवम् पूर्व मन्त्री नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो । विशेष अतिथिहरूमा पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य प्रा.डा.जीवेन्द्रदेव गिरी र राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कारका लागि अक्षयकोष स्थापनाकर्ता डा.मदनप्रसाद सत्याल र नर्मदेश्वरी सत्याल, ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार’का लागि अक्षयकोष स्थापक साहित्यकार नियात्राकार पोषरमण चापागाईँ, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, साहित्य सन्ध्याका पूर्व सचिव हाल क्यानडामा बसोवास गरिरहनुभएका कुसुम ज्ञवाली, डा.जया सत्याल, अनिल पौडेल, जयन्ता पोखरेल, डा.रूपनारायण श्रेष्ठ, विराटनगरका स्रष्टाहरू मधु पोखरेल, रामबाबु दाहाल र लोचन रिजाल, स्नेह सायमी, कणाद महर्षि, सुदूर पश्चिम कलाकार मन्चका अध्यक्ष राजेन्द्र शाह, बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर तथा साहित्यकार अनिता लामा, डिल्लीप्रसुाद मुल्तिहुन, भक्ति घिमिरे ‘दुर्बाेध’, एस.एन.पी.सिङ्गल, सोइना दाहाल, विनोद बाजुरेली, सत्यदेवी खड्का, डम्बर पहाडीलगायत अतिथिका रूपमा उपस्थित हुनुहन्थ्यो ।
उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती बालेर गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तित्वलाई सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो । २०८० सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि सल्लाहकार प्रा.डा.जवेन्द्र देव गिरीज्यूको संयोजकत्वमा शानता मानवी र गोपाल मैनाली रहेको ‘स्रष्टा चयन समिति’ गठन गरिएकोमा उक्त समितिले सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व चयन गरी सिफारिस गरेको हुँदा स्रष्टा चयनको औचित्य तथा आधारका बारेमा संयोजकज्यूले पुरस्कृत हुने पाँचैजनाको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
वि.सं.२०१९ असोज ११ गते सुनसरी जिल्लाको राजगन्ज सिनुवारी ७ हाकपारामा माता रासवतीदेवी पण्डित र पिता देवीलाल पण्डितका सुपुत्रका रूपमा जन्मिनुभएका शिवनारायण पण्डित ‘सिङ्गल’ साहित्यमा एसएनपी सिङ्गलका नामबाट कलम चलाउनुहुन्छ । छापाखाना व्यवसायमा रहेका सिङ्गलले कविता, अनुवाद, लेख, निबन्ध, कथा, गीत, नाटक आदि विधामा नेपाली तथा मैथिलीमा कलम चलाउनुभएको छ । विभिन्न दशओटा सङ्घसंस्थामा रहेर क्रियाशीलता देखाइरहनुभएका सिङ्गलको साहित्यिक सक्रियताका लागि डेढ दर्जनभन्दा बढी सङ्घसंस्थाले मान, सम्मान तथा परस्कारद्वारा सम्मानित गरेका छन् । केही पत्रपत्रिकामा समेत संलग्नता देखाइरहनुभएका सिङ्गलका ‘कारी सुरुज’ (कालो सूर्यको मैथिली अनुवाद) २०७१, ‘बुद्धको देशमा बुद्ध’ कवितासङ्ग्रह २०७५ प्रकाशित छन् भने पाँच कार्यपत्रहरू लेखन एवम् प्रस्तुति पनि उहाँले गर्नुभएको छ । ‘मैथिली फुटकर कवितासङ्ग्रह’ दुइटा, ‘नेपाली फुटकर कवितासङ्ग्रह’ तीनओटा, ‘पत्रपत्रिकामा प्रकाशित लेखसङ्ग्रह’ एक, उपन्यास दुइटा र नाटक दुइटा प्रकाशोन्मुख अवस्थामा रहेका छन् । नेपाली समाजका विसङ्गत पक्षहरूलाई आफ्ना सिर्जनामा उजागर गर्ने र रूपान्तरणका पक्षमा वकालत गर्ने, रूपान्तरणको स्पष्ट प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्ने, विमात्री भाषी भएर पनि नेपाली साहित्यमा सशक्त रूपले कलम चलाउने सिङ्ललाई स्रष्टालाई रु.