साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्या रु.एक लाख राशिको ‘हेमराज पहारी स्मृति पुरस्कार तथा सम्मान’बाट सम्मानित

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न पाँचजना स्रष्टालाई हरेक वर्ष ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे यो अभियान सम्मानित भएको छ । वैशाख १६ गते शनिबार अपराह्न ठिक १ बजे होटल हार्दिक, बागबजारको सभाकक्षमा आयोजित विशेष एवम भव्य समारोहमा साहित्य सन्ध्याको यो चार दशक लामो अभियानलाई उच्च मूल्याङ्कन गरी पोखराका अत्यन्त सक्रिय एवम् क्रियाशील कीर्तिशेष साहित्यकार हेमराज पहारीको सम्मानमा स्थापित संस्था ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’ले हरेक दुई दुई वर्षमा समर्पण गर्दै आएको रु.एक लाख राशिको ‘हेमराज पहारी स्मृति पुरस्कार तथा सम्मान’ २०७९ द्वारा साहित्य सन्ध्यालाई सम्मानित गरिएको हो ।
हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेको अध्यक्षता र इन्दु अंशुको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहन्थ्यो भने विशिष्ट अतिथिमा नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य हस्ताक्षर भैरव रिसाल उपस्थित हुनुहुन्थ्यो । अतिथिका रूपमा सामाजिक रूपान्तरण अभियानकी प्रखर अभियन्ता, पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी; साझा प्रकाशनका अध्यक्ष डा.विजय सुब्बा, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाल, वरिष्ठ चिन्तक निनु चापागाईँ, वरिष्ठ गायिका लोचन भट्टराई उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथिले पानसमा बत्ती प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभएको उक्त विशेष समारोहमा उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरूको स्वागत गर्नुहुँदै साहित्यकार अनिल पौडेलले असाध्यै धारिलो कलम भएका र अत्यन्त कुशल सिर्जनाक्षमताका धनी पहारीसँग कसरी कसरी परिचय हुनपुग्यो । पोखरामा अङ्ग्रेजी विषयका प्रभावकारी माध्यमिक शिक्षकका रूपमा आफ्नो परिचय बनाएका पहारी अमेरिकामा गएर चार वर्ष बसेपछि र त्यहाँ एउटै विश्वविद्यालयका नौजना प्राध्यापकले नोबेल पुरस्कार पाएको भए पनि त्यहाँ खासै चर्चा नभएको देखे÷सुनेपछि नेपालमा गएर केही गर्ने हो भने त आफ्नो परिचय आफैँ स्थापित गर्नसकिन्छ भन्ने मान्यता राखेर नेपाल फर्किएर व्यवसाय पनि गर्दै र साहित्य पनि लेख्दै गर्नथालेका र प्रवाहपूर्ण लेखनका माध्यमबाट आपूmलाई साहित्यकारका रूपमा, शिक्षासेवीका रूपमा, समाजसेवी व्यक्तित्वका रूपमा स्थापित गर्न सफल भएका हुन् । ‘देशको अभिभारा’ कवितासङ्ग्रह, ‘उत्तरी गोलार्धको एक फन्को’ नियात्रासङ्ग्रह र ‘हेमराज पहारीका गीतहरू’ गीतसङ्ग्रहका रूपमा उनका कृति प्रकाशित भएका छन् । वि.सं.२००० साल कार्तिक १९ गते बैदाम पोखरामा जन्मिएका यी प्रखर साहित्यकार सवारी दुर्घटनाका कारणबाट वि.सं.