२०८३ साउन २ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४७८ औँ विशेष शृङ्खलामा ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयमा विशद चर्चा गरिनुका साथै साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको परिचर्चाका साथ कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्री उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा साहित्य सन्ध्याका सल्लाहकार प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’को उपस्थिति रहेको थियो । अतिथिहरूमा माधव प्रधान, डा.फणीन्द्रराज निरौला, प्राज्ञ नर्मदेश्वरी सत्याल, डा.गोविन्दप्रसाद आचार्य, साहित्यकार सुमी लोहनी, डा.कृष्ण सुवेदी, डा.रूपनारायण श्रेष्ठ, गायत्रीकुमार चापागाईँ, कृष्ण बाउसे, ओमप्रसाद कोइराला, महेशराज खरेललगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष, पूर्व गभर्नर एवम् अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयमा विशद चर्चा गर्नुुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा उपस्थित भएर सिर्जना सुन्ने र ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’जस्तो अत्यन्त समसामयिक विषयमा आफ्ना धारणा राख्ने अवसर मिलेको छ । यथार्थमा जीवनसँग नजोडिएको साहित्य साहित्य हुनसक्तैन । इमानका साथ जीवन घोट्ने कुनै पनि व्यक्ति होस् वा बसमा पकेट मार्ने नै किन नहुन् सबै पैसाकै लागि काम गर्छन् । रोजगारीका लागि पराया भूमिमा जीवन घोटिरहेका नेपालीहरू आयआर्जनकै लागि पसिना बगाइरहेका छन् । आयआर्जन जीविकोपार्जनका लागि हुने गर्छ । यद्यपि साहित्य चाहिँ पैसाकै लागि मात्र नभएर आत्मसनतुष्टिका लागि पनि लेखिन्छ । अर्थाेपार्जनलाई मात्र ध्येय बनाउनेहरू राष्ट्रवादी भावनामा कमजोर रहने गरेको देखिएको छ भने साहित्यकारमा राष्ट्रवादी भावना प्रबल रहेको देखिन्छ । अहिले ठुला राशिका पुरस्कारका माध्यमबाट साहित्यकारलाई प्रोत्साहित गर्ने प्रवृत्ति पनि बढेको पाइएको छ ।
आर्थिक पक्षले हेर्दा हाम्रो मुलुक कृषिप्रधान देश हो तर अहिले सेवाक्षेत्र प्रमुख हो भन्नथालिएको छ । उद्योग–व्यवसायले तेस्रो हिस्सा लिने गरेको देखिन्छ । अहिले मुलुकको अर्थतन्त्रमा सङ्कुचन रहेकाले बैङ्कहरूले व्यवसायीले मागेअनुसारको प्रकारको कर्जा प्रवाह नगरिदिएको व्यवसायीको गुनासो देखिन्छ तर बैङ्किङ क्षेत्रमा बचतकर्ताले गरेको बचतको ब्याज २% मा झरेको अवस्थाले बैङ्कप्रतिको बचतकर्ताको विश्वास घट्ने अवस्था देखिएको छ र बचतकर्ताले यति थोरै ब्याज लिएर बैङ्कमा किन पैसा राख्ने भनेर फिर्ता लिए भने भोलिका दिनमा बैङ्कमा तरलता कसरी कायम हुन्छ ? त्यसैगरी मध्यम वर्गका लागि सरकारले विशेष सहयोग गर्ने भन्ने उद्घोषले निम्नमध्यम वर्ग उपेक्षित हुने र युवापलायनको समस्या झनै बढेर जाने अवस्था देखिएको छ ! महङ्गी ५% भन्दा बढीले बढ्ने तर बचतकर्ताले बैङ्कमा राखेको रकमको ब्याज भने २% मात्र पाउने हो भने नागरिक सोझै घाटामा रहन्छन् र हरेक नेपालीको टाउकोमा रु.९८,०००।– भन्दा बढी ऋणको भार रहेको छ । यो अवस्थाले जनताको जीवनस्तर दिनहुँ कष्टकर हुने सङ्केत देखिएको छ । रोजगारीका अवसर कति हो कति सिर्जना गर्छाैँ भन्ने सरकारी उद्घोषअनुसार रोजगारी सिर्जना भइहाल्ने अवस्था पनि देखिएको छैन ।