एक्काइस हजार एक सय राशिको २०८० सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार अपराह्न १ बजे सञ्चालन गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरिका जम्मा एघारओटा गोष्ठीमध्ये दशओटामा सहभागिता जनाई आफ्ना रचना वाचन गर्ने एकजना स्रष्टालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार’ दिने प्रावधान रहेकोमा यस वर्ष आयोजना गरिएका पूरै एघारैओटा गोष्ठीमा सहभागी हुनुका साथै दशओटा गोष्ठीमा कवितावाचन गर्नुभएकी वि.सं.२०६८ असार ३२ मा माता इन्दिरा अधिकारी र पिता सोमनाथ दाहालकी सुपुत्रीका रूपमा काठमाडौँमा जन्मिएकी सोइना दाहालको स्थायी बसोवास मोरङ जिल्लाको रतुवामाई गाउँपालिका वडा नं.७ रहेको र बालसाहित्य पठन, लेखन र पेन्टिङमा विशेष रुचि राख्ने सोइना भानुभक्त मेमोरियल स्कुल, पानीपोखरी, काठमाडौँमा कक्षा ९ मा अध्ययनरत रही ‘मेरा दृष्टिमा एक्काइस बालकथा’ बालसमीक्षा २०७७ र ‘कथाको खोजी’ बालकथासङ्ग्रह २०७९ गरी दुइटा कृति नै उहाँका प्रकाशित भइसकेका छन् भने मुना, जुनकिरी, झरना सञ्चार, शब्द संयोजन आदि पत्रपत्रिकामा बालकथा, कविता र बालसमीक्षा प्रकाशित भएका छन् । कलिलै उमेरमा साहित्यका क्षेत्रमा उहाँले देखाएको अनुकरणीय सक्रियताका निम्ति ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ २०७७, ‘नेबासास जयपृथ्वी बालप्रतिभा पुरस्कार’ २०७९, ‘राकुपा बालवाङ्मय बालसाहित्य पुरस्कार’ २०८० र ‘नूर–गङ्गा राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार’ २०८१ जस्ता पुरस्कार तथा सम्मानसमेत प्राप्त गरिसकेकी हुँदा उहाँको नेपाली साहित्यका प्रतिको समर्पण भावसमेतलाई सम्मान गर्दै रु.पाँच हजार राशिको २०८० सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
१४ जनबरी १९८२ मा पिता जय सनै र माता पुनी सनैका सुपुत्रका रूपमा बाजुरा जिल्लाको मार्तडी ९ मा जन्मिनुभएका विनोद किरण नेपाली नेपाली लोकगीत, सङ्गीतका क्षेत्रमा विनोद बाजुरेलीका नामबाट सक्रियता देखाइरहनुभएको छ । डेढ दशकदेखि मालश्री प्रा.लि.नामक स्टुडियो सञ्चालन गरिरहनुभएका र देशैभर पचासभन्दा बढी स्ेटज कार्यक्रम गरिसक्नुभएका उहाँलाई बेस्ट लोकदोहोरी सङ्गीतकार २०६८ र २०७० समेत प्राप्त भइसकेको छ भने एक दर्जन गीति एल्बम सार्वजनिक भएका छन् । दुई दर्जनभन्दा बढी चर्चित गीतहरूमा सङ्गीत भर्ने काम पनि उहाँले गर्नुभएको छ । पश्चिमी पहाडको विकट भूगोलमा जन्मिएर त्यहाँको जनजीवनले भोगेका जीवनभोगाइलाई लोकगीत सङ्गीतका माध्यमबाट उजागर गर्ने र रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने, लोकगीत सङ्गीतको जगेर्ना तथा प्रवर्धन गर्ने कार्यमा दुई दशकभन्दा लामो समयदेखि समर्पित हुनुभएको हुँदा उहाँलाई रु.दश हजार राशिको २०८० सालको साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरियो ।