२०६६ फागुन १७ गते कीर्तिशेष हुनपुगेपछि उनको सम्झना र सम्मानका लागि ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’को स्थापना भएको हो र हालसम्म यस प्रतिष्ठानले हरेक दुई दुई वर्षमा ‘हेमराज पहारी स्मृति पुरस्कार तथा सम्मान’ समर्पण गरिरहेको छ । जसअनुसार २०६९ सालमा सत्यमोहन जोशीलाई, २०७१ सालमा राप्ती साहित्य परिषद्लाई, २०७३ सालमा विमल गुरुङ स्मृति पुस्तकालय धरानलाई, २०७५ सालमा अलिमिया लोक साहित्य प्रतिष्ठानलाई, २०७७ सालमा झरना साहित्यिक परिवार मकवानपुरलाई समर्पण गरिसकिएको छ भने २०७९ सालको यो पुरस्कार तथा सम्मान साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालनको इतिहास बोकेको गुरुकुलीय संस्था साहित्य सन्ध्यालाई समर्पण गर्न हामी आज उपस्थित भएका छौँ । असमयमै, अकल्पनीय दुर्घटनाका कारण पतिवियोगमा परेकी रीता न्यौपानेले कीर्तिशेष हेमराज पहारीलाई उनकै सत्कर्मको जगेर्नाका माध्यमबाट अमर बनाउने उद्देश्यका साथ संस्था स्थापना गरेर, अक्षयकोषको स्थापना गरेर र नेपाली प्रगतिशील साहित्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने परम्परा संरक्षित गर्नुका साथै मोफसलकी जगदम्बाका रूपमा आपूmलाई स्थापित गर्ने अनुकरणीय कार्य गरिरहनुभएको धारणा राख्नुभयो ।
डा.फणीन्द्रराज निरौलाको संयोजकत्वमा साहित्यकारद्वय शान्ता मानवी र लक्ष्मी निरौला सदस्य रहेको पुरस्कृत गरिने स्रष्टा तथा संंस्था चयन समितिका तर्फबाट डा.फणीन्द्रराज निरौलाले कीर्तिशेष साहित्यकारका सुयशलाई चिरस्थायी बनाउने र नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यका साथ स्थापना भएको ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’द्वारा २०७९ सालका लागि प्रदान गरिने पुरस्कार तथा सम्मान समर्पण गर्ने प्रयोजनका लागि विभिन्न चरणमा बैठक गरी छलफल गर्दा विगत चार दशकदेखि अविश्रान्त एवम् अविच्छिन्नरूपमा नेपाली साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान अत्यन्त प्रभावकारीरूपमा चलाइरहेको साहित्य सन्ध्यालाई यो पुरस्कार समर्पण गर्नु उपयुक्त ठान्यौँ । २०३३ सालमा सप्तरीको राजविराजमा नेपाली भाषा र साहित्यको जगेर्ना गर्ने र निरङ्कुशताको विरुद्धमा माहोल तयार गर्ने उद्देश्यले साहित्य सन्ध्याको परिकल्पना गर्ने गङ्गाप्रसाद उप्रेती आज यो समारोहको पनि प्रमुख अतिथि हुनुहुन्छ र यो संस्थाको अभियानमा नेपाली प्रगतिवादी साहित्यका मूर्धन्य स्रष्टाहरू श्यामप्रसाद शर्मा, पारिजात, केवलपुरे किसान, आनन्ददेव भट्ट, गोविन्द भट्ट, जनकप्रसाद हुमागाईँ, पूर्णविरामलगायतको योगदान रहेको छ । मासिक अविच्छिन्न गोष्ठीका साथसाथै विगत बिस वर्षदेखि ‘शब्द संयोजन’ साहित्यिक मासिकको प्रकाशन पनि साहित्य सन्ध्याले गरिरहेको छ । यसरी प्रगतिशील साहित्यको उत्थानमा सम्पूर्णरूपमा समर्पित रहेको साहित्य सन्ध्यालाई पुरस्कृत गर्नका लागि हामीले गरेको सिफारिसलाई प्रतिष्ठानले कार्यान्वयन गरेको छ र यो पुरस्कारले साहित्य सन्ध्यालाई थप ऊर्जाका साथ प्रभावकारी साहित्य यात्रा सञ्चालन गर्ने जिम्मेवारीसमेत थपेको छ भन्ने महसुस भएको छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा हेमराज पहारीद्वारा रचित एउटा कविता वरिष्ठ गायिका लोचन भट्टराईले सुमधुर स्वरमा गाउनुभएको थियो भने प्रमुख अतिथिले सम्मानित संस्था साहित्य सन्ध्याका अध्यक्ष राम विनयलाई माला लगाएर, दोसल्ला ओढाएर सम्मान गर्दै रु.एक लाख राशिको चेक तथा सम्मानपत्र हस्तान्तरण गर्नुभयो । सम्मानपत्रको व्यहोरा लक्ष्मी निरौलाले वाचन गर्नुभएको थियो ।
विशिष्ट अतिथि भैरव रिसालले ९६ वर्षको यो उमेरमा पनि लेखपढ गर्ने र यस्ता विशिष्ट समारोहमा पुग्ने रहर जागिरहने गरेको, हाम्रो देशको राजनीतिक नेतृत्व इमानदार नभएकाले मुलुक बिग्रेको, मान्छेको आस्था घटेको र जनतासँगको राजनीतिक नेतृत्वको सम्बन्ध कमजोर देखिएको छ । ढाँट्ने प्रवृत्ति बढेको छ र इमानदार जनता चाहिँ उपेक्षित भइरहेका छन् ! हामी साहित्यकार इमानदार बन्नु जरुरी छ । आज यो विशेष समारोहमा एउटा लामो इतिहास बनाएको र बोकेको साहित्य सन्ध्या सम्मानित भएको छ । इमानको यात्रा गर्ने संस्था सम्मानित हुनु खुसीको कुरा हो । हामी स्रष्टा सदैव इमानदार भएर आफ्ना कर्ममा लागिरहौँ भन्ने धारणा राख्नुभयो ।
सम्मानित संस्थाका तर्फबाट अध्यक्ष राम विनयले साहित्य सन्ध्याले चलाइरहेको रूपान्तरणको अभियानलाई परैबाट मूल्याङ्कन गरेर केही वर्षअगाडि युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले पनि सम्मानित गरेको थियो । सामाजिक रूपान्तरणको अभियान सहज छैन र हुँदैन पनि । यस्तो असजिलो बाटो हिँड्नेलाई पनि टाढैबाट मूल्याङ्कन गरिँदो रहेछ भन्ने आजको यो सम्मानले पनि देखाएको छ । निरङ्कुश शासनव्यवस्थाको समयमा २०३३ सालमा राजविराजमा सुरु गरिएको यो अभियानमा चिनियाँ सर्वहारा क्रान्तिको प्रभाव कुनै न कुनै रूपमा परेको हुनसक्छ । निरङ्कुशताको विरोध गर्न र केही न केही रूपान्तरणका पक्षमा काम गर्नुपर्छ, सकेको अभियान इमानका साथ सञ्चालन गर्नुपर्छ भन्ने साहित्य सन्ध्याको मान्यता हो । हाम्रो यो अभियान यसरी सम्मानित हुँदा थप जिम्मेवारी वहन गर्नुपर्ने महसुस भएको छ भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले यो मुलुकको सामाजिक रूपान्तरणमा साहित्यका माध्यमबाट विशिष्ट योगदान गर्ने संस्था हो साहित्य सन्ध्या । हेमराज पहारीजस्तो निष्कलङ्क एवम् रूपान्तरणप्रेमी स्रष्टाको नाममा स्थापना भएको संस्था जसले प्रेरक व्यक्तिलाई संस्था बनाउने र अमर पार्ने उद्देश्य राखेको छ । अर्थात् अत्यन्त सार्थक प्रयत्न गरेको छ । साहित्य सन्ध्याले सुरुमा सप्तरीको राजविराजमा नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने र चेतना फैलाउने उद्देश्य राखेको हो । त्यस अभियानमा आपूmलगायत न्यायाधिस चूडामणि अधिकारी, केशवप्रसाद उपाध्याय, बैङ्कर अनिरुद्र तिम्सिना, शिशु देवकोटा, डा.भरतबहादुर कार्की, अनिलकुमार अनल, खिलध्वज थापा, योगिश खरेलजस्ता सबै पक्षका व्यक्ति सम्मिलित भई निरङ्कुशतासँग जोगिँदै सिर्जनाका माध्यमबाट वैचारिक खुराक प्रदान गर्ने यसको उद्देश्य रहेको थियो । पछि पढ्ने, पढाउने सबै काठमाडौँ आएपछि वैचारिक अभियान सञ्चालन गर्ने उद्देश्यका साथ साहित्य सन्ध्याले संस्थागत रूप धारण गरेको, मासिकरूपमा कार्यशाला सञ्चालन गरिरहेको, नेपाली प्रगतिवादी साहित्यमा कलम चलाउने पाँचजना स्रष्टाहरूलाई हरेक वर्ष पुरस्कार तथा सम्मानद्वारा सम्मानित गर्ने गरेको, निरन्तर मासिक प्रकाशन गरिरहेको छ र यस्तो क्रियाशील संस्थालाई सम्मान तथा पुरस्कारका लागि छनोट गरिनु सराहनीय कार्य हो । अघि नै चर्चा भइसकेका वरिष्ठ प्रगतिवादी स्रष्टाहरूको योगदानका माध्यमबाट प्रतिकूल समयमा पनि निरन्तर आफ्नो कर्ममा लागिरहेको संस्था आज सम्मानित भएको छ । यो संस्थाको अभियानमा सामेल भएको म आपूm पनि र अभियानमा लागिरहनुभएका सबै सबै सम्मानित हुनुभएको महसुस भएको छ । इमानका साथ र सकारात्मक सोचका साथ मुलुकको हितमा काम गर्ने हो भने मूल्याङ्कन अवश्य हुन्छ भन्ने आज स्थापित भएको छ । बिग्रेको परिस्थिति अर्थात् मान्छेले बिगारेको कुरालाई सपार्ने पनि मान्छेले नै हो भन्ने मान्यतालाई हामी सबैले आत्मसात गर्नुपर्दछ भन्ने धारणा राख्नुभयो ।
हेमराज पहारी स्मृति प्रतिष्ठानका सदस्य एवम् नेपाल वायुसेवा निगमका सञ्चालक सदस्य अच्युतराज पहारीले समाजसेवी, साहित्यकार, शिक्षासेवी, गुणग्राही, विशिष्ट लेखनक्षमताका धनी, इमान र सत्यका पक्षपाती व्यक्तित्व हेमराज पहारीको सम्झनामा स्थापित पुरस्कार तथा सम्मान अर्पण यस विशेष समारोहमा उपस्थित भइदिनुहुने सबै सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
सभाध्यक्ष रीता न्यौपानेले साहित्यकार हेमराज पहारीको निधनका तेर वर्ष बितेका छन् । परेपछि मान्छेले जस्तोसुकै नियति पनि भोग्नुपर्दाे रहेछ । उहाँ जीवितै हुँदा एउटा संस्था स्थापना गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । संस्था सञ्चालन गर्ने विधि तथा प्रक्रिया केही जानकारी नभएकी मलाई संस्था स्थापना गरे आपूmले सम्पूर्णरूपमा सघाउने बचनबद्धता अनिल पौडेलले दिनुभएपछि संस्था स्थापना गरियो । त्यही संस्थाको अगुवाइमा वार्षिक पुण्यतिथिका दिन हेमराज पहारी स्मृतिग्रन्थ प्रकाशित पनि भयो । यो संस्थाका माध्यमबाट काम गर्ने र जीवनसाथीलाई भुल्ने बाटो खुल्यो । २०६१ सालमा उहाँको ‘देशको अभिभारा’ कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा काठमाडौँमा साहित्य सन्ध्याको कार्यक्रममा सम्पन्न भएको थियो । साहित्य सन्ध्याले २०४२ सालदेखि नै स्रष्टालाई पुरस्कृत गर्ने, मासिक गोष्ठी तथा कार्यशालाका माध्यमबाट स्रष्टा जन्माउने काम निरन्तर गरिरहेको छ । आज त्यस्तो निरन्तर आफ्नो अभियानमा लागिरहेको संस्थालाई सम्मानित गर्ने अवसर प्राप्त भएको छ । यसका लागि सिफारिस समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । हेमराज स्मृति प्रतिष्ठानले अहिलेसम्म हरेक दुई दुई वर्षमा पुरस्कार तथा सम्मान गर्ने परम्परा रहेकोमा अबदेखि हरेक वर्ष पुरस्कार राशि नघटाई सम्मान तथा पुरस्कार अर्पण गरिने प्रतिबद्धता पनि जाहेर गर्दछु र साहित्य सन्ध्यालाई फेरि पनि बधाई ज्ञापन गर्दछु भन्नुभयो र समारोहको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*