साहित्यिक क्षेत्र पनि यो आर्थिक चपेटाबाट मुक्त हुने अवस्था देखिएको छैन । अशक्त साहित्यकार झमक घिमिरेलाई पूर्ववर्ती सरकारले बसोवासको लागि घर नै बनाइदिएर प्रोत्साहित गरेको दृष्टान्त अनुकरणीय छ । वर्तमान एआईजस्ता प्रविधिले साहित्यकारका कृतिको प्रचारप्रसारमा, बजारीकरणमा, समूहीकृत गर्ने कुरामा सहयोग गर्ने अवस्था चाहिँ रहेको छ र त्यसको सदुपयोग गरिनु आवश्यक छ भन्नेसमेतको धारणा राख्नुभयो ।
विशेष अतिथि प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको परिचर्चा गर्नुहुँदै साहित्य सन्ध्याले आजको यो विशेष समारोहमा दर्शनसँग सम्बन्धित रहेको पौराणिक कृतिका बारेमा आज परिचर्चा गर्ने कार्यक्रम राखेको छ । दर्शन वा दृष्टिकोणविना जीवन, समाज वा राज्य केही पनि चल्दैन । अष्टावक्र वैदिक वाङ्मयसँग सम्बन्धित पात्र हुन् । यो भूखण्डभित्र थुप्रै विद्वानहरूको जन्म भएको छ । सिन्धुघाटीको सभ्यताको काललगत्तै ऋग्वेदपछि यजुर्वेदको रचना भएको र जनकको समयकालमा शास्त्रीय बहस यथेष्ट भएको, यज्ञवल्क्यले सूर्यको प्रार्थना गरेर शुक्लयजुर्वेद लेखेका अनि यज्ञवल्क्यले दिएको आत्मज्ञान नै अष्टावक्र महागीतामृत हो । अहिले यसलाई भारतीय भनेर भ्रम फैलाइएको भए पनि अष्टावक्र विशुद्ध नेपाली हुन् । अष्टावक्र महागीतामृतलाई धेरै भाषामा अनुवादसमेत गरिएको छ । महाभारतमा कृष्णले बताएको गीताभन्दा अष्टावक्रगीता फरक छ । संस्कृतको त्यो भागवतलाई अनुवाद होइन अनुसिर्जन गरेर साहित्यकार सुमी लोहनीले यो अनुकरणीय कृति तयार पार्नुभएको छ । माता हरिमाया शिवाकोटी र पिता खडानन्द शिवाकोटीकी सुपुत्री सुमी लोहनीका दशओटा कृतिसमेत प्रकाशित भइसकेका छन् ।
दार्शनिक ओशोले अष्टावक्रगीतालाई महागीता भन्नुभएको छ । अष्टावक्र महागीता पढेर, ओशोको प्रवचन सुनेर गरिएको यो अनुसिर्जन महत्त्वपूर्ण रहेको छ । आफ्नै बाबुको श्रापका कारण शरीरका आठओटा अङ्ग बाङ्गाटिङ्गा भएर जन्मिएका अष्टावक्र सुजाता र कौडका सुपुत्र हुन् । प्रज्ञान् ब्रह्म, अहम् ब्रह्मास्मि, तत्त्वमसि, आत्मा नै ब्रह्मजस्ता महान् वाक्यहरू ब्रह्मसूत्रमा आए । जति फैलिन सक्छ त्यो अनन्त हुन्छ, नाशवान् हुँदैन त्यही नै ब्रह्म हो । आठ ठाउँमा बाङ्गो शरीर लिएर जन्मिएका भए पनि अष्टावक्र अत्यन्त मेधावी र प्रतिभाशाली थिए । उनले जनकको सभामा शास्त्रास्त्र गर्दा सबैलाई हराए र त्यहाँ बन्धक पारिएका आफ्ना बाबुलाई पनि मुक्त गरेर फर्किँदा बाटोमा नदीमा नुहाउँदा बुबाको श्राप पनि फिर्ता भएकाले उनको शरीर सुन्दर भयो । अष्टावक्रले जनकलाई विषय वासना त्यागेर अनि क्षमा र दयालाई अमृत ठानेर ग्रहण गर्ने सन्देश दिएका थिए । चैतन्य वा आत्मा नै ब्रह्म हो । हरेक व्यक्ति आफैँमा मुक्त हुन्छ । बुद्धले पनि आफ्नो मालिक आफैँ हो भनेका छन् । संसारमा जेजति घटना घट्छन् तिनलाई नियाल्नुपर्छ, आत्ममूल्याङ्कन गर्नुपर्छ । अष्टावक्रगीतामा बिसओटा अध्यायमा जनकलाई सन्देश दिइएको छ । रजनिश पनि अष्टावक्रबाट प्रभावित भएर महागीता भनेका छन् । साधनाको खुट्किलो नतोकी अघि बढ्दै गर र म ब्रह्म हुँ, म मुक्त छु भन्ने बोध गर, कुनै ध्यान वा तपस्या गर्नुपर्दैन । महाभारतभन्दा अगाडि नै लेखिएको हुँदा यो गीताहरूको पनि गीता हो र महागीता हो भनिएको छ । ब्रह्मज्ञानीहरूको मथिङ्गल हल्लाउने र विचार तथा आचरणको तालमेलको सन्देश दिने भएकाले अष्टावक्र महागीता महत्त्वपूर्ण दार्शनिक कृति हो । यज्ञवल्क्य र अष्टावक्रको विचारमा एकमत रहेको देखिन्छ । अष्टावक्र महागीतामृतमा रहेका बिसैओटा अध्यायका संस्कृतका श्लोक जस्ताको तस्तै राखिदिएर सरल नेपाली भाषामा अनुसिर्जन गरिएको हुँदा यो कृति अनुकरणीय र पठनीय रहेको छ । ब्रह्मवादी दर्शनजस्तो कठोर विषयमा प्रवेश गरेर सुमी लोहनीले अनुकरणीय कार्य गर्नुभएको हुँदा हार्दिक बधाइसमेत दिन्छु भननुभयो ।
अष्टावक्र महागतिामृत कृतिको अनुसिर्जन गर्ने साहित्यकार सुमी लोहनीले यो कृति धार्मिक ग्रन्थ होइन; यसले धर्म, जात, लिङ्ग, वर्ण आदि केहीका पक्षमा वकालत गर्दैन बरु यो कृति विशुद्ध आत्माका बारेमा लेखिएको र अहिलेको जीवनजगत्लाई भोग्ने हामी सबै सबैलाई यो कृति अत्यन्त उपयोगी रहेको छ । यसमा संस्कृतका जम्मा २९८ ओटा मात्र श्लोक रहेका छन् र ती श्लोकलाई दार्शनिक ओशोले व्यापक व्याख्या गरी छओटा ठुला ठेली तयार पार्नुभएको छ । यो कृतिमा भने सबै श्लोकलाई सरल नेपाली भाषामा आपूmले अनुसिर्जन गर्ने प्रयत्न गरेकी हुँ । यसले भौतिक संसारको समग्र खुसी क्षणिक हुन्छ तर आत्मज्ञानले दिलाउने खुसीले नै जीवन स्थिर पार्ने र खुसी राख्ने काम गर्छ भन्ने सन्देश दिएको छ । यो कृति हाम्रो आफ्नै देशको र मौलिक कृति पनि हो भन्नुभयो ।
समारोहमा ओमप्रसाद कोइराला, नर्मदेश्वरी सत्याल, गायत्रीकुमार चापागाईँ, डा.रूपनारयण श्रेष्ठ, महेशराज खरेल, राजन आचार्य, लक्ष्मण तिमल्सिना, चेवन बस्नेत, पोष चापागाईँ, कृष्ण बाउसे, शान्ता दाहाल, कृष्णप्रसाद पौडेल जस्ताघरे, कुमार नेपाल, डा.मनोज जोशी, माधव प्रधान, नवराज श्रेष्ठ, डा.गोविन्दप्रसाद आचार्य, जमुना आचार्य, शिवप्रसाद आचार्य, दिनेशराज खरेल, बैरागी जेठा, लीलाराज दाहाल, बलराम विष्ट, केदारनाथ आचार्य, एम.पी.