साहित्य सन्ध्यामा ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयक परिचर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३५ औँ विशेष शृङ्खला पुस २ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयमा परिचर्चाका साथ विशेष कविगोष्ठी गरी सम्पन्न भयो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा.डा.ध्रुवकुमार घिमिरे, विशेष अतिथि एवम् टिप्पणीकारका रूपमा डा.फणीन्द्रराज निरौला र पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ विष्णु प्रभात, साहित्यकार एवम् नेपाल राष्ट्र बैङ्कका सञ्चालक सदस्य चिन्तामणि सिवाकोटी, महेशराज खरेल, साधुराम नेपाल, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, खेमराज निरौला, सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रा.डा.ध्रुवकुमार घिमिरेले साहित्य सन्ध्याको यो विशेष समारोहमा बालसाहित्यका बारेमा चर्चा हुनु खुसीको कुरा हो र सन्ध्याले दायित्व बोध गरेको छ । यहाँ उपस्थित हामी सबै प्रबुद्धहरू बालकबाट प्रबुद्ध भएका हौँ । अहिले हामीले गरिरहेको मिहिनेत पनि सन्तानका लागि हो अर्थात् बालकका लागि हो । ‘बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन अर्काका छोराछोरीमाथि’ भनिने उखान चाहिँ युवा वयमा लागू हुन्छ । वर्तमानमा बालापनका बारेमा व्यापक अध्ययन अनुसन्धान भएका छन् । बालकको उमेर विभाजन गर्दा सुरुदेखि तीन वर्षसम्म एउटा चरण, ३–५ वर्षसम्म अर्काे चरण, ५–७ वर्षसम्म अर्काे चरण, ७–९ वर्षसम्म अर्काे चरण र ९–१२ वर्षसम्मको समयावधिलाई बालक मान्ने र त्यही उमेरसमूहलाई लक्षित गरी लेखिने साहित्यलाई बालसाहित्य भनिएको छ र त्यसपछिको साहित्यलाई भने किशोर साहित्य भनिन्छ । नेपालमा करिब एक करोडको सङ्ख्यामा बालबालिका रहेका छन तर बालसाहित्यका पुस्तक भने पाँच हजार मात्र र त्यसमा पनि तीन हजार मात्र प्राप्य छन् । बालबालिकालाई पुस्तक उपहार दिने, पढ्न प्रेरित गर्ने पुस्तकीय मायाको संस्कार हामीकहाँ कम छ । अहिले बालबालिकाका लागि चित्रकथाका पुस्तकहरू करिब आठ वर्ष उमेरसमूहसम्मलाई लक्षित गरी बढी प्रकाशित भएका छन् र पाठ्यपुस्तकमा पनि बालसाहित्यलाई स्थान दिने गरिएको छ । बालबालिकालाई केही न केही शिक्षा दिनुपर्छ भन्ने मनसाय राखेर लेखिने बालसाहित्यको पठनमा बालबालिकाको रुचि कम रहेको पाइन्छ । अर्थात् बालबालिकाको रुचि पहिचान गरेर लेख्ने शैलीको विकास कम भएको छ । १३० वर्षको नेपाली बालसाहित्यको इतिहासले बालबालिकाको रुचिको पक्षमा नभई लेखक उपदेशक बन्ने वा बोल्ने हाम्रो लेखनले बालकलाई दबाब सिर्जना गरेको पाइन्छ । हाम्रा बालकविता, बाललोकगीतमा परमपरागत पक्ष र आधुनिकताको पक्ष दुबै पाइन्छ । आधुनितामा अलि बढी परिवर्तनको पक्ष, शोषणका पक्ष, अन्यायका पक्ष, अत्याचारका पक्ष आएका छन् । विशेषगरी बाललोकगीतमा यी पक्ष आए पनि बालबालिकाको आफ्नै संसार हुन्छ र हामीले बुझेको कुरा बालकले बुझ्दैन र पढ्दैन भन्ने कुरामा अलि बढी नै हेक्का राख्नु जरुरी छ । पछिल्ला चरणका बालसाहित्यमा श्रमका कुरा, जातीय विभेदका कुरा, जाँगर चलाउनुपर्छ अल्छी गर्नुहुन्न भन्ने कुरा, समाजमा व्याप्त असमानताका कुरा, गरिबीका