२०८२ असार ७ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६४ औँ शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता र सदस्य डा.भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.हेमनाथ पौडेल उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, उपाध्यक्ष्य मदनबहादुर थापा, नियात्राकार पोष चापागाईँ, डा.गोविन्दप्रसाद आचार्य, खेमराज निरौला, सुशीला प्रधानाङ्ग, डम्बर पहाडी, गायत्रीकुमार चापागाईँ, डा.कृष्ण सुवेदी, रत्ननिधि रेग्मी, रत्न उप्रेती, त्रिलोचन आचार्य, साझा प्रकाशनकी सञ्चालक सदस्य जयन्ता पोखरेल, होम भट्टराई, ओमप्रसाद कोइराला, कात्यायनल, बैरागी जेठागायतको उपस्थिति रहेको थियो ।
‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा अत्यन्त विशद चर्चा गर्नुहुँदै प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेलले साहित्य सन्ध्याको यो लामो अनवरत यात्रामा विविध समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको संस्थाले आज ज्यादै विस्तृत र गहन विषयमा बहस गर्ने गरी आयोजना भएको यो विशेष समारोहमा आफ्ना धारणा राख्ने अवसरका लागि हार्दिक धन्यवाद दिन्छु । समकालीन साहित्य लेखनमा प्रतिध्रुवीय धार वा समानान्तर धार र समाजवादी धार क्रियाशील रहेका छन् । पुँजीवादी व्यवस्थालाई समाप्त पारी समतामूलक सिद्धान्तको अवलम्बनसहित कायम गरिने शासन व्यवस्था नै समाजवाद हो । योग्यताअनुसार काम र कामअनुसार दाम हुने समानताको सिद्धान्त यसले अवलम्बन गर्दछ । पुँजीवादी मुलुकहरूले पनि मिश्रित रूपमा जनताका सेवासुविधा समान रूपले प्रदान गर्ने व्यवस्था गरेका छन् भने समाजवादी हौँ भन्ने मुलुकहरूले पनि त्यस्तै यात्रा तय गरिरहेका छन् । हाम्रो सन्दर्भमा समाजवादउन्मुख शासनव्यवस्था सञ्चालन गर्ने संवैधानिक व्यवस्था भए पनि पूर्ण कार्यान्वयनको तहमा पुग्नसकेका छैनौँ, पुँजीवादकै यात्रामा यात्रारत रहेका छौँ । आर्थिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा सरकारको नियन्त्रण हुने समाजवादी यात्रामा नपुगेका हामी प्रतिस्पर्धात्मक पुँजीवाद वा दलाल पुँजीवादकै चरणमा रहेका छौँ । वर्गीय शोषणको अन्त्य, बेरोजगारीको अन्त्य र योग्यतानुसारको काम तथा कामअनुसारको दामको कार्यान्वयन समाजवादका विशेषता रहे पनि हामी त्यो चरणमा पुग्ने यात्रा नै तय नगरेको अवस्थामा छौँ ।
अहिले काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, लोकतान्त्रिक समाजवाद आदि आदि शब्दको प्रयोग भइरहेको पाइन्छ । नेपालको एकीकरणको समयमा वीर धारामा साहित्य सिर्जना भएको; राणाकालसम्म निराशाका, भक्तिका सिर्जना भएका छन् भने निरङ्कुश शासन व्यवस्थाका विरुद्धमा सङ्घर्षका वा क्रान्तिका सिर्जना रचिएका छन् । त्यसैले साहित्य र राजनीतिको सम्बन्ध हुन्छ मात्र होइन साहित्यले समाजवादी यात्राका लागि सघाउने गर्दछ । अठारौँ शताब्दीमा पश्चिमा समुदायमा यथार्थवाद र आलोचनात्मक यथार्थवाद उल्लेख भएको देखिन्छ । समाजवादी यथार्थवादले भने इतिहास तथा वर्तमानलाई उजागर पनि गर्ने र भविष्यको आँकलनसमेत गर्ने कार्य गर्दछ, आदर्श समाजको परिकल्पना गर्दछ, यसले यथार्थको वर्णन मात्रलाई अपूर्ण मान्दछ । सन १९०१ म गोर्कीको ‘आमा’ उपन्यास आएको र १९३४ मा समाजवादी यथार्थवादी उपन्यास भन्ने दृष्टिकोण प्रस्तुत गरियो । समाजवादी यथार्थवादको दार्शनिक पक्ष भनेको माक्र्सवादी दर्शन हो । १९१७ को अक्टुबर क्रान्ति वा बेलायत, फ्रान्समा भएका मजदुर आन्दोलन वा वर्गसङ्घर्षका आन्दोलन आदिले समाजवादी यथार्थवादको गोरेटोको काम गरेका छन् । यद्यपि इसापूर्व ३८५ मै प्लेटोले आफ्नो पुस्तकमा समाजवादको चर्चा गरेका छन् भने बेलायतका थोमस मोरले आदर्श राज्यको र विभेदको अन्त्यको काल्पनिक आदर्शवादी समाजको चर्चा गरेका छन् । रुसोले समाजवादको स्पष्ट उल्लेख गरेका छन् । माक्र्सवादले भने समाजवादका सबै पक्षको चर्चा गरेको हुँदा यो सर्वव्यापी भएको छ । चीनमा माओले पनि समाजवादी साहित्यका बारेमा बृहत् चर्चा गरेका छन् । सन १९३६ मा भारतीय साहित्यकारहरूले सङ्गठित भएर समाजवादी साहित्यका बारेमा चर्चा गरेका छन् । सोभियत सङ्घको विघटन भएपछि समाजवादी विचार केही कमजोर भएको भए पनि संसारभरिका लेखकहरू निराश भएका देखिदैनन् । वर्तमानमा त जलवायु समाजवादसम्मको चर्चा पनि हुने गरेको पाइन्छ ।
नेपालको सन्दर्भमा वि.सं.२००६ सालमा कम्युनिस्ट पार्टीको गठन भएपछि २००८ सालमा कृष्णचन्द्रसिंह प्रधानले ‘भञ्ज्याङनिरै’ कवितासङ्ग्रहमा आफैँले साहित्य कस्तो हुनुपर्छ भन्नेसम्बन्धमा भूमिका लेखेर समाजवादी यथार्थवादको प्रवेश गराएका छन् । त्यस समयसम्म नेपालमा घटेका मकैपर्वलगायतका विभिन्न घटनाहरूले पृष्ठभूमिको काम गरेका छन् । सँगसँगै विभिन्न स्रष्टाका थुप्रै कृतिहरू पनि प्रकाशित भएका छन् । साहित्य र राजनीति एकअर्काका पूरकका रूपमा उभिएका छन् । २०१७ सालपछि पञ्चायतका विरुद्धका, २०४७ पछि र फेरि २०५२ पछि एउटा पक्ष सशस्त्र वर्गसङ्घर्षका पक्षमा देखियो भने अर्काे पक्ष शान्तिपूर्ण वर्गसङ्घर्षका पक्षमा उभिएको र यी दुबैको समान महत्त्व रहेको स्वीकार गरी दुइटैको संयुक्त प्रयत्नले लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको छ । तर हाम्रो शासनको वर्तमानको चरित्र उदारवादी रहेको छ । हाम्रो लेखन पनि आलोचनात्मक यथार्थवादभन्दा माथि उठ्नसकेको छैन । सिर्जना पनि गुटपरस्त देखिएको छ । समाजवादी साहित्यले सामन्त एवम् पुँजीवादी समाजका समग्र विसङ्गति र विषमताहरूको अन्त्य गरी सबै प्रकारको शोषणबाट मानवसमुदायलाई मुक्त गर्दै समुन्नत एवम् समतामूलक समाजको निर्माण गर्ने उद्देश्य राख्ने हुँदा यसले स्वरलाई प्रधानता दिन्छ र स्वर र शिल्पबिच द्वन्द्वात्मक एकता वा सङ्गतिको माग पनि गर्ने भएकाले हामी स्रष्टाको आजको आवश्यकता भनेको माक्र्सवादमा आधारित समाजवादी साहित्यलेखनका माध्यमबाट नेपाली समाजको पूर्ण रूपान्तरणमा सघाउ पुर्याउनु नै हो भन्नेसमेतको विशद धारणा राख्दै समाजवादको सङ्क्षिप्त परिचय, समाजवादी साहित्यको परिचय, समाजवादको उद्भव र विकास, नेपालमा समाजवादी साहित्यको प्रवेश र विस्तार, निष्कर्षसमेतका शीर्षक–उपशीर्षकमा चौध पृष्ठ लामो गोष्ठीपत्र नै पेस गर्नुभएको थियो ।
समारोहमा सञ्जय सोती, ओमप्रसाद कोइराला, कृष्णप्रसाद पौडेल, डम्बर पहाडी, खेमराज निरौला, रत्ननिधि रेग्मी, रामप्रसाद प्रसाईँ, कात्यायन, डा.हेमनाथ पौडेल, गायत्रीकुमार चापागाईँ, त्रिलोचन आचार्य, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), भावना न्यौपाने, रत्न उप्रेती, डा.मनोज जोशी, प्रशान्त खरेल, रुक्मिणी भट्ट, डा.गोविन्दप्रसाद आचार्य, रामकुमार पण्डित, कुमार नेपाल, बैरागी जेठा, बलराम विष्ट, लक्ष्मण तिमिल्सिना र सुशीला प्रधानाङ्गले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
स्रष्टा सुशीला प्रधानाङ्गले वाचित रचनामाथि समीक्षा गर्नुहुँदै नयाँ तथा पुराना स्रष्टाका सिर्जना सुन्ने ऐतिहासिक संस्था साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा वाचित सबै रचनामा वर्तमान समयको यथार्थ प्रतिविम्बन भएको पाइन्छ । प्रकृतिको चित्रण, मानो खाएर मुरी उब्जाउने असार अर्थात् कृषकको बलिदानका कुरा कवितामा आएका छन् । विविध प्रवृत्तिका सिर्जना वाचन भएका छन् र कतिपय सिर्जनामा भने परिष्कार तथा परिमार्जन आवश्यक नै देखिएको छ । अत्यन्त गहन तर समसामयिक विषयमा विद्वान व्यक्तित्वले बहस चलाइदिनुभएको छ भन्नुभयो, प्रभावपरक समीक्षा गर्नुभएको थियो ।
सभाध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ भने कुनै न कुनै महत्त्वपूर्ण विषयमा हरेक महिना बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेको छ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा भने ‘समाजवादी यथार्थवादी यात्रामा साहित्यको भूमिका’जस्तो गहन एवम् महत्त्वपूर्ण विषयमा विशेषज्ञ व्यक्तित्व प्रा.डा.हेमनाथ पौडेलबाट अत्यन्त विशद परिचर्चा भएको छ । वाचित रचनामाथि पनि सुशीला प्रधानाङ्गले समीक्षा गरिदिनुभएको छ । कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो, सबै सबै गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
Leave a Reply