वि.सं.२०२४ असार १० मा दैलेख जिल्लाको साबिक कट्टी गा.वि.स. हाल भगवती माई गा.वि.स. वडा नं.६ मा माता कृष्णादेवी खड्का र पिता सर्वजित खड्काकी सुपुत्रीका रूपमा जन्मिएकी सत्यदेवी खड्का अधिकारीले कक्षा १२ सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । वैचारिक, साङ्गठनिक कर्मका माध्यमबाट समाजिक रूपान्तरण अभियानमा सिङ्गो जीवन समर्पित गर्नुभएकी उहाँले राउटे, कुशुण्डा, कुश्वाणियाँ, नेटुवा, पत्थरकट्टा, सुनाहा, चिडिमार, किङ्गरियन, बोटे, पहरी, दनुवार, थामी, माझी, भुजेल, धानकट्टाजस्ता लोपोन्मुख जातिको परिचय गराउने, यी जातिको लोप हुननदिन गरिनुपर्ने उपाय सुझाउने र जातिय अस्तित्वरक्षाका क्षेत्रमा प्रकाशन तथा प्रचारप्रसारका माध्यमबाट अतुलनीय योगदान गर्नुभएको÷गरिरहनुभएको हुँदा यो सत्कर्मका लागि उच्चसम्मान गर्दै रु.दश हजार राशिको २०८० सालको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
वि.सं.२०२४ असार ९ मा माता तारादेवी बजगाईँ र पिता रामकुमार बजगाईँका सुपुत्रका रूपमा सुनसरीको धरानमा जन्मिएका कृष्ण बजगाईँले फ्रेन्च भाषामा डिप्लोमा र स्नातकोत्तर उत्तीर्ण गर्नुका साथै विभिन्न भाषामा पत्रपत्रिका तथा स्मारिकाको सम्पादन गर्नुभएको छ । वि.सं.२०४१ सालमा पहिलो कविता प्रकाशित गरी नेपाली साहित्यको सेवामा समर्पित बजगाईँका छओटा लघुकथासङ्ग्रह, दुइटा बालकथासङ्ग्रह, तीनओटा हाइकुसङ्ग्रह, एउटा कथासङ्ग्रह, एउटा साहित्यिक अन्तर्वार्तासङ्ग्रह प्रकाशित छन् भने ‘युङफ्राउ’, ‘उमिहोतारु’, ‘दाइबुचु’, ‘भायासाक्रा’ र ‘युरेसियाको स्पर्श’जस्ता नियात्रासङ्ग्रह प्रकाशित भएका छन् । स्वदेश तथा विदेशका विश्वविद्यालयका पाठ्यक्रममा उहाँका नियात्रा समावेश गरिएका छन् भने उहाँको नियात्रासहितको साहित्य सेवाका बारेमा थुप्रै अनुसन्धान भएका छन् । स्वदेशी तथा विदेशी विभिन्न सङ्घसंस्थामा सक्रियता देखाइरहनुभएका बजगाईँले विभिन्न मान, सम्मान तथा पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । हाल बेलायतमा रहेर पनि नेपाली नियात्रा साहित्यमा अविश्रान्त कलम चलाउँदै नियात्रा विधालाई समृद्ध पार्न उहाँले गर्नुभएको योगदानको उच्चसम्मान गर्दै रु.दश हजार राशिको २०८० सालको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।
पुरस्कृत सबै व्यक्तित्वलाई समारोहका अध्यक्ष राम विनयले माल्यार्पण गर्नुभएको, विशिष्ट अतिथिले दोसल्ला ओडाइदिनुभएको थियो भने प्रमुख अतिथिले पुरस्कार राशि तथा सम्मानपत्र अर्पण गर्नुभएको थियो । समारोहमा कृष्ण बजगाईँको पुरस्कार तथा सम्मान भने उहाँका ज्वाइँ निरकुमार शर्माले ग्रहण गर्नुभएको थियो ।
