साहित्यकार प्रा.डा.यादवप्रकाश लामिछानेका चारओटा कृति र हुमकला पाण्डेद्वारा लामिछानेकै बारेमा लेखिएको एक गरी पाँच कृतिको लोकार्पण तथा परिचर्चा

 २०८२ फागुन ९ गते शनिबार बिहान ११ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा साहित्यकार प्रा.डा.यादवप्रकाश लामिछानेद्वारा लिखित ‘संयोग’ कथासङ्ग्रह, ‘यात्रा रहेछ जिन्दगी’ नियात्रासङ्ग्रह, ‘स्मृतिका पानाहरू’ संस्मरणसङ्ग्रह र फरक सृष्टि फरक दृष्टि’ समालोचनासङ्ग्रह एवम् हुमकला पाण्डेद्वारा लिखित ‘नेपाली भाषाशिक्षणमा प्रा.डा.यादवप्रकाश लामिछानेको योगदान’ अनुसन्धानमूलक कृतिको लोकार्पण तथा परिचर्चा सम्पन्न भयो ।

विद्यार्थी पुस्तक भण्डारद्वारा प्रकाशित पाँचैओटा कृतिको लोकार्पण तथा परिचर्चा विशेष समारोहको सभापतित्व विद्यार्थी पुस्तक भण्डारकै प्रबन्ध सञ्चालक शान्त गौतमले गर्नुभएको थियो भने समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.दयाराम श्रेष्ठ ‘सम्भव’, विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरीको उपस्थिति रहेको थियो । डा.हरिप्रसाद सिलवालको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा.लेखप्रसाद निरौला, निवर्तमान अध्यक्ष डा.फणीन्द्रराज निरौला, गोपीरमण उपाध्याय, डा.बिदुला घिमिरे, डा.विनोद मन्जन, डा.गणेशराज अधिकारी, महेशराज खरेल, शक्ति नेपाल, सुशिला प्रधानाङ्ग, नर्मदेश्वरी सत्याल, प्रा.डा.षडानन्द पौड्याल, कुलप्रसाद निरौला, प्रा.डा.कृष्ण पौडेल, ठाकुरप्रसाद शर्मा, खेमराज निरौला, रमेश पोखरेल, रामप्रसाद पन्त, गोपालकुमार मैनाली, माधवप्रसाद पोखरेल, पोषरमण चापागाईँ, गिता लामिछाने, अनुष्णराज पोखरेल, प्रा.डा.नारायण चालिसे, डा.केशव भुसाल, ज्ञानेश्वर निरौला, राममणि ढुङ्गेल, डा.गणेश घिमिरे, नीलकमल सुवेदी, श्रीराम न्यौपाने, बलराम राय, राम विनय, यज्ञेश्वर निरौला, धनबहादुर मगर, बैरागी जेठा, प्रा.डा.माधवप्रसाद लामिछाने, धीरकुमार श्रेष्ठ, कुस्मिला भट्टराई, महेश भट्ट, डा.प्रेमराज न्यौपाने, सीमा लामिछाने, मधु आचार्य, उच्चप्रशासक यमलाल भुसाललगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रगान गाएर सञ्चालन गरिएको उक्त विशेष समारोहको ब्यानर पढेर प्रमुख अतिथिले समुद्घाटन गर्नुभएको थियो भने चारओटा कृतिका स्रष्टा प्रा.डा.