राष्ट्रिय जनसाहित्यिक सङ्घको नियमित मासिक कार्यक्रम अविरल जनसाहित्य यात्राको ७६ औँ शृङ्खलामा कवि मीना श्रेष्ठका एक दर्जन कविता वाचन र त्यसमाथि काव्यिक, वैचारिक र बौद्धिक परिचर्चा गरी सम्पन्न भएको छ । कवि मीना श्रेष्ठ प्रगतिवादी कविता रचनामा २०५१ सालदेखि नै निरन्तर कलम चलाउँदै आइरहेकी र हाल प्रदेश एककी सांसदको रूपमा पनि कार्यरत साहित्यिक र राजनीतिक व्यक्तित्व हुनन् । अविरलको यो यात्रा उनका कवितामा पाइने विचार, भाव, अनुभूतिमा केन्द्रित रह्यो ।
सङ्घका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा राजनीतिक व्यक्तित्व काशीनाथ अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो । अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी हुनुहुन्थ्यो भने अतिथिहरूमा डा.दुर्गाप्रसाद दाहाल, …………को उपस्थिति रहेको थियो ।
सङ्घका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष राम विनयले अविरल जनसाहित्य यात्रा कवितामा बगेको विचारको अविरल अभिव्यक्ति भएको र यस्तो कार्यक्रमले विचारबद्ध साहित्यकारको प्रतिभा बाहिर ल्याउने र यसले समाज रूपान्तरणमा बलियो वैचारिकी तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । हाम्रो आमन्त्रणलाई सहजरूपमा स्वीकार गरी काशीनाथ अधिकारीजस्तो शालीन व्यक्तित्वले यस कार्यक्रमको प्रमुख आतिथ्य गरिदिनुभएको, टिप्पणीका लागि डा.दुर्गाप्रसाद दाहालले समय दिनुभएको र हाम्रो निमन्त्रणा स्वीकार गरी यहाँहरू उपस्थित पनि भइदिनुभएकोमा सबैमा हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो ।
अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविको सङ्क्षिप्त परिचय दिँदै कवि मीना श्रेष्ठले आपूmले बटुलेका दु:खका अनुभूतिलाई कवितामा रचेर समाजलाई सुनाउने गरेको र त्यही कर्मबाट प्रगतिशील कविका रूपमा स्थापित भएको देखिन्छ । मीना श्रेष्ठले तीन दशकदेखि कविता रच्दै आएकी र हालसम्म दुईओटा कवितासङ्ग्रहसमेत प्रकाशित भइसकेका छन् । नारी र पुरुषका बिचमा भएका विभेदमाथि तीव्र व्यङ्ग्य प्रहार गरिएका उनका कविताहरू राजनीतिक, सांस्कृतिक, सामाजिक र पारिवारिक आरोहअवरोहका ज्ञानको पृष्ठभूमिबाट निर्माण भएकाले यो अविरल यात्रामा चयन गरी उनका कविता सुन्ने र टिप्पणी गर्ने विशेष समारोहको आयोजना गरिएको हो ।
कविनायिका मीना श्रेष्ठका एक दर्जन कविताहरूमध्ये स्वयम्ले आठओटा कविताहरू वाचन गरिेकी थिइन् भने डम्बर पहाडी एलाक, रूपक अलङ्कार, यशोदा अधिकारी र मणि खतिवडाले पनि उनका कविताहरू वाचन गरेका थिए ।