सोही विशेष समारोहमा ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कार तथा सम्मानका लागि हालसम्म रु.दुई÷दुई लाखको अक्षयकोष रहेकोमा दुबै पुरस्कारको कोषमा रु.५०÷५० हजार थप गरिदिन डा.मदनप्रसाद सत्याल र नर्मदेश्वरी सत्लाका हाल बेलायत निवासी सुपुत्र डा.पोषेन्द्र सत्यालले पठाउनुभएको रु.एक लाख मात्र रकमको चेक डा.जया सत्यालले साहित्य सन्ध्याका अध्यक्ष राम विनयलाई हस्तान्तरण गर्नुभएको थियो ।
शिक्षा, स्वास्थ्य, साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृष्णचन्द्र बालकुमारी सत्याल’ सम्मान तथा पुरस्कार समर्पण गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको जानकारी उद्घोषकले नै दिनुभएको थियो भने साहित्यकार पोषरमण चापागाईँले ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गर्ने प्रयोजनका लागि अक्षयकोषको स्थापना गरेको र अक्षयकोष रु.१,५०,०००।–को स्थापना गरेकोजानकारी गराउनु हुँदै नियात्राका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धि गर्नु पुरस्कार स्थापनाको उद्देश्य भएको व्यहोरा समेत प्रकाश पार्नुभएको थियो । ।
‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित शिवनारायण पण्डित (एसएनपी सिङ्गल)ले आपूmले प्रगतिशील साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा केही योगदान गर्नसकियोस् भन्ने मान्यताका साथ साहित्यसिर्जना गरेको, अग्रजका सिर्जना पढेरै लेख्ने प्रेरणा प्राप्त गरेको, दुःखी गरिब र उत्पीडनमा परेकाका लागि साहित्य लेखिनुपर्छ र त्यो समूहसम्म हाम्रा साहित्य पुर्याएर चेतना अभिवृद्धि गराउनुपर्छ भन्ने मेरो मान्यता रहेको; जनताको बलिदानबाट प्राप्त प्रजातन्त्रका प्रति वितृष्णा फैलाउने र प्रतिगमनले टाउको उठाउन खोज्ने अवस्थाका लागि हाम्रो राजनीतिक नेतृत्व धेरै हदसम्म जिम्मेवार रहेको हुँदा यी सबै पक्षलाई हामी स्रष्टाले घच्घच्याउनुपर्छ भन्ने पनि मेरो मान्यता रहेको हो । यसरी पर बसेर आफ्नै धुनमा सिर्जनारत मलाई परैबाट मूल्याङ्कन गरी ‘जनस्तरबाट स्थापित मात्र होइन सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको साहित्य सन्ध्याजस्तो गरिमामय संस्थाले प्रदान गर्ने ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गर्नयोग्य सम्झिएकोमा हार्दिक हार्दिक आभार व्यक्त गर्दछु, कृतज्ञता जाहेर गर्दछु भन्नुभयो र मैथिली भाषाको सशक्त एउटा कविता वाचन गर्नुभयो ।
सम्मानित व्यक्तित्व विनोद बाजुरेलीले सुदूर पश्चिमको विकट जिल्लामा जन्मिएर लोकगीत र सङ्गीतका माध्यमबाट आपूmले सकेको रूपान्तरण अभियानमा लागेको मलाई कता कताबाट मूल्याङ्कन गरेर ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिदिनुभएकोमा साहित्य सन्ध्या, अक्षयकोष स्थापनाकर्ता तथा स्रष्टा चयन समितिका प्रति हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो दुइटा सुन्दर लोकगीत गाउनुभएको थियो ।