यादवप्रकाश लामिछानेले उपस्थित प्रबुद्ध व्यक्तित्वलाई स्वागत गर्नुहुँदै तीनओटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सकुशल निर्वाह गर्नुभएकी हुमकला पाण्डेले साहित्यको सेवा पनि गर्नुभएको छ र मेरो बारेमा नै अनुसन्धान गरी कृति प्रकाशन गर्नुभएको छ । यो सुखद संयोग पनि हो र आजको यो विशेष समारोहमा चार पुस्ताको उपस्थिति रहेको छ । लेखकले लेखिसकेपछि समीक्षाको हकदार पाठक हुन्छ । आपूm सिद्धान्त पढाउने शिक्षक भएकाले आफ्नो लेखनी कतै बढी सैद्धान्तिक पो भयो कि भन्ने डर मलाई भइरहेको भए पनि सकेसम्म तटस्थता देखाउने प्रयास गरेको छु । चारओटा कृति फरक फरक विधाका भएकाले केकस्ता भए भन्नेसमेतको समीक्षा पनि होस् भनेर आजको यो विशेष समारोहको आयोजना भएको हो र यस समारोहमा मेरो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने सबै प्रबुद्ध व्यक्तित्वका प्रति आभार व्यक्त गर्दछु भन्नुभयो ।
समारोहका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूले संयक्त रूपमा पाँचैओटा कृतिको लोकार्पण गर्नुभयो । कृति लोकार्पणपछि हुमकला पाण्डेद्वारा लिखित ‘नेपाली भाषाशिक्षणमा प्रा.डा.यादवप्रकाश लामिछानेको योगदान’ कृतिको समीक्षा गर्नुहुँदै समालोचक शक्ति नेपालले नेपाली भाषाशिक्षणमा प्रा.डा.लामिछानेको योगदान कोसेढुङ्गा साबित भएको छ । उहाँको वस्तुपरक र विद्यार्थीमैत्री शिक्षण तथा व्यवहार अनुकरणीय छ । उहाँले ज्ञानको पुनर्निर्माण गर्नुभएको छ; २१ वर्षकै उमेरदेखि शिक्षणसेवामा लाग्नुभएका उहाँले कक्षाकोठामा मात्र नभएर प्रकाशनका माध्यमबाट अनि वैचारिकताका माध्यमबाट सामाजिक रूपान्तरणका पक्षमा समेत योगदान गर्नुभएको छ । उहाँको विषयवस्तु आख्यान भए पनि प्रज्ञा र अनुशीलनको मिश्रण गर्नुभएको र त्यसको प्रभाव भाषाविज्ञानमा समेत परेको छ । अभिव्यक्तिमा सरलता र वस्तुगत शैली अवलम्बन गरी शोध र अनुसन्धानका सयौँ अनुभवले प्राज्ञिक क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको छ भन्ने तथ्यलाई यो कृतिले स्थापित गरेको छ भन्ने धारणा राख्नुभयो ।
साहित्यकार महेशराज खरेलले ‘प्रा.डा.लामिछानेको ‘संयोग’ कथासङ्ग्रहमा प्रगतिवादी चेत’ विषयमा आफ्ना धारणा राख्नुहुँदै कला जीवनका लागि, नारीको सम्मान, उज्यालोको खोजी आदि आदि प्रगतिवादका आग्रह भएकाले उहाँका यो सङ्ग्रहका बारओटा कथालाई हेर्दा तिस वर्षको विगतलाई सम्झेको फ्ल्यासब्याक, स्थानयि विपन्न र गरिबमाथिको उत्पीडन, अन्यायमा परेका विपन्नका समस्या र पीडा उजागर गर्ने अनि शोषण र उत्पीडनमा परेकाहरूले नै विस्थापित हुनुपरेको हाम्रो समाजका जीवन्त समस्यालाई उजागर गरी स्पष्ट रूपान्तरणको सन्देश कथामा दिइएको छ । श्रमको मूल्य नपाउनुको पीडा मात्र होइन आपूmले गरेको उत्पादन सबै साहुको भकारीमा खन्याएर अनिकालमा जीवन धान्नुपर्नेका समस्याविरुद्ध वर्गसङ्घर्षको आग्रह गरिएको छ, कतै सोझै त कतै घुमाउरो विद्रोहको अपेक्षा गरिएको छ । गैरजिम्मेवार शासकप्रति व्यङ्ग्य पनि गरिएको छ । सबै कथामा प्रतिरोधको सन्देश सम्प्रेषण गरिएको छ भन्नुभयो ।
डा.गणेशराज अधिकारीले कथासङ्ग्रहमाथि समीक्षा गर्नुहुँदै वि.सं.२०११ सालमा धनकुटामा जन्मिएका सादा विचारका धनी प्रा.डा.यादवप्रकाश लामिछानेको ‘संयोग’ कथासङ्ग्रहमा समाजको सामाजिक यथार्थलाई उद्घाटन गरिएको छ । सबै कथामा स्थानीय परिवेशको चित्रण गरिएको छ र सबै कथा समाजका यथार्थ घटना हुन् । गुरुप्रसाद मैनालीकै ढाँचामा लेखिएका कथामा जातीय सभ्यता र संस्कृति उजागर गरिएको छ । आस्था र अन्धविश्वास, मानवीय दुश्प्रवृत्ति, शोषण र दमनमा परेका उत्पीडित वर्गका समस्या आएका छन् । प्रस्तुति यथार्थपरक छ । जहाँ र जुनसुकै मुलुकमा पुगे पनि आफ्ना संस्कार सम्झिने डायस्पोरिक चेतनाका साथै सांस्कृतिक विचलन, सीमासमस्याका कुरा, नाकाबन्दीका समस्या, यथार्थभित्र आदर्शको भावको खोजी कथामा पाइन्छ । पात्र निहुरेको तर नझुकेको देखाइएको छ । सबै कथाका सन्दर्भ स्वदेशदेखि विदेशसम्मका सामाजिक भोगाइ नै रहेको देखिन्छ भन्ने धारणा राख्नुभयो ।
समालोचक डा.बिदुला घिमिरेले ‘प्रा.डा.लामिछानेका कथाका नारपिात्र’ विषयमा चर्चा गर्नुहुँदै कथामा २०४६ देखि २०७८ सम्मको समय समेटिएको छ । कथाका पात्र सामाजिक स्वरूपअनुसारकै रहेका छन् । सङ्ग्रहका छओटा कथामा नारीपात्र गौण रहेका छन् भने तीनओटा कथामा नारीपात्र सशक्त रहेका छन् । एउटी सतार जातिकी सिमान्तकृत नारीको घरका तीन तीनजना नारीहरू पुरुषपात्रको यौनहिँसाको सिकार भएका छन् ! अन्तिमकी एउटी नारीले प्रतिकार गर्दा पीडक भागेको छ तर ऊ समाजमा इज्जतका साथ बाँचेको छ, घटना दबाइएको छ । कथामा पैँतालिस वर्षपछि पनि तराईका महिलाको उत्पीडनको समस्या जस्ताको तस्तै रहेको यथार्थ प्रस्तुत गरिएको छ । महिलाका घटनालाई सामान्यीकरण गरिएको यथार्थ प्रस्तुत गरिएको छ । संयोग कथामा आम नारीले खोजेकै पात्र देखिन्छे । श्रीमान् श्रीमती नै क्रान्तिमा हिँडेका, समाज रूपान्तरणका पक्षमा लागेका, महिलाले सशक्त भूमिका निर्वाह गरेकी, तीन दशकपछि फेरि तिनै महिलासँग भेट भएको, उच्च व्यक्तित्व निर्माण गर्ने अवसर ती महिलाले पाएको चर्चा गरिएको छ । यी महिला सपष्ट वक्ता, निर्भीक र क्रान्तिकारी पात्रका रूपमा उपस्थित छिन् । शुभकामना कथामा पुरुषले ग्रामीण परिवेशकी महिलासँग विवाह गरेको तर ती महिला पात्र पुरुषकी साथी हुन चाहन्नन् । पुरुषले महिलाको रोजाइको पुरुषसँग दाम्पन्त्य जीवन बिताउने शुभकामना दिन्छ । पुँजीवादी समाजका भौतिकवादी बनेका पात्र नारीले पुरुषलाई प्रताडित गरेका दृष्टान्त पनि कथामा