विगत एकचालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५५औँ शृङ्खला असोज ५ गते शनिबार अपराह्न ठिक १ बजे ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था र आवश्यकता’ विषयमा विशद चर्चा, ‘पुनर्जन्म’ संस्मरणसङ्ग्रहमाथि परिचर्चासहित विशेष कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा अतिथि एवम् विषयप्रस्तोताका रूपमा बालसाहित्यकार, अभियन्ता रामदेव पाण्डेय उपस्थित हुनुहुन्थ्यो भने ‘पुनर्जन्म’ संस्मरणसङ्ग्रहको परिचर्चाकार तथा वाचित रचनामाथि टिप्पणी गर्ने अतिथिका रूपमा क्रमशः अर्जुन अन्योल र प्रभाती किरण उपस्थित हुनुुहुन्थ्यो । अन्य अतिथिहरूमा मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, नियात्राकार पोषरमण चापागाईँ, अग्रज स्रष्टाहरू कणाद महर्षि, गायत्रीकुमार चापागार्इँ, महेशराज खरेल, कात्यायन, डा.कृष्ण सुवेदी, मुकुन्द ढकाललगायतको उपस्थिति रहेको थियो ।
‘नेपाली बालसाहित्यको वर्तमान अवस्था र आवश्यकता’ विषयमा अतिथि रामदेव पाण्डेयले लिखित रूपमै ल्याउनुभएको सामग्रीका माध्यमबाट विशद चर्चा गर्नुहुँदै बालसाहित्यलेखन दक्षिण एसियाकै लगभग लगभग उस्तै उस्तै रहेको पाइएको, बालसाहित्य लेखन तथा प्रकाशनका लागि सरकारी प्रयत्न हाम्रो मुलुकमा अत्यन्त फितलो रहेको, करिब ३३% बालबालिका प्राथमिकतामा नपरेका, सरकारी निकायहरू पनि राजनीतिक प्रभावको सिकार भएका र अपेक्षाकृत काम हुननसकेको, पठन संस्कृतिको न्यूनताका कारण बालसाहित्य लेखन तथा प्रकाशनको अवस्था कमजोर रहेको, बालबालिका अध्ययन गर्ने विद्यालयहरूमा पुस्तकालयको अभाव रहेको, निजी प्रकाशन संस्थाकै भरमा नेपाली बालसाहित्य अडेको, नयाँ प्रविधिले बालसाहित्यलाई सुन्न र हेर्न मिल्नेगरी व्यवस्थापन गर्नसकिने भए पनि खर्चका हिसाबले निजी क्षेत्रको पहुँच नपुगेको हुँदा सरकारको योजनाबद्ध कार्य अपेक्षित रहेको, सरकारले क्षेत्रगत वा प्रदेशगत बृहत् पुस्तक प्रदर्शनी गर्नुपर्ने खाँचो देखिएको, विद्यालयहरूमा व्यवस्थित पुस्तकालय स्थापना गर्नुपर्ने, घरैदेखि बालबालिकालाई पुस्तकमा रमाउने वातावरण तयार पार्नुपर्ने अवस्था रहेको हुँदा यसतर्फ सरोकारवाला सबै निकायको ध्यान जानु जरुरी छ । हालै नेपाल सरकारले सात सदस्यीय पुस्तकालय, पुस्तक छनोट मूल्याङ्कन समिति बनाएको छ र यसले काम चाहिँ गरिरहेको छ भन्ने जानकारीसहितको विस्तृत चर्चा गर्नुभयो ।
