साहित्य सन्ध्याको ४७७ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘वर्तमान समयमा अल्गोरिदमको असर र डार्क पिआरले मानवमस्तिष्कमा पार्ने प्रभाव’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो

२०८३ असार ६ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा साहित्य सन्ध्याको नियमित मासिक ४७७ औँ शृङ्खलामा ‘वर्तमान समयमा अल्गोरिदमको असर र डार्क पिआरले मानवमस्तिष्कमा पार्ने प्रभाव’ विषयमा विशद परिचर्चा गरिनुका साथै कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा अतिथिका रूपमा सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, डा.गोविन्दप्रसाद आचार्य, डा.कृष्ण सुवेदी, गोपाल बराल, डम्बर पहाडी, प्रशान्त खरेल, ज्ञानु विद्रोही, ललिता दोषी, ओमप्रसाद कोइराला, प्रभाती किरण, नारायण निरासी, नन्दु उप्रेती र पोषरमण चापागाईँ उपस्थित हुनुहुन्थ्यो ।
साहित्य सन्ध्यामा धादिङदेखि पटक पटक उपस्थित भएर मुखाग्र कविता सुनाउने भवलाल श्रेष्ठ (कवि नवराज श्रेष्ठका बुबा) ७४ वर्षको उमेरमा २०८३ वैशाख १० गते असामयिक कीर्तिशेष हुनुभएको खबर आजै प्राप्त भएको हुँदा उहाँका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरी थालनी गरिएको उक्त विशेष समारोहमा विषयविज्ञ प्रशान्त खरेलले ‘वर्तमान समयमा अल्गोरिदमको असर र डार्क पिआरले मानवमस्तिष्कमा पार्ने प्रभाव’ विषयमा प्रविधिको प्रयोगका माध्यमबाट विशद रूपमा परिचर्चा गर्नुहुँदै कुनै पनि विषयवस्तुको परिचय वा देखिएका समस्याका समाधान पनि खोज्ने प्रयत्न अलगोरिदमले गर्ने र यसको प्रयोग छैटौँ शताब्दीमै ग्रिक गणितज्ञ युक्लिडले गरिसकेका हुन् । फारसी गणितज्ञले व्यवहारिक रूपमै प्रयोगमा ल्याएको अल्गोरिदम आर्टिफिसियल इन्टेलिजेन्सी र मेसिन लर्निङको मेरुदण्डका रूपमा प्रयोग भएको पाइन्छ । यसले हाम्रा सम्पूर्ण डाटा हाम्रै डिभाइसमा कतै सुरक्षित राख्ने र ती सम्पूर्ण डाटा डाटा कम्पनीहरूमा सजिलै पुग्ने हुँदा हामीले सामाजिक सञ्जाल प्रयाग गरेकै आधारमा हरेक मानिसको बानी, रुचि सिकेर त्यही व्यक्तिको भविष्यवाणीसमेत यसले गरिदिन्छ । हामीले सामाजिक सञ्जालमा हेरेका, लाइक गरेका, प्रतिक्रिया जनाएका आधारमा हाम्रा रुचि तथा आनीबानीसमेत यसले पत्ता लगाइदिन्छ । खोजेका कुरा तत्कालै पाइँनु, स्वास्थ्य र विज्ञानका क्षेत्रमा क्रान्ति नै ल्याइदिनु, मौसमको पूर्वानुमान गर्नु, नयाँ औषधिहरूको पहिचान गर्नु अल्गोरिदमका राम्रा पक्ष हुन् । तर यसको उद्देश्य चाहिँ सत्यको खोजी गर्नु होइन, प्रयोगकर्तालाई स्क्रिनमा कैद गरेर राख्नु र नाफा कमाउनु हो । डिजिटल लत लगाइदिने, मस्तिष्कको डोपामाइन बढाइदिने, प्रयोगकर्तालाई एकोहोरो पारिदिने, मनोवैज्ञानिक प्रभावका माध्यमबाट आक्रोश सिर्जना गरिदिने, पूरै नकारात्मक पारिदिने, मन परेको मात्र ठिक अरू सबै गलत भन्ने अवस्थामा प्रयोगकर्तालाई पुर्याउनु चाहिँ यसका नकारात्मक पक्ष हुन् ।
डार्क पिआरको प्रयोग चाहिँ सोभियत सङ्घको विघटनपछि सुरुवात भएको हो । यो सञ्चारका क्षेत्रमा खोलिने सूक्ष्म र अदृश्य युद्ध हो, खण्डन गर्नेहरूले अर्काे तरिका प्रयोग गर्दा पनि लामै समय (डेढ–दुई वर्ष) लाग्ने हुन्छ । संसारमा कैयौँ गोप्य एजेन्सी खुलेका छन् जसले पैसा लिएर कसैको प्रतिष्ठा समाप्त पारिदिन्छन् । नक्कली जनलहर पैदा गर्ने वा भ्रम सिर्जना गर्दा पनि केही न केही सत्य अंशको सहारा भने लिइएको हुन्छ । अर्थात् यसमा सत्य र झुटको मिश्रण रहेको हुन्छ । गलत एआई डकुमेन्ट तयार पारिदिने, जनतामाझ चौबिसै घण्टा प्रोपोगन्डा फैलाइदिने काम यसले गर्दछ । प्रमुख सञ्चारलाई अविश्वासिलो पारिदिने, पूर्वसाम्राज्यवादभन्दा खतरनाक हुने, औद्योगिक पुँजीवादमा भन्दा डाटामा विश्वास गराइदिने, आजको निगरानी पुँजीवादले निजी अनुभव, भावना र चेतनाअनुसार वस्तुको कल्पना गराइदिन्छ । चौका गोलो भएकाले बेलेको रोटी गोलो भएको होइन भन्ने सत्यलाई लुकाएर आर्थिक पक्षमा जोड दिने, म मात्रै ठिक र राम्रो भनाउने, परम्परा र भूसांस्कृतिक सम्बन्धलाई सँगै लैजाने काम गर्दछ । मुख्य स्रोतका रूपमा डाटा र व्यवहारलाई लिने, नियन्त्रणको साधन एआई मान्ने, भौगोलिक प्रभाव सीमारहित वा वैश्विक मान्ने काम यसले गरिरहेको छ । प्रयोगकर्ताकै डिजिटल डाटा लिएर ऋलगोरिदम छनोट गर्ने सामग्रीको सिफारिस गर्दछ । सूचनाछनोट र चेतना निर्माण गराउने, विचार विभाजन गर्ने, मनोवैज्ञानिक ध्रुवीकरण गर्नेजस्ता काम अल्गोरिदमले गर्ने भएकाले कोही कसैले गलत सूचना तथा समाचार मात्र पठाएमा त्यस्ता प्रयोगकर्ताबाट बच्नुपर्दछ, सचेत हुनुपर्दछ । भाइरल हुनका लागि सत्यभन्दा बढी गलत सूचना पठाउने, आवेग पैदा गरिदिने, निर्वाचनमा बाह्य हस्तक्षेप हुने, व्यक्तिका सूचना जति बढी लियो त्यति अरूलाई बेच्न सक्ने, एकाधिकारको बाटो समात्ने भएकाले सामाजिक सञ्जालको नेपाल सर्भर नहुँदासम्म वा नेपालमा दर्ता नहुँदासम्म यस्तै भइरहन्छ । श्रमिक अधिकार समाप्त पार्दै लाने, गम्भीर कुरा पनि सतही बनाइदिने वा सतही रूपमा मात्र लिने, हामीविरुद्ध उनीहरूको अवस्था सिर्जना गरिदिने, आँसु र घृणाका भावना विजयी हुँदै जानेसमेतको अवस्था रहँने हुँदा समग्र तथ्याङ्कलाई स्थानीय तहसम्म पुर्याएर सुरक्षित पार्ने प्रयत्न गर्ने र पारदर्शिताका माध्यमबाट ऋलगोरिदम शिक्षा दिने व्यवस्था मिलाउने काम चाहिँ सरकारको तहबाटै गरिनु आवश्यक छ भन्नेसमेतका अनेकन दृष्टान्त प्रस्तुत गर्नुभयो ।
समारोहमा ओमप्रसाद कोइराला, डम्बर पहाडी, ललिता दोषी, सुशिला प्रधानाङ्ग, गोपाल बराल, डा.मनोज जोशी, प्रिन्स प्रमोद, केदारनाथ आचार्य, नवराज श्रेष्ठ, डा.गाविन्दप्रसाद आचार्य, नारायण निरासी, कुमार नेपाल, राधिका भण्डारी सापकोटा, प्रभाती किरण, जयन्ती स्पन्दन, लक्ष्मण तिमल्सिना, अमरदीप सुनुवार, डा.कृष्ण सुवेदी, दिल पौडेल, नन्दु उप्रेती, राजाराम राउत, रूपक अलङ्कार, वासुदेव अधिकारी र गोपालकुमार मैनालीले आआफ्ना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि पनि समीक्षा गर्नुहुँदै समालोचक ज्ञानु विद्रोहीले आजको यो विशेष समारोहमा सिद्धान्तलाई अत्यन्त व्यवहारिक पारेर अल्गोरिदमका बारेमा अत्यन्त समसामयिक परिचर्चा प्रशान्त खरेलले गरिदिनुभएको छ । आजको यो विशेष समारोहमा कविता सुनाउने चाहिँ धेरै तर सुन्ने चाहिँ कम देखिनुभएको छ, यो भने समस्या हो भन्ने लागेको छ । हतार हतारमा कविता लेख्ने र सुनाइहाल्ने अर्थात् परिष्कार नगर्ने प्रवृत्ति पनि स्रष्टाका लागि समस्याको कुरा हो । साहित्यकार विजय चालिसेको सम्मान र सम्झनामा रचिएको कविता वाचित भएको छ । साहित्य सिर्जना गर्ने स्रष्टाको परिवारको पीडा निकै संवेदनशील रूपमा आएको छ । सर्कसभित्रको सिंहजस्तो विम्बका माध्यमबाट वर्तमानको चित्रण कवितामा गरिएको छ । केही कविताले वर्तमानको जीवन्त र निखारयुक्त चित्रण गरेका छन् । बुबाको सम्मान र प्राप्त प्रेरणाको जीवन्त संस्मरण बनेर पनि कविता आएको छ । समयको चित्रणसहित आक्रोश मिसिएको पोलेको आलु शीर्षकको कविता वाचित भएको छ । देशभक्ति र जागरणका कविता वाचित छन् । वैयक्तिक जीवन र राजनीतिक परिदृश्य पनि कवितामा आएको पाइन्छ । राजनीतिज्ञभित्रको बाँदरपन कवितामा चित्रित भएको छ । मुलुक आतङ्कमा गुज्रिरहेको वर्तमानका प्रति आक्रोश व्यक्त गरिएको छ । आगोको रङ कालो भएर विध्वंसको प्रतीक बनेको चित्रण कवितामा गरिएको छ । चेतनाको विम्बको रूपमा कवितामा डायरीको प्रयोग भएको छ । बुख्याँचाजस्तै संवेदनहीन बनेको वर्तमानका प्रति कवितामा आक्रोश व्यक्त गरिएको छ । आपूm अराजक भएर अरूलाई अनुशासन सिकाउने प्रवृत्तिको विरोध कवितामा गरिएको छ । असारको सम्झना गीतमा गरिएको छ । वर्तमान विस्तारै खुल्दै खुल्दै जाने अपेक्षा पनि कवितामा गरिएको छ । शिक्षा दिने मास्टरलाई उपहासको पात्र बनाउने प्रवृत्तिका प्रति प्रहार गरिएको छ । विगतदेखि वर्तमानसम्मको कान्तिपुर गाथा कवितामा आएको छ । अल्गोरिदमको प्रभावका कविता पनि वाचित भएका छन् । समग्रमा आजको यो विशेष समारोह सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा भने ‘वर्तमान समयमा अल्गोरिदमको असर र डार्क पिआरले मानवमस्तिष्कमा पार्ने प्रभाव’जस्तोअत्यन्त समसामयिक विषयमा परिचर्चाका साथ कविगोष्ठी सम्पन्न गरिएको छ । आजको यो विशेष समारोह प्रविधिमैत्री रहेको हुँदा परिचर्चाकार प्रशान्त खरेल अत्यन्त धेरै धन्यवादका पात्र हुनुहुन्छ । आज वाचित सिर्जनाले मुलुकको सासामयिक अवस्थाको जीवन्त चित्रण गरेका छन् भन्ने मूल्याङ्कनसहितको समीक्षा समालोचक ज्ञानु विद्रोहीले गरिदिनुभएकाले उहाँलाई पनि धन्यवाद छ । त्यसैले म आजका अतिथि, कविहरू तथा सहभागी सबै सबैका प्रति हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*