कुरा, राष्ट्रियताका कुरा, छुवाछुतका कुरा, लैङ्गिक विभेदका कुरा, स्वतन्त्रता र स्वाधीनताका कुरा निकै प्रखररूपमा आएका छन्, बालबालिकाकै पक्षधरता राखी लेखिएका छन् । हामी स्रष्टाले हाम्रा सिर्जनामा स्रष्टा होइन बालक बोल्नुपर्छ भन्ने मान्यता राखेर कलम चलाउनु आवश्यक छ भन्ने पक्षलाई पछिल्लो चरणमा ध्यान दिन थालिएको छ । सरकारी तहबाट हरेक विद्यालयमा बालसाहित्यका पुस्तक पुर्याउने, बालपुस्तकालय स्थापना गर्ने लक्ष्य भए पनि कार्यान्वयन भएको पाइँदैन । आजका स्रष्टाले बालपाठकको आकर्षण बढाउन सकिएन भने भोलिका दिनमा हाम्रो साहित्य आफैँमा अप्ठ्यारोमा पर्छ, पढिदिने पाठक नै हुँदैन भन्ने कुरामा सरोकारवाला सबै पक्षले चिन्तन, मनन, लेखन, प्रकाशन, प्रसारण गर्नु आवश्यक छ भन्ने धारणा राख्नुभयो ।
गोष्ठीमा नारायण निराशी, ओमप्रसाद कोइराला, कुमार नेपाल, महेशराज खरेल, विन्दु ढकाल अधिकारी, चिन्तामणि सिवाकोटी, डा.गोविन्दप्रसाद आचार्य, देवी मैनाली, खेमराज निरौला, शिवप्रसाद आचार्य, भावना न्यौपाने, डम्बर पहाडी एलाक, गोपालकुमार मैनाली, प्रशान्त खरेल राम विनय र शान्ता मानवीले आआफ्ना कविता, गीत, मुक्तक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि टिप्पणी गर्दै डा.फणीन्द्रराज निरौलाले साहित्य सन्ध्याको आजको यो विशेष गोष्ठीमा सिद्धहस्त स्रष्टाहरूको उपस्थिति रहेको छ । अनेक आरोह–अवरोह र कालखण्ड पार गरेर ऐतिहासिक एवम् गौरवमय संस्थाको रूपमा स्थापित भएको साहित्य सन्ध्याले हजारौँ स्रष्टा उत्पादन गरेको छ, गहन विषयमा प्रशिक्षण दिने, बहस गर्ने गरेको छ । सिर्जना गरेपछि स्रष्टाले सुनाउने ठाउँको खोजी गर्छ र त्यो उपयुक्त स्थल बनेका छन् सन्ध्याका मासिक गोष्ठी । त्यसैले साहित्य सन्ध्याले स्रष्टाकेन्द्रित पारेर कसरी लेख्ने ? कस्तो लेख्ने, कसका लागि लेख्ने ? जस्ता विषयमा उत्प्रेरणा प्रदान गर्नानिमित्त वैचारिक प्रशिक्षणसमेत दिने गरेको छ । स्रष्टाका सिर्जना उसको वचान वैशिष्ट्यले अझै प्रभावकारी हुन्छन् । स्रष्टा समसामयिक परिवेशको भोक्ता पनि भएकाले आफ्ना सिर्जनामा आक्रोश पनि व्यक्त गर्दछ । आजका कवितामा पनि त्यो स्वर मुखरित भएको छ । स्वार्थी, साम्राज्यवादी हमलाको प्रभाव नेपालमा परेकाले सचेत हुनुपर्ने राष्ट्रवादी स्वर प्रखररूपमा कवितामा अभिव्यक्त भएको छ । कवितामा उच्च राष्ट्रप्रेम एवम् आदर्शको प्रकटीकरण पनि भएको छ । कवितामा एकताको आग्रह गरिएको छ । कुनै कुनै कवितामा विचार अलि बढी आयो, लयचेतना कम देखियो त्यसैले थप परिष्कार आवश्यक छ । जुन नेतृत्वलाई हिजो आदर्श मानियो आज त्यही आफ्नो विचारमा, निष्ठामा च्यूत भएको, स्खलित भएकोमा कवितामा चिन्ता व्यक्त गरिएको छ, आक्रोश व्यक्त भएको छ । कवितामा सामयिक चेतना सशक्त, सन्तुलित र प्रभावकारीरूपमा अभिव्यक्त भएको छ । पूmल कोमलताको प्रतीक हो र नारीलाई पनि कोमलताको प्रतीक मानिए पनि नारी उत्पीडनमा परेका यथार्थको अभिव्यक्ति कवितामा भएको छ । विचारलाई साधनाका माध्यमबाट अभिव्यक्त गर्ने, गाउँका पीडा र यथार्थको जीवन्त चित्रण गर्ने, गाउँमा मलामीसमेत नपाइँने र गाउँ वृद्धाश्रम भएको मर्मान्त पीडा पनि गीतमा आएको छ । साम्राज्यवादले हुर्काएको विद्यालयमा बन्दुक संस्कृतिले आक्रामक चेतना विकास भएको प्रति कडा विरोध गरिएको छ । नारीहरू क्षमताले शक्तिशाली हुँदाहुँदै पनि अवसरले वञ्चित हुनुपरेको वर्तमानको यथार्थको प्रकटीकरण पनि कवितामा भएको छ । वर्तमान राजनीतिक नेतृत्वको चरित्र विकृत भएको र विचार स्खलित भएकाले मुलुकको हित हुननसक्ने चिन्ताका साथ सङ्घर्षको आग्रह पनि कवितामा गरिएको छ । एकैपटक सबै कुराको प्राप्ति नहुने भएको हुँदा निराशा होइन धैर्य आवश्यक छ भन्ने धारणा पनि कवितामा निकै सुदरढङ्गले अभिव्यक्त भएको छ । कवितामा देशप्रेमको भावना सशक्त भएर अभिव्यक्त भएको छ । देशमा देखिएका विद्रुप पक्षको उदात्तीकरण र परिवर्तनशील वैचारिकताको आग्रह गरिएको छ । समसायिकताको चित्रण गर्दै देशको अवस्था र दलित चेतना एलाकमा माध्यमबाट अभिव्यक्त गरिएको छ । कवितामा प्रगतिशील विचार, चेतना, अनुभवसमेत घोलिएका प्रबुद्ध कविता वाचित भएका छन् । प्राय: सबै कविताले सामाजिक मूल्यमान्यता विघटित भएको, स्वार्थप्रेरित सत्ताको हानथाप बढेको, देशको भोलिको अवस्था अन्योलमा रहेको, नागरिकका कथाव्यथा यथावत रहेका र जनअपेक्षामा कुठाराघात भएकामा कवितामा चिन्ता व्यक्त गरिएको छ, सुधार तथा रूपान्तरणका पक्षमा बुलन्द आबाज उठाइएको छ । वाचित सबै रचना सरल, सहज र सम्प्रेष्य पनि रहेकाले आजको गोष्ठी उत्कृष्ट रहेको छ भन्ने धारणा राख्नुभयो ।
साहित्यकार शान्ता मानवीले साहित्यको जग बसाउन योगदान गर्ने, साहित्यकार उत्पादन गर्ने साहित्य सन्ध्याको आजको गोष्ठी निकै सार्थक रह्यो । साहित्यमा पनि पुस्तान्तरण आवश्यक छ र नवोदिन स्रष्टालाई आमन्त्रण गर्नु आवश्यक छ । राष्ट्र बचाउने दायित्व स्रष्टामा रहेको हुन्छ त्यसैले सचेतताका साथ सिर्जना गरिनु आवश्यक छ । नेपाली राजनीतिका हिजो आदर्श मानिएका नेतृत्व आज पूर्णरूपमा विचार तथा व्यवहारमा स्खलित भएका यथार्थलाई आजका कविताले अत्यन्त सुन्दरढङ्गले उजागर गरेका छन् र स्रष्टाको यो दायित्व पनि हो । ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयमा अत्यन्त व्यवहारपरक र गहन बहस र वाचित कवितामाथि अत्यन्तै मसिनोगरी टिप्पणी पनि सुन्ने अवसर प्राप्त भएकाले आजको गोष्ठी महत्त्वपूर्ण लागेको धारणा व्यक्त गर्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा गुणस्तरीय उपस्थिति रहेको छ । प्रमुख अतिथिले आज गरिदिनुभएको चर्चाले बालसाहित्यको सिर्जना गर्ने हो भने निकै धेरै सावधानी आवश्यक हुन्छ भन्ने ऊर्जा हामीलाई प्राप्त भएको छ । त्यसैगरी टिप्पणीकारले वाचित सिर्जनामा निकै मसिनो टिप्पणी गरी साधकले हेक्का राख्नुपर्ने पक्षमा औँल्याइदिने र हौसल्याइदिने कार्य गरिदिनुभएको छ । म दुबै जनाप्रति आभार व्यक्त गर्दछु । प्रविधिका माधयमबाट हाम्रो गोष्ठीलाई संसारभर पुर्याइदिने सन्ध्याका सदस्य प्रशान्त खरेल र गोष्ठीको सम्पूर्ण विवरण तयार पार्ने उपाध्यक्ष रमेश पोखरेल पनि धन्यवादको पात्र हुनुहुन्छ । आफ्नो समयको व्यवस्थापन गरी हाम्रो निम्तालाई स्वीकार गरी उपस्थित भइदिने स्रष्टाहरूसमेतलाई हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार भौतिक उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*