विशेष समारोहमा साहित्य सन्ध्याका अध्यक्ष राम विनयद्वारा लिखित संस्मरणसङ्ग्रह ‘पुनर्जन्म’माथि परिचर्चा गर्नुहुँदै साहित्यकार अर्जुन अन्योलले २०७६ चैत्रबाट नेपालमा पनि प्रवेश गरेको कोरोना महामारीको प्रभाव धेरै नेपालीले भोगे, व्यहोरे । धेरै मानिसको ज्यानसमेत यही महामारीले लियो । लेखक राम विनयका सहोदर बुबा, माहिलो र कान्छो भाइसमेत यसै महामारीमा परेर कीर्तिशेष हुनुभयो । स्वयम् लेखक पनि यो महामारीको चपेटामा पर्नुभयो र बल्ल बल्ल उहाँको जीवन बच्न सक्यो । लेखक महामारीको सिकार बनिसकेपछि बल्ल बल्ल बी एन्ड बी अस्पतालमा बेड प्राप्त भएर उपचार गरिरहँदा त्यहाँको उपचारले परिवारलाई चित्त नबुझेर ह्याम्स अस्पतालमा लगिएको; परिवारका सदस्यहरूको एकता, सद्भाव, हातेमालोका माध्यमबाट दश लाख खर्च लगाएर भए पनि जीवनरक्षा हुनसकेको तर यो महामारीबाट राम्रो उपचार नपाएर आमजनता प्रताडित भएका, उपचारको अभावमै ज्यान गुमाउन बाध्य भएका र सरकार आमजनताको नजिकको सहयोगी साबित हुननसकेको अवस्थाको दर्दनाक एवम् दुःखान्त चित्रण कृतिमा गरिएको छ । लेखकले सरल एवम् प्रवाहपूर्ण भाषाशैलीमा परिवारका सुखदुःखका कुरा, घरव्यवहारका कुराजस्ता मसिना कुरालाई पनि सबै सबै सम्झेर यो उमेरमा पनि कृतिमा समावेश गर्नुभएको छ । पारिवारिक मेलमिलाप र हार्दिकतापूर्ण सहयोगले लेखकको जीवन बच्नसकेको निचोड पनि लेखकले निकाल्नुभएको छ । साथै आफ्नो घरव्यवहार तथा लेनदेनसमेतका बारेमा परिवारका सदस्यका बिचमा छलफल तथा जानकारी हुनु आवश्यक छ भन्ने व्यवहारपरक सन्देश पनि कृतिले दिएको छ । आफ्नो जीवनमा आस्तिक नभएको मानिस पनि अन्तिम अवस्थामा वा मृत्युशैयामा लडिरहँदा चाहिँ मान्छे नास्तिक नै रहिनरहन पनि सक्छ भन्ने यथार्थको उद्घाटन पनि कृतिमा भएको छ । लेखकको स्वभाव, विचार, व्यक्तित्वका साथै नेपाली समाज पनि यो कृतिमा उद्घाटित भएको छ । स्रष्टाले आपूm स्वस्थ हुँदा एक्लोपन रुचाउँछ तर त्यही स्रष्टा बिरामी हुँदा उसलाई अस्पतालको एक्लोपन अत्यन्त पट्यारलाग्दो हुन्छ भन्ने यथार्थलाई पनि कृतिले समेटेको छ । अप्ठ्यारो परेको वा बिरामी परेकै वेलामा आफन्त र पराइको पृथकता पनि छुट्याउन सकिँदो रहेछ भन्ने कुरालाई पनि कृतिले उजागर गरेको छ । कृतिको साजसज्जा आकर्षक रहेको छ भन्ने धारणासहित वर्णविन्यासमा अझै दृष्टि पुरयाउनुपर्ने र विषयको पुनरावृत्तिमा सावधानी अपनाउनुपर्ने सुझाव पनि दिनुभयो ।
विशेष समारोहमा सात वर्षकी दिव्यता दाहालको गीतबाट थालनी गरी कणाद महर्षि, महेशराज खरेल, कात्यायन, गायत्रीकुमार चापागाईँ, नवराज श्रेष्ठ, गोपालकुमार मैनाली, नारायण निरासी, कुमार नेपाल, डा.मनोज जोशी, मिसन अधिकारी, सोइना दाहाल, रत्न उप्रेती, शिवप्रसाद आचार्य, रचना दाहाल, ऋचा अधिकारी, आभा सेतु सिंह, भीमराज ढकाल, निमग्ना घिमिरे, प्रशान्त खरेल र जयन्ती स्पन्दनले आआफ्ना बालकविता, कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै प्रभाती किरणले चार दशकदेखि अविरल र अविश्रान्त यात्रा गरिरहेको, सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्या पुरानो, आधिकाररिक प्रवाहशील संस्था हो । आजको यो विशेष समारोहमा ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था र आवश्यकता’जस्तो गहन विषयमा कार्यपत्रजस्तै प्रस्तुत गरी रामदेव पाण्डेयले विशद चर्चा गर्नुभएको छ भने साहित्य सन्ध्याका अध्यक्ष राम विनयको संस्मरणसङ्ग्रह ‘पुनर्जन्म’माथि साहित्यकार अर्जुन अन्योलले चर्चा गर्नुभएको छ । आजको यो समारोहमा गद्यकविता, पद्यकविता, बालकविता, गजल, मुक्तक वाचन भएका छन् । वाचित रचनामा विषयको विविधता रहेको छ । कविता प्रस्तुतिको विशिष्ट शैली पनि हो । आजका कवितामा चाडपर्वमा देखावटी र ढोँगको प्रदर्शनी हुने गरेकाले महङ्गिएका, बालबालिका पूmलका कोपिलासरह भएकाले संरक्षण आवश्यक रहेको, समाज चारैतिरबाट विकृत बन्दै बन्दै गएको यथार्थको उद्घाटन गरिएका विषयवस्तु समेटिएका छन् । त्यसैगरी हाम्रा प्राकृतिक सम्पदामाथि प्रहार भइरहेका हुँदा यावत विकृतिमाथि प्रश्न गरिएका र रूपान्तरणको अपेक्षा गरिएका कविता, बालस्रष्टाले सुन्दर शैलीमा ग्रामीण जीवन उतारिएका कविता, युवाको पलायन र संस्कारविहीनताको अन्त्यको आग्रहका कविता, चारैतिर नकारात्मक मात्र देख्ने प्रवृत्ति घातक हुने विषय उठान गरिएका कविता÷गीत, सफल जीवनको बाटो सोझो हुँदेन भन्ने यथार्थको उद्घाटन गरिएका कविता वाचित भएका छन् । समयुगीन समाजको चित्रण गरिएका र सुधार तथा रूपान्तरणको अपेक्षा गरिएका आजका कविताको सन्देश सुन्दर रहेको छ । सिर्जनामा परिष्कार तथा वाचनवैशिष्ट्यको अपेक्षा त रहिरहन्छ नै भन्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा हामीले भविष्यका कर्णधार बालबालिकाका लागि लेखिने साहित्य ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था र आवश्यकता’ विषयमा आज गम्भीर बहस गरेका छौँ । हाम्रो निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । आज गरिएको बहस, सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् । अतिथि रामदेव पाण्डेयले लिखित सामग्री नै ल्याएर अत्यन्त विशद रूपमा परिचर्चा गरिदिनुभएको छ, म उहाँप्रति आभार व्यक्त गर्दछु । वाचित कविताले पनि रूपान्तरणको सङ्केत गरेका छन् । आजको यो विशेष समारोहमा मेरो संस्मरणसङ्ग्रह ‘पुनर्जन्म’माथि साहित्यकार अर्जुन अन्योलले टिप्पणी गरिदिनुभएको छ । समग्रमा आजको यो विशेष समारोह उपयोगी साबित भएको छ भन्ने हामीलाई लागेको छ । सन्ध्याको अर्काे महिनाको ४५६ औँ शृङ्खला दसैँ र तिहारको बिचमा पर्ने भएको हुँदा सकेसम्म हामी जुमको माध्यमबाट सम्पन्न गर्ने छौँ र कुनै समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
Leave a Reply