विशिष्ट अतिथि प्रा.केशव सुवेदीले साहित्य सन्ध्याले अविच्छिन्न ४४३ औँ शृङ्खलाका रूपमा आजको यो विशेष समारोह आयोजना गरिरहेको छ । नेपाली प्रगतिशील साहित्यको संस्थागत विकासमा यस संस्थाले महत्त्वपूर्ण योगदान गरेको छ । उल्लेख्य सङ्ख्यामा साहित्यिक व्यक्तित्व निर्माण गरेको छ । अब यो अभियानका उपलब्धिको अनुसन्धान र अभिलेखन पनि आवश्यक रहेको छ भन्नुहुँदै सम्मानित सबैलाई बधाई दिनुभयो ।
साहित्य सन्ध्याका पूर्व सचिव, साहित्यकार एवम् हाल क्यानडामा बसोवास गरिरहनुभएका कुसुम ज्ञवालीले आफ्नो देश नेपाल छाडेर संसारमा अहिले बसोवास गरिरहेका करिब बाइस लाख नेपालीका पाँच लाख बालबालिकालाई कसरी नेपाली भाषा सिकाउने र नेपाली भाषाको संरक्षण गर्ने भन्ने अभियानमा हामी विदेशमा पनि रहेका छौँ । भाषा भनेको पुस्तान्तर हुने, नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउने हो भने उनीहरूका साथीलाई नेपालका बारेमा जानकारी पनि गराउने हुँदा पर्यटन प्रबर्धन हुने भएकाले नेपाली सबै संस्कृतिका बारेमा पाठ्यक्रम नै निर्माण गर्ने अभियानमा हामी रहेका छौँ त्यसैले हाम्रो यो अभियानलाई सहयोग गरिदिन सम्पूर्ण विशेषज्ञ व्यक्तित्वमा हार्दिक अनुरोध गर्दछौँ । त्यस्तो विशेष सहयोगका लागि यथोचित पारिश्रमिकसमेत उपलब्ध गराउने छौँ भन्ने आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि गङ्गाप्रसाद उप्रेतीले वि.सं.२०३३ सालमा आपूm राजविराजमा रहेका बखत नेपाली भाषाको संरक्षणको उद्देश्य राखेर नेपाली भाषामा सिर्जना गर्ने, वाचन गर्ने, प्रकारान्तरले सांस्कृतिक तरङ्ग ल्याउने सुरुको लक्ष्य रहेको थियो तर नियत राम्रो राखेर संस्थागत रूपमा काम गरियो भने त्यो अभियान ऐतिहासिक बन्दो रहेछ भन्ने साहित्य सन्ध्याको अभियानले प्रमाणित गरेको छ । २०३९ सालपछि काठमाडौँबाट भने साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान चलाइरहेको यो संस्थाले प्रगतिवादी साहित्य सिर्जनाको प्रयोगशालाका रूपमा पनि अहिले काम गरिरहेको छ, यसको अविच्छिन्नता ज्यादै अनुकरणीय रहेको छ । यो संस्थाको अभियानमा अहिले अक्षयकोष नै राखेर पुरस्कार तथा सम्मान गर्नका लागि गुणग्राही व्यक्तिहरू पनि जोडिनुभएको छ, यो झनै खुसीको कुरा हो । आज सम्मानित हुनुहुने पाँचैजना व्यक्तिहरू भाषा, साहित्य र संस्कृतिका पक्षमा योगदान गर्ने नै छनोट हुनुभएको छ । अब हामीले नेपाली प्रगतिवादी साहित्यको विशषगरी कविता, निबन्ध र समालोचनाका क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज व्यक्तित्व गोविन्द भट्टको सम्मानमा पुरस्कार स्थापना गर्नुपर्दछ र त्यसका लागि म साहित्य सन्ध्यासँग सहकार्य गर्न तयार रहेको छु । आगामी वर्षदेखि नै पुरस्कार दिनेगरी सँगै बसेर योजना बनाऔँ भन्नुभयो ।
प्रमुख अतिथि प्रदीप ज्ञवालीले साहित्य सन्ध्याको चार दशक लामो निरन्तरको सक्रियता र आज सम्मानित व्यक्तिहरू सबैलाई बधाई ज्ञापन गर्दछु । कसैको सहयोगविना, कोही कसैलाई प्रायोजक नखोजी, अविश्रान्त चार दशक बिताएको आफैँमा आन्दोलनको पर्याय हो साहित्य सन्ध्या । यो संस्थाले गरिमामय उचाइ ग्रहण गर्नसकेकोमा मलाई अत्यन्त खुसी लागेको छ । आज सम्मानित हुनुहुने पाँचैजनाले प्राप्त गर्नुभएको पुरस्कारको राशि जति भए पनि यो जनस्तरको, सम्मानित र सशक्त सम्मान हो । पुरस्कृत हुनुहुने सबैको समर्पणभाव जनता र देशका लागि रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु । वर्तमानमा संस्कृति र विकृतिको सीमा मेटिँदै गएको आभास हुनथालेको छ । राजनीतिक परिवर्तनले जन्मजात श्रेष्ठताको सामन्तवाद समाप्त भएको भए पनि सामाजिक रूपान्तरण अपेक्षाकृत हुननसकेको, जनआकाङ्क्षा पूरा नभएका, निराशा पैदा भएको सत्य हो । तर विकल्परहित आक्रोश, असन्तुष्टि र निराशा अलि बढी नै देखिनथालेको मैले महसुस गरेको छु । स्वच्छन्दता पनि अलि बढी नै भएको अनुभूत हुन्छ । समाज सबै सबै नराम्रो नै मात्रै छैन त्यसैले स्रष्टाका सिर्जनाले कहीँ न कहीँ वा कुनै न कुनै रूपमा आशावादी सन्देश दिनै पर्छ । मानव समाजको यात्रा अँध्यारोबाट उज्यालोतिर बढ्छ । आधुनिकता भनेको नवीनताको परिष्कृत रूप हो । अन्धविश्वास, रुढिको, विसङ्गतिको अन्त्य गर्दै र त्यसभित्रका सकारात्मक पक्षलाई जोगाउँदै नवीन संस्कृतिको निर्माण आजको आवश्यकता हो, तपाईँ हाम्रो आवश्यकता हो । आधुनिकताका नामको असन्तुलन वा उच्छृङ्खलतालाई जबाफ दिने र समाज निर्माणका पक्षको सन्देश सम्प्रेषण गर्ने काम पनि स्रष्टाको भएकाले साहित्य सन्ध्या र हामी स्रष्टाले जिम्मेवारीका साथ गर्नुपर्दछ भन्ने धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०३३ सालमा राजबिराजमा गङ्गाप्रसाद उप्रेतीलगायतले साहित्यका माध्यमबाट नेपाली भाषा जोगाउने अभियानका रूपमा परिकल्पना गर्नुभएको र उहाँहरू तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थी काठमाडौँ आएसँगै २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको सोद्देश्यमूलक वैचारिक अभियानका रूपमा थालनी गरेको र एक वर्षपछि देखि नै वासुदेव अधिकारीलगायतले हाँकेको आन्दोलनका चार दशक व्यतीत भएका छन् । यस संस्थाले अहिलेसम्म ७३ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरेको छ । यो अभियानको उद्देश्यसँग सहमत हुने व्यक्तित्वहरू अक्षयकोष स्थापना गरेरै जोडिनुभएको छ । संस्थाको यति लामो इतिहास निर्माणमा योगदान गर्ने सबै सबैमा हामी हार्दिक धन्यवाद अर्पण गर्दछौँ र सबैको प्रेरणाले यो अभियानलाई निरन्तर अगाडि बढाइरहन्छौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, सहभागी आदरणीय व्यक्तित्वहरू, सम्मानित व्यक्तित्वहरू, स्रष्टा चयन समितिका पदाधिकारीहरू सबै सबैमा हार्दिक धन्यवाद अर्पण गर्दछौँ, आभार प्रकट गर्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
Leave a Reply