साहित्य सन्ध्याको ४५७ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘साहित्यमा अन्तरवस्तु र रूप’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ मङ्सिर १ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित आर.आर.क्याम्पसमा साहित्य सन्ध्याको नियमित मासिक ४५७ औँ शृङ्खलामा ‘साहित्यमा अन्तरवस्तु र रूप’ विषयमा परिचर्चाका साथ कविगोष्ठी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा माक्र्सवादी चिन्तक एवम् खरो समालोचक निनु चापागाईँ प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा समालोचक विनोद मञ्जन, साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य, डम्बर पहाडी, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, महेश राज खरेल, लीलाराज दाहाल ,सुरेन उप्रेती (विदेशबाट), रत्ननिधि रेग्मी, खेमराज निरौला, दिल पौडेल, डा.हरि सिलवाल, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र)लगायतको उपस्थिति रहेको थियो ।
‘साहित्यमा अन्तरवस्तु र रूप’ विषयमा विशद चर्चा गर्नुहुँदै वरिष्ठ समालोचक एवम् चिन्तक निनु चापागाईँले वर्तमानमा साहित्यका क्षेत्रमा एकप्रकारको अन्योल र अस्तव्यस्तताको मानसिकताले जेलिएको वेलामा साहित्य सन्ध्याले यसै विषयमा चर्चाको कार्यक्रमका साथमा काव्यगोष्ठीको आयोजना गर्नु आफैँमा सकारात्मक कुरा हो । झट्ट सुन्दा साहित्यमा अन्तरवस्तु र रूप फरक कुरा हुन्जस्तो लाग्छ तर यी दुबैलाई फरक गर्न, हेर्न र बुझ्न मिल्दैन । रूपको पक्षमा अन्तरवस्तु निर्णायक हुन्छ । ‘माक्र्सवादी दृष्टिकोणले रूपपक्षलाई महत्त्व दिन्न’ भन्ने अफवाह फैलाइए पनि उक्त कुरा सही होइन, भ्रम फिँजायएको मात्र हो । कुनै पनि सिर्जनामा अन्तरवस्तुका साथसाथै रूपपक्ष एकैसाथ सक्रिय रहन्छ । रूप बाहिरी सजावट हो भने अन्तरवस्तु त्यसको प्राण हो । यी दुबैलाई मिलाएर मात्र रचना सार्थक बन्छ । यो गतिशील यथार्थको सक्रिय प्रतिविम्ब हो । यसमा वस्तुगत पाटो र आत्मगत पाटो हुन्छ । सामाजिक जीवनको अवलोकन गर्ने क्षमतालाई रूपको पक्ष मानिन्छ र यही रूप तथा अन्तरवस्तुको संयोजनबाट नै सार्थक साहित्यको सिर्जना हुन्छ । यी दुबैको तालमेल मिलाउन सकिएन भने साहित्य उत्कृष्ट बन्नसक्तैन, प्रतिस्पर्धी पनि हुँदैन । यही कुरालाई हामी विचार र कलाको संयोजन भन्ने गर्दछौँ, जुन साहित्यमा अत्यावश्यक कुरा हो भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा कविता वाचन गर्ने बालकविदेखि ८५ बर्षिय ज्येष्ठ स्रष्टाहरूमा महेशराज खरेल, लीलाराज दाहाल, सुरेन उप्रेती (विदेशबाट आउनुभएका), नवराज श्रेष्ठ, प्रलिसा अधिकारी, डम्बर पहाडी ‘एलाक’, रत्ननिधि रेग्मी, डा.मनोज जोशी, बेनीबहादुर थापा, मिसन अधिकारी, खेमराज निरौला, गोपाल नेपाल, दिल पौडेल, डा.हरिप्रसाद सिलवाल, बलराम विष्ट, विधान आचार्य, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), रीता अधिकारी, प्रशान्त खरेल, कुमार नेपाललगायत हुनुुहुन्थ्योे भने कार्यक्रममा असल स्रोताहरूको पनि उत्साहजनक उपस्थिति रहेको थियो ।
समालोचक विनोद मञ्जनले वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै साहित्य समाज रूपान्तरणका लागि लेखिनुपर्ने र स्रष्टाले सचेत भएर मात्र सिर्जना गर्नुपर्ने सन्देशसहित प्रगतिवादी साहित्य सिर्जनाका पक्षमा चर्चा गर्नुभएको थियो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले यस प्रकारका परिचर्चा कार्यक्रम चलाइरहेको हो । यसका लागि हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहिएको छ र गरिने पनि छ । आजको यो विशेष समारोहमा भने वरिष्ठ समालोचक एवम् चिन्तक निनु चापागाईँले समय निकालिदिनुभयो र विशद परिचर्चा गरिदिनुभयो । साहित्यकार, समालोचक विनोद मञ्जनले वाचित रचनामाथि सुन्दर टिप्पणी गरिदिनुभयो । कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो अनि असल स्रोताका रूपमा पनि गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

(स्रोत ः राम विनय)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*