विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४२ औँ विशेष शृङ्खला साउन ६ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.कयाम्पस प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘माक्र्सवादका नयाँ आयाम’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठी’ गरी सम्पन्न भयो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सदस्य डा.भागवत आचार्यको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा प्रा.डा.रमेशप्रसाद भट्टराई उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र विधान आचार्य, वरिष्ठ स्रष्टा डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ कविहरू उमेश उपाध्याय, डम्बर पहाडी ‘एलाक’, खेमराज निरौला, धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, मूर्तिकार राजु तुलाधर, नरेश शाक्य, निर्मल पराजुली, महेश खरेल, साधुराम नेपाल, गायत्रीकुमार चापागाईँ उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा ‘माक्र्सवादका नयाँ आयाम’ विषयमा प्रा.डा.रमेशप्रसाद भट्टराईले विशद चर्चा गर्नुहुँदै सन २०१७ मा ‘द योङ्ग कार्लमाक्स’ नामको चलचित्र बन्यो । अमेरिकन टेलिभिजनमा चलचित्र निर्माताले दिएको अन्तर्वार्तामा ‘माक्र्सवादको औचित्य अझै दुई सय वर्ष सकिँदैन’ भन्ने दाबी गरेका छन् । पश्चिमा मुलुकले माक्र्सवादका बारेमा गरेका बहसभन्दा बढी बहस दक्षिण अमेरिकामा भएको छ भने अफ्रिकनले सबैभन्दा बढी चर्चा गरेका छन् । अहिलेको विश्वमा चाहे माक्र्सवादको पक्षमा होस् वा विपक्षमा तर बहस चाहिँ माक्र्सवादकै विषयमा भइरहेको छ । माक्र्सवादका विरुद्धको पहिलो अध्याय ल्याइँदा माक्र्सवाद पुँजीवादजस्तो लचक वा गतिशील भएन भन्ने आरोप लागेको छ । वित्तीय पुँजी वा वित्तीय संस्थाको भूमण्डलीकरण, राष्ट्रराज्यको अवधारणाको अन्त्य, पुँजीको निर्माणमा बहुराष्ट्रिय संस्थाहरूको भूमिका, प्रविधिको उच्चतम प्रयोग, पुँजीवाद सपनाशील भएकोजस्ता भ्रमलाई अगाडि सारेर माक्र्सवादका विरुद्धमा प्रचार गरिएको छ । नेपालमा विचारको प्रयोगशीलताका रूपमा जबज आउँदा चर्काे प्रहार भयो, संशोधनवाद भनियो । सिर्जनात्मक प्रयोग नगरिएकाले माक्र्सवादको आलोचना भएको हो भनिएको छ । युरोपमा माक्र्सवादको विशद अध्ययन गर्ने गरिएको, क्युवाले माक्र्सवादको सिर्जनात्मक प्रयोग गरी डाक्टर र इन्जिनियर उत्पादन गरी दक्षिण अमेरिका पठाएर आर्थिक अवस्थामा सुधार गरेको र आधुनिक एवम् प्रविधियुक्त खेतीप्रणाली अवलम्बन गरी आर्थिक अवस्थामा सुधार ल्याएको पाइन्छ । माक्र्सवादको मूल संरचनामा नै प्रहार गर्ने, शास्त्रीय माक्र्सवादका पक्षमा कुरा गर्ने, विचारधारात्मक पलायन देखिने खालका एकथरी देखिन्छन् भने अर्काथरी भूमण्डलीकृत विश्वमा माक्र्सवादको रक्षा कसरी गर्ने भन्नेसम्बन्धमा बहस गर्दै अब ससस्त्र क्रान्ति वा पहिचानको सङ्कीर्णताबाट माथि उठेर जबजसँग मिल्दोजुल्दो व्याख्या गरिरहेका छन् । हाम्रो सन्दर्भमा माक्र्सवाद कस्तो हुनुपर्छ, माक्र्सवाद किन ठिक छ ? उपभोक्तावाद भनेको के हो र कसरी त्यसबाट बच्ने ? भन्ने प्रश्नका उत्तरसहित विद्वानहरूले अब माक्र्सवादीले पर्यावरणको रक्षाका माध्यमबाट अगाडि बढ्नुपर्छ, सचेतना सम्प्रेषण गर्नुपर्छ, प्रदूषणका विरुद्धमा लड्नुपर्छ भन्नेसमेतका विचारसहित भारतीय लेखक रणधीर सिंहले त आफ्नो ठुलो आयामको पुस्तक नै सार्वजनिक गरेका छन् । अहिले यथार्थमा पुँजीवाद पनि चुनौतीमा छ र माक्र्सवाद पनि चुनौतीमा छ । विचारका बारेमा बहस नहुनु र बहस नियन्त्रित हुनुले सिर्जनात्मक माक्र्सवाद विकसित हुनसक्तैन । तर संसारमा विभेद, उत्पीडन, शोषणजस्ता कुराहरू समाजमा रहँदासम्म माक्र्सवादको औचित्य रहिरहन्छ, सकिँदैन भन्ने निष्कर्ष विद्वानहरूको रहेको छ भन्नुभयो ।
आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व तथा कृतित्वमाथि सङ्क्षिप्तमा प्रकाश पार्दै विधान आचार्यले भानुभक्तको कालजयी कृति रामायणलाई सम्भव भएसम्म अहिलेको व्याकरणिक नियममा ल्याउन महत्त्वपूर्ण काम सम्पन्न भएको छ । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय आचार्यका छोरा भानुभक्त वास्तवमा सामाजिक रूपान्तरण अभियानका अभियन्ता हुन् । विद्रोहको बाटोबाट रूपान्तरण सम्भवै नभएको तत्कालीन असचेत समयमा भक्तिमार्गकै अवलम्बनका माध्यमबाट र व्यङ्ग्य चेतनाका माध्यमबाट अध्यात्म रामायणको कथानकलाई समातेर भानुभक्तले अनुवाद होइन पुनर्सिजन गरेका हुन् । रामले लुकेर वाण हानेर सुग्रीवलाई मारेको घटना वीरता होइन भन्ने उल्लेख हुनु त्यो समयका हिसाबले चानचुने कुरा होइन । भानुभक्तको रामायणलाई दार्जिलिङमा अङ्ग्रेजीमा अनुवाद गरिएको छ । नेपालमा पनि प्रयास भएको छ तर यथार्थपरक हुनसकेको छैन । रामायण रामको गाथा हो भन्ने अर्थमा त्यही कृति पढ्नैका लागि असङ्ख्य मानिस साक्षर भएका छन् । भानुभक्त प्रकृतिवादी कवि पनि हुन् र उनको रामायणले उन्नत संस्कृतिको निर्माणमा योगदान पुर्याएको छ भन्ने धारणा राख्नुभयो ।
बालकवि सोइना दाहालको किसानको महत्त्व उजागर गरिएको कविताबाट थालनी भएको गोष्ठीमा ओमप्रसाद कोइराला, डम्बर पहाडी, भावना न्यौपाने, वासुदेव अधिकारी, सुनिल पुरी, खेमराज निरौला, उमेश उपाध्याय, दिल कार्की, मनोज जोशी, नरेश शाक्य, महेश खरेल, निर्मल पराजुली, राजाराम राउत, कुमार नेपाल, साधुराम नेपाल, सोमनाथ दाहाल, गायत्री चापागाईँ, बलराम विष्ट, रूपक अलङ्कार, जयन्ती स्पन्दन, डा.भागवत आचार्य र काजी रोशनले आआफ्ना कविता, गीत, मुक्तक, एलाक, लघुकथा वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै डा.गोविन्दप्रसाद आचार्यले साहित्य सन्ध्याको चालिस बर्से अथकित यात्रा निरन्तर छ । यसको निश्चित लक्ष र उद्देश्य रहेको छ । निरन्तर वैचारिक प्रशिक्षण गरिरहेको छ तथापि हामी अमूर्त ईश्वरवादमा किन समर्पित हुँदै छौँ ? काल्पनिक कुरामा किन विश्वास गरिरहेका छौँ र निराशा किन रोजिरहेका छौँ ? स्रष्टाहरूमा मेरो यो विशेष अनुरोध हो । शरीर बुढो हुन्छ विचार बुढो हुँदैन । हाम्रा सिर्जनामा आशावाद आउनु जरुरी छ त्यसमा पनि हिजोको कालरात्रिमा पनि विचार समप्रेषण गर्ने र सोहीअनुसारका सिर्जना वाचनलाई प्रोत्साहित गर्ने सन्ध्यामा निराशाका कुरा र काल्पनिक कुरामा विश्वास गर्ने कुरा आउनुहुँदैन भन्ने सबै स्रष्टासँग मेरो आग्रह छ । बालकवि सोइना दाहालले उत्कृष्ट कविता वाचन गर्नुभएको छ, अरू पनि केही निकै राम्रा र केही राम्रा हुनखोजेका कविता वाचन भए । हामी स्रष्टाका लागि साधना नै मुख्य कुरा हो, लागि नै रहनुपर्दछ । आज महत्त्वपूर्ण विषयमा परिचर्चा पनि भएका छन् र आजको गोष्ठी गुरुत्वको रहेको छ भन्नुभयो ।
गोष्ठीको समापन गर्दै उपाध्यक्ष रमेश पोखरेलले आजको यो विशेष समारोहमा गुणस्तरीय उपस्थिति रहेको छ । प्रमुख अतिथिले अत्यन्तै गहन विषयमा त्यस्तै गहन जानकारी तथा विश्वमा माक्र्सवादका बारेमा भएका बहसका बारेमा प्रकाश पार्नुहुँदै ‘माक्र्सवादका नयाँ आयाम’ विषयमा चर्चा गरिदिनुभएको छ जुन ज्यादै नै लाभदायक अनुभूत गरिएको छ । विधान आचार्यले भानुभक्तको साहित्यिक मात्र होइन सामाजिक रूपान्तरण अभियानमा समेत महत्त्वपूर्ण योगदान रहेको चर्चा गरिदिनुभएको छ । वाचित रचनामाथि सारगर्भित टिप्पणी गरिदिनुहुने गोविन्दप्रसाद आचार्य एवम् आफ्नो समयको व्यवस्थापन गरी हाम्रो निम्तालाई स्वीकार गरेर उपस्थित भइदिने सबै सबैप्रति हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । भदौ महिनाको शृङ्खला भने कुनै विशेष ठाउँमा पुरस्कार तथा सम्मान अर्पणको विशेष समारोह हुने छ र त्यसमा सहभागिताका लागि हामी हार्दिक निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।
Leave a Reply