समारोहमा प्रस्तुत भएका कवि श्रेष्ठका कविताहरूमाथि समालोचक डा.दुर्गाप्रसाद दाहालले समालोचकीय टिप्पणी गर्नुहुँदै कवि मीना श्रेष्ठका कवितामा आशा–निराशा, आदर्शका शृङ्खला, यथार्थतामा आधारित विषयवस्तु, समाजका भोक्ता जीवनको चित्रण, युगका सङ्घर्ष, राजनीतिक, आर्थिक, सामाजिक विसङ्गतिको प्रकटीकरण, प्रगतिवादी चिन्तन, समाजको साहित्यिक सर्वेक्षण, मानवीय स्वतन्त्रता र प्रगतिको उच्च कामना, गद्य कविताको सौन्दर्यात्मक संरचना, लोकोक्ति, जीवन्त भाव, परम्परागत सोचप्रति आलोचनात्मक चेतना अभिव्यक्त भएको पाइन्छ । त्यसैगरी बालविवाह, नारीउत्पीडन, पुरुषप्रधान समाजप्रति व्यङ्ग्यभाव, सङ्कीर्ण समाजको आलोचना, नारीको अवस्थामाथि गम्भीर हुननसकेका प्रश्नात्मक सबाल, राजनीतिक यात्रामा स्वार्थ र अवसरको खेती, विकासविरोधी राजनीतिक गठजोडप्रति व्यङ्ग्य प्रहारजस्ता व्यापकतायुक्त अभिव्यक्ति रहेको धारणा व्यक्त गर्नुभयो । साथै कवि मीनाकाा कवितामा मौलिकताको ह्रास भएकोमा चिन्ता, पदप्रतिष्ठा प्राप्त गर्ने होडबाजी मौलाएको, भरोसायोग्य र समानतामूलक समाज बन्ननसकेको, आजका मान्छेमा व्यावसायिकता मात्रै रहेको, औपचारिकता बढी भएको, आत्मीयता कम हुँदै गएको, बाँच्दासम्म बेवास्ता गर्ने र मरेपछि सम्मान गरेको नाटकीय व्यवहार देखाउने गलत प्रवृत्ति बढेको, निराशावादी गतिविधिले मानिसलाई उत्पीडन थपेको, मानवीय संवेदना हराउँदै गएकोप्रति दु:ख पोखिएका अनि सीमान्तकृत वर्गका समस्या जस्ताको तस्तै रहेकामा राज्यको कमजोरी बन्दै गएकोप्रति आक्रोशसमेत व्यक्त गरिएको पाइन्छ । जीवनानुभूति र मातृवात्सल्य भाव कवितामा गम्भीर भएर प्रकट भएको विविधता पाइएकोसमेतको धारणा राख्नुभयो ।
विशेष अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले कवि मीना श्रेष्ठका कविताले जीवनका तिता, पिरा घटनाहरूले दिएका पीडाको स्मरण गराएकाले गहिरो जीवनस्पर्श भएको छ । हाम्रो समाजमा घटेका यथार्थ घटनाको प्रतिनिधित्वबोध गराउनसक्ने भावलाई पस्केर कविले रचना गरेकीले यसबाट म त निकै भावुक पनि बनेको छु । मधेसमा खनेको पानीकुलोको सन्दर्भलाई उदाहरण बनाएर जसरी कुलोका विभिन्न स्थानमा क्रमभङ्ग गराई बहाब धारिलो बनाइन्छ त्यसैगरी समाजमा जमेका फोहर कसिङ्गर जम्न नदिन साहित्यका माध्यमबाट धार निर्माण गर्न जरुरी भएको धारणा व्यक्त गर्नुभयो । जनसांस्कृतिक महासङ्घले देशभर प्रज्ञाप्रतिष्ठान गठन गरेर कलासाहित्यमा संलग्न प्रतिभाहरूलाई ऊर्जा दिन चाहेको तर राज्यका आधिकारिक निकायमा रहेका व्यक्तिहरूले यसको सकारात्मक मर्म बुझ्ननसकेको, समस्याको अवगत गराउँदा पनि प्राज्ञिक जगत्मा त्यसको सही सुनुवाइ नभएकाले सचेत गराउने काममा हामी सबै आआफ्ना स्थानबाट अग्रसर हुनुपर्ने अवस्था रहेको छ । कविले पनि माननीयको जिम्मेवारी लिइरहेकी हुँदा सम्बद्ध निकायमा महासङ्घको आशयलाई पनि स्मरण गराइदिन र प्राज्ञिक परिवेश निर्माण गर्न उच्च भूमिका खेलिदिन अनुरोधसमेत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमालेका नेता काशीनाथ अधिकारीले आजको कविता श्रवणले आपूmलाई साहित्यिकरूपमा लछप्पै भिजाएको महसुस भयो । साहित्यमा धेरै अनुराग रहेको र यसमा लाग्छु भन्ने सम्झँदासम्झँदै आपूm राजनीतिकरूपमा पूर्णकालीन भएर व्यस्त हुनुपरे पनि साहित्यको