साहित्य सन्ध्याको ४५६ औँ नियमित मासिक शृङ्खला ‘नेपालमा प्रचलित चाडपर्व र रूपान्तरणको प्रश्न’ विषयक परिचर्चाका साथ शुभकामना कविगोष्ठीसहित सम्पन्न

२०८१ कार्तिक ३ गते शनिबार अपराह्न ३ बजे जुमका माध्यमबाट देशैभरि र विदेशका स्रष्टालाई जोडी सम्पन्न गरिएको साहित्य सन्ध्याको नियमित मासिक ४५६ औँ शृङ्खलामा ‘नेपालमा प्रचलित चाडपर्व र रूपान्तरणको प्रश्न’ विषयमा परिचर्चाका साथ शुभकामना कविगोष्ठी सम्पन्न गरियो । दसैँतिहार बिदाका कारण साहित्य सन्ध्याले आफ्ना नियमित मासिक शृङ्खला सम्पन्न गर्ने क्याम्पस बन्द रहने भएकाले नियमितता पनि नटुटाउने र देश–विदेशका स्रष्टालाई प्रविधिका माध्यमबाट जुटाई गोष्ठी सम्पन्न पनि गर्ने उद्देश्यका साथ जुमका माध्यमबाट प्रविधिमैत्री गोष्ठीको आयोजना गरिएको थियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा तनहुँमा रहेर नेपाली साहित्य र संस्कृतिका विषयमा निरन्तर कलम चलाइरहनुभएका शेषमणि आचार्य विशेष आमन्त्रित हुनुहुन्थ्यो भने वाचित रचनामाथि टिप्पणी गरिदिन वरिष्ठ हास्यव्यङ्ग्य साहित्यकार एवम् फित्कौली डट कमका सम्पादक नरनाथ लुइटेल उपस्थित हुनुहुन्थ्यो । प्रविधिका माध्यमबाट पाँचथरका प्रेम ओझा, इलामबाट डम्बर पहाडी, जापानबाट दीपेन्द्र अधिकारी, टोखा नगरपालिकाबाट ज्येष्ठ साहित्यकार बेनीबहादुर थापा, ऐरावती प्रकाशनका अध्यक्ष साहित्यकार रामदेव पाण्डेयसमेत जोडिनुभएको थियो ।
ज्ञानु विद्रोहीले सङ्क्षिप्त स्वागत मन्तव्यसहित ‘समानता’ शीर्षकको कविता प्रस्तुत गर्दै प्रारम्भ भएको गोष्ठीमा महेशराज खरेलले ‘खै निकास ?’, कुमार नेपालले ‘जिब्रोको गरिमा’, डम्बर पहाडीले तीनवटा एलाक र एउटा गीत प्रस्तुत गर्नुभयो भने गोपीचन्द्र कार्की, रामदेव पाण्डेय, अर्जुन अन्योल दाहाल, गायत्री चापागाईँका कविता सुनियो । त्यसैगरी प्रेम ओझाले गजल वाचन गर्नुभयो, रत्न उप्रेतीले गीत प्रस्तुत गर्नुभएको थियो । बालकवि दिव्यता दाहालले बालकविता वाचन गर्नुभयो भने गीता सापकोटा, डा.हरि सिलवाल, गोपालकुमार मैनाली, राम विनय, नरनाथ लुइँटेल र दीपेन्द्र अधिकारीले पनि आआफ्ना कविता वाचन गर्नुभएको थियो ।
विशेष आमन्त्रित तनहुँका वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् शेषमणि आचार्यले ‘नेपालमा प्रचलित चाडपर्व र रूपान्तरणको प्रश्न’ विषयमा विशद चर्चा गर्नुहुँदैे आदिम कालमा उत्पादन उत्सवबाट विकास भएका चाडपर्व र मातृसत्तात्मक अवस्थामा दैवी शक्तिको पूजाअर्चना गर्ने उत्सवका रूपमा वा प्रकृतिपूजा चलेको हुँदा तिनै परम्परा हालका दिनमा चाडपर्वका रूपमा कायम रहेका हुन् । यिनमा रहेका केही अन्धविश्वास र कुप्रचलनलाई सचेतनात्मक प्रगतिवादी दृष्टिकोणबाट रूपान्तरण गर्नुपर्ने र राम्रा कुराहरूको संरक्षण गर्नुपर्ने आजको आवश्यकता हो भन्ने धारण राख्नुभयो । त्यसैगरी माक्र्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो, यो दर्शन र सिद्धान्तको मार्गदर्शनबाट नै सबै क्षेत्रमा रूपान्तरण सम्भव छ, अन्धविश्वास र अन्धभक्तिको रूपान्तरणविना परिवर्तन सम्भव हुँदै हुँदैन त्यसैले हाम्रा चाडपर्वका कतिपय कुरामा रूपान्तरण आवश्यक छ भन्नेसमेतको धारणा राख्नुभयो ।
कार्यक्रममा वाचित सिर्जनाका बारेमा फित्कौली डटकमका सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले टिप्पणीमूलक मन्तव्य राख्नुहुँदै लामो इतिहास बोकेको साहित्य सन्ध्याको अविच्छिन्न एवम् अविश्रान्त यात्राको ४५६ औँ शृङ्खलामा वाचन गरिएका रचनामाथि टिप्पणी गर्ने आजको यो अवसरका लागि प्रथमतः धन्यवाद ज्ञापन गर्दछु । कुनै पनि सिर्जना सरसरी सुनेकै भरमा साङ्गोपाङ्गो समीक्षा सम्भव हुँदैन, सुन्दासुन्दै सुन्नेको मनस्चेतनामा परेको प्रभावका आधारमा सामान्य टिप्पणी मात्र हुनसक्छ तापनि आजका सिर्जनाले समयुगीन नेपाली समाजको चित्रण गरेका छन्; समाजमा व्याप्त रहेका विकृति, विसङ्गति, अन्याय, विभेद आदि समग्र अवस्थालाई आआफ्ना शैलीका माध्यमबाट चित्रण गरेका छन् र रूपान्तरणको स्पष्ट आग्रह गरेका छन् । स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट सामाजिक यथार्थको उद्घाटन गर्ने हो र रूपान्तरणका लागि झक्झक्याउने हो, यो कार्यमा आजका अधिकांश सिर्जना सफल देखिन्छन् र समग्रमा आजको गोष्ठी उपलब्धिमूलक रहेको छ भन्ने धारणा राख्नुभयो ।
२०४२ सालपछि विभिन्न साहित्यकारहरूसित साहित्य सन्ध्यामा आबद्ध भएर रामहरि पौडेलले एक कार्यकाल संयोजकको भूमिका निर्वाह गर्नुभएको मात्र होइन सामाजिक रूपान्तरणको बलियो हतियार साहित्य हो भन्ने मान्यताका साथ जीवनभरि सक्रियता देखाउनुभएको थियो । प्रगतिशील लेखक सङ्घ नेपालका कार्यवाहक अध्यक्षसमेत रहिसक्नुभएका अग्रज स्रष्टा प्रा.रामहरि पौडेल कीर्तिशेष हुनुभएको घटनाप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरियो र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरियो । उहाँ कीर्तिशेष हुनुभएको दुखद घटनाका प्रति साहित्य सन्ध्याले शोकवक्तव्यसमेत जारी गरेको स्मरण गरियो ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक रूपान्तरणका पक्षमा सिर्जनाका माध्यमबाट खबरदारी गर्ने संस्था हो र यो एक प्रकारले कार्यशालाजस्तै हो । चार दशकदेखि मासिक रूपमा नियमित एवम् अविश्रान्त साहित्य गोष्ठी गरिरहेको यो संस्थाले खास खास विषय निर्धारण गरी हरेक महिना बहस चलाउने गरेको छ । आज भने हामी प्रविधिमार्फत स्वदेश तथा विदेशसमेतबाट जोडियौँ र आआफ्ना सिर्जना वाचन गर्यौँ । ‘नेपालका चाडपर्व र रूपान्तरणको प्रश्न’ विषयमा शेषमणि आचार्यले विशद परिचर्चा गरिदिनुभयो । वास्तवमा हामी कतिपय कुराहरूमा चाडपर्वका नाममा अन्धविश्वास, ढोँग, आडम्बर र पाखण्डलाई पनि सँगसँगै बोकेर हिँडिरहेका छौँ, जुन राम्रो हुँदै होइन । चाडपर्व वा संस्कृतिका नाममा हाम्रा राम्रा कुरालाई जोगाउनु वा संरक्षण गर्नुपर्छ तर विकृति, विसङ्गतिमा भने रूपान्तरण आवश्यक छ । त्यसका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने र कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता हो भन्ने कुरामा विशेष आमन्त्रित आचार्यले प्रकाश पारिदिनुभएको छ । त्यसैगरी वाचित रचनामाथि नरनाथ लुइटेलले समीक्षा गरिदिनुभएको छ, ज्ञानु विद्रोहीले गोष्ठीलाई प्रविधिमैत्री पार्न विशेष व्यवस्थापन गर्नुभएको छ । आजको यो विशेष समारोहमा हाम्रो छोटो सूचनाका आधारमा स्वदेश तथा विदेशबाट जोडिनुहुने सबै सबैमा म हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन चाहन्छु र अर्काे महिनाको गोष्ठीमा यस्तै कुनै समसायिक विषयमा बहस गर्नेगरी पुनः निमन्त्रणा गर्ने नै छौँ भन्नु हुँदै गोष्ठीको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*