साहित्य सन्ध्याको ४५८ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ पुस ६ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५८ औँ शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरियो; सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण तथा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा अतिथिका रूपमा साहित्यकार चन्द्रप्रसाद न्यौपाने, प्रभाती किरण, डा.कृष्ण सुवेदी, सिन्धुपाल्चोककै जनप्रतिनिधि शशिनाथ आचार्य, साधुराम नेपाल, माननीय आभा सेतु सिंह, उमेश उपाध्याय, डा.राजेन्द्रप्रसाद अधिकारी, रत्ननिधि रेग्मी, डा.प्रेमराज सिलवाल, लालुपाते सांस्कृतिक परिवारका सदस्यहरू, माधव प्रधान, महेशराज खरेल, रत्न उप्रेती, बैरागी जेठालगायतको उपस्थिति रहेको थियो ।
‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा विशद चर्चा गर्नुहुँदै समालोचक तथा अनुसन्धाता प्रभाती किरणले जनतामा आफ्नो हक अधिकारका लागि आबाज उठाउनुपर्छ भन्ने चेतनाको विकास गरेको, सङ्गठितरूपमा एकजुट भएर सङ्घर्ष गर्ने हो भने गन्तव्यमा पुगिने कुराको उद्घोष गरेको, दास मानसिकताको त्याग गरी न्याका लागि आबाज उठाउन प्रेरित गरेको; जातीय, लैङ्गक तथा अन्य सामाजिक भेदभावविरुद्धका आबाज उठाउन सिकाएको; समानता, स्वतन्त्रता, न्याय र एकताका लागि प्रतिबद्ध रहन सिकाएको; निमुखा, असहाय भनेर हेपिएका वर्गलाई जुर्मुराउन प्रेरणा दिएको; विभेदमुक्त र समतामूलक समाज निर्माणका लागि लड्न ऊर्जा थपेको भन्दै विशद रूपमा उदाहरण वा दृष्टान्तसहित परिचर्चा गर्नु गर्नुभएको थियो ।
समारोहमा सिनधुपाल्चोकका स्रष्टा लष्मण तिमिल्सिनाद्वारा लिखित कवितासङ्ग्रह ‘मातृवन्दना’को राम विनय, चन्द्रप्रसाद न्यौपाने, डा.कृष्ण सुवेदी, माननीय आभा सेतु सिंह र स्रष्टाले संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो भने लाकोर्पित कृतिमाथि डा.कृष्ण सुवेदी (भारद्वाज मित्र)ले विस्तृतरूपमा समीक्षा गर्नुहुँदै वि.सं.२०१६ सालमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको धुसेनीमा माता सीतामाई तिमिल्सिना र पिता चन्द्रलोचन तिमिल्सिनाका सुपुत्रका रूपमा जन्मिएका र शिक्षण पेसामा जीवन समर्पित गरी निवृत्त भएका लक्ष्मण तिमिल्सिनाको प्रस्तुत कवितासङ्ग्रह १०० पृष्ठको डिमाइ आकारमा सजिएको र यसमा त्रिपन्नओटा कविता समेटिएका छन् । सङ्ग्रहका कविताले पाठकको मनभित्र पुग्ने भाव सम्प्रेषण गर्ने क्षमता राख्दछन् । कवितामा सामाजिक रूपान्तरणका लागि सङ्घर्षको आह्वान गरिएको छ । कवितामा वार्णिक छन्दको सुन्दर प्रयोग गरिएको छ । विम्ब, प्रतीक, अलङ्कार र रसको सुन्दर प्रयोग पनि गरिएको छ । सानातिना असावधानीका पक्षलाई ध्यान पुर्याउनुपर्ने र छन्द मिलाउनका लागि सिङ्गा शब्दलाई हलन्त पार्नुपर्ने अवस्थाको अन्तका लागि पछिल्ला संस्करणमा ध्यान पुर्याउनु चाहिँ आवश्यक छ । परिमार्जन त जहिल्यै अपेक्षित रहन्छ नै भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा बालकवि सोइना दाहाल, ओमप्रसाद कोइराला, नवराज श्रेष्ठ, डा.मनोज जोशी, त्रिलोचन आचार्य, महेशराज खरेल, माधव प्रधान, थरेन्द्र बराल, वासुदेव अधिकारी पाँचथरे, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, रत्ननिधि रेग्मी, आभा सेतु सिंह, उमेश उपाध्याय, मिसन अधिकारी, डा.राजेन्द्रप्रसाद अधिकारी, अर्जुन अन्योल, रत्न उप्रेती र बैरागी जेठाले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
वचित रचनामाथि कवि चन्द्रप्रसाद न्यौपानेले संसारमा संस्कृत भाषा पछि सबैभन्दा बढी कविता लेखिने भाषा भनेको नेपाली नै हो । विश्वमा तेर करोड मानिस नेपाली भाषा लेख्ने, बोल्ने र बुझ्ने रहेका छन् भनिएको छ । कर्म र सङ्घर्षका माध्यमबाट आफ्नो, परिवार, समाज र देशको हित हुने काम गर्नु वा सिर्जना गर्नु प्रगतिशीलता हो । आज वाचित सिर्जनामा नेपाली राजनीतिज्ञले विगतमा गरेको दुःख, कष्ट र पीडा विलासितामा रूपान्तरित भइरहेको प्रति चिन्ताभाव व्यक्त गरिएको छ । अग्रजको सम्मान कवितामा गरिएको छ । सिर्जनामा मुलुकको समृद्धिको चाहना अभिव्यक्त भएको छ । ग्रामीण जनजीवन आक्रान्त छ तर राज्यले ठिक र योजनाबद्धरूपमा समस्याको सम्बोधन नगरेको यथार्थ भएकाले स्रष्टाले सरोकारवालाको ध्यान आकृष्ट गराएका छन् । मुलुकमा विकास हुँदै नभएको होइन तर पनि जनतामा निराशा बढेको छ र यो पक्ष निकै गम्भीर पनि छ त्यसैले सरकारको ध्यान यसतर्फ आकर्षित हुनु आवश्यक छ भन्ने ध्वन्यार्थ सङ्केत पनि सिर्जनाले गरेका छन् । मानिसले मानिसलाई भर्याङ बनाएको दृष्टान्तका माध्यमबाट वर्तमान राजनीतिका प्रति तिखो व्यङ्ग्य गरिएको छ । युवापलायनले देश शून्य हुँदै गएको पीडा कवितामा उजागर गरिएको छ । देश र जनताको हितलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने पक्षमा स्रष्टाले ध्यानाकर्षण गराएका छन् । समग्रमा आजको यो गोष्ठीमा समसामयिक सामाजिक अवस्थाको चित्र स्रष्टाका सिर्जनामार्फत उजागर गरिएका छन् त्यसैले आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
साहित्य सन्ध्या र राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अभियानमा सहकार्य गरिरहनुभएका प्रेमराज सिलवालले अन्तराष्ट्रिय कानुन विषयमामा विद्यावारिधि गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गरियो । समारोहमा डा.प्रेमराज सिलवालले पनि हामी स्रष्टाले निराशा र हतासाका कुरा होइन, केही पनि हुँदै भएन भन्ने मात्र कुरा होइन समाज निर्माणका र आशावादी कुरा लेख्नुपर्छ र गलत अफवाह फैलाउने प्रवृत्तिका विरुद्धमा पनि सिर्जना गर्नुपर्छ भन्ने धारणा राख्नुभएको थियो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको हो । हामी स्रष्टाले सत्य र सही कुरालाई ठिक भन्ने र गलत कुरालाई गलतै भनेर प्रतिवाद गर्नु आवश्यक छ । त्यसमा पनि समाज विथोल्ने र भिड जम्मा पारेर गलत प्रवृत्तिलाई स्थापित गर्ने दुश्प्रवृत्तिलाई त तत्कालै आफ्ना सिर्जनाका माध्यमबाट प्रतिवाद नै गर्नु आवश्यक छ । साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहेको छ र गरिने पनि छ । आजको यो विशेष समारोहमा भने प्रभाती किरणले मिहिनेतपूर्वक ‘समाज रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा विशद परिचर्चा गरिदिनुभएको छ । सिन्धुपाल्चोकका स्रष्टा लक्ष्मण तिमिल्सिनाको ‘मातृवन्दना’को लोकार्पणको अवसर हामीलाई प्राप्त भएको छ र त्यस कृतिमाथि डा.कृष्ण सुवेदीले पनि विशद रूपमै समीक्षा गरिदिनुभएको छ । वाचित रचनामाथि साहित्यकार चन्द्रप्रसाद न्यौपानेले टिप्पणी गरिदिनुभएको छ । कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो अनि असल स्रोताका रूपमा पनि गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*