प्रेम अगाधरूपमा रहिरहेको छ । आपूm साहित्यिक कार्यक्रममा पुग्दा सुन्दर पूmलबारी पुगेजस्तो र राजनीतिक कार्यक्रममा पुग्दा सिस्नोघारीमा पसेजस्तो अनुभव पनि हुन्छ । यद्यपि देश निर्माणमा राजनीति मेरुदण्ड भएको र यसलाई ठिकठाक बनाएर राख्न साहित्यले मात्र गहन भूमिका खेल्नसक्छ । कवि मीना श्रेष्ठ कविता लेख्नकै लागि जन्मेकी हो किझैँ उनका रचनामा समाजको शल्यक्रिया गरिएको, देशभक्ति, विकास, प्रेम, क्रान्तिकारी विचारको गहिरो अभिव्यक्ति भएको पाइयोे । मिठो कथा पढेजस्तो आनन्द आउने कविताहरू प्रस्तुत भएका र कवि श्रेष्ठ माथि पहाडबाट बाटो खोज्दै, ठोक्किँदै, नवीन र कठिन बाटो बनाउँदै, पहिल्याउँदै बाधाअवरोधहरू छल्दै आफ्नो जीवनरूपी नदी किनारा समाउन आएकी विम्बजस्तै लागेको छ । कवि श्रेष्ठका कविता समाज परिवर्तनमा केन्द्रित भएकाले प्रगतिशील दृष्टिकोणसहित ‘एक सफल लेखक सय मिटरको दौडमा दौडेजस्तो नभई निरन्तर अध्ययन, चिन्तन, भ्रमण, साधनामा डुबेको हुनुपर्छ’ भन्ने मान्यता आत्मसात् गरेकी स्रष्टाका रूपमा आज सुनिएको छ । आज समाजमा नयाँ सम्भावना र नयाँ समस्याहरू पनि देखापरेका छन् । राष्ट्रिय समस्याहरू टड्कारा छन् । स्वाभिमान रक्षाको चुनौती छ । कूटनीतिक क्षेत्र पनि विकृत बन्दै गएको छ । आत्मनिर्भरता, स्वाभिमान हाम्रो विकासको जग हो । यसको हित गर्ने साहित्य लेखिनुपर्छ, त्यो प्रबल सम्भावना आज वाचित कवितामा पनि पाइएको छ । जनतामा आएको निराशा, मौलिकताको विघटन, असन्तुष्टिको मात्रा बढ्दै गएकोमा कविले यसतर्फ समयको बोलीझैँ सम्बोधन गरेकीले यस्ता यथार्थवादी रचना जीवन्त हुने र समाज परिवर्तनका लागि योगदान पुग्ने मैले विश्वास गरेको छु । हामीले धेरथोर राजनीतिक क्रान्ति सम्पन्न गरेका छौँ तर यसको संस्थागत विकास साथै आर्थिक क्रान्ति गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना पूरा गर्न सांस्कृतिक क्रान्ति पनि आवश्यक रहेको र साहित्यकारहरू यसतर्फ खारिएर लाग्नुपर्ने अवस्था छ । कवि मीना श्रेष्ठका कवितामा परिपक्वता, माक्र्सवादी दृष्टि अझै स्पष्टसँग आउनुपर्छ र त्यसले साम्यवादी, वैज्ञानिक समाजको निर्माण गर्न सहयोग गर्ने छ । रुसी समाजमा क्रान्ति सफल हुनुमा मेक्सिम गोर्की र चिनियाँ समाजमा क्रान्ति सम्पन्न हुनुमा लु सुनका साहित्यले महान् योगदान गरेको युगीन भूमिका अध्ययन गर्नुपर्ने र वर्गीय, द्वन्द्ववादी विचार निर्माण गरेर साहित्य लेख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सञ्चालक प्रकाश सिलवालले कार्यक्रमको औचित्य र वक्ता तथा प्रस्तोताहरूको परिचय दिँदै कार्यक्रम सफल पार्न सहयोग गर्नुभएका सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो र अविरल जनसाहित्य यात्राको ७७ औँ शृङ्खलाका निम्ति प्रगतिवादी कवि सुरेश हाचेकालीको चयन गरिएकोे जानकारीसहित अध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
Leave a Reply