पाण्डे र प्रमोद भण्डारीले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि समीक्षा गर्नुहुँदै समालोचक प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले लामो इतिहास बनाएको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा परिचर्चा गरिएको विषय र सुनाइएका कविता समसामयिक रहेका छन् । आजको यो विशेष समारोहमा शास्त्रीय छन्दका सातओटा, झ्याउरे लयका तीनओटा, सवाइका दुइटा, एउटा गीत, एउटा मुक्तक र बाँकी गद्यलयका सिर्जना वाचित भएका छन् । विषयवस्तुका दृष्टिले देश, भाषा, साहित्यको निर्माणमा विशेष योगदान गर्नेहरूप्रति सम्मानभाव व्यक्त गरिएको छ । कवितामा नेपाली समाजको यथार्थ वर्तमानलाई चित्रण गरिएको छ । भदौ २३ र २४ को घटनाले मुलुकलाई पारेको प्रभावलाई चित्रण गरिएका र आक्रोश व्यक्त गरिएका समेत कविता वाचित भएका छन् । स्रष्टाका सिर्जनाले अभिव्यञ्जनामा, लक्षणामा, प्रतीकमा, विम्बमा बोल्नुपर्ने तर विचार भने हुनै पर्ने मान्यतालाई ख्याल राख्नु आवश्यक छ । समाजका कुरूप पक्षमाथि प्रहार गर्दै रूपान्तरणको सन्देश दिनसकियो भने मात्रै सिर्जना उत्कृष्ट हुने हो । नाम, कीर्ति, अर्थ, व्यवहारिकता, आशावादिता, निशाना, मनोरञ्जन, मस्तिष्कलाई जागृत पार्नेसमेतको काम साहित्यले गर्नुपर्दछ । आजका धेरै कविता यस्तै प्रकृतिका रहेका छन् । केहीमा परिष्कार, परिमार्जन गर्नु आवश्यक रहेकै छ । आज सुनाइएका केही कविता मानक नै रहेका छन् । एक–दुई कवितामा निराशा पनि देखिएको छ र त्यसमा सुधार आवश्यक छ । स्रष्टाका सिर्जनामा समाजको यथार्थ चित्रण गरी मार्गनिर्देशन दिनुपर्ने मान्यतालाई आजका धेरै कविताले पालना गरेका छन् । अहिले मुलुक गम्भीर सङ्कटमा छ त्यसैले हामी स्रष्टाले अत्यन्त गम्भीरता र सचेतताका साथ बौद्धिक सिर्जना गरेर मुलुक र जनताका पक्षमा योगदान गर्नुपर्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । आजको यो विशेष समारोहमा पनि पुराना र स्थापित पुस्ताको उल्लेख्य सहभागिता रहेको छ । हामी जेजति यहाँ उपस्थित हुनसकेका छौँ गुणस्रीय र भव्य उपस्थिति रहेको छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज उठाउने वा बहसको थालनी गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा बहस गर्नै पर्ने निकै महत्त्वपूर्ण विषय ‘साहित्यमा अर्थ–राजनीतिक परिदृश्य’का बारेमा विद्वान व्यक्तित्व राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्व गभर्नर एवम् अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले विभिन्न तथ्ययुक्त दृष्टान्तसहित विशद चर्चा गरिदिनुभएको छ । विशिष्ट अतिथि प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको अष्टावक्र महागीतामृत कृतिको विशद परिर्चा गरिदिनुभएको छ र वाचित सिर्जनामाथि पनि समीक्षा गरिदिनुभएको छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ । वर्तमानमा देखिएको अराजकता, उग्रता, आतङ्कवादी प्रवृत्ति र भ्रम छर्ने प्रवृत्तिका विरोधमा हामी स्रष्टाको कलम चल्नु आवश्यक छ । आजको यो समारोहमा उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु, आभार प्रकट गर्दछु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply