साहित्य सन्ध्याको ४६० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

२०८१ फागुन ३ गते शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित आर.आर. क्याम्पसको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४६० औँ शृङ्खलामा ‘जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा संस्कृतिविद् प्रा.डा.प्रेम खत्री उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा वरिष्ठ स्रष्टा स्नेह सायमी, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, डम्बर पहाडी, महेशराज खरेल, प्रगतिशील लेखक सङ्घ ललितपुर जिल्ला सचिव मिसन अधिकारी, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।
‘जन्मदेखि मृत्युसम्मका सामाजिक, परम्परागत संस्कार तथा संस्कृतिमा रहेका भ्रम, अन्धविश्वास र वैज्ञानिकता’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रा.डा.प्रेम खत्रीले संस्कृति व्यापक विषय हो । आपूmले नेपाली जनजीवन मात्र होइन अन्तर्राष्ट्रिय समाजको समेत अध्ययन गर्दा मानवीय संस्कार सामाजिक चेतनाको उपज हो र संस्कृति जातीय पहिचान हो भन्ने निष्कर्ष पाएको हुँ । नेपालको सन्दर्भमा नेवारी संस्कृति बढी नै समृद्ध रहेको छ । मधेसको संस्कार तथा संस्कृति पृथक छ तर अभिलेखन कमजोर पाइन्छ । पूर्वदेखि पश्चिमसम्मको नेपाली समाज र त्यहाँका संस्कारका बारेमा अभिलिखित सामग्री पनि प्राप्त छन् । समाजले नै संस्कृतिको निर्माण गर्दछ । आचरण भने व्यक्तिअनुसार हुन्छ तर त्यही संस्कार बनिदिन्छ । कविला, कृषि, पशुपालक हुँदै श्रमपूजक समाज स्थापनाको इतिहास हामी पाउँछौँ । कृषिकर्ममा पनि धानको खेती हुनथालेपछि बचतको मान्यता विकसित भएको पाइन्छ । जमिन, त्यसमा खेती र उत्पादनले आयआर्जन भएपछि सुरक्षा, शिक्षा, स्वास्थ्य आदिको आवश्यकता बोध भएको पाइन्छ । ऋग्वेद, ब्राह्मण ग्रन्थ, धर्मशास्त्र आदिको विकासपछि मान्छेका संस्कारका कुरा आएका हुन् । शास्त्रमा मानवका सोर संस्कारका कुराको चर्चा गरिएको छ । सनातनी, आर्य, दलित, राजा, व्यापारी, पुरोहित आदिका फरक फरक आचरणको चर्चा पाइन्छ । तिनै आचरणहरू परिष्कृत हुँदै संस्कार बनेका हुन् । अशुद्धीलाई शुद्धीकरण गर्ने मान्यतालाई शास्त्रमा स्थापित गर्ने प्रयत्न गरिएको हो । मातृसत्तात्मक समाजबाट शक्ति हत्याउन पितृसत्तात्मक समाजको स्थापना भएको हो । कतिपय संस्कारमा अन्धविश्वासहरू थपिएर विकृत पनि बनेका छन् । यद्यपि अन्धविश्वासमा पनि वैज्ञानिकता पाइन्छ । जातकर्म, चूडाकर्म आदि हाम्रा संस्कारमा अझै पनि कतै न कतै मामा चाहिनेजस्ता मातृसत्ता जोडिएको पाइन्छ । नामाकरण संस्कार गर्ने, सफासुग्घर हुन सिकाउने, पुरोहितले सिकाउनेजस्ता पक्षमा वैज्ञानिकता रहेकै छ । आदिवासी जनजातिका अलग अलग संस्कार रहेका छन् । उपनयन कर्म होस् वा चूडाकर्म होस् वा गुरुकुल शिक्षा वा संस्कारले शास्त्रसम्मत व्यवहार गर्न सिकाउने भएकाले यसमा वैज्ञानिकता रहेको पाइन्छ । तथापि कतिपय हाम्रा संस्कारमा अन्धविश्वास जोड्ने र त्यसैमा भरोसा गर्ने वा कार्यान्वयन गराउन खोज्ने दिग्भ्रम रहेका पाइन्छन् । मानवका ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यासजस्ता चरण हुने र विवाह चाहिँ वृद्धिको चरण हो । हरेक जातिका फरक फरक जातीय संस्कार हुने भएकाले ती संस्कारले व्यक्तिलाई आचरण सिकाइरहेका हुन्छन् तर तिनमा अन्धविश्वास पनि पाइन्छन् भने वैज्ञानिकता पनि पाइन्छ । नियम, कानुन, विधिभन्दा पृथक रहेर व्यवहार चलेका हुन्छन् । जस्तो कि विवाहसंस्कारमा रक्तशुद्धताको अपेक्षा राखिएको हुन्छ र उमेरको हकमा परिपक्वता खोजिन्छ । पछि पछि शास्त्रमा पनि कुरीति वा अन्धविश्वास वा भ्रम मिसाइएको पाइन्छ । अत्येष्ठीमा पनि विज्ञान छ र पछि पछि अन्धविश्वास वा कुरीति थपिएको छ । ऋग्वेदलगायतका शास्त्रमा पनि पछि पछि काल्पनिकता थपिएको छ । यथार्थ के हो भने संस्कार नभए संस्कृतिको मार्गचित्र बन्दैन । संस्कारले नै समन्वय गर्ने हो । अन्धसंस्कारमा विस्तारै परिवर्तन आउनु स्वभाविक छ तर निषेध वा अन्धानुकरण उपयुक्त हुँदैन । अन्धविश्वास वा आडम्बर त्याग गरी वा जालीमा हालेर छान्दै संस्कार भनेको शुद्धताको प्रतीक हो भन्ने यथार्थको बोध गरिनु आवश्यक छ । हाम्रो इस्लामिक समाज भने संस्कार, संस्कृति र रूपान्तरणका पक्षमा कम परिवर्तित समाज हो भन्नेसमेतको धारणा राख्नुभयो ।
समारोहमा उमेश उपाध्याय, दिल पौडेल, ओमप्रसाद कोइराला, डम्बर पहाडी, नवराज श्रेष्ठ, मिसन अधिकारी, महेशराज खरेल, डा.मनोज जोशी, ऋचा अधिकारी, कुमार नेपाल, नर्मदेश्वरी सत्याल, वासुदेव अधिकारी, प्रशान्त खरेल, बलराम विष्ट, कविता राउत, अर्जुन अन्योल, गोपाल मैनाली, सनेह सायमी र राम विनयले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि वरिष्ठ स्रष्टा स्नेह सायमीले समीक्षा गर्नुहुँदै विगत चार दशकदेखि साहित्य सन्ध्याले अविश्रान्त यात्रा गरिरहेको छ । गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, पारिजात आदिको वैचारिक यात्रालाई पछ्याउँदै गलत विचार तथा बाटाहरूलाई छिचोलेरै सन्ध्याले यात्रा गरिरहेको छ । यस संस्थामा रचना वाचन गर्नेहरू वा प्रारम्भमा यसलाई दिशानिर्देश गर्नेहरू आफैँ नेतृत्व गर्ने ठाउँमा पुगेका छन् । आजको यो विशेष समारोहमा विचारको बीज उउटै हुने समुन्नत दृष्टिकोण कवितामा आएको, शाससनसत्ताको लखेटाइ चित्रित भएको, प्रकृतिप्रेम तथा आशावादी दृष्टिकोण सम्प्रेषित भएको, विचारलाई छोपेर निषेध गर्न नसकिने धारणा आएको, सिर्जना रूपान्तरण तथा परिवर्तनका लागि होस् भन्ने अपेक्षा राखिएको, विगतदेखि वर्तमानसम्म चम्चागिरी गर्ने ढोँगी र अवसरवादीहरूको हालीमुहालीको चित्रण गरिएका; सफलता आपूmभित्रै रहेको छ भन्ने आशावादिता समेटिएका; आमा, वात्सल्य र बेवारिसे सन्तानका पडिा अभिव्यक्त भएका; सहर र गाउँको यथार्थता अनि समन्वयको आवश्यकतासहित विकृत सहरको चित्रण गरिएकाजस्ता कविता हामीले श्रवण गर्यौँ । स्वतन्त्रता प्राप्तिको उद्देश्य रहे पनि आम मानिसले वा देशले नै पनि प्राप्त गर्ननसकिरहेको यथार्थको उद्घाटन गरिएका, प्रकृतिको सुन्दर वर्णनसहितको आशावादिता समेटिएका, राष्ट्रियता र वीर भावका अनि भैरव हाँसेको सन्दर विम्बका कविता यहाँ वाचित भएका छन् । हामी स्रष्टाले अझै पनि आफ्ना सिर्जनाले समाजमा दिने सन्देश के हो भन्ने पक्षमा भने सचेत हुनै पर्ने र खास विशेष विषयमा बोल्ने, समीक्षा गर्ने र सिर्जना सुनाउनेको हकमा पनि समयसीमा निर्धारण गरिनु उपयुक्त हुने सुझावसहित आजको गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नुभयो ।
प्रवीण जोशीले साहित्य सन्ध्या साहित्यको ऊर्वर भूमि हो र यसले आन्दोलनको अगुवाइ मात्र गरेको छैन अभियन्ताको भूमिका नै निर्वाह गरेको छ र इतिहास निर्माण गरेको छ भन्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको हो । हामी स्रष्टाले सत्य र सही कुरालाई ठिक भन्ने र गलत कुरालाई गलतै भनेर प्रतिवाद गर्नु आवश्यक छ । त्यसमा पनि समाज विथोल्ने र भिड जम्मा पारेर गलत प्रवृत्तिलाई स्थापित गर्ने अराजक दुश्प्रवृत्तिलाई त तत्कालै आफ्ना सिर्जनाका माध्यमबाट प्रतिवाद नै गर्नु आवश्यक छ । साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहेको छ र गरिने पनि छ । आजको यो विशेष समारोहमा भने प्रा.डा.प्रेम खत्रीले मिहिनेतपूर्वक यति व्यापक विषयमा विषयमा विशद परिचर्चा गरिदिनुभएको छ । वाचित रचनामाथि वरिष्ठ साहित्यकार स्नेह सायमीले टिप्पणी गरिदिनुभएको छ । कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो अनि असल स्रोताका रूपमा पनि गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*