२०८२ फागुन २ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४७३ औँ शृङ्खलामा ‘प्रगतिवाद र नारीवाद’ विषयमा विशद चर्चा गरिनुका साथै विशेष कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा विशेष अतिथिका रूपमा समालोचक डा.विन्दु शर्मा उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा रामबहादुर पहारी, नर्मदेश्वरी सत्याल, डा.गोविन्दप्रसाद आचार्य, रूपक अलङ्कार, पोषरमण चापागाईँ, गायत्रीकुमार चापागाईँ, महेशराज खरेल, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।
विशेष अतिथि समालोचक डा.विन्दु शर्माले ‘प्रगतिवाद र नारीवाद’ विषयमा विशद चर्चा गर्नुुहुँदै अहिलेको समयमा कि त प्रगतिवादको कि त नारीवादको चर्चा हुने गरेको छ । माक्र्सवादलाई लेनिनले प्रयोगमा ल्याए पनि चीन, क्युबालगायतका देशमा आआफ्ना ढङ्गले व्याख्या र प्रयोग गरेको पाइन्छ । हाम्रो सन्दर्भमा प्रगतिवाद र नारीवादका बिचमा तालमेल भएको चाहिँ पाइँदैन । प्रगतिवाद माक्र्सवादी दृष्टिकोण हो, समाजवादी दर्शन हो । यसले जेजस्तो छ त्यसको चित्रण मात्र होइन केकस्तो हुनुपर्छ भन्ने सङ्केत पनि गर्नुपर्दछ भन्दै यसले समन्यायको, मुक्तिको वकालत गर्दछ । नारीवादले महिलालाई केन्द्रमा राखेर पितृसत्तात्मक समाजले सिर्जना गरेको महिलामाथिको उत्पीडनलाई केलाएर मुक्तिको आग्रह गर्दछ भन्ने धारणा पहिलोपटक एङ्गेल्स सार्वजनिक गरेका हुन् । महिलाका उत्पीडन, भोगाइ, महिलालाई हेर्ने दृष्टिकोण नारीवादले उजागर गर्दछ र सामूहिक भावको अभिव्यक्ति प्रकट गर्दछ । हाम्रो समाजमा विद्यमान गीत, सङ्गीत, साहित्य महिलापीडित नै छन् । निम्नवर्गीय समाजका उत्पीडित वर्गको चित्रण र मुक्तिको अपेक्षा प्रगतिवादले गर्दछ भने महिला जो र जस्तोसुकै भए पनि ठिक भन्ने, पुरुषलाई निषेध गर्ने एउटा उग्रधार चाहिँ महिलावादमा पनि रहेको छ । महिलावादी सिद्धान्तमा केन्द्रित रहेर लेख्ने, समालोचना गर्ने र समानताका पक्षमा वकालत गर्ने कार्य नारीवादले गर्दछ । पितृसत्ता र पुरुष एउटै कुरा होइनन् । यही वर्गीय समाजमा हुर्किएका हामी जोकोही पनि उत्पीडनमा सरिक हुन पनि वा भएका पनि हुनसक्छौँ । महिला निरीह र निर्दाेष हुन्छन् भन्ने वा पुरष भनेपछि निषेध नै गर्ने चिन्तन वा शैली गलत हो । नेपाली साहित्यको मूल धारमा रहेको महिलावादी समाजवादी धार अहिले सक्रिय छ र अंश र वंशको अधिकारका पक्षमा पार्टीगत महिला सङ्गठनहरू पनि सक्रिय छन् अनि उनीहरूको योगदान महत्त्वपूर्ण रहेको छ । सन १९६० मा सिमोन द बुवाले महिला अधिकारका पक्षमा आबाज उठाएको पश्चिमा इतिहास रहे पनि हाम्रै मुलुकमा १९३० कै दशकमा योगमायाले लेखेका सिर्जना, गरेको योगदान र सङ्घर्ष अनि न्याय तथा मुक्तिको वकालत विद्रोही र ज्यादै समतामूलक रहेको छ । नारीवादको सुरुदेखिको १९६० सम्मको पहिलो चरणमा महिलाका आधारभूत मानवअधिकारको खोजी गर्ने काम भएको छ भने १०६० देखि १९९० सम्मको दोस्रो चरणमा महिला अधिकारका कुरा, महिलाका किताब छाप्ने कुरा गरिएका छन् र यो कार्यमा नेपालमा देवी शर्माको भूमिका उल्लेखनीय रहेको छ । अहिलेको समयमा अर्चना शर्माले यो काम गरिरहेको पाइन्छ । यो समयमा लैङ्गिक विभेदयुक्त भाषिक प्रयोगको समेत विरोध गरिएको छ । सन १९९० देखि २०१२ सम्मको चरणमा नितान्त महिलाका समस्या उजागर गर्ने, महिला शरीर बलशाली छ भन्ने पक्षमा वकालत गरिएको छ भने २०१२ पछि सामाजिक सञ्जालमार्फत महिला अधिकारका पक्षमा वकालत गर्ने काम भइरहेको छ साथसाथै उग्र नारीवादी धार पनि क्रियाशील नै रहेको छ । यथार्थमा वर्गमुक्तिसँगै महिलामुक्ति हुने, माक्र्सवादी दृष्टिकोणअनुसार वर्गीयताविना वा योसँगको समन्वयविना महिलावाद अगाडि बढ्न भने नसक्ने यथार्थलाई स्वीकार गर्नै पर्दछ । त्यसो हुननसक्दा लैङ्गिक विभेदमुक्त समाजको परिकल्पनाले सार्थकता पाउन सक्दैन भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा ओमप्रसाद कोइराला, कुमार नेपाल, नवराज श्रेष्ठ, रसुवाली कवि, महेशराज खरेल, डा.मनोजराज जोशी, सुशिला प्रधानाङ्ग, राम विनय, नर्मदेश्वरी सत्याल, गायत्रीकुमार चापागाईँ, पोषरमण चापागाईँ, डा.गोविन्दप्रसाद आचार्य, प्रमोद भण्डारी, अच्युत घिमिरे, रामचन्द्र दाहाल, नवराज ढकाल, बलराम विष्ट, राधिका सापकोटा, जयन्ता पोखरेल र रामबहादुर पहारीले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि समीक्षा गर्नुहुँदै उपप्रा.रूपक अलङ्कारले लामो इतिहास बनाएको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा बिसजना स्रष्टाका कविता, गीत, गजल, मुक्तक बाचन भएका छन् । अहिलेको समयमा सामाजिक सञ्जाल र त्योमार्फत सिर्जनामा पनि प्रतिकूल प्रभाव पारिरहेको छ । यो विशेष समारोहका मुलुकमा आगो लगाउने दुष्टका विरुद्धमा अभिधात्मक रूपमा कविता वाचन गरिएको छ । शान्ति र सद्भावको अपेक्षा कवितामा गरिएको छ, मुलुकमा चुनाव आइरहने तर जनताको अपेक्षा भने पूरा नहुने अवस्थाको चित्रण पनि कवितामा गरिएको छ । समसामयिक विचारप्रधान एवम् अमूर्त प्रकृतिका कविता पनि वाचन भएका छन् । कवितामा नवचेतनाको आग्रह गरिएको छ । प्रेम सार्थक र सद्भावपूर्ण रहोस् भन्ने कामना गरिएको छ । उद्देश्यमूलक र सूक्तिमय कविता पनि वाचित भएका छन् । जीवन नियात्रा हो भन्ने धारणा, चुनावकेन्द्रित रचना आएका र राजनीतिले देखाएको बेसारे प्रवृत्तिका प्रति विरोध पनि गरिएको छ । पूmलसँग छोरीको तुलना गरिएको, मुलुकमा थप रक्तपात नहोस् भन्ने आग्रह गरिएको गम्भीर भावका कविता पनि वाचन गरिएका छन् । राम्रोलाई जिताउने चुनावी कविताका साथै भावनात्मक प्रबलताका कविता पनि वाचित भएका छन् । निराशामय समयका बिच पनि आशावादी सन्देश कवितामा सम्प्रेषण गरिएको छ । विदेश पलायन हुने समस्या उजागर गर्दै विदेसिएकाहरूले यहाँका अभिभावकलाई उचाल्ने, धम्क्याउने र उनीहरूको इच्छानुसार मतदान गर्न दबाब दिने प्रवृत्ति बेठिक हो भन्दै ‘पुरानो सर्कस नयाँ जोक्कर’झैँ देखिएको वर्तमानका प्रति व्यङ्ग्यसमेत गरिएको छ । केही निकै राम्रा कविता र केही चाहिँ मध्यमसतरका कविता सुनिएको यो आजको विशेष समारोह समग्रमा सार्थक रहेको छ । यस समारोहमा उपस्थित भएर वाचित रचनामाथि टिप्पणी गर्ने अवसरका लागि म हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा बहस गर्नै पर्ने निकै महत्त्वपूर्ण विषय ‘प्रगतिवाद र नारीवाद’का बारेमा विद्वान व्यक्तित्व डा.विन्दु शर्र्माले विशद चर्चा गरिदिनुभएको छ । बिसजना कविहरूले आआफ्ना सिर्जना वाचन गर्नुभएको छ र वाचित सिर्जनामाथि रूपक अलङ्कारले समीक्षासमेत गरिदिनुभएको छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ । वर्तमानमा देखिएको अराजकता, उग्रता र भ्रम छर्ने प्रवृत्तिका विरोधमा हामी स्रष्टाको कलम चल्नु आवश्यक छ । आजको यो समारोहमा उपस्थित भइदिनुहुने विशेष अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply