वि.सं.२०२९ सालमा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले ५३ वर्ष पूरा गरेको उपलक्षमा र ४५ औँ कथा दिवसको सन्दर्भ पारेर आज मिति २०८२ चैत्र १९ गते बिहीबार अपराह्न ३ बजे डालो रेस्टुरेन्ट अनामनगरमा सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा विशेष समारोहको आयोजना गरी विभिन्न विधाका पाँचओटा पुरस्कार तथा सम्मान समर्पण गर्यो ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकूलपति के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’का अलावा सम्मानित हुनुहुने पाँचजना स्रष्टाहरू प्रतिसरा सायमि, विमला तुम्खेबा, मीनकुमार नवोदित, रमेश पोखरेल र प्रवीण जोशी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
साहित्यकार प्रमोद प्रधानको संयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको मूल्याङ्कन समिति गठन भएको र सोही समितिको सिफारिसमा ‘भवानी साहित्यिक पत्रकारिता सम्मान’ २०८१ द्वारा शृङ्खला साहित्यिक मासिकका प्रकाशक तथा समपादक प्रवीण जोशी र ‘भवानी साहित्यिक पत्रकारिता सम्मान’ २०८२ द्वारा शब्द संयोजन साहित्यिक मासिकका कार्यकारी सम्पादक रमेश पोखरेल, ‘व्यथित काव्य पुरस्कार तथा सम्मान’ २०८१ द्वारा विराटनगरका मीनकुमार नवोदित र २०८२ सालको सोही पुरस्कार तथा सम्मान प्रतिसरा सायमिलाई प्रमुख अतिथि के.के.कर्माचार्य, सङ्घका अध्यक्ष राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ र श्रीओम श्रेष्ठले संयुक्त रूपमा समर्पण गर्नुभएको थियो ।
कवि मणि लोहनीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा विमल भौकाजीले लघुकथा सुनाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो भने पानसमा बत्ती भने समारोहका अध्यक्षले बाल्नुभएको थियो । स्रष्टा चयनका बारेमा श्रीओम श्रेष्ठ रोदनले प्रकाश पार्नुभएको थियो भने सम्मानित पाँचैजना स्रष्टाको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रमोद प्रधानले प्रकाश पार्नुभएको थियो ।
प्रमुख अतिथि के.के.कर्माचार्यले त्रिपन्न वर्ष पुरानो इतिहास बोकेको गरिमामय संस्थाको आजको यो विशेष समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुनपाउनु र आआफ्ना क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका पाँचजना साधकलाई सम्मान गर्ने अवसर आफैँमा गौरवपूर्ण लागेको बताउनुभयो । समारोहका अध्यक्ष राधेश्याम लेकालीले सङ्घको इतिहास र विगतदेखि हालसम्म सङ्घले सम्पादन गरेका कामहरूका बारेमा सङ्क्षिप्तमा प्रकाश पार्नुभएको थियो । उपस्थित सबै सबै आदरणीय व्यक्तित्वलाई धन्यवाद पद्मावती सिंहले ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply