‘पाँचजना स्रष्टाहरूलाई २०८१ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिने

साहित्य सन्ध्याको कार्यसमितिको मिति २०८२ साउन ९ गते शुक्रवार साँझ बसेको बैठकले २०८१ सालका पाँचओटा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ तल उल्लेख भएबमोजिमका स्रष्टाहरूलाई देहायअनुसारको पुरस्कार तथा सममान अर्पण गर्ने निर्णय गरियो ः

१. वि.सं.२०१५ असोज २४ गते कास्की जिल्लाको हालको पोखरा महानगरपालिका वडा नं.२८ माझठानामा माता सुकुमाया लामिछाने र पिता शुकदेव लामिछानेका सुपुत्रका रूपमा जन्मिएका कपिलदेव लामिछाने साहित्यमा कपिल लामिछानेका नामबाट कलम चलाउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका लामिछानेले सोही विश्वविद्यालयबाटै ‘नेपाली गाउँखाने कथा’मा विद्यावारिधि गर्नुभएको छ । विभिन्न अनुसन्धानमा संलग्न रहनुभएका लामिछानेले वि.सं.२०३४ सालदेखि निरन्तर साहित्यसाधना गरिरहनुभएको छ । नेपाली साहित्यका कथा, लघुकथा, कविता, निबन्ध तथा समालोचना विधामा कलम चलाउनुभएको छ भने बालसाहित्य, लोकसाहित्य, प्रशिक्षणका क्षेत्रमा पनि सक्रियताका साथ कलम चलाउनुभएको छ । उहाँका विभिन्न विधाका पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् भने करिब डेढ दर्जन पुस्तक तथा करिब एक दर्जन पत्रिका एवम् स्मारिकाको सम्पादनसमेत उहाँले गर्नुभएको छ । लगभग दुई दर्जन विभिन्न सङ्घसंस्थामा हाल पनि संलग्नता देखाइरहनुभएका लामिछानेको नेपाली साहित्यमा रहेको सक्रियताका लागि करिब पाँच दर्जन पुरस्कार तथा मानसम्मान उहाँलाई प्राप्त भएको छ । उहाँले करिब एक दर्जन पाठ्यक्रमसँग सम्बन्धित पुस्तकहरूसमेत लेख्नुभएको छ । नेपाली बालसाहित्य राष्ट्रिय सम्मेलन २०५९ का संयोजक, नेपाली लोकसाहित्य दोस्रो राष्ट्रिय सङ्गोष्ठी २०६९ का संयोजक, नेपाली लोकवार्ता सातौँ राष्ट्रिय सङ्गोष्ठी २०७४ को नेतृत्वलगायतका विशेष जिम्मेवारी पनि उहाँले सम्हाल्नुभएको छ । स्नातकोत्तर र विद्यावारिधिका तहमा उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा विभिन्न विश्वविद्यालयमा दर्जनौँ शोध तथा अनुसन्धान सम्पन्न भएका छन् । नेपाली समाजका विसङ्गत पक्षहरूलाई आफ्ना सिर्जनामा उजागर गर्ने र रूपान्तरणका पक्षमा वकालत गर्ने, रूपान्तरणको स्पष्ट प्रगतिवादी वैचारिकतासमेत सम्प्रेषण गर्ने अहिलेको समयका अत्यन्तै क्रियाशील एवम् बौद्धिक स्रष्टा प्रा.डा.कपिल लामिछानेलाई उहाँले गरिरहनुभएको अनुकरणीय सत्कर्मका निम्ति २०८१ सालको रु.एक्काइस हजार एक सय राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने ।

२. वि.सं.२०४२ असोज ४ मा धादिङ जिल्लाको जोगिमारा ७, भारपाङमा माता रिबनकुमारी श्रेष्ठ र पिता भोवलाल श्रेष्ठका सुपुत्रका रूपमा जन्मिएका नवराज श्रेष्ठले एस.एल.सी.सम्मको शिक्षा हासिल गर्नुका साथै नेपाली साहित्यका कविता, कथा, निबन्ध विधामा निरन्तर कलम चलाउनुका अतिरिक्त ‘भारपाङ आबाज’ नामक कृतिसमेत संयुक्त लेखनमा प्रकाशित गरी नेपाली साहित्यका प्रति समर्पण भाव देखाइरहनुभएको छ । साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार अपराह्न १ बजे सञ्चालन गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरिका जम्मा एघारओटा गोष्ठीमध्ये कम्तीमा दशओटामा सहभागिता जनाई आफ्ना रचना वाचन गर्ने एकजना स्रष्टालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार’ दिने प्रावधान रहेकोमा यस वर्ष आयोजना गरिएका पूरै बारैओटा गोष्ठीमध्ये एघारओटामा सहभागी हुनुका साथै दशओटा गोष्ठीमा कवि नवराज श्रेष्ठले कवितावाचन गर्नुभएको अभिलेखबाट देखिएकाले २०८१ सालको रु.पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ अर्पण गर्ने ।

३. सर्लाही जिल्लामा आमा रुद्रदेवी ढकाल र बुबा देवेन्द्र ढकालकी सुपुत्रीका रूपमा जन्मिनुभएकी मञ्जु दाहालले सर्लाहीबाटै एसएलसी उत्तीर्ण गरेपछि त्रि.वि.शिक्षण अस्पतालबाट ‘सर्टिपिकेट इन मेडिसिन’ गरी जापानबाट अकुपन्चरमा स्नातक उत्तीर्ण गर्नुका साथै नेपालकै पहिलो महिला अकुपन्चरिस्ट बन्ने इतिहास बनाउनुभएको छ । नेपालका विभिन्न क्षेत्रमा चिकित्सा सेवा गर्नुका साथै विगत एक दशकभन्दा बढी समयदेखि नेपालको एक मात्र अकुपन्चर कलेज ‘ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र’मा प्राचार्यको रूपमा कार्यरत रहनुभएकी चिकित्सक एवम शिक्षासेवी अनुकरणीय व्यक्तित्व हुनुभएको हुँदा चिकित्सा शिक्षा तथा स्वास्थ्यसेवा समेतका माध्यमबाट समुन्नत समाज निर्माणमा पुर्याइरहनुभएको योगदानको उच्चसम्मान गर्दै डा.मञ्जु दाहाललाई २०८१ सालको रु.दश हजार राशिको साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मानद्वारा सम्मानित गर्ने ।

४. वि.सं.२०५८ असोज २८ मा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.८, दाप्चामा आमा दुर्गादेवी वाग्ले र बुबा रामकृष्ण अधिकारीका सुपुत्रका रूपमा जन्मिएका सरोज अधिकारी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत दाप्चा बहुमुखी क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । अत्यन्त अनुशासित, लगनशील र मिहिनेती अधिकारी पढाइमा अब्बल रहँदा रहँदै पनि विपन्न पारिवारिक पृष्ठभूमिका कारण उहाँको जेहनदार व्यक्तित्व छायाँमा पर्ने देखिएको हुँदा जीवनका भविष्यसम्मका परीक्षाहरूमा पनि उत्कृष्टता कायम गर्न÷गरिरहन उत्प्रेरणा प्राप्त होस् भन्ने अपेक्षाका साथ २०८१ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’ अर्पण गर्ने ।

५. वि.सं.२०३० असार १२ मा उदयपुर जिल्लाको नेपालटारमा माता अम्बिकादेवी खतिवडा र पिता डिल्लीप्रसाद खतिवडाकी सुपुत्रीका रूपमा जन्मिएकी भवानी खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट कृषि डिप्लोमा, बी.एड., कानुनमा एलएलबी र ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण गरी हाल नेपाल सरकारको सेवामा रहनुभएको छ । हाल तीनकुने, काठमाडाँैमा बसोवास गरिरहेकी खतिवडाका ‘घामभन्दा पहिले’ नियात्रा २०७८, ‘चारखोलाको आँगनीमा’ पद्यनियात्रा २०७९, ‘आकाश ओढेको डोल्पो’ नियात्रा २०८०, ‘प्रणाम सगरमाथा’ नियात्रा २०८१ जस्ता नियात्राका कृति प्रकाशित भएका छन् । ‘छन्द सारथी’, ‘हिमाल हेर्ने पाइलाहरू’, ‘नेपाली प्रतिनिधि नियात्रा’जस्ता कृतिको सम्पादनसमेत उहाँले गर्नुभएको छ । नेपाली साहित्यका विशेष गरी कविता र नियात्रामा कलमचलाएवापत विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गर्नुभएकी र विभिन्न सङ्घसंस्थामा क्रियाशीलता पनि देखाइरहनुभएकी भवानी खतिवडाले नेपाली नियात्रा साहित्यमा अविश्रान्त कलम चलाउँदै नियात्रा विधालाई समृद्ध पार्न गर्नुभएको योगदानको उच्चसम्मान गर्दै २०८१ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गर्ने ।

६. उल्लेखित स्रष्टा चयनका लागि साहित्य सन्ध्याका सल्लाहकार एवम् अग्रज साहित्यकार वासुदेव अधिकारीको संयोजकत्वमा नमुना शर्मा र प्रशान्त खरेल रहनुभएको स्रष्टा चयन समिति गठन गरिएको र सोही समितिले गरेको सिफारिसका आधारमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरिएको हो र उल्लिखत सबै पुरस्कार तथा सम्मान यही २०८२ भदौ ७ गते शनिबार अपराह्न १ बजे पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*