ल्याइएको छ । ‘अन्तरपीडा’ कथामा पुरुषधृष्टताको सिकार महिला बनेको देखाइएको छ । साथ र हात दिने पुरुषहरू पनि अहिले फेरिएका दृष्टान्त कथामा आएको पाइन्छ । ‘ऐठन’ द्वन्द्वकालीन कथा हो र राज्यले श्रीमान् वेपत्ता पारेपछि र असहयोगी व्यवहार देखाएपछि महिलामा प्रतिरोधी चेत विकसित भएको छ । ‘अन्तरद्वन्द्व’ कथामा पुरुष नै उत्पीडनमा परेको समस्या देखाइएको छ र नारीहरू पैसामुखी बन्दा परुषलाई धनआर्जन गर्ने गलत बाटो हिँडाउने गरेको र त्यसले समस्या उत्पन्न गरेको सामाजिक यथार्थको प्रकटीकरण गरिएको छ । कथामा कस्तो पुस्ता निर्माण गर्ने हो भन्ने बहसको प्रारम्भ गरिएको छ । कथामा सामाजिक यथार्थको जीवन्त चित्रण गरिएको छ । कथाहरू युगको आबाज बनेर आएका छन् भन्ने धारणा राख्नुभयो ।
समालोचक डा.विनोद मन्जनले ‘यात्रा रहेछ जिन्दगी’ नियात्रासङ्ग्रहमाथि चर्चा गर्नुहुँदै सङ्ग्रहमा २०२८ देखि २०७९ सम्मका नियात्रा समेटिएको छ । शीर्षकीकरण राम्रो रहेको देखिन्छ । नियात्राकार कतै लेखक, कतै यात्री, कतै गाउँले, कतै शिक्षक, कतै अर्थविद् भएर देखिनुभएको छ भन्नुभयो । प्रा.डा.लेखप्रसाद निरौलाले ‘फरक सृष्टि फरक दृष्टि’ समालोचनासङ्ग्रहमाथि समालोचना गर्नुहुँदै साहित्यकार प्रा.डा.यादवप्रकाश लामिछानेले प्रशासक भएर बस्दा पनि साहित्य सिर्जना गर्नुभएको, सङ्ग्रहमा बारओटा समालोचना समेटिएका, सबै समालोचना मूलतः प्रगतिवादी कोणबाट गरिएको हुँदा समालोचनासङ्ग्रह पठनीय रहेको छ । स्पष्ट दृष्टिकोणसहित समालोचना गरिएको छ । समालोचनामा दार्शनिक चेत प्रबल रहेको छ । कवितामा पुँजी र श्रमको सम्बन्ध, विचारको प्राथमिकता अनि कस्तो हुनुपर्दछ भन्ने सङ्केत समालोचनाले गर्नुपर्छ भन्ने वैचारिकता आएको छ । इतिहास हेरेर भविष्यको सङ्केत गर्नुपर्दछ भन्ने दृष्टिकोण पनि आएको छ । जयादै धेरै उपन्यास पढ्ने व्यक्ति हो डा.लामिछाने । अतियथार्थवादी विश्लेषण, यथार्थपरक अभिव्यक्ति, शब्दचयनदेखि विषयवस्तु चयनसम्मको सशक्तता, डायस्पोरिक चेत, शालीन र शौम्य चित्रण अनि उत्तरआधुनिक चिन्तनमा आधारित समालोचना भएकाले डा.लामिछाने सशक्त समालोचक भएको पुष्टि हुने धारणा राख्नुभयो ।
समालोचक डा.फणीन्द्रराज निरौलाले ‘स्मृतिका पानाभित्र’ संस्मरणात्मक कृतिका बारेमा चर्चा गर्नुहुँदै यसमा बारओटा संस्मरण रहेका, तीनओटा पहिले नै प्रकाशित भइसकेका रहेका छन् । जीवनको भोगाइका मिहिन सन्दर्भ उल्लेख भएका संस्मरणको लेखिएको मिति भने उल्लेख भएको छैन । सत्यता, आत्मीयता संस्मरणमा आवश्यक हुने तथ्यलाई आत्मसात् गरी संस्मरणहरू साढे चार पृष्ठदेखि सोर पृष्ठसम्मका रहेका छन् । बयालिस वर्ष शिक्षण पेसामा रहेको, सङ्गठनदेखि राजनीतिसम्म समर्पित, सङ्घर्षपूर्ण जीवनका बारेमा लेखिएका संस्मरणहरू रहेका छन् । मृत्यु र जीवनसँग गहिरो सम्बन्ध देखाइएको छ, विश्वास र अविश्वासमा प्रगतिशील दष्टिकोण सम्प्रेषण गरिएको छ, यात्राका लागि प्रेरक शैली रहेको, भूकम्पको आतङ्क चित्रित रहेको, रोचक शैली, जीवनभोगाइका घटना, तत्कालीन सामाजिक–राजनीतिक घटनाको चित्रण, भोगाइको कहरका घटनाको चित्रणका साथै सङ्घर्षले स्थापित स्रष्टा भन्ने अभिलिखितसमेत भएकाले संस्मरण सुन्दर रहेको धारणा राख्नुभयो ।
विशिष्ट अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले प्रा.डा.यादवप्रकाश लामिछाने कामले नजिक बनाएका मित्र हुनुहुन्छ । उहाँ भाषाका क्षेत्रमा धेरै काम गरेका मित्र पनि हुनुहुन्छ । उहाँले धेरै कृतिहरूका बारेमा गहन समीक्षा गर्नुभएको छ । युगको गतिशील यथार्थलाई मार्गदर्शन गर्ने, अन्तरवस्तु र रूप पक्षको संयोजनले शक्ति निर्माण गर्ने, सिर्जना भोलिको इतिहासका खजाना हुने तथ्यका जानकार पनि रहनुभएका स्रष्टा हुनुभएको धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठ ‘सम्भव’ले आजको यो विशिष्ट समारोहमा प्रबुद्ध वर्गको उपस्थितिका बिच सिद्धहस्त लेखकका चार र एकजना अनुसन्धाताको एक गरी पाँचओटा महत्त्वपूर्ण कृतिको लोकार्पण तथा परिचर्चा भएको छ । लेखकद्वयलाई बधाइ दिन्छु र कृतिहरूको रसास्वादन गर्ने र स्रष्टालाई सुझाव दिने दायित्व पनि तपाईँ प्रबुद्ध वर्गको रहेको छ भन्नुभयो ।
स्रष्टा हुमकला पाण्डेले शिक्षण पेसामा समर्पित सादगी शैलीले प्रा.डा.यादवप्रकाश लामिछानेबाट आपूmले धेरै सिकेकी, प्रेरणा प्राप्त गरेकी हुँदा उहाँको योगदानलाई स्थापित गर्नुपर्ने लागेर आपूmले कृति तयार गरेको, उहाँको विद्वताले विद्वत् वर्ग उत्पादन पनि गरेको तथ्यलाई समेत स्थापित गर्ने आपूmले प्रयत्न गरेको जानकारीसहित आजको यो विशेष समारोहमा उपस्थित भइदिनुहुनेलगायत समारोहलाई भव्य पार्न योगदान गर्ने सबै सबैलाई हार्दिक धन्यवाद पनि दिनुभयो ।
सभाध्यक्ष शान्त गौतमले हाम्रो प्रकाशन संसथालाई लेखक चाहिने र लेखकलाई प्रकाशक चाहिँने हुँदा हामीबिच नङ र मासुको सम्बन्ध हुने हो र आज यो विशिष्ट समारोहमा यहाँहरूका बिचमा प्रा.डा.यादवप्रकाश लामिछानेका माध्यमबाट यहाँहरूसँग प्रत्यक्ष भेट हुने अवसर प्राप्त भएकोमा खुसी लागेको छ र डा.लामिछानेसँगको लामो समयदेखिको सम्बन्ध भविष्यसम्म निरन्तर रहने विश्वास पनि लिएको छु । आजको यो विशेष समारोहमा समय दिनुहुने सबैका प्रति आभार प्रकट गर्दछु भन्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*